१५ मंसिर २०७८ बुधबार
कला

वसन्तपुरको सडक बालक

लघुकथा

रञ्जुश्री पराजुली

सधैंझै यो शुक्रबार पनि हामी बाहिर खान गयौ। प्रत्येक पटकझै यो  पटक पनि हामी नयाँ रेस्टुराँमा जांदै थियौं। श्रीमतीको खोजेर ‘सप्राइज’ भन्दै ‘हिमाल रेस्टुरेन्ट’ ओरिजनल नेपाली स्वाद भन्ने पनि थाहा पाएपछि त्यतैतिर गुड्यौ। केटाकेटी ‘वाउ’भन्दै रमाउन थाले।

हामी भर्खरै शानफ्रानसिस्को जस्तो ठुलो शहरबाट मिजोरी राज्यको सेन्ट लुइस शहरमा बसाइँ सरेका थियौं। श्रीमतीले इच्छा गरेकी थिइनन् तर संसारकै एउटा नामी बियर कम्पनी ‘बर्डवाइजर’मा सुविधासहित काम पएकाले  धेरै चीसो र बरफ पर्ने भए पनि हामी गयौं।  जानुको अर्को कारण ठुलो शहरभन्दा जीवन निर्वाहका लागि यो शहर कम खर्चिलो भएर पनि हो।

हामी हिमाल रेस्टुरेन्ट पुग्यौ। भित्र पस्नेबित्तिकै नेपालीपनको झझल्को लाग्ने हिमाल, गुराँस, डाँफे र बुद्ध आदिका तस्वीरहरू भित्तामा राखिएका थिए। काउन्टरमा बस्ने जापानीजस्ती युवतीले निहुरेर ‘नमस्ते’ भनिन्।

हामी सिटमा बसेपछि एउटी त्यस्तै तर प्रौढ आइमाईले मेनु ल्याएर राखी दिइन्।मैले ‘म्याम हामी नेपाली स्वादको खाना खान आएका हौं’ भने।

उनी ‘एक मिनेट’ भन्दै भित्र पसिन्। त्यसपछि एकजना भद्रभलाद्मी भोटे अनुहारको प्रौढ हाँस्दै ‘मेरो नाम निमा शेर्पा हो’ भन्दै आए। त्यसपछि हाम्रो सम्वाद एउटै परिवारको जस्तो चल्यो। उनले ‘काउन्टरमा बस्ने मेरी छोरी हुन्। उसले मास्टर्स गरिसकी। दुई छोरा कलेज पढ्दै छन्। श्रीमती कोरियन हुन भने।

मैले जिज्ञासा राख्दै ‘हिमाली भेगको शेर्पा जाति तपाई। यहाँ यो अवस्थामा कसरी आइपुग्नुभयो त?’ भने।

‘यो सबै भाग्यको खेल हो। नाम्चेको एउटा गरीब केटो म अहिले प्राडा निमा शेर्पा नामले  विश्वविद्यालयमा कार्यरत छु। मेरो जीवनको इतिहास मार्मिक छ। मेरो भगवान् जस्ता धर्मपिता जोन स्मिथको कृपादृष्ट्रिले म यहाँ आइपुगेको हुँ’ भन्दै उनले भित्तामा झुन्ड्याएको एउटा तस्वीरमा वसन्तपुरमा बोरा ओढेर  सुतिरहेका सडक बालकहरूको लाइनमा एउटा एघार वर्ष  जतिको  खातेलाई औल्याउँदै ‘यस्तो  थियो मेरो बाल्यकाल’ भने।  

प्रकाशित: ७ मंसिर २०७८ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App