१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जादु

लघुकथा

सीता रेग्मी

‘बाबु, कोठामा यसरी बल उफार्नु हुन्न नि!’ आफ्नो टाउकोमा छोराले खेलाउँदै गरेको बलले लागेपछि मिनाले बाबुलाई सम्झाउँछिन्।

आमाको कुराको वास्तै नगरी तीन वर्षे बालक बल उफारिरहेको थियो, बल उफ्रिँदै गएर कुर्सीमा बसिरहेका उसका बाबालाई लाग्यो।

‘कोठाभित्र बल नखेल भनेको हैन? जा बसेर अरू नै चिज खेल!’ बल आफैंसँग राख्दै उनी कड्किए।

‘नाई मेरो बल दिनु न!’ भन्दै बाबु रुँदैरुँदै आमासँग पुग्यो।

आमाले काखमा लिई फकाएर टिभी हेराउन थालिन्। छोरा अलमलिएपछि उनी आफ्नो कामतिर लागिन्।

केही बेरपछि बाबु दौड्दै आमातिर आयो।

‘मामु म नि जादु गर्छु नि!’

‘कस्तो जादु बाबु?’

‘टिभीमा गरेजस्तै।’

‘कस्तो जादु गर्यो त टिभीमा?’

‘त्यहाँ त नि मामु मान्छेलाई नि चरा, बाँदर, हात्ती केके बनाउँदो रहेछ!’

‘ए हो अनि बाबुचाहिँ के बनाउने त?’

‘म त मेरो जादुले बाबालाई नि मामु बनाइदिन्छु।’

‘किन ?’

‘अनि बाबाले मलाई गाली नै गर्न पाउनुहुन्न नि!’ मिठो हाँसो सहित उसले उत्तर दियो।

प्रकाशित: २८ भाद्र २०७८ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App