१४ मंसिर २०७८ मंगलबार
कला

क्षुद्र व्यवहार

लघुकथा

गंगा खड्का

विवाह भएको सात वर्षसम्म रमेश र पार्वतीको सम्बन्ध उदाहरणीय थियो। त्यसपछि  बिस्तारै उनीहरूको सम्बन्धमा धमिरा लाग्दै गयो। पार्वती घर बाहिरको दुनियाँमा रमाउन थाली। उसमा नकारात्मक परिवर्तन आउन थाले। उसलाई कतिपटक रमेशले चरित्रहीन कार्यमा रंगे हात नपक्रेको पनि होइन। तर छोराछोरीको मुख हेरेर उसले सहँदै आयो।

एक दिन एकाएक पार्वतीले पारपाचुकेको प्रस्ताव पनि लिएर आई। रमेशले धेरै सम्झाउन खोज्यो। पार्वतीले उसका कुरालाई हावामा उडाइदिई। अन्त्यमा पारपाचुके हुने नै भयो।

अदालतले छोराछोरी सानै भएकाले आमाको संरक्षणमा रहने निर्णय सुनायो तर मातृवात्सल्यको बास्ना समेत अनुभव गर्न नपाएका छोराछोरीले बाबासँग छुट्टिन मानेनन्। बाबाकै लालनपालनमा हुर्किँदै गएका उनीहरूका रोदनक्रन्दनले ढुंगाको पनि आँसु बग्ने वातावरण तयार भयो। उनीहरूले आमाको मुख पनि हेरेनन्।

‘छोराछोरीलाई एकोहोरो पारेर मलाई एक्लै  बनायौ  होइन? मेरा छोराछोरीलाई कानुनको फैसलाअनुसार मलाई फर्काइदेऊ। नत्र यसको परिणाम राम्रो हुने छैन।’ पार्वतीले धम्कीपूर्ण व्यवहार गरी।

माफ गर पार्वती! मरेका मान्छे मात्रै यो दुनियाँमा फर्केर नआउने होइनन्, आफूसँग भएको मान्छेलाई पराकाष्ठा नाघ्ने गरी क्षुद्र व्यवहार गर्‍यो भने उनीहरू पनि कहिल्यै फर्केर आउँदैनन्।

त्यसैले अब आफूसँग भएको हीरालाई हुत्याएर फाल्ने गल्ती नगर्नू।’ रमेश आफ्ना छोराछोरीलाई डोर्‍याउँदै अघि बढ्यो।

प्रकाशित: ८ मंसिर २०७८ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App