११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

स्खलन

लघुकथा

नवराज शर्मा  

सधैं साँझ नपर्दै आइपुग्ने नातिनीहरू अबेर रात पर्दासम्म आइपुगेनन्। चिन्तामणि चिन्तामग्न भए। बुढीतिर हेरे। खुइय सास फेरे।

धेरै बेरसम्म आमाबुबा जाग्राम बसेको देखेर छोराबुहारीले भने, “होइन सुत्ने बेला भएन ? जानुस्, गएर सुत्नुस्।  अनिदो भए सन्चो हुँदैन।”

“खोइ नातिनीहरू, अहिलेसम्म आएनन्।  समय खराब छ। कहाँ गएका होलान्!”

“सारा संसारमा महिलाहरू काम गर्न, काम विशेषले एक्लै बाहिर निस्कनछन्।  यहाँ मात्र हो र ?”

“सुरक्षित ठानिएका विकसित मुलुकमा त महिलाहरू सुरक्षित छैनन्। झन् यहाँ !”

“त्यही त ! दुर्घटना दरमा अरू मुलुक शिखरमा छन्।  हामी काँ त सूचकांक कति कम कति कम।  सुन्नु भा’ छैन, चिन्ता लिनु पर्दैन भनेको ? खोइ कुरा बुझ्या!”

“बुझें बा बुझें।” भन्दै बुढाबुढी सुत्न गए।  

भोलिपल्ट त्यस घरका लाले लाली घाम ताप्दै गफ गर्दै थिए।  

“होइन हाम्रा छोरीहरू कहाँ बाहिर भुस्याहाहरूसँग बरालिरहेका! दिन समय खराब  छ। कुरै बुझ्दैनन् बा !” लालीले एकफेर रिसाएर लालेलाई हेरी।

“आ ! हजुर पनि ! हामी जनावरमा कहिले कसैले जबर्जस्ती गरेको वा भएको देख्नुसुन्नु भा’छ ?”

एकछिन गम खाई, ‘के भा’को हो बुढालाई! मान्छेको संगतमा भएर हो कि मान्छेजस्तै सोच्न लाग्या छन्।”

अनि लालेले सुन्ने गरी कराई, “अचेल मान्छे त हामीजस्तै सोच्ने भइसके।  सुन्नु भा’ छैन ? चिन्ता लिनु पर्दैन भन्दै हिंड्ने गर्या छन्!”

 – वीरगंज, हाल– भक्तपुर – १, सृजनानगर।

प्रकाशित: ७ आश्विन २०७८ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App