१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

म फेरि भूमिगत हुँदै छु

कविता

केशवराज आमोदी 

 

आज बिहानको

चियाको पहिलो घुट्कोमै

रेडियोले एक प्याक ताजा समाचार ओकल्यो–

मूर्तिहरू चोरिएछन्,

जातीय दङ्गा भएछ,

न्यायतन्त्रको अपहरण भएछ,

लोकतन्त्र खतरामा परेछ,

सीमाहरू मिचिएछन्,

चेलीबेटी छिमेकी मुलुकमा बेचिएछन्,

पाँच वर्षे बालिकाहरू व्यस्त सडकमै बलात्कृत भएछन्,

राष्ट्रियता नागरिकमै हराएछ।’

स्थानीय पत्रपत्रिकाहरू; दूरसञ्चारहरू

अनि

एफएम रेडियोहरू न हुन्

यतिको निम्ति

भारतीय मिडियाहरूले झैं

तहल्का मच्चाएछन्।

अर्को दिन बारीमा डल्ला फुटाउँदै थिएँ

हावाले खबर छर्यो.. !

‘हामीसँग नैतिकता छैन; स्वाभिमान पनि छैन

अनि

देश दलालहरूको पन्जामा छ।’

दौडिएर दोकान पु्ग्छु

सामाजिक वातावरणमा गुन्जन्छ–र्

कला र संस्कृतिको हत्या भएछ;

भाषा र भेषको अपहरण भएछ ।’

पर

मानवाधिकार लम्र्याङलुम्रुङ गर्दै थियो;

स्वतन्त्रता वाग्मतीतिर खोक्दै थियो।

किन्तु

दुवैलाई क्षयरोगले मुन्ट्याएछ कि !’

नेपथ्यमा–

...

प्रतिक्रियावादी ! – होसियार!

जातिवाद ! – कायम गर !

जनतन्त्र ! – अमर रहोस् !

इन्क्लाब ! – जिन्दावाद !

... गगनभेदी आवाजमा गुन्जिरहन्छ।

यसो टाउको बटार्छु

अस्पष्ट आवाजमा सुन्छु–

‘को त्यो कुनामा खासखुस गर्ने?’

अर्कोपछि अर्काले जवाफ दिइरहन्छ–

‘निस्तब्धता ..

अन्योल ..

असुरक्षा ..

अस्तव्यस्तता ..

महामारी ..

एकान्तबास ..

नाकाबन्दी ..

चक्काजाम ..

अन्धकार ..

हाहाकार ..

भयानक त्रासदीको उहापोह

हिंसा , आतङ्क र बर्बरताको

भयङ्कर विस्फोट !!

अनि

फेरि मौनता।’

 

परतिर सडकको धुलोभित्रबाट

एउटा पागल चिच्याउँछ

देशको एक मुठी माटो लिएर

आफ्नो छाती छोएर भन–

‘चेलीबेटी बेचिए कि तिमी बेचियौ ?

मूर्तिहरू चोरिए कि तिमी चोरियौ ?

जातीय दङ्गामा तिमी मर्यौ कि मारियौ ?

तिमी खतरामा छौ कि देशको राष्ट्रियता खतरामा छ ?’

भत्किएको सडकको अलकत्रा खेलाउँदै

अर्को पागल बर्बराउँछ–

जातीयतामा मानवता रहेन,

‘राष्ट्रमा राष्ट्रियता रहेन,

कलामा आत्म रहेन,

भाषामा स्थिरता रहेन,

संस्कृतिमा स्पन्दन रहेन,

वातावरणमा स्वच्छता रहेन,

नागरिकमा कर्कव्य रहेन,

जनतामा देश रहेन।’

परतिर  

अर्को लावारिस आवाज बुलन्दिन्छ

‘यहाँ धुलो,धुवाँ र दुर्गन्धबाहेक के छ ?’

प्रश्नहरू एकपछि अर्को प्रतिध्वनित भइरहन्छन्।

छ न त छ नि !

के छैन ?

विकृति  

विसङ्गति

अराजकता

उद्दण्डता

अस्तव्यस्तता

भद्रगोल सबै छ।

हिजो

हो, हिजो

राष्ट्रिय अस्मिताको गौरवदेखि तर्सेर

भूमिगत भएको थिएँ

आज

आफ्नै उत्तरदायित्त्वबाट पन्छिन

भूमिगत हुँदै छु।

प्रकाशित: ११ श्रावण २०७८ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App