एउटा मध्यम वर्गीय, सभ्य र सुशील परिवार थियो। जहाँ २ छोरी (प्रतिभा र शान्ता) र १ छोरा (सुशील) थिए । सम्पन्न नभए पनि शिक्षालाई प्राथमिकता दिने परिवार भएकाले समान शिक्षादीक्षा दिइएको थियो। तीमध्ये प्रतिभाले मास्टर डिग्रीको अध्ययन गर्दै थिइन्। २२ /२३ वर्षको उमेर थियो। सायद उमेरको कारणले होला, कुनै केटा साथीसँग उनको मित्रता बढ्यो। उनको नाम रमेश थियो। यति राम्रो मित्रता थियोे – पछि पारिवारिक रूपमा स्विकार गरियो र विवाहको रूपमा परिणत भयो। विवाहपछि एक छोरीको जन्म भयो। उनले मेजर इङलिसमा मास्टर डिग्री गरेकी हुनाले कलेजमा लेक्चररको काम गर्न थालिन्। रमेशले पनि छुट्टै अफिसमा काम गर्दथे। अचानक रमेशलाई विदेश जाने रहर जाग्यो र सबैतिर यस विषयमा बुझ्न थाले। सजिलो उपाय खोज्दै जाँदा प्रतिभाको नामबाट अध्ययनको भिसा पाउने र आफू डिपेन्डेन्टमा जान पाउने बाटो पत्ता लगाए।
घरमा आएर प्रतिभासँग भन्न थाले– अब हामी विदेश जाऔं। यही उमेर हो काम गर्ने, देशविदेश घुम्ने, पैसा कमाउने। यसले हाम्रो भविष्य उज्ज्वल हुन्छ र परिवारलाई पनि आर्थिक सहयोग गर्न सकिन्छ। केही समय छोरी नेपालमै छोडौँ। उताको राम्रो प्रबन्ध भएपछि छोरीलाई पनि लैजाउँला तर उनी मानिनन् किनकि यहाँको काममा इज्जत र सम्मान दुवै छ। दुईचार जनाले चिन्छन्। छोरी पनि सानै छ। नाइँ म जान्न। यहाँ हामीलाई नपुग्ने के छ र ! बाबाआमासँगै छौं। हामी परिवारको जेठो छोरा बुहारी भएकाले अन्य जिम्मेवारी पनि धेरै छन्। विदेशमा दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्छ भनेर लाख बिन्ती गरिन् तर उनको केही लागेन।
रमेश भन्न थाले– तिमी जाने भए सँगै राम्रो कन्ट्री जाऔं। हैन भने म दुबई, कतार जता मिल्छ उतै जान्छु भन्न थाले। केही सीप नलागेपछि उनले स्विकार गरिन् र सानी छोरी छोडेर दुवै अमेरिकातिर लागे।
उनी पढाइमा अब्बल भएकाले त्यहाँको मास्टर डिग्री लिन कुनै समस्या भएन। रमेशले पनि काम गर्दै गए र केही समयपछि छोरीलाई पनि लिएर गए। समयसमयमा दुवै जनाका बाबाआमा पनि जाने–आउने गर्नुहुन्थ्यो। समय राम्रो चलिरहेको थियोे। रमेशभन्दा प्रतिभा धेरै अगाडि बढिन् किनकि उनी समाज सेवामा पनि सक्रिय हुन थालिन्। उनी जोसँग पनि सजिलै घुलमिल हुने र आफूले सक्ने सहयोग गर्ने भएकाले साथीहरू धेरै थिए। यसै क्रममा उनको दोस्रो छोरीको पनि जन्म भयो। उनका जिम्मेवारीहरू अझै थपिदै गयो। तैपनि उनको स्वभाव समाज सेवा गर्ने नै थियोे। जिम्मेवारी सँगैका व्यस्ततामा दिनहरू बितिरहेका थिए। आफूभन्दा बढी लोकप्रिय भएको रमेशलाई मन परेको थिएन। त्यसपछि उनीहरूमा सानोतिनो कुरामा असमझदारी बढ्न थाल्यो । नेपाली संस्कारमा हुर्केको पुरुषले घरको काममा सघाएको त हुन्थ्यो, तर उसको भावनाले श्रीमतीलाई सधैं यो तिम्रो काम हो भनेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यक्त गरिरहन्थ्यो। एक्काइसौं शताब्दी त भन्छौं हामी, तर आफ्नो काम, बच्चालाई दिने समय सबै थाँती राखेर पहिलो प्राथमिकतामा श्रीमानलाई राख्नुपर्ने बाध्यता लाई जहाँ पुगे पनि नेपाली नारीले भोग्नै पर्ने देखियो।
दिनहरू बित्दै थिए। रमेशको बाबाआमा सँगै हुनुहुन्थ्यो, बुहारीले भान्सामा नदिएको समय, साथीहरूसँग गरेका कुराकानी जस्ता कुरालाई ध्यान दिने र छोराका कानमा पुर्याउने काम उहाँहरूबाट भइरहन्थ्यो । घरमा असमझदारी बढ्दै जाँदा बाहिर हिमचिम बढ्नु नेपाली पुरुषका लागि कुनै नौलो कुरा होइन। सायद त्यही सम्बन्धको पर्दाफास भयो र प्रतिभा अब रमेशसँग मिलेर बस्न सक्दिन भन्ने स्थितिमा पुगिन्। किनकि खरा वाक्युद्धका कठोर शब्दहरू अबोध बच्चाको कानमा पनि ठोकिन्थे र दिनभरि नै उनीहरू निराश र डरको अवस्थाबाट गुज्रिन्थे। प्रतिभाले सोचिन् र रमेशसँग भनिन् – तपाईं र मेरो बिचमा धेरै असमझदारी बढ्दै गयो। यस्तोमा हामीसँगै बस्दा नानीहरू र हामी दुवैलाई पनि नकारात्मक असरहरू धेरै पर्न थाल्यो। हामी सल्लाहले नै अलगअलग बस्यौं। नानीहरूको पूरै जिम्मेवारी म आफैं लिन्छु। हामी छोडपत्रचाहिँ नगरौं। हजुरलाई जहिले नानीहरू भेट्न मन लाग्छ भेट्न पाउनुहुन्छ। नानीहरूले तपाईंलाई भेट्न खोज्दा समय मिलाएर भेट्नु होला किनकि उनीहरू पनि बाबाको मायाबाट वञ्चित नहुन्।
यो कुरा रमेशलाई “के खोज्छस् काना आँखो’ जस्तो भयो। उनीहरू अलगअलग बस्न थाले। एक्लिएको केही दिनमा नै रमेशले अर्की केटीको साथमा नयाँ जीवन सुरु गरे। उता प्रतिभालाई भने दुई बच्चाको आवश्यकता, हेरविचार, शिक्षा, स्वास्थ्य जस्ता सबै जिम्मेवारी र आफ्नो अफिसियल काम । कति पीडा हुँदो हो, त्यो सबै व्यवस्थापन गरेर पनि विदेशी भूमिमा आफ्नो छुट्टै पहिचान बनाउन खटिरहेकी छन्। यदि यो जिम्मा पुरुषको काँधमा पर्दो हो त सम्भव थियो होला।अझै पनि हामी भनिरहेका हुन्छौं– अबला नारी!
प्रकाशित: ३ भाद्र २०७८ ०६:४२ बिहीबार