होमनाथ खनाल
बसेको छु छतमाथि हेर्छु चारैतिर,
नयाँ ठाउँ चिनजान कम छ, लाग्छ निकै पिर।
वरिपरि डाँडाकाँडा, हरियाली देख्छु,
यस्तै हेर्दै छतमा बसी, मनका कुरा लेख्छु।
कहीँ अग्ला पहाड छन्, कहीं होचा देख्छु,
छतभरि गमलामा,फूल फुलेको हेर्छु।
काँडै काँडाको बोटमाथि, फुलेको त्यो फूल,
गुनगुनाउँदै आइरहने, माहुरीका हुल।
धेरै वसन्त पार गर्दै, आए यहाँसम्म,
यो यात्राको ठेगान छैन, अन्तिम नभएसम्म।
दुःखसुख दुवै साथी, छैन केही पीर,
यो मन सधैं दौडिरन्छ, छैन कहिलै स्थिर।
कैले डेरा कैले घर, बसिम धेरै वर्ष,
कैले पीर कैले दुःख, कैले हुने हर्ष।
यस्तै रैछ जिन्दगीमा, भोग्दै जानुपर्ने,
जे लेखेको छ जन्मी आउँदा, टारेर नटर्ने।
प्रकाशित: १८ मंसिर २०७८ ०७:५८ शनिबार