१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विदेशी पर्यटकलाई भाइटीका

विदेशी पर्यटकलाई भाइटीका लगाईदैं रेन्वो चिल्ड्रन होमका छात्राहरु । तस्बिर नागरिक

पोखरा घुम्न आएका विदेशी पर्यटकले यो पटक तिहारको भाइटीका लगाएका छन् । कोरोना संक्रमणका कारण यसअघिको संस्करण रोकिएको थियो । उनीहरुलाई नेपाली दिदीबहिनीले निधारमा सप्तरंगी टीका लगाईदिए । मखमली र सयपत्री फूलको माला गलामा सिउरिदिए । विभिन्न परिकारले आतित्थता गराए ।  

कोरोना संक्रमणले पर्यटन क्षेत्र थलिएको छ । भाइटीका लगाउँदै सँस्कृति आदानप्रदान गरेर पोखरामा पर्यटन प्रवद्र्धन गरिदैं आएको छ । १६ वर्षअघि शुरु गरिएको भाइटीका महोत्सव गतवर्ष कोरोनाले रोकिदियो । यो बीचमा विदेशी पर्यटक आगमनमा शून्यता रह्यो । कोरोना विरुद्धको खोपसँगै पर्यटनमा चहलपहल देखिएपछि पश्चिमाञ्चल होटल संघले भाइटीका महोत्सवलाई पनि यो पटक तिहारमा निरन्तरता दियो ।  

‘१६ वर्षभयो भाइटीका महोत्सव शुरु गरिएको, तर, पोहोर कोरोनाले रोक्यो,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘१४ वर्ष निरन्तर महोत्सव मनायौं । गएको दुईवर्ष भने कोरोनाले स्थगित गर्यौं ।’ सुस्ताएको पर्यटनमा नयाँ आशाको किरण देखापर्ने आशा र अपेक्षासहित यो वर्ष २० जना पर्यटकलाई भाइटीका लगाइएको उनले बताए ।  

१६ औं वर्षमा आईपुग्दा ७ सय भन्दा बढी पर्यटकले भाइटीका लगाईसकेको तथ्यांक होटल संघसँग छ । भाइटीका लगाउन केही विदेशी पर्यटक दोहोरिएर आउने गरेका छन् । ‘केही पर्यटक दोहोरिएर आउने गरेका छन्,’ अध्यक्ष सुवेदीले भने, ‘फ्रान्स र चीनका पर्यटक दोहोरिएका छन् ।’ उनका अनुसार यो वर्ष पनि फ्रान्स र चीनका तीनजना पर्यटक भाइटीका लगाउन आईपुगेको उनको भनाई थियो ।  

विशेष गरी यतिबेला मौसम सफा हुन्छ । पदयात्रा, प्याराग्लाईडिङ एवं अल्ट्रालाईटमा सयर गर्ने पर्यटकको रोजाईमा पर्ने गरेको छ । त्यसैले पनि पर्यटन सिजन भएकै कारण कतिपय विदा लिएर नेपाल भ्रमणमा आउने गरेको उनको बुझाई थियो । कोभिड–१९ को कारण दुई बर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणको रुपमा पुनः निरन्तरता पाएको हो ।

पोखराको लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रबद्र्धनमा सघाउने उद्धेश्यले भाइटीका महोत्सव गरिदैं आएको उनले बताए । यो पटक चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी थिए ।  

विदेशी नागरिकलाई टीका लगाइदिएपछि उनीहरुलाई सयपत्री पूmलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए । देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रम सुरु गर्दै संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।  

प्रकाशित: २१ कार्तिक २०७८ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App