१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आशीर्वाद

लघुकथा

रञ्जना पराजुली लम्साल

‘हउँ, एैया आमा, मरे नि बाबा।’ यसरी छिँडीको कोठामा हरिकान्त बा छटपटाएको निकै दिन भइसकेको थियो। दुई छोराबुहारी र दुई नातिनातिनी थिए तर खोई बुवा र हजुरबुबाको कोठाको ढोकासम्म चियाउने फुर्सद।

साढे तीन तलाको सुन्दर घर अनि दुई छोराका बुवाआमा संसारकै खुशी समेटेका थिए होलान् । तर, आफ्ना खुशी दबाएर सन्तानलाई भरिपूर्ण गराए पनि स्वास्नी अघि लागेपछि हरिकान्तको दुःखका दिन निम्तिएका थिए।

दिन बित्दै गए। झन् भन्दा झन् थलिएका हरिकान्त परिवारबाट टाढिंदै गए। छोराबुहारीले आफूआफूले भागबन्डा गर्दा साढे तीन तलाको घर साँघुरिएर छिँडीको कोठामा बास हुन पुग्यो उनको। गाँस काटेर खुवाएका र हड्डी घोटी सर्वस्व ठानेका मुटुका टुक्रा सन्तानको भागमा उनी परेनन्। मायाको सट्टा घृणा पाउँदै गए। औषधि र सोधपुछ त परै जावस् खानपिनको हानाथाप भएर कोही दिन त भोकै पर्थे।

बाहिर निस्कने र फर्कने पत्ता नभएका घरका सदस्यको समयलाई  हरिकान्तका पानी सुकेका आँखाले पर्खिरहन्थे। तर, आशा खालि रित्तो हुन्थ्यो अनि हाडछालाको जीर्ण शरीर लतार्दै झ्यालछेउमा पुगेर परपर हेर्दै विगत सम्झिदै बर्बराउँथे, ‘हे दैव, मलाई छिट्टै लैजाऊ।’

अजम्बरी त को छ र! एकदिन सन्नाटा छायो छिँडीको कोठामा। उजालिए बुहारीका अनुहार। हतारिंदै छामे छोराले नाडी जो बसिसकेको थियो। सँगै भेटियो एउटा मैलो कागजको टुक्रा। हतपत पढ्यो नातिले जुन कागजमा लेखिएको थियो, ‘बाबू हो, मैले रोपेको बिरुवाबाट पाएको फल धेरै मिठो थियो। त्यस्तै तिमीहरूले रोपेको बिरुवाबाट त्यस्तै फल फल्न सक्छ। राम्रोसँग स्याहार गर है। मेरो आशीर्वाद छ तिमीहरूलाई।’

प्रकाशित: २९ पुस २०७८ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App