२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

सयपत्री फूलको माला

नियात्रा

योगप्रसाद उपाध्याय चापागाईं

२०७८ साल, मंसिर म २८ गते बिहान आठ बजे नै म यात्रामा लागेको छु। बसको यात्राभन्दा हाइसको यात्रा गर्यो भने छिटो हुन्छ। समय बितेछ। काठमाडौं खाल्डो, मंसिरको जाडोले बिहान कक्रक्क पार्छ। तीन घण्टाको समय बित्यो गोठाटारबाट कलंकी पुगेर गाडी चढ्न। अबेर हुनाले पोखराको हाइस पर्खी बस्न मिलेन र नारायनघाटको हाइस नै यात्राको सवारी भयो। एघार बजे चढेको दुई बजे मुगलिन पुयायो। काठमाडौंको कलंकीबाट मुगलिन तीन घण्टा समय स्वाभाविक लाग्यो। आज नागढुंगामा जाम परेन।

मुगलिनमा एक कप चिया खान मन लाग्यो। बाटोमा भनेजस्तो चिया खान असम्भव हुन्छ। राम्रो कडा पत्तीमा खाँटी दूधको चिया बेच्ने पसल खोजेर निकाल्न यात्रुले सकिंदैनन्। म पनि यसमा अचुक रहिन। ढाडिएको चिया दुई सुरुप तानेर डिलक्स बस चढें पोखरालाई। तीन बज्दानबज्दा त्रिशुली तरियो। पोखरा कति बजे पुर्याउँछ कुन्नि? बाटो चौडाइको काम चल्दै रहेछ। छोटाछोटा समयका जाम पर्दै गए।

तनहूँ भनेको भानुभक्त जन्मिएको जिल्ला। घाँसीकुवा बाटैमा पर्छ। सिटमा बसीबसी घाँसीकुवा हेर्न पाइन्छ। यही बाटाबाटै गोर्खा दरबार जाने बाटो छुट्टिन्छ। बन्दीपुर पर्ययटन यतै छ। देउरालीमा पुगेर चालकले डिलक्स बसछेउ लगाए, घ्याच्च ब्रेक पनि लाग्यो। चिया खानेले चिया खाँदा रहेछन्। खाना नखाएकाले खाना र खाजा खानेले खाजा खाँदा रहेछन्। इन्डियातिर हाइओवेमा यात्रुका लागि खोलेका होटलहरूलाई लाइन होटल भन्दा रहेछन्। त्यस्ता होटलहरू सस्तो दरमा खाना बेच्छन्। नेपालका राजमार्गमा खोलेका होटलहरूलाई खाजाघर भनिन्छ। यी खाजाघर महँगो दरमा यात्रुलाई खाजा, खाना बेच्छन्। फरक छ लाइन,होटल र खाजा घरमा। खाजा घरहरू आधुनिक साजसज्जाले सजिएका हुन्छन्।

काठमाडौंदेखि चियाको तलतल छ। भनेजस्तो चिया खान पाएको छैन। खाजा घरमा मैले खोजेको खाँटी दूधको कडा पत्ती चिया पाउने विश्वासै छैन। मुख त रसाउनुपर्छ। ओल्टेकोल्टे आँखा लगाएँ। बाहिर कुनोमा शिशाले बेरेको ‘कफी हाव’ रहेछ। देख्नासाथ मन फुरुङ्ङ भयो। बिहानदेखिको तिर्सना। उछिनाउछिन परे जसरी सास थुनेर कफी हाब पुगेँ। धेरैले चिया अर्डर गरेका रहेछन्।

मैले हतार लाएँ र कफी नै अर्डर गरेँ। कफी बनाउने केटाले मेरा लागि विशेष कफी बनाउन लाग्यो। अलग्गै राखेको एउटा सानो मसिनको कताकता केके चलायो। मेसिन रहेछ कफीका गोटी (दाना) पेल्ने आधुनिक मसिन। यसपछि केटाले अर्को मेसिन चलायो। अहिले ऊ मेरा लागि दूध उमाल्दैछ। फिँज काढेर दूध भकभकी उमाल्यो अर्को मेसिनमा। अब मेरा लागि स्पेसल खाँटी दूधको लोकल अर्गानिक कफीको गोटी(दानो) मैनसँग पेलेर पाउडर तयार गर्यो र एउटा मखजस्तो भाँडामा सबै घोलेर मशिनको कफी उमाल्ने हटपाइप डुबायो। केहीबेरमै ठूलो एउटा विशेष कागजको रंगीन कपमा आइसक्रिम चुल्याए जसरी तर पर्न नसकेको दूधको फिँज चुली भएको त्यो कफीको कप मलाई समाउन दियो।

‘आहा कफीको मजा! हार्नेवाला छोरो म पनि होइन। म पनि दिङ्लाका जिजु बाजेको उही सन्तान हुँ।’ कफी सुरुप्प पारेँ।

‘नियात्राका मेरा अगुवा पोषरमण चापागाईंले ‘लवाक कफी’ सित्तैमा लेखेको होइनन् रहेछन्। कफीको स्वाद भारी मूल्यको हुँदो रहेछ।’ कफी पिउँदै जाँदा कफीको मूल्य र कफी पिउनुको मजा बुझ्दै गएँ।

कफीका दानालाई गोटी किन भने? हेर्दा यो सबै गोटीजस्तै देखिने चिल्ला दाना, बिँयाजस्ता। करिब चार माना घिउ अटाउने शिशाको डल्ले भाँडोमा मैले खाँदै गरेको कफीका दाना शिशाभित्र टल्किरहेका छन्। देख्दा नै घुटुक्क हुने जसको पनि।

मैले सोधें, ‘हाम्रा नेपालीहरूले यसरी बनेको कफी कतिको खान्छन्? कतिको चलेको छ हाब? ती साहु युवाले भने अलिअलि चल्छ। चल्दै छ। तीन वर्ष जति भयो मशिन पनि ठिकठिकै छ।’

सबै यात्रु डिलक्समा बसे। सबैलाई हतार छ पोखरा पुग्न। आज रात पर्छ पक्कै। कहाँ बस्ने र कहाँ खाने टुंगो छैन। आजै कुलथान देउपुर पुग्ने कुरा सोच्न मात्रपनि सकिँदैन।

चालकले डिलक्स आफ्नै गतिमा हाँकिरहे। तनहूँ कट्नै लागियो। पहाडको हरियाली र पहाडबाट झरेका खोला, बगर अनि टार परेको भूमिको लस्करै घर र पसलको रमाइलो रमित हेर्दाहेर्दै घाम डाँडो कटे। परपरका रमाइला दृश्यहरू आँखाबाट ओझेल परिसके। झमक्क साँझ पर्यो। ठूलो साँझ पर्‍यो। बसले पोखरा महानगरपालिका प्रवेश गर्दा बिजुली बत्ती झिलिमिलीले पोखरा प्रवेश गर्ने यात्रुलाई स्वागत गरिरहेको थियो र पोखरामा आगन्तुकलाई अभ्यर्थना गरिरहेका होटलका साहु र होटल ब्वायहरू ‘मेरो होटलमा, हाम्रो होटलमा’ भनिरहेका थिए।

पोखराबाट पातिचौर एकडेढ घण्टाको बाटो। पातिचौरबाट देउपुर पाँच किमि ठाडो उकालो चढ्नुपर्छ। केही साथी बिहानै देउपुर लागिसकेछन्। हुन त मैले पनि धेरैबेर त लगाइन्। आठ मात्रै बजेको छ।

‘साथीसँग जान पाएको भए ढुक्कै हुन्थ्यो। हिजो बेलुका भेट नगर्नाले आफैंलाई धोका भयो।’ मनमा कुरा खेलाउँदै पहिलो उकालोमा छापेको सिँढी उक्लिदै गरेको एकजना मान्छे देखेर लम्किए। सुटबुट कसेर कोट लाएका, उलनको टोपी र उलनकै मफलर। परबाट झलक्क हेर्दा हाकिम सा’ब। दुवै हातले झुन्ड्याउने पुटुस्स परेका दोडा झोला झुन्ड्याएका।

नजिकै पुगेपछि पछिबाटै चिने र भने, ‘ए दाइ पो! कलश-यात्राको सौभाग्य पाएँ। गजबै भयो, निर्माणकै अध्यक्ष सँगसँगै जान पाएर खुसी लाग्यो।’

पहिलो उकालो चढेपछि दाइले मेरो स्वाँस्वाँ र पसिना देखेर भन्नुभयो, ‘यो फाँटमा बिसाऊँ।’ दाइ बुटो लर्काएर सिमलीका पात टिप्न लाग्नुभयो। तलबाट भाउजू फुत्रुकफुत्रुक फाँटमा उक्लिनुभयो। मैले भनें, ‘ए, भाउजू पनि!’

उकालो चढ्न पातलो ज्यान भए थाकिन्न। मेरो ज्यानभन्दा भिमप्रसाद दाइको ज्यान पातलो छ र भिमप्रसाद दाइको भन्दा भाउजूको ज्यान झन् पातलो छ। ज्यानअनुसार हामीलाई पसिनाले भिजायो देउपुर पुग्दा।

पर्वत जिल्लाको देउपुर चापागाईं पुर्खाले बिर्ता पाएको ठाउँ। यहाँ भमरकोट र कोटकाली प्राचीन मन्दिर अझै छन् जसमा आदिकालका चापागाईं पुर्खादेखि आजसम्म चापागाईं पूजारी छन्। यति मात्र होइन। सबै चापागाईंको पुर्ख्यौली केन्द्र हो देउपुर। यही लक्ष्य राखेर देउपुर आउनेजाने गरिआएको थिएँ। देउपुरमा परमानन्द चापागाईं हुनुहुन्छ सबैका अगुवा। परमानन्दकै अगुवाइमा यहाँ यति महत्त्वपूर्ण कुलमन्दिर निर्माण भयो। यो सबै परबाटै देखिने स्वागत तोरण र मण्डपको वरिपरि गाडेका लिंगले बुझाइरहेको थियो।

भिमप्रसाद चापागाईं र परमानन्द चापागाईं दुवै मभन्दा जेष्ठ। मेरो दुवै जनासँग दाजुभाइको साइनो छ। ढोग गरेँ। आशीर्वचन बोल्दै परमानन्द दाजु हाँस्नुभयो। यो हाँसो सफलताको हाँसो थियो। सबै चापागाईंका लागि आनन्दको हाँसो। कुलदेवता र पितृहरू खुसी हुँदाको हाँसो। अनि यससँग जोडिन आउन लागेको हिमाल। माछापुच्छ्रे हिमाल। देउपुरको यस कुलमन्दिरमा पुगेपछि हाँस्नलाई तपाईंलाई साथी चाहिन्न।

यो पवित्र भूमिमा पुगेपछि जो पनि कुलदेवताको जयकार गाएर पुलुक्क हेर्छ र मुसुक्क हाँस्छ नै। किन नहाँस्नु? शिर ठढ्याउँदा नै सम्मुखमा शिर उचालेर हाँसिरहेको छ माछापुच्छ्रे हिमाल। जुन उद्देश्यले तपाईं हाँस्नुहुन्छ त्यही उद्देश्यले हाँसेको छ हिमाल। जसरी तपाईंले कुलदेवतालाई विश्वास राखेर हाँस्नुभयो। त्यस्तै माछापुच्छ्रे हिमाल पनि चापागाईं बन्धुले माछापुच्छ्रे हिमालको नाकको डाँडीमा कुलदेवता सुरक्षाका लागि राखिदिएपछि सत्य कुरा अविनाशी छ भनेर हाँसेको छ। पौराणिक कथाअनुसार पनि यही माछापुच्छ्रे सृष्टि भएपछि माछापुछ्रेको काखमा ब्रह्माका चक्षुबाट कुलदेवता अत्रि जन्मिएका रे। आफूले जन्माएको सन्तान आफ्नो अघि देख्दा कोचाहिँ हाँस्दैन र? माछापुच्छ्रेलाई अब कुनै शोकसुर्ता पर्दैन। देउपुरको त्यहाँ स्वयं ब्रह्माका पुत्र अत्रि संसारको रक्षाका लागि तपस्यामा बसेका छन्।

कुल पूजा स्थानीय हुँदो रहेछ। कुल पूजामा देवदेवीदेखि ‘मस्ट रुपाय मनु’ भन्दै स्थानअनुसार धूप, दीप, फूल, अक्षता, ध्वजापतका, नैवेद्य चढाइँदो रहेछ। कुल पूजामा एक विशेष रूपले प्रकृतिको पूजा गरिँदो रहेछ। भावनात्मक हुँदा रहेछन् कुलपूजा। जड होइन। अजड। पदार्थ होइन। नदेखिने भावनात्मक एक सत्य। त्यो भन्दैमा आशय र भाकल पनि होइन। वर र वरदान माग्नलाई पनि होइन। पृथ्वीको निहित शक्तिको उपासना। वंश रक्षा होस् भनेर प्रकृतिको पूजा गर्नु, उपासना गर्नु।

कुल पूजालाई कृषि र पशुपालनमा पनि जोडिँदो रहेछ। सजात पद्धतिले प्रकृतिको उपासना गर्नु र गोठको रक्षा गर्न गैढु, गोसाईंलाई समेत धूप हाल्ने गरिन्छ। ऋृतु अनुसार प्रकृतिसँग मिलेर कुलपूजाको तिथि पर्दछ।

कुल पूजा कहिले सुरु भयो जानिँदैन। बार सय साल च्यापज्यू क्राचल्लले आफ्नी आमा शिराको नाममा कुल पूजा गरेको हुँदा कुल पुज्ने चलन हजार वर्षअघि पनि रहेछ भन्नुपर्छ। च्यापज्यूको पालामा त बुद्ध धर्ममा पनि कुल पुजेको रहेछ। लुम्बिनीमा हठयोगका गुरु मचिन्द्रनाथले बौद्ध मार्गमा प्रवेश गरेर भिक्षु हुँदा पनि आफूलाई सेतो मचिन्द्र बनेर चिनाए। तर, मचिन्द्रनाथलाई सेतो मचिन्द्र भन्न रुचाएनन् बौद्धमार्गीले र मचिन्द्रन्नाथलाई रातो मचिन्द्र भनेर चिनाए। यसरी कुल पूजामा सेतो र रोतोको मिश्रण पाइन्छ। यहाँ बौद्धमार्गीले पनि परम्परागत कुल पुजेको छनक छ। हिन्दूको मस्ट र बौधमार्गीको सयम्भू एक रूपका दुई मार्ग हुन् भन्ने पनि सुनेको हो।

कुल पूजामा वायु (वंशभित्र अकाल मृत्यु भएका) हरूले जागित्रा भएर कुल वंशको अनिष्ट गर्नुभन्दा भोगादिको मायामा परी कुलको रक्षा गरिरहुन। यसको मुख्य हो ता भनेर प्रकृतिको पनि पूजा गरिँदो रहेछ।

कुलपूजाको विछुट्टै प्रवर्द्धनचाहिँ टुकुरे राजाहरूले गरेछन्। टुकुरे राजाहरूले आफ्नो कुल वंशको रक्षा होस् भनेर वायु जागित्रा गराईकन अंगमा त्यस कुल वायुलाई उतारी कुल पुजेछन्। कुलथान बनाई बाहुनलाई बिर्ता समेत दिईकन राजारैती मिलेर कुल पुजेछन्।

यस्तो संगति र विसंगतिले मनमा लगातार खुलदुली चलायो। मनमा उब्जिएका यी जिज्ञासाहरूको अन्त्य हुन सकेन देउपुरमा। कुलपूजासम्म बस्नका लागि अझै चार दिन बस्नुपर्छ। यता काठमाडौंका दाजुभाइले वार्षिक रूपमा गरिआएको कुल पूजाको निमत्रणा अघिदेखिको थियो। देउपुरबाट भोलिपल्ट काठमाडौंको फिर्ती सवारी भयो।

देउपुरबाट कुलमन्दिर उद्घाटन कार्यक्रम सकेर काठमाडौंको कुलपूजामा सहभागी भइयो। कुलपूजा तिथिले त हुँदो रहेछ। तर, कुल वायु मनाउनु भनेको पसिना छुट्ने रहेछ। अघिल्लो दिनको कार्यक्रम सकिसकेको थियो। म पुगेको दिन निश्चय गर्ने रहेछ भोलि हुने कुल पूजाको। एकपछि अर्को गर्दै जागित्रा उत्री। जागित्राको लखड्याम तमासले  पर्‍यो।

कसैलाई के, कसैलाई के पुगेन। कोही मान्ने र कोही नमान्ने भए। मध्यरातिको बार बजे जसोतसो मान राख्न सफल भए कुल पूजाका विज्ञ। अबचाहिँ पक्का भयो। भोलिपल्टको बिहानबाटै गोठाटारको कुलथानमा भव्य रूपले कुल पूजा सुरु गरियो। साँझ सात बजे सबै दाजुभाइ कसैले रुद्राक्षका, कसैले फूलका माला लगाएर खिर खाइयो। बाबर, पुवा, विविध फलफूल, ध्वजापतका प्रसादी बोकेर आआफ्ना घर आइपुगियो।  

प्रकाशित: ९ पुस २०७८ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App