८ वैशाख २०८१ शनिबार
कला

तिम्रो छोरो र म

कथा

जनक कार्की

 

झरी परेको शनिवारको बिहानी । झ्यालबाट एक खिल्ली नजरपान गर्दा सधैँ देखिने मनोहर पहाडले  धुम्रपान गरेर बादलका धुँवाले आफ्नै मुहार ढाकेको छ । मेरो बिहानी केही समय बिजुली चिठ्ठी पढेर व्यतीत हुन्छ तर झरी र हुरीबतासको कारणले बिजुली शनिबारजस्तै बिदामा छे । मोबाइलको डाटा अन गर्छु । जी– मेलको पत्र मञ्जुषाको ढोका बुढीऔँलाको चाबीले खोल्छु । सबैभन्दा माथिको नोटिफिकेसनमा एउटा पुरानो परिचित नामको खाम देख्छु । नाम – काफिया गालिब । उत्सुकता र डर दुवै भावनाको मस्तिष्कभार बोकेर इमेल खोल्छु ।

इमेलको माथिपट्टि शीर्षक दिइएको छ – तिम्रो छोरा र म।

शीर्षकले झरीको मौसममा एउटा चट्याङ बजाएर जान्छ। मेरो एक जोर नजर बिजुली चिट्ठीतर्फ दौडिन्छन्।

– तिम्रो छोरो र म

 “ बीस वर्ष भएछ क्यार तिम्रो र मेरो संवाद नभएको। आशा छ यो बीस वर्ष पछिको हाम्रो संवादले तिम्रो मनमस्तिष्कमा विषको काम पक्कै नगर्ला । गरी नै हाल्यो भने त्यो तिम्रो कुरा हो। म जवाफदेही हुनेछैन। पक्कै पनि तिम्रो लागि यो मेल अनपेक्षित लाग्ला। लाग्नु स्वभाविक हो। तिमीले निभाएर गएको सूर्य आज कसरी उदायो भन्ने  दुविधा होला तर प्रकृतिको नियम रहेछ,  रातको गर्भमा सूर्यले गर्भधारण गरिरहेको हुन्छ र बिहानीमा फेरि त्यो सूर्य जन्मिन्छ । यही नै सोच अहिलेलाई । फरक यति मात्र हो तिमीले निभाएको सूर्य आज बीस वर्षपछि उदाएको छ तिम्रो आँगनमा त्यो पनि बादलको छेकबार पन्छाउँदै । कलेजमा भएको गजल वाचन कार्यक्रममा मैले गजल वाचन गर्दा तिमीले मलाई नोटिस गरेका  हौ। कार्यक्रम सक्किएलगत्तै मेरो बाटो छेकेरे तिमीले भनेका थियौ – “ काफिया, तिम्रो काफियामा दम छ। तिम्रा गजलका हरेक शेरले मनमा ट्याटू छापेर गयो।”

त्यो पल मलाई खुसी त लागेको नै थियो साथमा तिम्रो मेलोड्रामा देखेर हाँसो पनि उठेको हो। बिस्तारै तिमी मलाई फलो गर्दै गयौ। हामी क्याफेमा कफीको  टर्रो स्वादसँगै प्रेमको गुलियो बन्धनमा बाँधिदै गयौँ । तिमी मलाई गजलका शेर सुन्न हरबखत आग्रह गर्थ्यौ , म साउनमा फुटेको मूलझैँ बगिरहेँ। एकदिन तिमीले मेरो सामु आएर भन्यौ , “काफिया, तिम्रो सिउँदोमा म सिन्दूरको रदिफ भर्न चाहन्छु। तिमीलाई मङ्गलसूत्रको बहरले लयमा बाध्न चाहन्छु । तिम्रो जिन्दगीमा तखल्लुस बनेर झुन्डिन चाहन्छु।”  

मेरो दिलमा तरन्नुम गुञ्जियो। लाज र खुसीले मलाई पखेटा हालेर आकाशगंगामा पौडायो। म उमङ्गको देशमा वायुपंखी घोडा कुदाउँदै थिएँ । तिमीले भन्यौ, “काफिया, एउटा सर्त छ। म बुवाआमाको एक्लो छोरो। उहाँहरूको मप्रति निकै सपना छ । तिमी मेरो घरमा भित्रिनुको लागि एउटा कुराको त्याग गर्नुपर्ने हुन्छ । तिमीले लेख्ने गजललाई तिमीले तिलाञ्जली दिनुपर्छ। मेरो बुवाआमालाई तिमीले लेखेको मन पर्दैन। उहाँहरूलाई तिमीले सयौँ जनाको अगाडि बसेर गजल वाचन गरेको मनपर्दैन। तिमीले जिन्दगीबाट गजललाई हटाउने प्रण ग¥यौ भने उहाँहरूले तिमीलाई बुहारी बनाउने निर्णय गर्नुभएको छ।”

यो सर्तले म उडिरहेको आकाशमा अचानक चट्याङ पा¥यो। अरबौँ भोल्टको बिजुलीले मलाई झट्का हान्यो । म भुइँमा बजारिए नराम्रोसँग। गजल जो मेरो श्वास हो। म हुनुको अस्तित्व हो। मेरो ध्यान हो। पूजा हो। यसलाई म चटक्कै कसरी बिर्सिनँ सक्छु र ! मैले गजल र तिमी दुईमा छान्नु पर्दा गजललाई छानेँ । यसरी एउटा अपुरो गजलको यात्रा समाप्त भयो। अर्धलिखित गजल गन्तव्यमा पुगेन।

यतिबेला तिमी सोचिरहेका हौला । किन यसले चेट भइसकेको चङ्गाको कुरा गर्दै छे ? हो यो अतीतको घाउ बल्झाउने मेरो पनि कुनै इच्छा होइन तर समय भनेको यस्तो चिज रहेछ जसले अनपेक्षित घटनाको वर्षात जीवनपर्यन्त गराइरहन्छ। तिमीले त सिन्दूरको रदिफ अर्कैको सिउँदोमा भरिसक्यौ। मैले आजसम्म पनि तिमीबाहेक अरूको हातबाट मेरो सिउँदोमा सिन्दूर  लेखाउन सकिनँ तर बीस वर्षमा आज यस्तो परिस्थिति आएको छ। जसले मलाई तिम्रो कमी पूरा गर्दै छ।

तिमीलाई जान्न मन लाग्यो होला को हो त्यो मान्छे जसलाई म प्रेम गर्दै छु। तिम्रो उत्सुकतामा खलबली हुनु स्वभाविक पनि हो। तिमी अझै आश्चर्यमा पर्दै जान्छौ , जबजब म वृतान्त कहँदै  जान्छु । मैले प्रेम गर्ने मान्छे मभन्दा ठ्याक्कै बीस वर्षले कान्छो छ। तिमी सोच्दै हौला।छोराको उमेर भएको केटासँग प्रेमसम्बन्ध !

 हो , अचम्ममा पार्ने कुरा नै हो यो। मैले पनि सुरुसुरुमा यो सम्बन्धलाई स्वीकार्न सकेकी थिइनँ। उसले मेरा गजल सङ्ग्रहका एकएक शेर याद गरेको रहेछ। मेरो  निभ्न लागेको खुसीको दियोमा उसले तेल थप्दैथप्दै गयो। मलाई उज्यालो बनाउँदै गयो । समयले प्रेम निस्वार्थ हुन्छ , प्रेम निसर्त हुन्छ र प्रेम बेहिसाब हुन्छ भन्ने कुरा यो प्रगतिशील कवि हृदयलाई बुझाउँदै गयो। ऊ मेरो जीवनमा यसरी आयो,जसरी तिमी आएका थियौ। तिमीले तारिफ गर्ने मेरा शेरका भावहरू उसले ठ्याक्कै त्यसरी बुझ्छ । मेरा गजलका एकएक काव्यमा उसले सङ्गीत खोज्छ। उसले मेरो एक्लो जीवनमा खलबली मच्याउँदै गयो। मेरो एक्लो उष्ण जीवनलाई उसले शीतल छाहारी दिँदै गयो। उसले मेरो मुटुको स्पन्दनको लयलाई बुझ्छ। सुरुसुरुमा मलाई कतै उसमा वासनाको भूत सवार त छैन भन्ने लाग्यो। मैले कयौँ पटक परीक्षा पनि लिएँ तर उसमा पवित्रताबाहेक अरू केही पाइनँ। मेरो मन मैनबत्तीजस्तै पग्लिदै गयो। मेरो बरफको चट्टान जस्तो मनलाई उसले भाष्करको न्यानोपनले फुटाल्दै गयो । मेरो जीवनमा अधुरो लेखिएर छोडेको गजल पूरा हुने सपना झाङ्गियो।

केही दिन यतादेखि म तनावमा छु। उसले मलाई यो समाजमा नाम दिन चाहन्छ। मलाई आफ्नो थरको तखल्लुस भि¥याउन चाहन्छ। मलाई प्रेम गर्नेले विवाह गर्नुपर्छ भन्ने कुरामा विश्वास लाग्दैन। प्रेम विवाहमा बदलियो भने जिम्मेवारीमा रुपान्तरण हुन्छ। त्यो जिम्मेवारी पूरा गर्न सक्ने अधिकांशमा क्षमता हुन्न। अझ हाम्रो विहे त एक अपवादजस्तो हुनेछ। समाजका जिब्राहरू हाम्रो विहेको आलोचना गर्न व्यस्त हुनेछन्। हुन त मलाई यस्ता कुराले फरक नपर्ला तर उसको काँचो दिमागमा भने पक्कै फरक पर्नेछ। हाम्रो प्रेम विहेपछि औपचारिकतामा मात्र सीमित हुनसक्छ। त्यसैले मैले उसको यो आग्रहलाई स्वीकार्न सकेको छैन। ऊ जिद्दी छ। पागलपनले सगरमाथा चुमेको छ। हिजो ऊबाट एकदम दिमाग हल्लाउने सत्यता थाहा भयो। जब उसले तिम्रो नाम लिएर मेरो बुवा हो भन्यो । उसले भन्दै थियो , “ बुवाले मेरो खुसीको लागि जे पनि गर्न सक्नुहुन्छ। म बुवालाई मनाउँछु।”

तिम्रो नाम सुन्नेबित्तिकै म छाँगाबाट खसेझैँ भएँ । कसम तिम्रो छोरा भनेर थाहा भएको भए म पहिल्यै यो सम्बन्धलाई पूर्णविराम लगाउँथेँ। तिम्रो छोरा एकदम जिद्दी  छ । उसले मसँग विहे गर्न कुनै पनि किसिमको समस्याबाट गुज्रिन सक्छ। तिम्रो मनमा पनि अहिले भयङ्कर भूकम्प गयो होला तर चिन्ता नगर आज मैले एउटा निर्णय लिएर यो पत्र लेखेकी हुँ। जुन कुरा  तिमीले मसँग बीस वर्षअघि खोस्न खोजेका थियौ। आज म तिमीलाई त्यहीँ उपहार दिन जाँदै छु। म तिम्रो छोराबाट टाढा जाँदै छु । यो देश छोडेर अर्को कुनै देशमा । तिम्रो छोराले मलाई धेरै खोज्ने प्रयास गर्नेछ। मैले लेखिरहेँ भने उसले मेरो ठेगाना पत्ता लगाउनेछ । त्यसैले प्रेमको समर्पणको लागि आजदेखि म केही लेख्ने छैन। तिम्रो छोराको लागि म भूमिगत जीवन जिउनेछु। जाँदाजाँदै अन्तिम एउटा शेर लेखेर बिदा माग्छु ।”

“जिन्दगीले कसैलाई रङ्गाएर जान्छ

 कसैलाई जिन्दगीले नङ्गाएर जान्छ।”  

मेरो ओठ काँप्न थाल्यो। मेरो मुटुमा रगत बन्द भएझैँ भयो। जिन्दगीमा यति धेरै तरङ्ग ल्याउने बिजुली पत्र पढेको थिइनँ। बसिरहेको ठाउँबाट उठ्न सकिनँ । काफियाको दुई दशकपछिको शब्दभेटले मलाई बेस्सरी हल्लायो। सुकेका पातमा बसेका शीतजस्तै मेरो आँखाबाट बुँद खसेर सोफामा विलय भयो । त्यति नै बेला छोरा आयो, “गुड मर्निङ ड्याडी।”

मैले गह्रौ मन लिएर गुड मर्निङ टु यु टु भनेँ, उसले फेरि केही राजको कुरा भन्ने भावमा भन्यो, “ड्याडी म प्रेममा छु । प्रेम भनेको ईश्वरको प्रसाद रहेछ। प्रेम तौलिएर हुने कुरा रहेनछ। उनी हजुरकै उमेरको हो तर प्रेममा उमेर भन्ने कुराले महत्व नराख्ने रहेछ। मलाई विश्वास छ हजुरले मेरो प्रेमलाई बुझ्नुहुन्छ । म उनीसँग विहे गर्न चाहन्छु । उनी यो देशको प्रसिध्द गजलकार काफिया गालिब हुन्।”

म अकमक्क परेँ। काफियाको बिजुली पत्र सम्झेँ। मनमनै सोचेँ काफियाको जीवनमा म ग्रहण हुँ। जबजब उसको खुसी उदाउँदो अवस्थामा पुग्छ। म ग्रहण बनेर उसको उदयलाई छोपिदिन्छु । बीस वर्ष पहिले लागेको ग्रहण फेरि आज लाग्यो।

 – तानसेन , पाल्पा

प्रकाशित: १३ श्रावण २०७८ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App