१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फुर्सद-बेफुर्सद

लघुकथा

गुप्तबहादुर श्रेष्ठ

समिरले एउटा लिंक भेट्टायो। त्यो लिंक कुनै साथीले उसलाई पठाएको थियो। विश्वासिलो लिंक खोलेर हेर्ने उसको बानी थियो। त्यो खोलेर हेरेपछि धेरै उपयोगी लाग्यो उसलाई।

उसको मनमा लाग्यो, यो लिंक सबैलाई बाँड्नु उचित हुन्छ। तत्कालै उसले आफ्ना परिवारका सदस्यहरू र नजिकका साथीहरूको ग्रुपमा सेयर गर्‍यो। घरपरिवारका सदस्यहरूसँग पनि त्यो ज्ञान र सावधानी अपनाउन चनाखो हुन सिकायो। लिंक पाएपछि केही साथीले धन्यवाद भन्ने उत्तर पनि पठाए। ऊ सन्तुष्ट भयो।

उसले आफ्नो भाइलाई सम्झ्यो। भाइलाई फोन गर्यो र नियमित जस्तो सन्चो–विसन्चोका कुरा गर्यो। त्यसपछि उसले आफूले पठाएको लिंक उपयोगी भएकाले पूरा हेर्न र त्यसलाई पालन गर्न पनि निर्देश गर्‍यो।

भाइले हुन्छ म फुर्सदमा हेर्छु नि भन्यो।

भोलिपल्ट बिहानै उसलाई फोन आयो। एउटा अमृत भन्ने साथी ‘हर्ट एट्याक’ भएको कारण गंगालाल पुगेको छ। ऊ तत्काल अस्पतालतर्फ दौड्यो। अस्पतालमा उपचार सुरु भैसकेको रहेछ।

एकैछिनमा डाक्टर आएर जानकारी दिए, ‘ल तपाईहरू भाग्यमानी हुनुहुन्छ। समयमा ल्याउनुभयो। उहाँको उपचार सफल भयो। ल्याउनुअघि जुन विधि गर्नुभयो त्यसले नै उपचार सम्भव भयो।’ 

घरपरिवारले उज्यालो अनुहार बनाए। अमृतकी श्रीमती र छोरीले समिरलाई धन्यवाद दिए। उनीहरूले भने हिजो तपाईको लिंक मेसेज पाउनेबित्तिकै उहाँले हेर्नुभएछ। पछि हामीलाई पनि भन्नुभयो। फेरि सबैजना भएर पूरै भिडियो हेरेपछि ज्ञान पायौं र केही सचेत भयौं। अचानक आज बिहानै त्यस्तै समस्या उहाँले महसुस गरेको बताउनुभयो।

हामीलाई तत्कालै समस्या बताउनुभएकाले हामीले हिजो भिडियोमा हेरेको कुरा सम्झेर उहाँलाई तत्काल औषधि लिन दौड्यौं। औषधि खान दिएर ट्याक्सी बोलाएर सुरक्षितसाथ अस्पताल पनि ल्यायौं। उहाँको जीवन बचाउन तपाईको त ठूलो योगदान छ भन्दै कृतज्ञता प्रकट गरे।

कुरा चल्दै थियो। त्यहाँ उपचारको क्रममै समिरलाई अर्को फोन आयो। फोनमा उसले सुन्यो, समिरको आफ्नै भाइ बेहोस भएकाले गंगालाल लग्दैछौं तपाईं त्यहीं आउनुहोला। त्यो फोन भाइबुहारीको थियो। ऊ हतास भयो।

अरूले सोधे – के भयो?

उसले भन्यो, ‘भाइलाई पनि हर्ट एट्याक भए जस्तो छ। बेहोस छ रे! यहीं गंगालाल आउँदैछन्। एकैछिनमा बेहोस भएका भाइ र परिवारका सदस्य आइपुगे। आकस्मिक कक्षमा डाक्टरहरूले परीक्षण गरे। केही आकस्मिक विधि प्रयोग गर्न थाले।

केही क्षणपछि डाक्टर आएर विरामीका मानिसलाई भने हामी क्षमाप्रार्थी छौं। धेरै ढिलो भैसकेको थियो। हामीले हरप्रयास गर्यौं तर बँचाउन सकेनौं। त्यहाँ सत्य स्विकार्नु र रुनुबाहेक विकल्प थिएन। समिरले आफैले फोन गरेरै सचेत गराउँदा पनि भाइले बेवास्ता गरेको कुराले उसको दिमागमा घण्टी हानिरह्यो। के भाइ साँच्चै बेफुर्सदी नै थियो त?  

प्रकाशित: ३० पुस २०७८ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App