१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

‘कर्म गर फलको आशा नगर’

यो कलियुग अर्थात् भौतिक युगमा हामी अत्यन्त व्यस्त छौं। हामीले आफ्नै परिचय बिर्सिसक्यौं। आधुनिक युगका मानिसहरूले सनातन धर्म अर्थात् पुराना धर्म र धारणालाई आडम्बरवश थोत्रो वा कामै नलाग्ने भनिरहेका छन्। प्रायः सबै मानिसमा यस्तै विचार हुर्किरहेको छ। यस्तो परिस्थितिमा वैदिक युगमा श्रीकृष्णले गीतामा दिएको ज्ञान झनै प्रभावकारी साबित हुन आएको छ। गीताको ज्ञानमा कर्मयोगलाई बढी प्राथमिकता दिइएको छ।

‘कर्मण्यवाधिकारस्ते माः फलेषुकदाचन’। कृष्णले दिएको यो ज्ञानको अर्थ हो, कर्म गर्नू तर फलको आशा नगर्नू। यसलाई धेरैले यस्तो ज्ञान हुनै नसक्ने भनी टिप्पणी पनि गरेका छन्। तर, श्रीकृष्णले प्रस्ट रूपमा भनेका छन्, ‘तिमीले आफ्नो कर्तव्य पूरा गर्दै जानू, त्यसबाट तिमीलाई कति फाइदा हुन्छ भन्नेतर्फ नसोच्नू, किनभने तिमीले कस्तो कर्म र कर्तव्य निर्वाह गरेका छौ, सोहीअनुरूप फल पाउनेछौं।’ 

आजका मानिस कर्ममा व्यस्त छन्। यतिसम्म कि आफ्नो अस्तित्वलाई बिर्सेर जायज या नाजायज जस्तोसुकै कर्म गरेर धनसम्पत्ति कमाउने र भौतिक सुखसुविधामा प्राप्त गर्नेतर्फ मानिस उन्मुख छन्। आजका मानिसमा कर्तव्य र अकर्तव्यको बोध हुन छाडिसक्यो। झुटो बोलेर, ठगी गरेर, परिआए अरूको हत्यासमेत गरेर आफ्नो स्वार्थपूर्तितर्फ मानिस केन्द्रित छ।

हिन्दु धर्मलाई केलाएर हेर्ने हो भने सिद्धान्त र व्यवहारमा कति फरक छ ? जातीय रूपमा छुवाछूत, उचनीच, धनीगरिब र जातिपातीको भावनाले हाम्रो सामाजिक व्यवहारमा नराम्रो प्रभाव पारिरहेको छ। गौदान गरे जस्तोसुकै कुकर्म पनि चोखिने र पवित्र हुने ? त्यस्तै कैयौं मानिसलाई कष्टमा पारेर कमाइ गरेर अर्थात् जस्तोसुकै कुकर्म गरे पनि चर्चको पादरीले होली वाटर (पवित्र जल) छर्केर प्रार्थना गरिदिनेबित्तिकै प्रभु येशुले क्षमा गर्ने भन्ने धारणा क्रिस्चियनमा छ। जस्तोसुकै कुकर्म गरे पनि कमाएको धनसम्पत्तिले पञ्चदान गरे शुद्ध हुने बौद्धमार्गीको धारणा छ। के यही हो त धर्मले हामीलाई सिकाएको ज्ञान ? किञ्चित होइन। बरु, धर्म कमाउने नाममा कुकर्म गरेको प्रमाण हो यो। हामी कुकर्म गर्ने अनि सुकर्मको फल आशा गर्ने ? यो कस्तो बिडम्बना ? वास्तवमा कलियुगमा हामीले पालना गर्नुपर्ने मुख्य कर्तव्य सत्कर्म हो।

जीवनमा सत्कर्मभन्दा ठूलो धर्म केही नभएकाले कर्ममा लागिरहनुपर्छ। सत्कर्म गरेर धन कमाउनुपर्छ र सत्मार्गमा लाग्नुपर्छ। सबैको भलाइ गर्ने, कसैको कुभलो नचिताउने, कसैलाई दुःख नदिने, झुटो नबोल्ने, छलकपट नगर्नेजस्ता आदर्श अँगाली सकारात्मक धारणा राखे सुखी हुन सकिन्छ। यिनै कुराको अभावमा आज मानिस दुःखी छन्, मानसिक तनावमा जकडिएका छन्। यसबाट श्रीकृष्णले गीतामा दिएको ज्ञान सम्झाउँछ, सत्कर्म नै मनुष्यको मूल कर्तव्य हो।

आज विश्वमा ६० प्रतिशत मानिस कुनै न कुनै किसिमले मानसिक तनाव झेलिरहेका छन्। अमेरिकामा एक तिहाइ जनसंख्या रोगी छन् र मानसिक तनावमा बाँचिरहेका छन। रोगी स्वस्थ्य भए मात्र सबै सुखी हुनेछन् अनि सिर्जनशीलता बढाउन सकिनेछ। सिर्जनशीलताको अभावमा मानसिक विकास सम्भव छैन। आजको यान्त्रिक जीवनमा मानिसलाई पशुवत् शक्तिले नियन्त्रित छ। त्यसैले आजका मानिस मानसिक रोगी हुन्।

हामीमा हुनैपर्ने अर्को महत्त्वपूर्ण गुण हो, परोपकारी भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा गर्नुपर्छ। उनीहरूको सेवा नै भगवान्को सेवा हो। त्यसैले भनिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारका सबै धर्ममा यही मान्यता हुन्छ। तर, व्यवहारमा कति प्रयोग भएको छ त ? त्यसको लेखाजोखा हुनुपर्छ। धनी झन् धनी भइरहँदा गरिबको संख्या बढ्दैछ। धनी–गरिबबीच बढ्दै गइरहेको खाल्डो हटाउन संयुक्त प्रयास आवश्यक छ। अनि मात्र विश्वमा शान्ति स्थापनाले सफलता पाउनेछ। मुखले मात्र शान्ति भनेर केही हुन्न।

गरिबी हटाउन विभिन्न योजना–परियोजनासहित अघि बढ्न सक्नुपर्दछ। यो नै सबैको मुख्य कर्तव्य हुन आएको छ। किनभने, संसारमा सबैभन्दा ठूलो रोग गरिबी हो। विश्वमा अपराध बढ्दै जानुको मुख्य कारण गरिबी हो। भोकाएका मानिसले जसरी भए पनि आफ्नो पेट भर्न खोज्छ, त्यसपछि अपराध जन्मन्छ। त्यसैले विश्वशान्ति अभियानमा सबैभन्दा पहिला भोक, रोग र शोक हटाउन सक्नुपर्छ। त्यसपछि मात्र विश्वमा शान्ति फैलाउन सकिनेछ। शान्ति भनिरहेर मात्र केही हुनेवाला छैन। 

प्रकाशित: ५ भाद्र २०७८ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App