४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

निर्देशनमा उदाएका विधान

कोभिडको महामारीले नेपालमा फिल्म निर्माणको गतिविधि ठप्प प्रायः छ । कहीँ कतै छिटफुट रूपमा एकदुईवटा फिल्म छायांकनमा रहे पनि वार्षिक रूपमा झन्डै सयको हाराहारीमा छायांकन हुने फिल्महरू अहिले कोभिडका कारण रोकिएका छन्। फिल्मको छायांकन रोकिए पनि म्युजिक भिडियो निर्माणको क्रम भने रोकिएको छैन। सामान्य अवस्थाको समयभन्दा अहिले भिडियो निर्माणको अनुपात ह्वात्तै बढेको छ। जसका कारण चलचित्रमा काम गर्ने कलाकार र प्रविधिकको जीवन भिडियोले धानेको छ। यसमा निर्देशक विधान कार्कीको महत्वपूर्ण भूमिका छ।

अहिले कलाकार र प्राविधिकसँगै म्यूजिक भिडियो निर्देशकको व्यस्तता पनि बढ्दो छ। कोरोनापछिको छोटो समयमा नै म्यूजिक भिडियो निर्देशनमा राष्ट्रिय स्तरमा सफल बनेका निर्देशक विधान कार्कीको व्यस्तता अन्य निर्देशकको भन्दा कम छैन। विधानले पहिलो लकडाउन पछि ४५ भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन गरेका छन्। विधान पछिल्लो एक दशककै नेपालका सफल भिडियो निर्देशक हुन्।

निर्देशक कार्की नेपाली म्युजिक भिडियोका ‘ट्रेण्ड सेटर’ निर्देशक मानिन्छन्। उनले निर्देशन गरेका गीतको भिडियोले नेपाली भिडियोको व्यावसायिक बजारलाई अन्तराष्ट्रिय स्तरमा फैलाएको छ। कुनै पनि गीतको भिडियो सुरु हुनुअघि संवाद राखी कथालाई जोड्ने र भिडियो सकिँदा उत्कृष्ट ढंगले अन्त्य गर्ने उनको प्रयोगलाई अहिलेका चल्तीका निर्देशकहरूले पछ्याएको पाइन्छ।

उनले कान्तिपुर फिल्म एकेडेमीमा ६ महिना निर्देशनसम्बन्धी अध्यापन गराएका छन्। उनकै भिडियोमा अभिनय गरेर सुधिर श्रेष्ठ, गरिमा शर्मा, एलिश राई, विक्रम बुढाथोकी, अजय श्रीज, सुदित श्रेष्ठ स्थापित भएका छन् । उनको निर्देशनमा तयार भएका म्युजिक भिडियोहरू ‘नबोली नबोली’, ‘केटो अलि कमाउने होस्’, ‘छु दिन म जाले रुमाल’, ‘मैले बोलेको छैन ढाँटेर’, ‘आँखामा बसाउ मलाई’, ‘वनैमा मनैमा’, ‘धर्ती आकाश’, ‘मेरो देश नेपाल’, ‘काले केटा २’, ‘माया नयनी ताल’, ‘यस्तो माया’, ‘कान्छी मट्याङ ट्याङ’, ‘अन्तराष्ट्रिय मान्छे’, ‘तिम्रो संसार’, ‘मै राम्री’, ‘त्यस्तैत्यस्तैमा’, ‘पारै मिलेन’, ‘भुर–भुर पुतली’, ‘माकुरी’लगायत हिट छन्।

निर्देशक विधान कार्की

‘नबोली नबोली’बाट निर्देशक कार्की सहित, संगीतकार, मोडेल, छायाकार, सम्पादक लगायतले नेपालका प्रतिष्ठित राष्ट्रिय स्तरका विभिन्न अवार्ड जित्न सफल भएका छन्।  अन्तराष्ट्रिय स्तरमा निर्देशक कार्कीका सट फिल्महरू ‘जीवन जोवन सगुन’, ‘गरीबी’, ‘जब एप्लिकेसन’, ‘राधिका’, ‘छाउपडी’, ‘सपना’, ‘दाइजो’ र ‘प्रेम कथा’ व्यावसायिक र समीक्षात्मक रूपमा प्रशंसित फिल्म हुन्।

अवार्डको कुरा गर्दा कार्कीले अमेरिकामा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१६’ र ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’मा ‘उत्कृष्ट भिडियो निर्देशक’ र ‘उत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड जितेका छन्।

भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित ‘दोस्रो रोशनी रिल्स अन्तर्राष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा उनले ‘केटो अलि कमाउने होस्’ बोलको गीतको भिडियोबाट विधानले ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड जितेका छन्। फेस्टिभलमा विश्वका सयभन्दा बढी म्युजिक भिडियोहरू प्रतिस्पर्धामा छानिएका थिए। उनले उत्कृष्ट पाँचको मनोनयनमा परेका अन्य चार विदेशी भिडियोलाई पछि पार्दै अवार्ड जितेका हुन्।

निर्देशक कार्की नेपाल म्युजिक भिडियो निर्देशक समाजका संस्थापक अध्यक्ष समेत हुन्। यो संस्था देश तथा देश बाहिरका नेपाली भिडियो बनाउने निर्देशकको एक मात्र संस्था हो। विधानले २०१६ मा फिल्मसम्बन्धी अध्ययनका लागि अमेरिका गएका थिए। जहाँ उनले २ वर्षको अध्ययन गरे । उनले नेपालमा आयोजना हुने विभिन्न फिल्म तथा मनोरन्जनात्मक कार्यक्रममा निर्णायक भूमिका समेत निर्वाह गरेका छन्। उनी नेपालमा महँगो पारिश्रमिक लिने भिडियो निर्देशकमा समेत पर्दछन्। उनको निर्देशनमा ‘चुपचाप’, ‘रित्तो– रित्तो’, ‘भकारीमा धन छैन’, ‘कसले रोक्न सक्छ’, ‘गुलेली’लगायतका भिडियोहरू रिलिजको तयारीमा छन्।

निर्देशक कार्की नेप्सिने नामक अन्तराष्ट्रिय मनोरञ्जन कम्पनीका नेपाल प्रमुख हुन्। जून कम्पनीले फिल्म निर्माण, वितरण, सांगीतिक कार्यक्रमको आयोजना र नेपाली गीतसंगीतको लाइसेन्ससिङको काम गर्ने गरेको छ। जसको अमेरिकाको संस्थापक भने रायन रेज हुन्।

प्रकाशित: २ भाद्र २०७८ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App