coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अफगानिस्तानमा ९२ वर्षअघि बेलायती भागाभाग

गएको साता रातारात बेलायती सेना अफगानिस्तानबाट बाहिरिए। तिनका लागि विशेष व्यवस्थाका साथ अफगानिस्तानबाट हतारोमा बाहिरिनु २० वर्षे ‘वार अन टेरर’को पटाक्षेप बन्न पुग्यो। बेलायती सेनाको यस्तो हतारोको बहिर्गमनले ९२ वर्षअघिको एउटा घटनालाई स्मरण गराएको छ।

सन् १९२८ मा अफगानिस्तानका आदिवासीबीच बेमेलको अवस्था अहिलेकै जस्तो थियो। अहिलेको पस्तुन, तालिबान र अन्य क्षेत्रीय तथा जातीय द्वन्द्वजस्तै त्यो बेला सक्कावीको बोलवाला थियो। हबिबुल्लाह कलाकनीले स्थापना गरेको बचा ए सकाओ समूहले अफगानी अमिर (राजा) अमानुल्लाहको चर्को विरोध गरेको थियो।

त्यसको कारण के थियो भने अमिर अमानुल्लाहले भर्खरै युरोप भ्रमण गरेका थिए। उनी अफगानिस्तानलाई जतिसक्दो आधुनिकीकरणमा लैजान चाहन्थे। त्यसका लागि उनले आवधिक चुनाव गराउने, संसद बनाउने लगायतका योजना लिएर आएका थिए। यो योजना सुन्नेबित्तिकै पिछडिएको जातिले आफ्नो वर्चस्व गुम्ने डरका कारण सोको चर्को विरोध गर्‍यो। अमिर अमानुल्लाहको प्रजातान्त्रिक चुनाव गराउने सपना सन् २००४ मा अमेरिकी सहयोगले मात्र सम्भव भयो।

त्यो बेलाका जातीय समूहले राजामाथि इस्लामविरोधी भएको आरोप लगाए। अवस्था खराब हुँदै गयो र तिनले राजधानी काबुलबाहिर आक्रमण चर्काउँदै जान थाले। त्यो बेला अफगानिस्तानका राजदूत सर फ्रान्सिस हम्फ्रे थिए। हम्फ्रे यो आक्रमणबाट चिन्तित थिए र तुरुन्त विद्रोहीसँग छलफल चलाए। विद्रोहीले विदेशीमाथि आक्रमणको कुनै मनसाय नभएको स्पष्टीकरण दिए तर सडक अमिरविरुद्ध यति क्रुद्ध थियो कि बेलायती आफू सुरक्षित रहन सक्ने कुरामा शंका गर्न थाले।

विदेशी भूमिमा अनाहकमा ज्यान गुमाउनुभन्दा रातारात ठाउँ छोड्नु नै उपयुक्त हुने राजदूत हम्फ्रेले विश्लेषण गरे। यसपछि उनले काबुलभन्दा केही पर रहेको ठाउँमा प्लेन ल्याएर त्यहाँबाट ब्रिटिस इन्डियाको भूभाग रहेको पेसावर (हालको पाकिस्तान)मा पुग्ने योजना बनाए। यसका लागि बेलायती रोयल एयर फोर्सलाई तैनाथ गरियो। यो फोर्सले पहिलो विश्वयुद्धमा कठिन युद्ध लडेको थियो। त्यस्तै उडानमा अनुभवी भएका कारण अफगानिस्तानमा रहेका बेलायती नागरिक तथा दूतावासका कर्मचारीहरूलाई उद्धार गर्ने  निर्णय गरियो।

समस्या के थियो भने त्यो बेला प्रथम विश्वयुद्धमा यो वायु सेना साह्रै कमजोर अवस्थामा थियो। त्यसमाथि ठूलो र फराकिलो प्लेन भनेकै जुम्ल्याहा इन्जिनयुक्त जम्मा २५ जनालाई बोक्न सक्ने क्षमताको थियो, जसलाई भाइकर्स भिक्टोरिया भनिन्थ्यो।

युरोपबाहिर यस्तो प्लेन इराकमा मात्र थियो। अफगानिस्तानमा रहेका आफ्नालाई उद्धार गर्न हम्फ्रेले आफ्ना अग्रज अधिकारीलाई मनाउँदै १० वटा प्लेन तत्कालीन ब्रिटिस इन्डिया पठाउन आग्रह गरे। यो टोली बेलायतसम्म पुग्नका लागि लगभग नौवटा ठाउँमा इन्धन भर्नुपर्ने हुन्थ्यो।

सन् १९२८ डिसेम्बर २३ मा दूतावासमा काम गर्ने २३ कर्मचारी र तिनका बालबालिका रातारात काबुलबाट निस्के। बेलायती मात्र त्यहाँ थिएनन्, अन्य मुलुकका र खासगरी एक जना अमेरिकी र बाँकी युरोपेली मुलुकका सर्वसाधारण पनि थिए। तिनलाई पनि उद्धार गर्नु हम्फ्रेको दायित्व बन्यो। काबुलबाट एक घण्टे बाटो छिचोलेर उद्धार चाहने सर्वसाधारण छिमेकी सहर शेरपुर पुगे। शेरपुर त्यो बेला धनीमानी बस्ने सुन्दर ठाउँ मात्र थिएन, अझै पनि दुई–चार तोप रोक्ने क्षमता भएको पर्खालले घेरिएको सहर थियो।

सो भाइकर्स भिक्टोरिया प्लेनमा नअटेका सामग्री बोक्न थप दुईवटा साना प्लेन आए। त्यो बेला प्लेन उडाउन र बसाल्न ठूलो समस्या थियो किनभने यी प्लेन १८ सय मिटरको उचाइबाट उडान भर्न र ल्यान्ड गर्न भनी बनाइएका थिए तर शेरपुर चार हजार मिटर उचाइमा थियो। त्यसमाथि मध्य डिसेम्बर भएकाले सर्वत्र हिउँको राज थियो। 

जहाँ प्लेन चिप्लिने र दुर्घटना हुने प्रबल सम्भावना थियो।यी प्लेन शेरपुर आउनका लागि पेसावर–जलालावाद–काबुल रुटमा आउनुपर्थ्यो। यो रुट अझै पनि प्रचलित छ। यसका लागि प्रख्यात खैबर पासको पहाडी पर्खाल हुँदै आउनुपथ्र्यो। यो खैबर पास कैयौँ आक्रमणकारीको चिहानघारी रहेको इतिहासमा इंगित छ। यहाँ जब उनीहरूलाई उद्धार गरिँदैथ्यो, हवाई जहाजमा तलबाट गरिने आक्रमणको आतंक उत्ति नै थियो।

‘त्यसैले प्लेन उड्नेबित्तिकै बादलमाथि पुर्‍याउनु ताकि तलबाट हानिएको गोलीले प्लेनमा दुलो नपरोस्,’ भनी दूतावासका एक कर्मचारीले विमान चालक दलका सदस्यलाई टिप्पणी लेखी थमाएका थिए। यति भइसकेपछि पेसावर पुगिनेमा बेलायतीहरू विश्वस्त थिए।

यसपछि बेलायती दलहरू रातारात प्लेनमा भागेको आधा महिनामै अमिर अमानुल्लाहलाई अपहरण गरियो। जनवरी १४, १९२९ को यो अपहरण घटनाको तीन दिनपछि जनवरी १७ मा विद्रोही पक्षका सरदार सकाओले आफूलाई अफगानिस्तानको अमिर घोषित गरे। घोषणासँगै उनले आफ्नो नाम हबिबुल्लाह खान राखे।

जो जसरी सत्तामा आउँछ, उसको हबिगत पनि त्यस्तै हुन्छ। सोही वर्षको अक्टोबर १३ मा सैन्य कुमार्फत हबिबुल्लाह खानलाई अपदस्त मात्र गरिएन, उनलाई नोभेम्बर १ मा फाँसीको सजाय समेत दिइयो। त्यो बेला उनको उमेर जम्मा ३८ वर्षको थियो।

तर त्यो फेब्रुअरी २५ का दिन सातवटा भिक्टोरिया प्लेनबाट अन्य देशका मानिससँगै पाँच सय ८६ सर्वसाधारणलाई उद्धार गरियो। ती सबैको सरसामान र लुगाफाटा एक सय १० टनको लगेज बन्न पुगेको थियो। ४५ किलोमिटरको यो उद्धार कार्यक्रम सम्पन्न गर्न ८४ वटा मिसन सञ्चालन गरिएको थियो। तर सम्पूर्ण रूपमा सबै आकांक्षीको उद्धार गर्न १८ दिन लागेको थियो। उद्धारमा पर्नेहरूमा ३२ अफगानी, ११ फ्रान्सेली, ३४ जर्मन, चार इटालेली, १९ इरानी, रोमानी, स्विस एक–एकजना थिए भने सिरियाली पाँचजना थिए। ४२ जना तुर्की अधिकारी पनि यो उद्धारमा परेका थिए।

प्रकाशित: १९ भाद्र २०७८ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App