९ माघ २०७८ आइतबार
कला

माया

लघुकथा

खेमराज पोखरेल

रामराज न्यौपाने नाम चलेका पशु अधिकारकर्मी हुन्। पशु अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मलेनमा भाग लिन भियना गएका थिए। नेपाल फर्किएपछि आयोजना गरिएको एउटा कार्यक्रममा पशुअधिकारको भियना सम्मेलनमा पास गरिएका प्रस्तावहरूका बारेमा धुवाँधार भाषण सकेर घर आएका थिए।

सर्वप्रथम उनले आफ्नो ४ वर्षे छोरालाई नजिकै बसेर सुम्सुम्याए। छोरो हाँसेको देखेर उनको हृदय गद्गद् भयो। दिनभरिको थकान सकियो। उनको छोराको नजिकै बिरालोको सानो छाउरो आफ्नी आमासँग खेल्दै थियो।

छोरालाई खेलाउँदै उनले श्रीमतीलाई भने-रम्भा, चियाको तलतल लाग्यो। दूध हालेको कडक चिया पकाउन।

उनकी श्रीमतीले भनिन् - हेरिस्यो न। यी बिरालाका छौँडा नपालौँ न भन्यो हजुर मानिसिन्न। आज बिरालाको छाउराले हजुरलाई राखेको सबै दूध खाइदियो।

थाकेको बेलामा चिया खान नपाएको झ्वाँक चल्यो उनलाई अनि आफू नजिकैको छाता टिपेर त्यो छाउराको ढाडमा बजारे।

छाउरो रुँदैकराउँदै भाग्यो। आफ्नो सन्तान रोएको सुनेर बिराली उनी नजिक आई र भनी— बाजे, यो घरपृथ्वी हाम्रो पनि त हो। त्यसरी नकुट्नुस् न मेरो बच्चालाई। तपाईको बच्चालाई जस्तै मेरो बच्चालाई पनि माया चाहिन्छ नि।

प्रकाशित: १ माघ २०७८ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App