६ कार्तिक २०७८ शनिबार
कला

गोम विक्रमका चार लघुकथा

लघुकथा

गोम विक्रम

(१) मालतीको लोकप्रियता

“सञ्चै छौ मालती ? के छ खबर ?”  

“हजुर ! सब ठिक अनि...।”

निकै समय मालतीले खुब रसिला कुरा गरी। उसलाई थुप्रैले यसरी फोनमा सम्झिन्छन्। शारीरिक रूपमा पनि सुकिला पोशाकमा चिटिक्क परेर हिँड्ने उसको बान्की निकै लोभलाग्दो थियो। साथीहरूमाझ पनि निकै सहयोगी, फरासिली र हलुका मानिन्थी ऊ।

“बोली पनि ललिते, छ त्यो मालतीको भेट्दै मोहनी लाइसक्छे। काउले कस्ती?”

त्यसैले उसका प्रशंसकहरू जताततै छन्। सामाजिक काममा पनि उत्तिकै अग्रसर जता पनि घुल्ने, जे पनि गर्ने, जोसित पनि पुग्ने।

“आफ्नो लोग्नेलाई यति मानितो गर्छे ‘पति परमेश्वर’ हुन्छ भन्ने कुरा उसैको पतिभक्तिबाट सहजै अनुमान लगाउँछु म। श्रीमानलाई केही गर्न पर्दैन।”

“फेसबुकमा यस्ता राम्रा अनि आकर्षक सेल्फीहरू राख्छे मानौं कुनै खालकी मोडल, हिरोइन र सेलिब्रेटीभन्दा कम छैन। निकै समय भिडियो कल, च्याटिङ अनि लाइक, कमेन्ट गरेर आनन्द लिन्छु मैले।”

गाउँका पाका बूढाबूढीहरू पनि उसको तारिफ गरेर थाक्दैनन्। हुनसम्मकी नमूना छे ऊ।

“मलाई अप्ठेरो पर्दा तुरुन्त ३ लाख निकालेर दिई। समस्या टरिहाल्यो। त्यसपछि उसित कति काम चलाएँ मैले।” उसको गुन खाएकाले प्रशंसा थपिहाल्थे।

“सर्वशक्ति सर्वगुण सम्पन्न छे भन्न मन लाग्छ मलाई त।”

“समाजमा ऊ जत्तिको अग्रसर, सहयोगी र लोकप्रिय अहिलेसम्म कुनै महिलाहरू निस्कन सकेका छैनन्।”

“जे भए नि ! उसलाई देखेपछि सबै किसिमका दुःखहरू भुलिन्छ।” अर्का एक जनाले थपे।

उपस्थित सबैले एकएक गरी यस्तै गरी उसको तारिफ, व्यक्तित्व, लोकप्रियता, पहुँच अनि सर्वगुण सम्पन्नताको पेटभरि तारिफ गरेर थाकेनन्।

अन्तमा “अनि ....।”

“केही छ बाँकी?” एक्कासि अर्कै वातावरणमा मोडिन पुग्यो कुरो।

“छ।” 

हिम्मत बटुलेर एक जनाले अगाडि सरेर भने–“यी सबै तारिफहरू म उसको श्रीमानका कोणबाट हेर्नुपरेका भए के गर्थें के गर्थें !”

  (२) इरादा  

“भुटानले रातारात खेदेर र भारतले मेची पुल कटाएपछि देशविहीन जिन्दगी यत्तिकै अलपत्र छ। ८१ नाघेँ, परिवार कोही भुटानै छाडिए, कोही अमेरिका, अस्ट्रेलिया म भनेँ यही छु।”

हर्कमान बुढाले झापाको शरणार्थी शिविरबाट खुइय्य गर्दै थिए। ६ महिनाअघि श्रीमती बितेपछि नितान्त एक्लिएका उनको मस्तिष्कमा कहिले आफू जन्मेको लामिडाँडाको बगैंचा र श्रीसम्पत्ति घुमिरहन्थ्यो। आफ्ना दमाली सकिए। पोहोरसम्म त अमेरिकाबाट छोरानातिको फोन आइरहन्थ्यो। अहिले न फोन छ न उठाइदिने?

“कसरी आइपुग्नु भो यहाँ?”

मजस्तै पत्रकार, मानव अधिकारवादीहरू सोधिरहँदारहेछन्। वृतान्त सुन्छु। सन् १९८८ को जनगणनामा दक्षिण भुटानका नेपालीहरूलाई नागरिकमा समावेश नगरी आगो लगाएर लखेटेको, आन्दोलन गर्दा ७ हजार मरेका, देशद्रोहीको आरोपमा सर्वस्वहरण सहित देश निकाला, नमान्नेलाई राज्य, सेना र पुलिसले हत्या–हिंसा, बलात्कार–लुटपाट, ज्यान जोगाएर आएको। भुटान र भारत सरकारको षड्यन्त्रले स्वदेश फर्किनै नदिएको। विवशताले काँकडभित्ता हुँदै शिविरमा फालिएको। अधिकार र स्वदेश फिर्तीका लागि अनेकौं आन्दोलन र अनसन। भारतीय पुलिसको दमनले सहबहादुर शिवाको मृत्यु, २५ हजार भारतमै अलपत्र इत्यादि। नेतृत्व लिनेलाई जेल, अधिकार माग्नेलाई छिन्नभिन्न पारेर ८ मुलुकमा पुनर्वास।

“तपाईको स्याहार कसले गर्छ अहिले?”  

“कसले गर्नू ? नेपालमै बिहे भएकी छोरी छन् , कमै भेट हुन्छ। छोराहरू अमेरिका गए। कोही आफन्त नभाको देशमा म गइनँ। परिचयपत्र नभएका, अपांग र रोगीहरू मात्रै छम् यहाँ।”

संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले ३ वटा विकल्प अघि सारेको थियो– १) स्वदेश फिर्ता, २) तेस्रो मुलुक पुनर्वास र (३) नेपालमै समायोजन।

श्रीमतीको उपचारमा खटिएकाले हर्कमान तथ्याङ्कमा छुटेछन्। रोगी भएकाले कतै गएर केही गर्ने उपाय थिएन। छोरीले छाडेको सातुचिउरा अनि रासनको तेल–चामलले गुजारा चलाएर, कहिले त भोकभोकै सुत्दारहेछन्।

१ लाख १५ हजार शरणार्थी पुनर्वासमा गएपछि शिविरै लगभग रित्तो र स्मशान जस्तो भैसकेको थियो।

“बुवाको अन्तिम इरादा?”

“यतिञ्जेल अलपत्र भइयो। न परिचय भयो न देश रह्यो? न परिवारसित न अस्तित्व। नेपाल हेर्दा टिठ लाग्छ, भारत सम्झिँदा रिस उठ्छ। हाम्रो के गल्ती थियो र यति ठूलो सजाय ? फर्किने आश पनि छैन, घिट्केसो पनि मर्दैन। पुर्ख्यौली थलोमा मरे पनि स्वाभिमानले नेपाली भएर मर्न चाहन्छु।”

बूढाका आँखाभन्दा पहिल्यै आफ्नै आँखामा मूल फुटिसकेछन्।

     (३) सन्तानको आश

“अहिले म दोस्रो प्रेमीको गर्भधारण गर्दैछु। अघिल्लो छोरा हुर्किसकेकाले दोस्रोको रहर थियो।”

“बिहे कहिले गर्ने त?”

“आफ्नै सन्तान भएपछि बिहेको अनिवार्यता देख्दिनँ म। अहिलेसम्म सोचेकी छैन ।हेरौं।”

विदेशी अभिनेत्रीको अन्तर्वार्ता हेर्दै थिएँ टिभीमा। उनी बिहे नगरी आफ्नो प्रेमीको सन्तान हुर्काउँदै, गर्भधारण गर्दै थिइन्। सम्झिन्छु हामी कहाँ बिहेअघि गर्भधारण गरेकी साइँलीले आत्मलानि र तिरस्कार सहन नसकेर आत्महत्या गरेकी थिई। हर्के दाइजस्ता निसन्तान दम्पतीका लागि त विज्ञानले १९७८ मै बेलायतमा टेस्ट ट्युबबाट लुइस ब्राउन हुर्काएर देखाइसकेको थियोे। हर्के दाइका दम्पतीले निसन्तान नै ढुकुरजस्तै टुक्लुक्क दुइटाले आधा उमेर गुजार्दै थिए। उनकै दमाली जगदीश पौडेलले काठमाडौं गएर लाखौं खर्चेर जुम्ल्याहा छोरा पाएर आए। उपल्लो गाउँका सितारामको हस्पिटलबाटै ग्रहण गरेको छोरो रमेश पनि अहिले ठूलै भइसकेको छ।

म घोत्लिदै जान्छु बाहिर नसुनाए पनि नर्मदा भाउजूका तिनओटै सन्तान बिर्खे दाइका होइन रहेछन्, अनुहारले पनि कहलिन्छ। तिनलाई अरू कसैले उपकार गरेका थि। हामीकहाँ बैंक खातामा पैसा जम्मा गर्न सकिँदैन, अस्पतालमा ब्लड बैंक देख्छु। अझ विदेशमा त स्पर्म बैंक (वीर्य बैंक )समेत खोलिसकेछन्। वीर्य दान गर्यो,  धर्म कमायो र पैसा कमायो कति आनन्द। चाहिनेले वीर्य, सन्तान जे पनि ग्रहण गर्न सक्दा रहेछन्। म तीन छक्क पर्छु।

“कहाँ पुगेर भेड्कियौ हर्के दाइ लाल जोडी भएर?” आँगनमा टुप्लुक्क देखापरेका हर्के दाइलाई जिस्क्याउँछु।  

“भाउजूले कत्ति सुख नदिएर सन्तानेश्वर महादेवको दर्शन गरेर आएको। परार हरिवंश लाइयो कैयौं व्रत बसियो। यत्तिकै मरे ढोकामा तालै लाग्ने भो। माथि जाने बाटो उसै बन्द होला सम्पत्ति पनि कसले खाने ? वंश पनि चल्नुपर्यो अझै त आश मरेको छैन भाइ!”

 (४) धोका

  “कति बेर गर्नु भा’को नि कम्ति कुरेँ मैले ?”

कुचुक्क मुख पार्दै छोरो च्यापेर गुनासो गर्दै ऊ गाडीभित्र पसेपछि मैले भित्रबाट ढप्काएँ। गाडी गुड्यो पृष्ठभूमिमा रामकृष्ण ढकालको गीत बजिरहेको थियो।

“जिन्दगीले यसरी धोका दियो कि?”

“सबै कुरा चाहे जस्तो हुने भए तँ पनि त मेरै हुन्थिस।’

“मैले नमान्या हो र?” उसले पुराना कुरा उक्काई।

“उतिखेर मैले भागुम भन्दा हाम्रो संस्कारमा छैन भनिस् अहिले खुब ...।”

हामी दुवै दोषी थियौ सायद। बाआमाको सहमति खोज्दा कता भात मिलेन कता के मिलेन भने। खानदान र इज्जतले आफूखुशी गरिएन।

गाडीलाई मोड कटाउँदै थिएँ जिन्दगीले थुप्रै मोड काटिसकेको थियो दुवैको। ऊ कसैकी म कसैको भए पनि हामी पहिले जस्तै जिस्कन्थ्यौं। फोनमा वा भेटमा उसले मेरो परिवारको नालीबेली सोधेकी हुन्थी, निकै सरोकारी।

“भाउजूलाई ठिकै छ नि?”

“के ठिक भन्नू त्यो रोगीको? सधै अस्पताल लग्नुपर्छ। त्यताको कुरै नगरौं बिर्सेर रसिलो भएको मन पनि खिन्न हुन थाल्छ। तैले बरु सही बूढो पाइस् !” ऊ चुपचाप थिई।

“कहाँ जाने आज?” प्रसंग मोडिदिएँ।

“ के जानूँ तपाईले कहाँ लैजान बोलाउनु भएको हो?”

“छोरा निदायो ?”

पछाडि फर्केर हेर्दा निकै आकर्षक, मादक नजरले मुस्काउँदै थिई। मान्छे नि साँच्चिकै अप्सरै छे। शून्य समयको फाइदा उठाइयो। भरपुर ठाउँहरू घुमियो। फोन, भिडियो कलमा जति जिस्किए पनि सामुन्नेमा व्यावहारिक कुराहरू भए।

“उहाँसित नभएका सब चीज तपाईसित छ।” यसो भनिरहँदा उसको अनुहार निकै चम्किलो देखिन्थ्यो।

“मतलव ?”

“घर, गाडी अनि यस्तो रसिक स्वभाव ...।”

जिन्दगीको खेल कल्ले जान्यो र ? मान्छे परिस्थितिको दास पनि हो आखिर। उसको लोग्ने, घर अनि काखभरिको छोरो मेरै सुझबुझको उपज थियो।

विगतमा जे भए पनि प्रायश्चितमा म उसलाई सदैव तन, मन र धनले सहयोग गरिरहन्थेँ। केही उसका, केही मेरा कारणले हामी एक अर्काप्रति सधं समर्पित र जिम्मेवार पनि थियौं। ऊ झर्ने मोड आइपुग्यो । झरी।

छोरो निद्रामै थियो। दुवैका गालामा चिमोटिदिएँ। कसले कहाँ कसरी धोका दियो भन्नू म अल्मल छु अझैसम्म। ट्र्याकमा उहीँ गीत रहेछ बज्दै थियो...“जिन्दगीले यसरी धोका...।”

  – कल्लाबारी, पाल्पा।

प्रकाशित: १ आश्विन २०७८ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App