हुन त नोबेल पुरस्कार विजेता रोबर्ट बब मुन्डेल (अर्थशास्त्रका प्रोफेसर, कोलोम्बिया युनिभर्सिटी, न्युयोर्क) पनि मेरा गुरु हुन्। उनले नोबेल पुरस्कार पाएको खबर संयोगवश म र मेरा सहपाठीलाई अध्यापन गराइरहेका बेला (सन् २००० मा) त्यसमा पनि उनले जे कुरामा नोबेल पुरस्कार पाए, त्यही कुरा सिकाइरहेका बेला आएको थियो। खुसी लाग्यो, उनीसँग बसेर फोटो खिचियो। तर खै किन हो, मलाई मेरा बालापनका गुरुलाई सम्झँदा बढी आनन्द आउँछ।
म अमेरिका अध्ययन (तेस्रो र अन्तिम मास्टर डिग्री, विश्व बैंकको छात्रवृत्तिमा) गर्न जानुअघि अध्ययनका क्रममा पहिलोपटक विदेश आएको नेदरल्यान्ड्स हो, इन्स्टिच्युट अफ सोसियल इस्टडिज हेग नेदरल्यान्ड्स फेलोसिप प्रोग्राम छात्रवृत्ति अन्तर्गत।
यहाँ खासगरी दुई गुरुले मलाई माया गर्थे। एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिनारमा बिताए। उनी घुम्न, रमाइलो गर्न वर्षैपिच्छे नेपाल जान्थे। सन् १९९६ मा मैले पहिलोपटक भेट्दा उनले मलाई भनेका थिए, ‘म २६ पटक नेपाल गइसकेको छु, हरेक वर्ष जान्छु।’ यस हिसाबले उनी अहिलेसम्म ५१ पटक नेपाल गए होलान्।
उनलाई नेपालका बारेमा सबै कुरा थाह थियो– गुन्द्रुक, जाँड, मोही, ठेकी आदि। मैले भनेँ, ‘मेरो घर विराटनगर भन्ने ठाउँमा हो, तपाईंजस्ता पर्यटक जाने ठाउँ होइन विराटनगर।’
उनले भने, ‘थाह छ मलाई विराटनगर। म कञ्चनजंघा हिमाल चढ्न ताप्लेजुङ जाँदा काठमान्डुबाट विराटनगर गएको थिएँ, हवाईजहाजमा सन् १९६५ मा।’
उनले हरेक वर्ष आफ्ना विद्यार्थीलाई घरमा खान बोलाउँथे। म पुगेँ, हातमा फूलका गुच्छा लिएर अनि नेपालबाट ल्याएको पश्मिनाको सल उनकी श्रीमतीलाई उपहार दिउँ भनेर। उनले भने, ‘धन्यवाद, म अविवाहित हुँ। मैले बिहे गरिनँ, म सन्न्यासी हुँ।’ ओहो ! उनले हाम्रो भाषाको शब्द ‘सन्न्यासी’ भन्न पनि जानेका रहेछन्। साह्रै रमाइलो लाग्यो। मलाई इमेल लेख्दा जहिले पनि अन्तमा, ‘शान्ति ! अभन्ती’ भनेर लेख्थे।
त्यही इन्स्टिच्युटमा अर्का प्राध्यापक थिए– वसन्त मोहरिर, उनी हाम्रो छिमेकी मुलुक भारतबाट ४० वर्षअघि मजस्तै छात्रवृत्ति पाएर पढ्न आएका। उनले धेरै राम्रो माक्र्स ल्याएर एमए गरे, यही इन्स्टिच्युटमै जागिर पाई उतै बसे।
म यहाँ आउनासाथ केही दिन बिरामीजस्तो भएको थिएँ, जेट ल्याग भएर निद्रा लागेन, म चिन्तित थिएँ– मेरो पढाइ के हुने हो ! उनले अभिभावकले जस्तै गरी मलाई ढाडस दिए, ‘बाबु ! चिन्ता गर्नुपर्दैन, सबै ठीक हुन्छ। सुरुसुरुमा सबैलाई यस्तै हुन्छ। बिस्तारै बानी पर्छ। अलिपछि तिमीलाई मेरो घरमा लिएर जाउँला, मेरी श्रीमतीसँग भेट गराउँला। म बसेकै सहरमा एक नेपाली छन् ( सरोजकुमार शर्मा– नेदरल्यान्ड्स बस्ने पहिलो नेपाली– सन् १९७२ देखि यतै बसोबास गर्दै आएका), म तिमीलाई उनीसँग पनि भेट गराउनेछु।’
मलाई मेरा बुवाले भनेजस्तै लाग्यो, उनको यस्तो मिठो सान्त्वना। केही समयपछि एउटा पार्टीमा डिनर खाँदै गर्दा उनी मेरो छेउमा आएर गफ गर्न थाले, ‘म ४० वर्षअघि तिमीजस्तै छात्रवृत्ति पाएर यहाँ आउँदा एउटा कलिलो र सुन्दर ठिटो थिएँ। मसँग पढ्न आएका र त्यसमा पनि दक्षिण अमेरिकी ठिटीहरू मेरो पछि लाग्थे तर मैले आफ्नै देशकी केटीसँग बिहे गरेँ। तिमीलाई पनि यो देशमा बस्न मन छ ? बिहे गर्नु नि यहाँकी केटीसँग।’
मैले हाँस्दै भनेँ, ‘त्यो त हो तर यहाँ गोरीहरूसँग हाम्रो कुरै मिल्दैन।’
‘हैन, गोरी नै किन बिहे गर्नुपर्या ? बिहारी केटी प्रशस्तै छन् यहाँ, तिनीहरूसँग हाम्रो कुरा मिल्छ।’
दक्षिणी अमेरिकाको एक देश ‘सुरिनाम’ पहिले नेदरल्यान्ड्सको कोलोनी थियो, सुरिनाममा भारतबाट करिब दुई सय वर्षअघि १८ हजार श्रमिक लगिएको थियो, जसमा अधिकांश बिहारी थिए, तिनैबाट फैलिएका बिहारी यो देशमा प्रशस्तै छन्। वसन्त मोहरिरसँगका कुरा सम्झँदा मलाई अहिले पनि बडो रमाइलो लाग्छ।
म कक्षा ४ मा पढ्दा मैथिली मातृभाषा भएका एक गुरु थिए– महेन्द्र सर, उनले भनेको एउटा कुरा झलझली याद आउँछ, ‘अरे राम राम ! आजकालका महिला, आफ्नो बच्चालाई घरमा छाडिदिन्छ, कुत्ताको बच्चा बोकेर हिँड्छ।’ मलाई साह्रै चित्त बुझेको थियो त्यो कुराले, म केवल १० वर्षको थिएँ।
अर्का गुरु थिए, भोलानाथ उपाध्याय, जो हाम्रा प्रधानाध्यापक थिए, हामी हेड सर भन्थ्यौँ। उनको निकै प्रभावशाली व्यक्तित्व थियो। तर हामी विद्यार्थीसँग साह्रै सरल र सहज थिए, आफूले संघर्ष गरी माथि उठेका दुःखसुखका सारा कुरा हामीलाई सुनाउँथे। अर्ती उपदेश दिन्थे, उनको त्यो सरलता, सहजता र सालीनता सम्झँदा म दंग पर्छु। उनीबाट मैले धेरै कुरा सिकेको छु। म उनलाई अंग्रेजी भाषाका विद्वान् मान्छु। उनैले हो, मेरो अंग्रेजी भाषाको जग बसाइदिएको। उनले आफूले जानेको कुरा सबै विद्यार्थीले सिकोस् भने जस्तै गरी सिकाउँथे, अलिकति पनि लालच थिएन उनीमा। अर्का गुरु थिए, नाम नलिऊँ, उनलाई अंग्रेजी भाषाको राम्रै दख्खल थियो, तर उनी कक्षामा यसरी पढाउँथे कि यो विद्यार्थी मकहाँ ट्युसन पढ्न आओस्। हामी अल्लारे ठिटाले उनको पीडा के बुझ्न सक्थ्यौँ र ! म अहिले सोच्ने गर्छु– उनलाई दुई छोरा, दुई छोरी अनि श्रीमान्–श्रीमती गरी जम्मा ६ जनाको परिवार धान्नुपर्थ्यो एउटा मास्टरी पेसाले। आफ्नो घर थिएन, भाडामा बस्थे। ट्युसन पढाउन पाए थप पैसा आउला भन्ने उनको आशा हुँदो हो।
कलेज आइयो, स्कुलजस्तो कहाँ हुन्थ्यो र ! थुप्रै गुरु, थुप्रै विद्यार्थी, कहिले त्यही विषय एउटा गुरुले पढाउने, कहिले अर्का गुरुले। आफू स्कुल पढ्दा कक्षामा सधैँ दोस्रो स्थानमा थिएँ – सेकेन्ड ब्वाय भन्थे, हाजिरी जवाफ प्रतियोगितामा म जहिले प्रथम हुन्थेँ, सबैले चिन्थे। कलेज पुगेपछि कसले चिन्ने मलाई ! समुद्रको माछोजस्तो भइयो। कलेज गुरुलाई सम्झने घटना अलि फरक हुँदो रहेछ। अंग्रेजी साहित्य पढाउने गुरु एन पाठकले ‘वेदर’ भन्ने कविता पढाएको सम्झन्छु, जसमा उनले भनेका थिए– शरद ऋतु गोठालाले मन पराउँदैनन् किनभने यस ऋतुमा पानी पर्छ, अनि विचरा गाईवस्तुसँगै गोठालो पनि भिज्छ। मेरो मन छोएको थियो त्यो कुराले।
तर मैले एउटा कुरा बुझेको थिइनँ, सोध्न पनि सकिनँ– कसरी पर्छ शरद ऋतुमा पानी ? पानी त बर्खामा पो पर्छ।’ म जब युरोप आएँ, अनि थाहा पाएँ, ‘वेदर’ लेख्ने कवि थोमस हर्डी बेलायतका रहेछन्। युरोपमा सबभन्दा नराम्रो ऋतु शरद हुँदो रहेछ। पानी पर्ने, हुरी चल्ने, वैराग लाग्दो ऋतु।
अर्का गुरु थिए, नेपाली भाषाका प्राध्यापक– कृष्ण वस्ती। उनले पढाएको कक्षामा बस्ने सौभाग्य मलाई कहिल्यै जुरेन। एकपटक विराटनगरभरिका क्याम्पसबीच कथा प्रतियोगिता हुँदा मेरो कथा दोस्रो भयो। त्यस बखत उनी निर्णायक मण्डलीमा थिए। उनले बोलेका कुरा झलझली सम्झन्छु, ‘साहित्य भनेको मन छुने हुनुपर्छ। यस्तो लेख्नुस्, जसले पढ्नेको मनमा केही उथलपुथल पैदा गरोस्। भन्नुस् त तातो तेलमा एक थोपा चिसो पानी हाल्दा कसरी चटटट गर्छ !’
एकपटक क्याम्पस नजिकै घर हुने मेरा मित्र टीका सिंहको घरमा बसी हामी गफ चुट्दै थियौँ। बर्खाको बेला थियो, पानी पर्न थाल्यो। यसो झ्यालबाट बाहिर हेरेको उनै गुरु साइकलमा अगाडि छोरो र पछाडि छोरीलाई लिएर दौडिरहेका थिए। हुरीसहितको पानीमा एक शिक्षक, एक जिम्मेदार पिता आफ्ना बालबालिका लिएर साइकलमा दौडेको दृश्य देखेर म भावुक भएको थिएँ।
उनै गुरुसँग आजभन्दा ११ वर्षअघि फेसबुकमा भेट भयो। कति बलवान् छ समय ! ती बालबालिका ठूला भइसकेछन्– छोरा इन्जिनियर, छोरी वातावरणविद। घरजम पनि गरिसकेछन्।
गुरुलाई फेसबुकमा सबैले घेर्छन्। उनको भित्तामा गजल, कविता, कथा, लेख आदिले पोती दिन्छन्। झर्को मान्दैनन् गुरु, भ्याएसम्म प्रतिक्रिया लेखिदिन्छन्, लाइक ठोकिदिन्छन्। फेसबुकमा उनका प्रतिक्रिया देख्दा म भने उनी निर्णायक हुँदा बोलेका कुरा सुम्झन्छु।
मेरा एक मित्र थिए, आशीष कोइराला, जो फोटोग्राफीका मेरा गुरु हुन्। जो मभन्दा दुई ब्याच अग्रज थिए स्कुलमा। उनीसँग स्कुल पढ्दा खासै आत्मीय हुने मौका परेन, हामी एउटै कक्षाका नभएर होला। निकै पछि, स्वदेशको विद्यार्थी जिन्दगी सकेर राजधानी आएर बस्न थालेको थिएँ, विदेश गई उच्च शिक्षा हासिल गर्ने योजनाले, उनीसँग १४ वर्षपछि भेट भयो। हाम्रो आत्मीयता बढ्न थाल्यो।
उनी राम्रा फोटोग्राफर थिए। उनी आफूले खिचेका फोटोहरू मलाई देखाउँथे र व्याख्या गर्थे, फोटो खिचेको प्रसंग र कलात्मक पक्षबारे। राजधानीमा पाँच वर्षजति बस्दा हाम्रो सम्बन्ध गाढा भयो। म छात्रवृत्ति पाएर नेदरल्यान्ड्स आउन लाग्दा उनले ‘यो क्यामरा किन’ भनेर किनाए, कसरी फोटो खिच्ने भनी सिकाए पनि।
नेदरल्यान्ड्स आएँ, आफ्नो पढाइसँगै फोटोग्राफीमा रुचि बढ्दै गयो। अमेरिका गएँ, रुचि झन्झन् बढ्दै गयो। म अर्थशास्त्रको विद्यार्थी, कक्षामा प्रोफेसरले अर्थशास्त्र पढाइरहेका हुन्थे, म भने सिसाको छानो भएको कक्षा कोठाबाट आकाशतर्फ बेला बेला नियालिरहेको हुन्थेँ, बेलुका सूर्यास्तमा आकाश रातो देखिने सम्भावना छ कि छैन भनेर। कक्षा सकिनासाथ दगुर्दै कोठामा पुग्थेँ र हातमा क्यामेरा स्ट्यान्ड र काँधमा क्यामेरा ब्याग बोकेर हड्सन नदीको किनारतिर दगुर्थें। कहिले ब्रुक्लिन पुलमुनिबाट ट्विन टावरको रातको दृश्य खिचेर बिहान को २–३ बजाउँथे।
दुईवटा डिग्री हासिल गरेँ तर फोटोग्राफीमा होइन। आखिर ठूलाठूला बहुमूल्य क्यामरा चलाउने भएँ र यिनै कुरा बेच्ने कम्पनी खोलेँ। मेरो पेसा नै यही भयो।
मैले माथि उल्लेख गरेका धेरै गुरुबाट धेरै ज्ञान लिएँ, विराटनगरको एउटा साधारण सरकारी विद्यालयदेखि संसारकै विख्यात विश्वविद्यालयसम्म पुगेँ, नोबेल पुरस्कार पाउने गुरुको चेलो पनि भएँ, तर मेरो जिन्दगीको पाटो नै बदल्ने गुरु त तिमी भयौ आशीष। म धन्य छु तिमी जस्तो मित्र पाएर।
प्रकाशित: ९ श्रावण २०७८ ०६:५० शनिबार