१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लता केसीका दुई लघुकथा

लघुकथा

लता केसी

१) प्रार्थना

उसको आज जन्मदिन थियो।  शहरकै  एउटा चर्चित होटेलमा भोजको आयोजना गरियो। समाजका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उसले पनि रमाइलो गर्दै अलिअलि चुस्की लिएकी थिई।

भोजमा भिडको रौनक थियो। सङ्गीतको ठुलो होहल्ला थियो। ऊ लरबराउँदै बाथरुम पसी।  त्यहीँ भिडबाट एउटा आकृति आयो। मौकाको फाइदा उठायो। बलात्कृत भैसकेपछि उसले थाहा पाई। सायद ऊ बेहोसीमा थिई। अफसोस त्यो आकृति उसले चिन्न सकिँन। न त घटनाबारे कसैलाई भन्न सकी। ऊ चूपचाप बसी विवश र निरीह बनेर। यसबेला ऊ आफू जन्मिनुको औचित्य खोज्दै थिई।

कोठाको एउटा  कुनामा रोइरहेकी थिई। टुक्रुक्क बसेकी,  दुई हातले घुँडा कसेकी थिई। उसको यो दयनीय अवस्थालाई कलाकारले आफ्नो क्यानभासमा उतारेका थिए। कालो गाढा रङ्गको प्रयोगले कला जीवन्त बन्न पुगेको थियो। क्याप्सनमा लेखिएको थियो, ‘महिलामाथिको यौन–हिसा!’

उक्त चित्र नेपाल कला सङ्ग्रहालयभित्र भित्तामा टाँसिएको थियो। एकदिन म पनि त्यहाँ  पसेको थिएँ।  अवलोकन गर्दै जाँदा उक्त चित्रमाथि मेरो नजर अडियो। मभित्र प्रश्न जुर्मुरायो, ‘आखिर छोरीले कहिलेसम्म यातना खप्नुपर्ने हो?’

मैले आँखा चिम्लिएँ र प्रार्थना गरे, ‘सृष्टिको दौरानमा हरेक  पुरुष त्यस्तो जन्मियोस् जसमा उच्छृङ्खल मन नहोस् तर विवेक र चेतनाले भरिपूर्ण मस्तिष्क मात्र रहोस्।’

२) उनको मन

मेरी सासू बितेको एक वर्ष भयो तर मेरी पत्नीको आँखा कहिले ओभानो देख्न पाइन। सधैँ मरेकी आमालाई सम्झेर  उनी एकोहोरो हुन्थिन्। मैले कत्ति सम्झाएँ उनलाई , केही असर गरेन।

आमाको नाममा  दानधर्म गरून् भनेर मन्दिर, मन्दिर घुमाएँ। केही गरे पनि उनले आफ्नी आमालाई बिर्सिन सकिँनन्।  एकदिन त उनले अति नै गरिन्।  घरको काम नै बिर्सेर शोकमा डुबिरहिँन्। बच्चाहरू भोकै थिए। म अफिसबाट फर्किदा उनी  कोठा बन्द गरेर रुँदै थिइन्।

‘म के गरूँ ?’ फेरि सम्झाएँ, ‘आलो घाउ पो चर्किन्छ, खाटा बसेको घाउलाई कोट्याएर सधैँ आलो बनाउनु सही हो र?’

उनी बोलिनन्। चूपचाप लागेर सबै काम गरिन्। राति सुत्नेबेलामा मैले भने, ‘भोलि आमाको तिथि हो।  म बिदा लिनेछु। हामी वृद्धाश्राम जाऔँ है।’

हस् भनिन् र सुतिन्। म विचरा भने उनलाई कसरी उपचार गरौँ भनेर सोचमग्न भएँ। भोलिपल्ट केही लुगा, खानेकुरा र पैसा बोकेर हामी वृद्धाश्राम पुग्यौँ। उनले केही कुरा दान गरिनन्। सबैको अनुहार पढदै,  सबैलाई नमस्कार गर्दै अघि बढिन्। मैले ल्याएको कुरा बाँडिदिन आग्रह गरेँ। उनले सोचमग्न भएर सोधिन्, ‘यो बाँडेपछि मेरी आमा फर्केर आउनुहुन्छ र?’

मैले सम्झाउँदै भनेँ, ‘मरेर जानेहरू त फर्किन्नन् नि! अब यिनै आमाहरूलाई आफ्नै आमा मानेर मन बुझाऊ न है।’

मेरा कुरा सुनेपछि उनी हाँसिन् र सबै लगेका सामान बाँडन थालिन्।

एकजना वृद्ध आमाले सामान लिदैँ, आँसु पुछ्दै  भन्नुभयो, ‘मेरी छोरी बाँचेकी भए तिमीजत्रै हुने थिई, नानी!’

उनले खुसी हुँदै भनिन्, ‘आजबाट तपाईं मेरी आमा, म तपाईंकी छोरी है त!’

प्रकाशित: १७ मंसिर २०७८ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App