बालकृष्ण गजुरेल
असार तीन गते परेको पानीले सर्वनाश गर्यो। ठेगानाको नाममा नागरिकताभन्दा बाँकी राखेन। असार सोह्र गते शनिबार पुनः अवस्था दोहोरियो। मोटर पुलदेखि बाँकी रहेका सडक सञ्जाल पनि सखाप भयो। न धान पेल्ने मेल रह्यो न पिठो पिन्ने घट्ट। किन्न जाने पसल झन् कसरी रहनु ? दिनमा रात परेको यो अवस्था पहिलो पटक झेलेँ । पहुँच हुनेले आफ्नो परिवार हेलिकप्टरमा राजधानी पुर्याए । हामी टेक्ने जमिन नहुने कता जाने ? के खाने ? मनभरि प्रश्नहरूको भकारी बन्यो।
त्राशको जीवनमा पीडाबाहेक केही बाँकी रहेन। रेडियो खोलेँ। समाचारले भन्यो, “सिन्धुपाल्चोकबाट किर्ते नागरिकता बनाउन सहयोग गर्ने पक्राउ।”
साहिँला काका थपिए। उनले हाईहाई गर्दै भने, “कस्ता असती रहेछन् । नागरिकता जस्तो कुरामा खेलबाड गर्ने।”
म चुप बस्न सकिन। मैले धैर्य गुमाउँदै भनेँ, “खाली पेटले राष्ट्रिय गान गाउन सक्दिनँ। देश बेचेको छैन। ठेगानाको नाममा यही एउटा नागरिकता छ। कोही किन्छ भने खुला बिक्रीमा छ।”
प्रकाशित: २० श्रावण २०७८ ०३:२२ बुधबार