१३ आश्विन २०७८ बुधबार
कला

‘कमलको फूल’ भित्र मेरो निजात्मकता

समीक्षा

खेमराज पोखरेल

सन्दर्भ –

लघुकथाकार हेमलता ! त्यो दिन फेसबुकका भित्ताले तिम्रो परमयात्राको फोटोसहितको समवेदना तथा श्रद्धाञ्जलीले भरिएको सूचना लेख्यो। म स्तब्ध भएँ। साँच्चि स्तब्ध भएँ। तिम्रो परमयात्रा असत्य भएको भए हुन्थ्यो  तर सत्य यो थियो कि त्यो असत्य थिएन।

मसमेत एडमिन रहेको ‘लघुकथा कुनो’मा तिमीले ‘कोरोना आइरहोस्’ शीर्षकको लघुकथा पोस्ट गरेको सम्झना छ मलाई। सक्रिय एडमिनीय दायित्वका कारणले मैले स्वाभाविक रूपमा तिम्रो लघुकथामा तिखो प्रतिक्रिया लेखेको पनि सम्झना छ। मेरो प्रतिक्रियापछि तिमी मेरो मेसेन्जरमा मलाई गुरु भन्दै झुल्किएकी थियौ। यो झुल्काइपछि तिमी र म नभेटी, नचिनी गुरुचेली भएका थियौं। पहिलो लघुकथाबाटै तिमी मेरो नजरमा राम्रो सम्भावना बोकेकी लघुकथाकारका रूपमा दरिएकी थियौ। तिमीलाई यसको छनक थियो कि थिए नमलाई थाहा छैन।

तिमीलाई थाहा होला,तिम्रो स्वर्गवासको सूचनाले पीडामा बसेको बेला तिमीले लेखेको लघुकथा सङ्ग्रह ‘कमलको फूल’ प्रकाशन भयो। मलाई ज्ञात छ हेमलता यो प्रकाशनको चाँजोपाँजो तिमीले नै मिलाएकी थियौ। साँच्चि भनूँ हेमलता, तिमीले तुरुन्तै लघुकथासङ्ग्रह प्रकाशन गर्न लागेको कुरा मलाई भनेकी थियौ। म भने अलि हतार पो भयो कि ? एकपल्ट अझै परिमार्जन पो गर्ने हो कि भनेर सोच्दै थिएँ तर तिम्रो अन्तस्करणभित्र पापी यमराजको कुदृष्टि छटपटाएको रहेछ । पुस्तक पहिले कि तिमी पहिले भनेर द्वन्द्व पो रहेछ चित्रगुप्तको बहीखातामा। अन्ततः पुस्तकको सबै काम सकेर तिमी नै पहिलो भयौ। त्यो पापी विधाताले पुस्तक विमोचनसम्म पनि पर्खेन।

अँ त हेमलता, त्यो पुस्तक मेरा कम्प्युटरका भित्तामा लघुकथा समाजप्रदेश नं १ का अध्यक्ष ममता मृदुलको सौजन्यबाट प्राप्त भयो । त्यसकारण त्यही ‘कमलको फूल’ मा बसेर तिमीलाई श्रद्धाञ्जली अर्पण गर्दछु। तिम्रै ‘कमलको फूल’का पत्रभित्र तिमीलाई नै खोज्दै छु। तिम्रै रेखाचित्र बनाउँदै छु। तिमीले जन्माएका अक्षर र शब्दलाई साक्षी राखेर तिमै्र चैतन्यको परख गर्दैछु।

कलेबर

मेरो कम्प्युटरका भित्तामा पीडीएफ रूप लिएर उदाएको तिम्रो ‘कमलको फूल’ को आवरण पृष्टमा नीरबहादुर याक्खाको कला झल्किएको छ। शीर्षकअनुसारकै एउटा सुन्दर कमलको फक्रँदै गरेको फूलको चित्र छ। पश्चभागमा लघुकथाकारका हैसियतमा तिम्रै गम्भीर मुद्राको तस्बिर छ। त्यसमुन्तिर तिम्रो परिचय छ। पुस्तकको प्रकाशकमा पनि तिम्रै नाम छ। २५० रुपियाँ मोल भएको यो लघुकथा सङ्ग्रह यही २०७८ सालमा तिम्रो परमयात्राको पछिपछि प्रकाशन भएको छ। ‘हाम्रो लघुकथा पाठशाला’का संस्थापक एडमिन लता केसी तथा एडमिन राजु  क्षत्री अपुरोको शुभकामना छ। ‘हेमलताको लघुकथामा आभूषण, शृङ्गार र सौन्दर्य’ शीर्षकमा साहित्यकार दीपक लोहनीको शुभकामना मन्तव्य छ। लघुकथामै विद्यावारिधि गरेका डा. पुष्करराज भट्टले ‘हेमलताका लघुकथामा सकारात्मक भावचेतना’शीर्षकको भूमिकामा ‘उहाँका लघुकथामा मूलतः सन्देशमूलकता, सामाजिक व्यङ्ग्य, पात्रगत विविधता, शैक्षिक सन्दर्भ एवं बालमनोविज्ञानको प्रयोगका साथै सकारात्मक चेतनाको प्रयोग पाइन्छ’ भन्ने विचार राखेका छन्। अर्का भूमिकाकार डा. शेखरकुमार श्रेष्ठले ‘प्रविधिले जन्माएको लघुकथाकार हेमलता उप्रेती’ मा ‘उनका अधिकांश लघुकथाको विषय बालबालिका र नारीसँग सम्बन्धित छन्’ भन्ने विचार प्रक्षेपण गरेका छन्। यसपछि लघुकथाकारका हैसियतमा तिम्रो ‘आफ्नो भनाइ’ मा आफ्नै जीवनमा भोग्नुपरेको अवसरको अल्पता, चेतको प्रखरता तथा तिम्रो समग्र इतिवृत्ति केलाइएको छ। ६० वटा लुघकथा समेटिएको विषयसूची संलग्न छ।

विषय सन्दर्भ

तिम्रा चेतदृष्टिहरू प्रखर थिए। अक्षरशिल्पहरू तीक्ष्ण थिए। त्यसैले तिमीलाई एउटा उम्दा लघुकथाकारको रूपमा नदेखी/नचिनी पत्याएको थिएँ। अहिले तिम्रो पुस्तकभित्र पसेर हेर्दै छु। तिमीले आफ्ना लघुकथाहरूमा विविध विषयसन्दर्भ उठाएकी छौ। आफूले बाँचेको संसार,भोगेको जीवन र जीवन दृष्टिकोणलाई मजाले उजागर गरेकी छौ। लघुकथा पढ्दा तिमी सकारात्मक सोचकी मान्छे भन्ने प्रस्ट हुन्छ। सकारात्मक सन्देशमा विषयवस्तुको गाम्भीर्य पस्किनु तिम्रो विशेषता रहेछ। मनव अधिकार मात्र होइन, पशु तथा बनस्पतिको अधिकारको बारेमा पनि तिम्रो नजर पुगेको रहेछ। समाजमा सुन्दर सन्देश दिने तथा विकृतिमा व्यङ्ग्यप्रहार गर्ने र विकृतिरहित सुन्दर आदर्शवादी समाजको परिकल्पना गर्ने तिम्रो उद्देश्य रहेछ। चाडपर्व, संस्कृति, पारिवारिक एकता, कोमलता, शान्ति, न्याय तथा मान्छे याने खास मान्छे खोजेकी छौ। त्यसैले तिमी मान्छेलाई पशुसँग तुलना गर्छौ र मान्छेभन्दा पशु नैतिकवान् भएको र मान्छे निकृष्ट हुँदै गएको विचार राखेकी छौ।

मलाई तिमीले सुनाएकी थियौ कि तिमी एउटा शिक्षक थियौ। अहिले तिम्रा लघुकथा पढ्दा तिमी खाँटी शिक्षक थियौ भन्ने मलाई प्रस्ट भएको छ। तिमीले बाँचेको संसार शिक्षामय थियो। त्यसैले शैक्षिक विषय सन्दर्भ, सिकाइ  प्रक्रिया तथा बाालमनोवैज्ञानिक पक्षमा असाध्य धेरै उम्दा लघुकथा लेखेकी रहिछौ। स्वाभाविक रूपले शिक्षक भएपछि तिमीले जीवनमा ज्ञानलाई प्राथमिकता दियौ। कर्मलाई नजर अगाडि राख्यौ। कर्मवादको पुजारी भयौ। त्यसकारण तिम्रा लघुकथाभरि तिमी कर्मवादी भएर उदाएकी छौ। यो कुरा यो लघुकथा सङ्ग्रह पढ्ने पाठकले थाहा पाइहाल्छ।

तिमी आमाकी छोरी हौ। कसैकी अर्धाङ्गिनी पनि हौ। सन्तानकी आमा पनि हौ अनि शिक्षक भएपछि त समग्र परिवेशकी आमा हौ। त्यसकारण तिमीले आमाका कथा लेखेकी छौ। श्रीमती तथा छोरीका कथा लेखेकी छौ। महिला भएबापत पाएको विभेद र यौन शोषण पनि लेखेकी छौ। यसका विरुद्ध विद्रोह पनि लेखेकी छौ। महिलाअधिकारका कुरा उठाएकी छौ।महिलाका प्रति विपर्यास परिवेशको चित्रण गरेकी छौ।

सारमा तिमीले यो लघुकथाकृतिमार्फत विविध विषयलाई प्रस्फुटन गराएकी छौ। लघुकथाहरूले उम्दा सामग्री पस्केका छन्।

लघुकथाका कसीमा ‘कमलको फूल’

हेमलता ! अब म तिम्रा लघुकथाहरूलाई लघुकथाका कसीमा राखेर हेर्न गइरहेको छु।  

हेमलता ! तिमीले लेखेका सबै लघुकथामा शब्द अनुशासनलाई पूरापूर ख्याल गरिएको छ। तिम्रा भाषा सहज र सलील छन्। पूर्वेली महक पाइन्छन्। लघुकथाका मूलमन्त्र लघुता, संक्षिप्तता, सूत्रता, कुतूहलता, बिज वाक्य, समापनमा प्रति ध्वन्यात्मकता, पात्रपरिवेश, आयाममा संक्षिप्तता, विम्बको प्रयोग, बक्र रेखीय बहाव जस्ता अति आवश्यक तत्त्वलाई हेक्का राखेकी छौ। सम्वादमा स्वाभाविकता,  अर्गानिक याने कि नुतन विषयवस्तु, स्थानीयता जस्ता कुरा पनि मजाले उपयोग गरेकी छौ अनि सबैभन्दा मजाको कुरा त तिमीले आफ्ना लघुकथामा स्वैरकल्पनाको तरिका असाध्य प्रयोग गरेकी छौ। स्वैरकल्पना भन्नाले निर्जीव वस्तु वा नबोल्ने प्राणीलाई बोल्न लगाएर आफ्ना दृष्टिकोण साहित्यमा पस्किनु स्वैरकल्पना हो। मानवइतर पात्रको सम्वाद परिकल्पना हो। यो कृत्यमा तिमी माहिर देखिएकी छौ। मलाई लाग्छ सायद स्वैरकल्पनामा यति धेरै लघुकथा लेख्ने लघुकथाकार तिमी पहिलो होला। तिमीले भोगेको/देखेको/सुनेको घटना वा परिवेशलाई टपक्क टिपेर लघुकथा लेख्यौ सायद। त्यसैले तिम्रा विषयवस्तु यथार्थवादी छन्। नूतन छन्। प्राकृतिक विम्बका प्रयोगको माध्यमबाट तिमीले लघुकथालाई उचाइमा पुर्‍याएकी छौ। त्यसकारण पहिचान, मन, रहस्य, विश्वासघात, संस्कार, कमलको फूल, छड्के तिलहरी लगायत अनेकन लघुकथा सुन्दर र स्तरीय बनेका छन्।

अपुग

मलाई थाहा छ, तिमी जहाँ छौ, त्यहाँबाट यो मेरा कुरा हेर्न/सुन्न पाउन्नौ। मेरा अर्घेलासँगप्रतिवाद गर्न पनि पाउन्नौ। छलफल गर्न पनि पाउन्नौ। त्यसैले तिम्रो यो लघुकथा सङ्ग्रहमा यो पुगेन त्यो पुग्यो भन्नुको पनि केही काम छैन। तिमी भएकी भए म तिमीसँग सहकार्य गरेर अझ सुनमाथि सुगन्ध थप्ने प्रयत्न गर्ने थियौं तर पनि केही भनिरहेको छु  किनभने यो तिम्रा लागि भनिरहेको छैन। नयाँ लघुकथा लेख्न चाहने लघुकथाकारका लागि सायद तिमीलाई झैं काम लाग्दा भन्ने आशयका साथ केही अपुग कुरा भन्दै छु। तिमी माइन्ड नगर है हेमलता। तिम्रा लघुकथा पढ्ने पाठक/समीक्षकले भने यी कुरा सुन्ने छन्। जसरी तिमीलाई मेरो प्रतिक्रिया र लघुकथा कसरी लेख्ने भन्ने बारेको मेरो भिडियो काम लाग्यो त्यसै गरी अन्य लघुकथा लेख्ने लघुकथाकारहरूलाई भने काम लाग्न सक्छ।

प्रायःकथावस्तु घच्चीका छन् तर कुनैकुनै अति सामान्य कथावस्तु पनि तिमीले हालिछौ। मैले तिमीलाई भनेको थिएँ नि हेमलता, लघुकथा लेख्नका लागि दर्बिलो विषयवस्तु चाहिन्छ भनेर। सम्पादन अलि कमजोर नै छ। किनभने तिम्रा लघुकथा योभन्दा धेरै राम्रा हुने थिए। त्यो कुरा बित्यो। तिम्रा लघुकथाभित्र गवेषण गरिरहँदा मनमा लागेको एउटा कुरा भने मलाई भन्नै मन लागेको छ। तिमीले बाँचेको, देखेको, सुनेको, पढेको र भोगेको धरातल भनेको सरदर नेपाली परम्पराकै हो। त्यसैले तिम्रा लघुकथाका विषयवस्तु यथास्थिति आदर्शवादमा समेटिएका छन्। यथास्थितिमा आदर्शोन्मुख समाजको तिमीले परिकल्पना गरेकी छौ। वास्तवमा समकालीन नेपाली साहित्यको वृत्तमा हेर्‍यो भने समाजलाई आदर्शवादमा होइन न्यायमा, यथास्थितिमा होइन अग्रगम्यतामा, अनुनयविनयमा होइन विद्रोहमा दह्रो खुट्टा उचाल्न सक्ने पुरुष वा महिला साहित्यकारको निकै खाँचो छ। अझ महिला साहित्यकारको अवस्थालाई हेर्‍यो भने त खडेरी नै छ। यसको कारण समाज, परिवार, दायित्व, प्रचलन, खान्दानको धङ्घङी हुन्। तिनलाई चिर्दा पुरुषप्रधान समाज उफ्रिन थालिहाल्छ। परिणाम महिला साहित्यकारको व्यक्तिगत जीवनमा नराम्रो असर पर्छ। यसबाट सतर्क भएर पुरुषसत्तामुखी समाजलाई पच्ने खालको मात्र सामग्री लेख्ने प्रचलन महिला साहित्यकारमा अलि धेर देखिन्छ। विद्रोहलाई पनि सुधारोन्मुख आदर्शमा पुर्‍याइदिने यो आम प्रचलन हो। यो प्रभाव तिमीमा पनि रहेछ। त्यसकारण तिमी यथास्थितिमा सुधार त चाहन्छौ। तर समापन आदर्शवादमा लगेर टुङ्ग्याउँछौ। तिम्रो बाध्यता मैले बुझेको छु हेमलता। अब तिमीलाई भनेर त के पो गर्नु र ?

नपुगेका कुरा अरू पनि छन् । समापनमा कथ्य विस्तार पनि भएको छ। बिज वाक्यको सबै लघुकथामा हेक्का राखिएको छैन। समापनमा विपरीत भाव पनि सबै लघुकथामा छैन। सबै लघुकथामा तीव्र बहाव पनि छैन । कुनैकुनै लघुकथाको विषयवस्तु त्यति दर्बिलो पनि छैन। अब यो कुरा भन्नुको के अर्थ र? तर पनि वर्तमान नेपाली लघुकथाको संसारमा बग्रेल्ती उदाएका लघुकथाहरूको हारमा भने तिम्रो यो कृतिउ म्दा छ। पक्का।

उपसंहार

हेमलता, मैले तिमीलाई यो जुनीमा सशरीर देखिनँ। भेटिनँ। चिनिनँ ।तिमीले परमयात्रा शुरू गरिहाल्यौ। अब भौतिक लोकमा भेटिने कुरा पनि भएन। न त सामाजिक सञ्जालमा लकहीँकतै देखिने कुरा रह्यो । मलाई सम्झना छ हेमलता। मेसेन्जरमा एकाध पल्ट कुरा भएको थियो तिमीसँग। परिचय भएको थियो। मैले तिमीलाई चिन्दा एउटा स्कुलकी शिक्षिका तथा कुशल लघुकथाकार भनेर मात्र चिनें।असल चेली नै ठानें। त्योभन्दा बढी तिमीलाई चिन्ने आवश्यकता नै थिएन।

अमेरिकामा बसेको छु। मान्छेको व्यक्तिगत जीवन खोतलखातल पार्ने कार्य ज्यादै नराम्रो मानिन्छ। त्यसैले मैले तिम्रा बाबुआमा, श्रीमान्, केटाकेटी आदिकाबारेमा सोधिनँ। तिमीले पनि बताइनौ। किन पो चाहिएको थियो र थप परिचय? त्यो कुराले लघुकथा उन्नयनका लागि केही फरक पर्ने कुरा पनि थिएन। तिमीलाई थाहा थियो होला, म तिमीलाई लघुकथाको कृति निकाल्नका लागि उल्क्याइरहेंथें। म अनुभूत गर्दै थिएँ कि तिमी उल्किँदै थियौ । हामी गुरुचेलीले मेसेन्जरमा कुरा गर्दा इलाम बजारमा लुघकथाको एउटा घच्चीको लघुकथाको प्रशिक्षण कार्यक्रम गर्ने कुरा गरेका थियौं। तिम्रो दीर्घ अनुपस्थितिले त्यो कार्यक्रमको पनि अन्त्य भयो। पटाक्षेप भयो नि हेमलता। हेमलता तिमीले कोरोनाका बिडम्वनायुक्त लघुकथा ‘कोरोना आइरहोस्’ लेख्यौ। कोरोनाकालको लकडाउनलाई सदुपयोग गरेर धेरै लघुकथा लेख्यौ तर त्यही पापी कोरोनाले तिमीलाई हामीबाट निर्मम तरीकाले चुँड्यो।

क्यानाडाबाट सञ्चालित लघुकथाकारको नाम हटाएर जाँचिएको त्यो अन्तर्राष्ट्रिय लघुकथा प्रतियोगितामा तिमी तेस्रो भयौ। संयोग यस्तो थियोे कि त्यो प्रतियोगिताको तीनमध्ये एउटा निर्णायक म थिएँ। मैले घच्चीकी ठानेको लघुकथाकार तिमीले मेरो ठम्याइलाई नाम छोपेर जाँच्दा पनि प्रमाणित गरेकी थियौ। हेमलता, तिमीलाई थाहा छैन होला! नतिजा सुन्दा म अघोर खुसी भएको थिएँ। खुसी मारे उफ्रेको थिएँ।

अनि नि हेमलता त्यो दुर्भाग्यको दिन तिम्रो स्वर्गवासको सूचना फेसबुकका पानाभरि छरिएका बेला पो थाहा पाएँ कि तिमी त कथाकार विष्णु उप्रेतीकी एक्ली प्यारी छोरी पो रहिछौ। यो नाताले त तिमी मेरी छोरी पो रहिछौ। यसपछि म थप स्तब्ध बनें। छोरीको परमयात्राको पीडा अुनभूत गरिरहें अनि पछि फेरि थाहा पाएँ कि मेरा मित्र इलाम क्याम्पसका पूर्वक्याम्पस प्रमुख राजेन्द्र कुँवरकी श्रीमती पो रहिछौ तिमी त ! ओहो, तिमी त म्याडम पो ! द्रवीभूत भएँ। अनिपो थक्कथक्क लाग्यो हेमलता। म्याडम भनेर सम्मान गर्नुपर्ने तिमी त मेरो समकक्षी पो रहिछौ तर मैले तिमीलाई चेली पो भनेंछु। तिमीले त हो नि मलाई गुरु भनेर पहिले सम्बोधन गरेकी। यतिबेला मैले तिमीलाई म्याडम भन्न खोजेको छु। तिमीलाई तपाईं र हजुर भन्न खोजेको छु तर सुन्ने तिमी छैनौ।

हेमलता, हामी मान्छेलाई थाहा छ कि जीवन अनित्य छ। मृत्यु सधैं असामयिक हुन्छ। तिमी त त्यही अनित्यको उदाहरण बन्यौ। तिमीलाई लागिरहेको होला कि कोरोनाले लग्यो। तिमी मर्यौ तर होइन नि हेमलता, मेरी प्रिय चेली हेमलता तिमी युगयुग बाँचिरहने छौ।

तिम्रा सन्तानले यही लघुकथा सङ्ग्रहमा भएको तिम्रो नामअगाडि राखेर गौरव गर्नेछन्। तिम्रो त्यही तस्बिरमा रुनेछन् । हाँस्नेछन्। आशिष माग्नेछन्।तिम्रा पितामाताले तिमीजस्ती पुत्री जन्माएकोमा सधैं गौरव गर्नेछन्। तिम्रा विधुर श्रीमान्ले तिम्रो त्यही पुस्तकमा रहेको तस्बिर हेरेर जीवनका बान्की जँघार तर्नेछन्। लघुकथाप्रेमी समाजले तिमीलाई बिर्सने छैन। तिम्रा मुलायम हातले कोरेका ती अक्षरहरूले तिमीलाई मर्न दिने छैनन्। म रहुँला, नरहुँला सामान्य कुरा हो। कोही बाँच्ला वा मर्ला सनातनीय कुरा हो। भौतिक स्वरूपको के कुरा गर्नु ? चैतन्य शरीरमा कृत्यले बाँच्ने हो। मान्छेको चोलाजन्मदै मर्ने बाचासहित आएको छ। हेमलता तिमी पत्याऊ है। स्थुल शरीर नाश हुने हो। तिम्रो चैतन्य शरीर तिम्रा पुस्तकको पानामा सधैंसधैं बाँचिरहने छ। तिम्रै हातले बनाएका अक्षरको कारणले युगले तिमीलाई सम्झिरहने छ। तिमीलाई थाहा छ कि छैन, तिम्रा नाममा ‘हेमलता पुरस्कार’ को स्थापना भएको छ। स्थापना मात्र होइन लघुकथाकार दीपक लोहनीले त्यो तिम्रो नामको पुरस्कार प्राप्त गरिसक्नुभएको छ। यो पुरस्कारलाई नियमित बनाउने सम्बद्ध पक्ष र पुरस्कारप्राप्त विद्वान् दीपक लोहनी दुवैलाई धेरैधेरै जिम्मेवारी थपिएको छ। मलाई विश्वास छ कि यी दायित्वहरू कालान्तरकालान्तरसम्म पूरा हुने छन्। तिमी सदा बाँच्ने छौ।

अन्त्यमा के भनूँ? केही लेखें तिम्रा सम्झनामा। लेखेर मेरा आफ्नै मनको बह पोखें। शुभ आशिष चेली, परम यात्रामा पनि तिमी सक्रिय जीवन बिताउनु है। हार्दिकहार्दिक श्रद्धाञ्जली हेमलता। मेरो श्रद्धासुमन प्रिय चेली।

अगस्ट २८, २०२१, सान एन्टोनियो, अमेरिका।

प्रकाशित: ३० भाद्र २०७८ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App