१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सिद्धि–वत्सला र यन्त्र–वत्सला

भक्तपुर राजदरबार मल्लकालीन मूल राजकीय वासस्थानका रूपमा मात्र नभएर अनेक उच्चतम देवता प्रतिष्ठापित देवस्थल/तीर्थस्थल वा भनौ“ पवित्र धामकै रूपमा समेत प्रख्यात रहिआएको छ।

राजदरबार परिसरमा विशेषगरी पूर्वमध्यकालदेखि उत्तरमध्यकालसम्मका सुन्दर एवं अनुपम भौतिक सम्पदा छन्, जसले दरबार क्षेत्र मात्र नभएर सिंगो सहरलाई शोभायमान तुल्याइरहेका छन्। तीमध्ये यहाँ चर्चा गर्न लागिएका दुईवटा वत्सला मन्दिर हुन्।

वत्स (सन्तान/छोराछोरी) लाई अति माया गर्ने माता वत्सला हुन्। वत्सला उच्चतम शाक्त तान्त्रिक देवता हुन्। तत्कालीन मल्ल शासकहरू तन्त्रप्रधान शाक्त मतका प्रबल उपासक थिए। यसो हुँदा एउटै देवतालाई पनि अनेक, खास तान्त्रिक अवतारमा, विशेष अभीष्ट सिद्धिका लागि मान्ने–पुज्ने चलन चलेको विदित हुन्छ। ‘सिद्धिलक्ष्मी’/‘सिद्धि–वत्सला’ र ‘यन्त्र–वत्सला’ नाम रूपले प्रसिद्ध यी वत्सला पनि यस कुराका उदाहरण हुन्।

चित्र–१ मा देखिने ढुंगेमन्दिर ‘लोहं देग’ सिद्धिवत्सला मन्दिर हो। सिद्धि–वत्सलाको पछाडिको एकछाने रातोमन्दिर यन्त्र–वत्सला मन्दिर हो।

पचपन्न झ्याले दरबारको इशानकोणमा ढुंगाले बनेको, पाँच तहको पेटीमा उठेको, पश्चिमाभिमुख शिखरशैलीको मन्दिर ‘सिद्धिलक्ष्मी’/‘सिद्धि–वत्सला’ र सो मन्दिर पछाडिको रातो एकछाने, उस्तै पश्चिमाभिमुख मन्दिर ‘यन्त्रवत्सला’ हुन्। यी दुवै मन्दिर नेसं ८१६ (विसं १७५२) मा तत्कालीन भक्तपुर राज्यका राजा जितामित्र मल्लले बनाउन लगाएका हुन्। यो कुरा यन्त्र–वत्सला मन्दिरभित्रको यन्त्राकार वत्सला र त्यसको आसनको अग्रभागमा कुँदिएको अभिलेखका आधारमा ज्ञात हुन्छ, (भोलानाथ पौडेल, ‘स्नेहमण्डप’, पूर्णिमा, ७/२०२२, पृष्ठ ४८–५०)।

यन्त्र–वत्सला मन्दिरभित्र पनि सुन्दर प्रस्तर–वेदिकामा, कमलपुष्पासनमाथि शीर्ष भागमा यन्त्र कुँदिएको कलश यन्त्र–वत्सला हो। यन्त्र–वत्सला मन्दिर विशाल, सेतो र गगनचुम्बी थियो भन्ने कुरा सोही यन्त्र–वत्सलाको उल्लिखित अभिलेखका आधारमा थाहा हुन्छ।

हालको यस मन्दिरको वास्तु रचनालाई अलिकता गहिरिएर हेर्‍यौ भने मन्दिरको आकार–प्रकार, छाना, गारो/भित्ता आदिका अनुपातमा यसको चारैतिरका अर्ध गोलाकार प्रस्तर निर्मित प्रवेशद्वार भने निकै ठूला छन्। यताबाट पनि यो मन्दिर अभिलेखमा उल्लेख भएजस्तै विशाल र गगनचुम्बी थियो र सायद अन्य वत्सला मन्दिरका दा“जोमा यो अजङको थियो भन्ने ज्ञात हुन्छ। 

त्यसो भए यो मन्दिर पहिले कस्तो शैली स्वरूपमा थियो त? यसको सीधा उत्तर हामीलाई विसं १९९० सालको महाभूकम्प चल्नु ४७ वर्षअघि गुस्तेभले बोनद्वारा प्रकाशित भोय्ज नेपालको चित्र संख्या ४३ मा छापिएको यस विषयको चित्रबाट मिल्छ, (चित्र संख्या २)। सिद्धि–वत्सला मन्दिरलाई केन्द्रित गरी लिइएको उक्त चित्रमा सिद्धि–वत्सला मन्दिरको एकातिर छाने शैलीको हरिशंकर मन्दिरको केही भाग देखिन्छ भने सिद्धि–वत्सला मन्दिरको ठीक पछाडि शिखरशैलीको सुरिलो मन्दिर पनि झुलुक्कै देखिन्छ।

अर्को खास कुरा, सो मन्दिरको अर्धगोलाकार प्रवेशद्वारको भाग पनि देखिन्छ,जुन अहिलेको यन्त्र–वत्सलाको उही प्रस्तर–प्रवेशद्वार हो भन्ने कुरामा सन्देह रहन्न। यस प्रकार यति कुरा थाहा हुन आएपछि यन्त्र–वत्सलामन्दिर अन्य वत्सलामन्दिर जस्तै शिखरशैलीमा बनेको,अजङको मन्दिर थियो, विसं १९९० सालको महाभूकम्पमा यो मन्दिर पनि भत्कियो, त्यसपछि जीर्णोद्वार/पुनर्निर्माण हुँदा यसले आफ्नो पुरानो मौलिक शैली स्वरूप गुमाएर सानो एकछाने मन्दिर रूपमा देखापर्न आएको रहेछ भन्ने कुरा विदित हुन आउँछ।

चित्र–२ मा सिद्धि–वत्सला मन्दिरको पछाडि यन्त्र–वत्सला मन्दिर(शीर्ष भाग: आमलकसहितको गजुर) पनि देखिन्छ।

सिद्धि–वत्सला मन्दिर ‘लोहं देग’ बनाउनका लागि भक्तपुर सहरदेखि पूर्वमा रहेको ताथलीस्थित हललगाउँको ढुंगाखानीबाट नेसं ८१३ (विसं१७५०) ढुंगा ओसार्ने काम भएको थियो। यस आधारमा सिद्धि–वत्सला मन्दिर बनाउने काम तीन वर्ष अघिबाट भएको रहेछ भन्ने हललगाउँको वासुकी खोलाको वासुकी ढुंगामा कु“दिएको चट्टान अभिलेखबाट विदित हुन्छ, (पुरुषोत्तमलोचन श्रेष्ठ, चट्टानअभिलेख र अन्य सम्पदा, बबिता श्रेष्ठ, भक्तपुर:२०६७, पृष्ठ ५८–५९)।

सिद्धि–वत्सला मन्दिरभित्रको घण्ट  

सिद्धि–वत्सला मन्दिरभित्र भूपतीन्द्र मल्लले चढाएको एक घण्ट छ, ( चित्र–३)। सो घण्टमा १ पंक्तिको अभिलेख कुँदिएको  छ:

ॐस्वस्ति।। श्रीश्रीजयभूपतीन्द्रमल्लदेवसन, सिद्धाग्निकोट्याहुति यज्ञ याङाव रोहोदेवलस दुता।। सं. ८३५ भाद्रवदि १ शुभं।। अर्थात् कल्याण होस्। श्रीश्रीजयभूपतीन्द्रमल्लदेवले सिद्धाग्निकोट्याहुति यज्ञ गरी लोहं देग (ढुङ्गेमन्दिर) मा चढाउनुभयो। नेसं८३५ (विसं१७७२) भाद्रवदि १ शुभ)।

आफ्ना पिता जितामित्र मल्लले यो मन्दिर बनाएकै वर्ष अर्थात् नेसं८१६ मा भूपतीन्द्र मल्ल राजा भएका थिए। आफू राजा भएको १९ वर्षपछि उनले यो घण्ट सिद्धि–वत्सलालाई चढाएका थिए। यति लामो अन्तरालमा र त्यो पनि नेसं ८३५ कै वर्षमा किन चढाएका होलान्! एउटा सानो घण्ट चढाउँदा पनि किन सिद्धाग्निकोट्याहुति यज्ञ नै गरे होलान् भन्ने कुरा केही अर्थपूर्ण लाग्छ।

सायद प्लेगको महामारी वंशावली र अन्य प्रमाणले उल्लेख गरेजस्तो नेसं ८३६ चैत महिनामा नभएर सो समयभन्दा पनि १९ महिनाअघि अर्थात् भूपतीन्द्र मल्लले सिद्धि–वत्सला मन्दिरमा सो घण्ट चढाएको वर्षमै फैलिएर मुसा, कुखुरा, भेडाबाख्रा, गाईभैसी, हात्तीघोडा लगायत सयौका संख्यामा मानिस पनि भकाभक मर्न थालेपछि सो प्रलयकारी महामारी समन होस् भन्ने अभिप्रायले उनले यो घण्ट सिद्धि–वत्सलालाई चढाएको अनुमान हुन्छ।

सिद्धिलक्ष्मी/सिद्धि–वत्सला

सिद्धिलक्ष्मी/सिद्धि–वत्सला मूर्ति (चित्र ४, स्रोत: अरूणा नकर्मी,  पुरातत्त्व विभाग) नेसं ८१६ मा बनेको हो। सिद्धि–वत्सला मन्दिर मात्र नभएर मन्दिरको गर्भगृहमा प्रतिष्ठापित सिद्धिलक्ष्मीको तान्त्रिक भाव झल्कने मूर्ति पनि उत्तिकै अतुल्य छ। सिद्धिलक्ष्मी मूर्तिको आसनमा, तल प्रत्येक पातालमा कलशाकृति कुँदिएको सप्तपाताल र त्यसमाथि पनि प्रत्येक लोकमा उस्तै गरी कलशाकृति कुँदिएको सप्तलोक छ।

सप्तलोकको मध्यभागमा शक्ति, सत्ता र सुरक्षाको प्रतीक खड्ग छ। त्यसमाथि कमलासन छ। सो कमलासनमाथि भैरवनाथ दुई खुट्टा फैलाएर थचक्क बसी, आफ्ना दुवै हातले सिद्धिलक्ष्मीलाई कुममा बसालेका छन्। यसरी भैरवासनमा पलेटी कसी बसेकी सर्वशक्तिमान् सिद्धिलक्ष्मीका पाँच शिर छन्। दश बाहु भएकी सिद्धिलक्ष्मीले आफ्ना हातहरूमा अनेक आयुध लिएकी छन्।

शिखरशैलीमा निर्मित सिद्धि–वत्सला मन्दिर वास्तुकलामा प्रयुक्त प्रतीकवादी सौन्दर्यकरणको अतुल्य नमुना हो। यस दृष्टिले यो मन्दिरलाई विश्वमै दुर्लभ, अन्य मन्दिरको जोडा नलाग्ने एक मात्र बेजोड, विशिष्ट मन्दिर हो भनी मान्न सकिन्छ। हाम्रो यो तर्कलाई पुष्टि गर्ने आधार पाँच तहको पेटीमा उठेको यस मन्दिरको प्रत्येक पेटीमा सिँढीको दायाँबायाँ का उदेकलाग्दा युगल मूर्ति हुन्,(चित्र– ५)।  

यस मन्दिरको पहिलो पेटीमा सिँढीको दायाँबायाँ  एक जोडी स्त्री–पुरुष मूर्ति छन्। मुहारमा दृढ एवं शालीन भाव झल्कने प्रभावशाली व्यक्तित्वका धनी यी दिव्य पुरुष एवं नारीका पहिरन र झुप्पा–झुप्पा परेर कुम तलसम्म झरेको सुन्दर केशविन्यासले मुगल राजपुतशैलीबाट प्रभावित मध्ययुगीन सम्भ्रान्त लोकजीवनलाई सम्झाएको छ।

दायाँपट्टिका पुरुषले दायाँ हातले सिक्रीले बाँधिएको अजङको कुकुर डोरयाउँदै , बायाँ हातले एक नग्न बालकको पाखुरा समाएर र बायाँपट्टिकी नारीले बायाँ हातमा सिक्रीले  बाँधिएको उस्तै अजङको कुकुर डोरयाउँदै दायाँ हातले नग्न बालकको पाखुरा समाएर गन्तव्यतर्फ लाग्दै छन्। मन्द मुस्कान छर्दै ती सुखी बालकहरू पनि निर्धक्कले आआफ्ना अभिभावकका साथमा खुसी भएर लागेका छन्। प्रतिमा लक्षणका दृष्टिले यी मूर्तिको नामाकरण आनन्द रामायणका आधारमा ‘असितांग’ ‘असितांगसती’ रहेको जानिन्छ।

यी मूर्तिमा तान्त्रिक विधिपूर्वक देवत्व पनि प्रतिष्ठापित गरिएको हुन्छ, (भक्तपुर दरबार क्षेत्र, इपाछेटालका विनोदराज शर्मा राजोपाध्यायबाट प्राप्त जानकारी। उनका अनुसार उपत्यकाका मूर्ति, चित्रहरूबारे पुरातत्त्व विभागमा प्रस्तुत गरिएको २०४०/०४१ को परियोजना प्रतिवेदनमा पनि यी मूर्तिका नाम ‘असितांग’, ‘असितांगसती’ उल्लेख छ।)। यताबाट यी चानचुने मूर्ति नभएर, मन्दिरका अन्य जीवसरह रक्षकगण मात्र नभएर सिद्धि–वत्सलाकै शिवशक्ति रूपका तान्त्रिक अवतार भैरव भैरवी हुन् भन्ने कुरा जानिन्छ।

सिद्धि–वत्सला मन्दिरको दोस्रो पेटीमा, सिँढीका दायाँबायाँ  एक जोडी घोडा, त्यसैगरी तेस्रो तहमा एकजोडी गैंडा, चौथो तहमा एक जोडी द्वीपी र पाँचौं तहमा एक जोडी उँट छन्। घोडा, गैंडा लगायत जीव पवित्र जीवका रूपमा सैन्धवकालदेखि नै काठ, ढुंगा धातु आदिमा मूर्तिमान गर्ने चलन रहिआएको विदित हुन्छ।

नेपालका मन्दिरको सिँढीका दायाँबाया सिंह, शार्दूल, हात्ती आदि त देखिएकै हुन्, तर यसरी पंक्तिबद्ध रूपमा घोडा,गैंडा, द्वीपी र उँट एक साथ यसै मन्दिरमा मात्र देखापर्न आएका छन्। मन्दिरलाई अद्वितीय तुल्याउन यी जीव राखिएका हुन् भन्ने कुरामा सन्देह छैन।

गैंडाको खागलाई औषधीय गुण भएको वस्तु मानिन्छ। धार्मिक संस्कार कर्मकाण्डमा पनि खाग प्रयोग हुँदै आएको पाइन्छ। तत्कालीन नेपाल मण्डलमा हात्ती,घोडाको प्रयोग सवारीसाधन, युद्ध, मालसामान ढुवानी लगायत धार्मिक सांस्कृतिक आदि प्रयोजनका लागि हुँदै आएको जानिन्छ तर नेपालमै नपाइने जीव, उँटको प्रयोग भने विरलाकोटि रहेको विदित हुन्छ।

नेपाल र भारतमा हिन्दू र बौद्ध धर्ममा उँटलाई पवित्र जीवका रूपमा लिइएको जानकारी पनि प्राप्त छैन। सामान ढुवानी, सवारीसाधन र युद्धमा यसको प्रयोग हुन्थ्यो भन्ने ज्ञात हुन्छ। मध्यभारतस्थित खजुराहोको लक्ष्मण मन्दिरमा उँटहरूको लस्कर मूर्तिमान रहेको देखिन्छ, (त्रिलोकचन्द्र मुजपुरीया, सेक्रिड एनिमल्स अफ नेपाल एन्ड इन्डिया, एम. देवी, ललितपुरः२०००,पृष्ठ ११३)। हात्ती, उँट राजकीय शानशौकत र वैभवका कुरा पनि थिए। युद्धमा हार्दा वा जित्दा हात्ती, उँट हर्जानाका रूपमा समेत बुझाउनुपर्थ्यो।

दुई राज्यबीच कूटनीतिक राजनीतिक सम्बन्ध सपार्न, मजबुत पार्न पनि उपहारका रूपमा दिने चलन थियो भन्ने इत्यादि कुरा यस विषयका स्रोत सामग्रीका आधारमा ज्ञात हुन्छ। तात्कालिक एक थ्यासफूमा भक्तपुरका राजा भूपतीन्द्र मल्लले नेसं८३४ (विसं१७७१) मा ललितपुरका राजालाई दुईवटा हात्ती एउटा उँट दिएको, एउटा उँट र एउटा हात्ती कान्तिपुरका राजा भाष्करमल्ललाई दिएको उल्लेख छ, (डि. आर. रेग्मी, मेडियाभल नेपाल, पार्ट आइभि, द अथर पटना ः १९६६, पृष्ठ ३५३)। यस प्रकार यस मन्दिरको यो उँटले पनि तत्कालीन भक्तपुरको शान, वैभव र सम्पन्नतालाई एक साथ प्रदर्शित गरेको छ।

यस मन्दिरको चौथो तहको पेटीमा सिँढीको दायाँबायाँका द्वीपी मिथकीय जीव हुन्। दुर्गा सप्तशतिमा द्वीपीको छाला ओढेर सुकुटी चपाइरहेका भैरवको स्तुतिवर्णन छ। झन्डै प्राचीन यक्षकै जस्तो मुखाकृति भएको द्वीपीलाई सिंह परिवार मध्येको एक मान्ने (सिंह, बाघ, शार्दूल, द्वीपी) परम्परा रहिआएको विदित हुन्छ। यी द्वीपीले हामीलाई काठमाडौं उपत्यकाका केही देवस्थल लगायत भक्तपुर सल्लाघारीस्थित चोङागणेश मन्दिरको सामुन्नेका एक जोडी द्वीपीलाई पनि सम्झाएको छ।

भक्तपुर राजदरबारका अन्य सम्पदा लगायत सिद्धि–वत्सला मन्दिर पनि विसं १९९० सालको महाभूकम्पले भत्केको थियो। त्यसको तीन वर्षमै जुद्धशमशेर राणाको प्रधानमन्त्रीत्वकालमा अन्य सम्पदा लगायत यो मन्दिर पनि पुनर्निर्माण भएको थियो। त्यसैगरी २०७२ सालको महाभूकम्पले पनि यो पुनः भत्कियो। त्यसपछि पुरातत्व विभागले विसं२०७३/०७४ मा यसको पुनर्निर्माणको कार्य थालनी गरी २०७५ मंसिर ७ गते पुनर्निर्माण कार्य सम्पन्न गरी भक्तपुर नगरपालिकालाई साँचो हस्तान्तरण गरेको थियो।

नेपाल मण्डलमा अन्यत्र पनि वत्सला मन्दिर छन्। स्थलगत अध्ययन लगायत प्राप्त भएसम्मका प्रकाशित एवं अप्रकाशित स्रोत सामग्री बटुलेर तथ्यपरक विश्लेषण गरी प्रथमपल्ट यी वत्सलाका बारेमा यसरी तथ्यपरक नूतन कुरा प्रकाशमा ल्याउन सकिएको छ। यस अध्ययनले यसअघि आफूले गरेको यस बारेका केही कुरालाई समेत संशोधन गर्ने आधार पनि मिलेको छ।अनुसन्धानको अन्त्य छैन, जहाँ अन्त्य छ,आरम्भ त्यहीँबाट हुन्छ। यो अध्ययन पनि उक्त कुराको अपवाद होइन। 

सम्पदा चाहे भौतिक होस् वा अभौतिक, धार्मिक सांस्कृतिक दृष्टिले मात्र नभएर भौतिकवादी दृष्टिकोणले पनि हेर्न जरुरी रहेछ भन्ने कुराको आभास यी वत्सला मन्दिरले गराएको छ। यी वत्सला मन्दिर भक्तपुरमा शाक्त तान्त्रिक शक्तिको प्रयोगात्मक युग प्रबल भएको समयतिर बनेका उत्कृष्ट सुन्दर रचनाहरू हुन्। तत्कालीन नेपाल मण्डलमा एकले अर्कोलाई उछिन्ने गरी कलाकृति बनाउने प्रतिस्पर्धात्मक युगमा भक्तपुर राज्य एवं सारा भक्तपुरवासीको वैभव देखाउन त्यसकै प्रतीकस्वरूप पनि यी सम्पदा बनेका थिए।

इतिहासका पानामा भूकम्प, महामारी, अनिकाल एक्लाएक्लै नभएर जुम्ल्याहा तिम्ल्याहा दैत्यदेव नै भएर एकपछि अर्को गर्दै लस्करै आएर छानीछानी धनजन लाने गरेको पनि देखिएको छ। प्रलयवादको सिद्धान्त त्यसै चलेको होइन। यी लगायत अन्य वत्सलामन्दिर बनेको समयतिर भूकम्प पनि चलेका थिए, महामारी पनि आएका थिए। जनधनको अपार क्षति पनि भएको थियो।

यसैले सन्तानरूपी देशवासीलाई नदेखिने दैत्यदेवबाट बचाउन, देशलाई धनधान्यले भरीभराउ गरी राख्न र देशको शानशौकत सम्पन्नता अरू राज्यलाई देखाउन सबैले अपार श्रद्धाभावले मान्दै पुज्दै आएका सबै आमाकी पनि आमा वत्सला माजुका मन्दिर बनेका हुन् भन्ने कुरा विदित हुन आउँछ।

वत्सला मतको सांस्कृतिक संसारबाट हेर्दा हरेक आमाको गर्भ कलश हो। त्यही गर्भरूपी कलश वत्सला हुन्। गर्भका सन्तान वत्स हुन्। चारैतिरबाट समस्या र चुनौतीले घेरिएकोे यो संघर्षमय संसारमा आमाको गर्भबाट बाहिर निस्कना साथ सन्तानको मुखबाट अनायास निस्कने पहिलो पवित्र शब्द ‘मा’ नै हो।

त्यही अनमोल शब्द सुनेर ‘मा’को मनमा सन्तानलाई बँचाउन, हुर्काउनका लागि एकाएक उर्लेर आउने शब्दले बयान नै गर्न नसकिने असीम स्नेह वात्सल्य भाव हो। त्यही वात्सल्य भावले सन्तानलाई माया गर्ने ‘मा’ हरूकी पनि ‘मा’ वत्सला माजु हुन्। सन्तानका लागि हाँसो उठ्दाको अवस्थामा मात्र नभई आँसु झर्दाको अवस्थामा साथ दिने वत्सला माजु नै हुन्।

महामारी मच्चिएर दिनमै सयौं मानिसलाई कालले लगिरहेको अवस्थाकै कुरालाई लिऊँ न १ यस्तो अवस्थामा आखिर सन्तानले वत्सला माजुसित माग्ने जीवनकै भीख त हो नि १ नेवाः लौकिक जीवनमा चलिआएको तल प्रस्तुत यस विषयकै प्रसिद्ध गीतको अंशले यसै भन्छ-

कइ बिम्ह कछलामाजु

लखं जायकिम्ह शितलामाजु

यंकिम्ह वछलामाजुयाके ङ्खवने

(खटिरा दिने कछलामाई

पानीका फोकाले भरिदिने (बिफर) शितलामाई

लैजाने वत्सलामाईसित माग्छु (जीवनको भीख)।

अन्त्यमा, यस्तो प्रतीत हुन्छ, मानौ  उल्लिखित गीतका अंश पनि वत्सला माजुले आफ्ना सहायक असितांग (शिवकै भैरव अवतार)कै साथमा असितांग–सती (पार्वतीकै भैरवी अवतार)को अवतार धारण गरी आफ्ना प्रिय वत्सको पाखुरालाई स्नेहपूर्वक समाएर आफ्ना रक्षकगण (कुकुर, घोडा, गैंडा, द्वीपी, ऊँट)सहित पूर्ण सुरक्षाका साथ सुरक्षित गन्तव्यतिर लिएर जाँदै गरेको सिद्धि वत्सला मन्दिरको सजीव लाग्दा ती मूर्तिलाई हेरेर लोक जीवनमा अनायासै आविर्भाव भएको दृष्टिगोचर हुन्छ।

प्रकाशित: ११ मंसिर २०७८ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App