शुभ शर्मा
श्रावण महिना सुरु भयो। जताततै हरियाली छायो। हरियै टीका, चुरा, पोते र कपडामा सजिएका नारीहरूको भीड थियो शिवशक्ति पीठहरूमा। पहेंलो गेरुवस्त्र र रुद्राक्ष मालामा सजिएका पुरुषहरू पनि थिए। चहलपहल हेर्दा यस्तो लाग्थ्यो, आस्थाभन्दा बढी फेसनले जरा गाडेको थियो।
गाउँभरि चर्चा चलेकी कान्ता दिदी, जो चौताराको एकछेउमा व्रतालुहरूलाई पिउने पानी वितरण गरिरहेकी थिइन्। उनलाई देखेर केही दिदीबहिनी उनको नजिकै गए। चिसो पानी दिइन्। पानीले प्यास मेटिनेबित्तिकै एउटीले सोधिन् , ‘दिदी, हजुरले कहिल्यै व्रत लिनु हुन्न?’ उनले भनिन्, ‘किन नलिनु? म दैनिक लिन्छु।’
– दैनिक ? उनीहरू आश्चर्यमा परे।
तुरुन्तै अर्की बोलिन्, ‘हजुरले व्रत लिएको हामीले त कहिल्यै थाहा पाएनौँ। गाउँतिर पनि यस्तै कुरा सुनेका थियौँ। खास कुरा के हो दिदी ?’
उनीहरूका कुराले एकैछिनमा वरपरका सबैको ध्यान उनैतिर खिँचियो। उनले चौतारामा रहेका अन्य बुज्रुकहरूतिर पुलुक्क हेरिन् र शान्त हुँदै भनिन् , ‘मलाई व्रत बस्न कुनै तिथि वा बार चाहिँदैन। म हरेक दिन व्रत बस्छु तर भोजन छोडेर होइन मभित्रको खराब विचारलाई हटाएर। म ईश्वरमा आशा होइन, भरोसा राख्छु।
अर्कीले भनी, ‘त्यस्तो पनि व्रत हो त? न मन्दिर, पूजाआजा न हरियो पहिरन?’
उनले प्रष्ट पार्दै भनिन्, ‘म नित्य ब्रह्म मुहुर्तमा उठ्छु र एउटा संकल्प गर्छु। आज म कुनै पनि नकारात्मक काम र कुरो गर्ने छैन। यही संकल्पलाई दृढ विश्वासका साथ पूर्ण गर्न दिनभर कोसिस गर्नेछु। यो नै मेरो व्रत हो।’
प्रकाशित: ११ श्रावण २०७८ ०७:५९ सोमबार