१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

सपना

लघुकथा

दुलुमनि देवी उपाध्याय

 

दिनभरिको व्यस्तताले थकित भएर आराम गर्न ओछ्यानमा लमतन्न भएर सुतेँ।

मलाई सोचेर अचम्म लाग्छ, यो संसारमा मानिसको व्यस्तता पनि कति हो कति! छोराछोरी सबै पढी बढी सके। सबै आफ्नो – आफ्नो गरिखाने भएका छन्। उनीहरू अहिले विदेशमा बस्ने रहर पनि पूरा गरिरहेछन्। पतिले मलाई छोडेर जानुभएको पनि अब त दस–बाह्र वर्षै हुन लागे तर मेरो व्यस्तता भने उत्तिकै छ।

सोच्तासोच्तै कतिखेर मेरा आँखालाई निद्राले आफ्नो चपेटमा बन्दी बनाएछ थाहै पाइनँ।  

म, कुनै ठुलो मन्दिरमा, सारै राम्रो ढुंगाले बनिएको भगवानको मूर्तिका अघि उभिरहेको रहेँछु। एकोहोरो हेरिरहनु जस्तो प्रभुले हाँसेको दिव्य अनुहार, चतुर्भुज सम्मुखमा भगवानको दर्शन। शङ्ख, चक्र, गदा, पद्म धारण गरी उभिरहनुभएको रहेछ।

मैले एकादि क्रमले प्रभुसँग मेरा इच्छाहरू प्रकट गर्दै गएँ।  

प्रभुले त्यही भुवन भुलाउने हाँसो, मुसुक्क हाँसेर भन्नुभयो–“सधैँ आफ्नो चाहनाको अघि र पछि दगुर्ने मानिसहरू कहाँ खुसी हुनसक्छन्, हेर, यो ढुंगाले बनिएको भगवान् सँग होइन्, आफ्नो आत्मामा प्रतिष्ठित भएको भगवानसँग चाहना राख, सजिलै आफ्नो गन्तव्यमा पुग्ने छौ।”

म अलमल्ल परेँ, फेरि भनेँ,– “अन्तरमा त प्रभु सधैँ प्रतिष्ठित हुनुहुन्छ नै। तर आज मलाई हजुरको जस्तै भुवन भुलाउन सक्ने मृदु–हँसिलो अनुहार र शान्ति भरिएको जीवन चाहियो।”

प्रभुले हाँसेर फेरि भन्नुभयो, – “हेर मेरो यो ढुङ्गाको मूर्तिमा होइन, तिमी आजबाट नै हरएक मान्छेको पूजा गर, सबैको खुसीमा खुसी हुन सिक, सबैलाई आफ्नो सन्तान भनेर सोच। सानासाना माग लिएर यो मूर्तिमा होइन, आफ्नो अन्तरमा प्रतिष्ठित प्रभुसँग जाऊ, तिमी पनि मजस्तै सुन्दर मुस्कानले भरिएको अनमोल जीवन प्राप्त गर्नसक्ने छौ।”

म, छक्क परेर केही सोधौँ भनेर हात जोडेकी मात्र थिएँ झल्याँस्स ब्युझिएँछु। निद्रामा ओछ्यानमा नै हात जोडिरहेकी रहेँछु।

– अहा! कस्तो अनौठो, अनमोल सपना!

                                         – ओदालगुडी, असम, भारत।

प्रकाशित: ११ श्रावण २०७८ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App