घनबहादुर थापा
‘खाली शिशी, पुराना कागज, हजुर,’ साइकल डोर्याएर आएको युवक चिच्यायो। बोराभित्रका पुराना सामान साइकलमा झुन्डिएका देखिए।
धूलोमैलो पोसाक। चाउरिएका गालाबाट तप्पतप्प पसीना चिउँडोतिर चुहिरहेका थिए। चर्को घामले यात्रा बिथोलेको देखिन्थ्यो।
आवाज सुनेर दुई महिला घरबाहिर निस्किए। ‘बियरको बोत्तललाई कति दिन्छौ, भाइ?’ एक महिलाले सोधिन्।
‘पत्रिका किलाको कतिमा लान्छौ?’ अर्कीले थपिन्। मोलतोल भयो।
‘योभन्दा बढी दिन सक्तिन हजुर,’ साइकलवालाले अन्तिम मूल्य सुनायो।
‘सस्तोमा त दिँदै दिन्नँ’, दुवै महिलाको एउटै स्वर सुनियो। किलामा पाँच रुपैयाँका दरले कुरा मिलेन।
‘जाऊ, नलगे नलैजाऊ। अर्को आउँछ लैजान्छ’, दुवै महिला एकैसाथ झर्किए।
साइकलवाला हिँडेलगत्तै एक मान्छे बैशाखी टेक्दै आयो। हातमो चिर्कटो थियो। पक्कै कुनै अस्पतालको आर्थिक सहयोग सिफारिस पूर्जी हुनुपर्छ।
‘दया गर्नुस् हजुर। दुःखीलाई सहयोग गर्नुस्। धर्मै हुन्छ।’ उसले अनुनय गर्यो।
दुवै महिलाले पुलुक्क हेरे। ‘यस्ता माग्ने कति आउँछन् कति! दया गरी साध्य छ र !’ उनीहरू झर्किंदै घरभित्र पसे।
‘अलक निरञ्जन, भोले बाबाको जय हो!’ डमरु बजाउँदै अर्को मान्छे आयो। खाइलाग्दो युवक पहेंलो पोसाकमा सजिएको रहेछ । निधारमा गेरु र खरानी घसेको भए पनि छाता र चप्पल धनीमानीकै जस्ता देखिए।
‘अलक निरञ्जन, भोले बाबामाथि दया गर, बालिके। आँटेको काम बन्छ, भनेको पुग्छ,’ ऊ चिच्याउन छोडेन।
दुवै महिला पुनः घरबाहिर निस्के। पहिलीले सुझाव दिइन्, ‘धर्म कमाउनुपर्छ नि बहिनी।’
‘यस जुनीमा धर्म कमाए पो अर्को जुनीमा भोग्न पाइन्छ,’ अर्कीले सहमति जनाइन्।
दुवैको हातमा केही चामल, फलफूल र एकएक सय रुपैयाँ नगद थियो। दुवैले क्रमशः भिक्षा दिए अनि बिदाइको नमस्कार गरे।
‘धर्मात्मा बालिके, तुम्हारा जय हो,’ गुनगुनाउँदै युवक हिँड्यो। धर्म कमाएको भ्रममा दुवै महिला दङ्ग परे। मन्द मुस्कान छर्दै घरभित्र पसे।
प्रकाशित: १ माघ २०७८ ०९:२६ शनिबार