डा. विदुर चालिसे
थुर्थुर कामेको थियो। बोली अस्पष्ट थियो। हातमा चुरोटको ठुटो सल्किरहेको थियो। कपाल नै जिङरिङ्ग थियो। काँधमा रातो स्कार्फ बाँधेको पागल आफ्नो पुरानो भत्केको घरमा हेर्दै नेपथ्यबाट प्रेतमनले सबैले सुन्ने गरी सोध्यो, –“यो फनपार्कको हकदार को हो ?”
कोही बोलेनन् । चुपचाप सन्नाटा छायो। चुरोटको अर्काे सर्काे रिसले फुरूर्र फु गर्याे। झोक्कियो अनि आँधी छोड्यो।
–“बास हडप्नेलाई मुद्दा चलाऊ ?”
सुनेको नसुन्नै गरेर कतिले त वास्तै गर्न छोडे। शान्त, सुशील र गम्भीर मुद्रामा प्रेतमनले ट्वाल्ल आफ्नो पुरानो घरतिर हेर्याे। घरका पुराना ईंटा, माटो, काठ, फलाम र ढुङ्गाहरूले उसलाई पनि क्वार्तीक्वार्ती हेरिरहेका थिए । फुस्रिएको आँगनमा आएर एउटा मुसाले ऊनजिकै पुगेर सोध्यो–“हजुर महाकवि हुनुहुन्छ ?”
प्रेत मन भएको बेलामा महाकविलाई कुनै चेत थिएन तर पनि उनले यसो बल गरे र मुसाको अनुहारमा नियालेर हेर्दै भने––“तिमीहरू यस घरका कुरूवा हौ ?”
–“ज्यौ !.. बाजे !”
–“तिमीहरूलाई सन्चै छ नि ?”
–“खै के सन्चो भन्नु र ? बाजे ! हाम्रो त उठिबास हुने भो !”
उहिले बाजेका पालादेखि स्थायी बसोबास गरिरहेका मुसाहरू बाजेका अगाडि रून कराउन थाले। स्वस्ति विन्ति समेत गर्न थाले । भ्रम थियो। बाजेलाई अचम्म लाग्यो।
सोधे –“यो घर पहिला कस्को ?”
–“देवकोटा आलेको !”
– “यो घर अहिले कस्को ?”
– “फनपार्क पालेको !”
त्यसपछि मुसाहरू रुँदै दुलाभित्र पसे। पागल बनिरहेका प्रेत मनले आफ्नै पुरानो घर भत्काउँदै पुनर्निर्माण गर्न लागेको देखेर सुसेले–“खै ? मेरो वैभवशाली सिर्जना मन्दिर !”
बजारमा असाध्यै हल्ला चल्यो। जिज्ञासुहरू चासो पनि दिन थाले। समाचारका पृष्ठहरू भरिए ।
–“अब रंगीन सङ्ग्रहालयको निर्माण !”
प्रकाशित: २५ श्रावण २०७८ ०८:११ सोमबार