१६ चैत्र २०८० शुक्रबार
कला

योनि संग्रहालयमा महिनावारीका कथा

नियात्रा

उत्तेजक घामको शासन बेलायती धर्तीमा चलिरहेको थियो। घामका नशालु रापले अर्धनग्न सुन्दरीका अंगलाई चुम्बन गरिरहेका थिए। स्खलित भएर बगिरहेका थिए, पसिनाका धारा शरीरबाट। घरदेखि ट्रेन स्टेसनसम्म करिब १० मिनेटको यात्रामा ती दृश्य पटकपटक आँखामा आए। एउटा उत्तेजना र उत्सुकता बोकेर वर्षभरिको सबैभन्दा लामो दिनमा यात्राका लागि निस्केको थिएँ म।

यात्राले मलाई दौडाउँछ। पाइला चाल्न उत्पे्ररित गर्छ। हुन त अहिले यात्रा गर्ने समय होइन। बेलायतमा लकडाउन जारी रहेको चार सय ५५ दिन भइसक्यो। लकडाउन अर्को महिना हटाउने कुरा चलिरहेको छ। कोरोनाको विश्वव्यापी महामारीका कारण बेलायत सरकारको सन्देशमा सकेसम्म घरमै बस्नु, सम्भव हुने जतिले अफिसको पनि काम घरबाट गर्नू भन्ने छ। सरकारले भनेजस्तो सबै सम्भव छैन। त्यसैले बस र ट्रेन सञ्चालित छन्। आंशिक रूपमा भए पनि खुला छ बेलायत। रेस्टुरेन्ट, पसल, संग्रहालय आदि भर्खर खुलेका छन्। अलिकति जीवन भरिएको छ सहरमा।  

लामो समयको लकडाउनका कारण घरमै बस्न बाध्य बेलायतका धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखिएको कुरा सरकारी तथ्यांकले बताउँछ। लकडाउनको मार मैले पनि खेपेँ। कोरोनाबाट संक्रमित भएर थला परेको म निको भएँ। तर, तनमा पहिला जस्तो स्फूर्ति छैन। यात्रा गर्दा मानसिक स्वास्थ्य राम्रो हुने र स्फूर्ति मिल्ने कुरा अध्ययनले बताएको छ। म ताजा हुन र ज्ञान बटुल्न निकै समयपछि यात्रामा निस्किएको थिएँ। मेरा उत्साहित पाइला ट्रेन स्टेसनतिर लम्किरहे।

फ्रान्समा महिनावारीका बेला ‘मेयोनेस सस’ बनाउनु हुँदैन, बनाए त्यो जम्छ भन्ने विश्वास गर्दा रहेछन्। बेलायतमा बाथ टबको तातोपानीमा डुबेर नुहाउनु नहुने मान्यता छ। पोल्यान्डको केही गाउँमा महिनावारीको समयमा सम्भोग गरे सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दा रहेछन्। अमेरिकामा भने महिनावारीका बेला क्याम्पिङ जानु हुँदैन, गए जंगली जनावरले रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्ने विश्वास गर्दा रहेछन्।

लन्डनमा भर्खर खुलेको संसारको पहिलो योनि संग्रहालयले मलाई त्यता डोर्‍याएको थियो। सार्वजनिक गर्न नमिल्ने महिलाको अंग हो, योनि। कुरा गर्न नहुने विषय मानिने, योनि। त्यसको संग्रहालय कस्तो होला ? योनि संग्रहालय अवलोकन गर्न महिला जाँदा हुन् कि पुरुष ? सार्वजनिक रूपमा कसरी मानिसले सहजै हेर्न सक्लान्, योनिका संग्रहहरू। यस्तै प्रश्न मनमा चलिरहँदा लन्डन जाने ट्रेन प्लेटफर्ममा रोकिइसकेको थियो।  

ट्रेनभित्र प्रवेश गरेपछि डिब्बामा चारैतिर आँखा दौडाउँछु। महिला र पुरुष सरोबरी छन्। एउटा खाली सिटमा बसेँ। मेरो ठीकअगाडि सिटमा एक सुन्दरी आएर बसिन्। संयोग कस्तो परेको छ भने ट्रेन चलाउने महिला र सामुन्नेको सिटमा बसेकी पनि महिला छिन्। महिलाकै अंग योनिको संग्रहालय अवलोकन गर्न जाँदै छु। मनमा अनौठो तर्क चल्न थाल्यो।  

योनिविना मानव सृष्टिको कल्पना गर्न सकिँदैन। तर योनिका बारेमा समाज किन धेरै संकुचित छ ? योनि लुकाउने अंग हो, त्यसमा सहमत छु। तर योनिका बारेमा योनि हुनेहरूलाई महत्वपूर्ण जानकारी नदिनु उनीहरूमाथिको अन्याय हो। योनिका बारेमा छोरीहरूलाई घर र स्कुलमा उचित शिक्षा दिइनुपर्छ। महिनावारी, प्रजनन र योनिको सरसफाइका बारेमा छोरीहरूले मात्र होइन, छोराहरूले पनि थाहा पाउनुपर्छ।

दौडिरहेको ट्रेनको झ्यालबाट घरी बाहिरको दृश्य हेरेर रमाउँछु, घरी योनिका बारेमा पढेका अनौठा कुरा सम्झेर एक्लै फिस्स हाँस्छु।

धेरै पहिलेका मानिस केही महिलाको योनिमा दाँत हुन्छ भनेर विश्वास गर्थे। तर, त्यो ल्याटिन र अन्य केही देशका लोककथामा वर्णित काल्पनिक कथा मात्र हो। त्यस कथालाई कतिपयले वास्तविक ठानेको थाहा पाउँदा उदेक मान्छु।

केही संस्कृतिमा योनिलाई अशुद्धताको रूपमा लिइन्छ। केही संस्कृतिमा योनिलाई शक्ति र सौन्दर्यको समन्वय मानिएको छ। भारतको आसाममा अवस्थित कामाख्या मन्दिरमा योनिकै पूजा हुन्छ। प्राचीन मान्यता अनुसार त्यहाँ भगवान् शिवकी पत्नी सतीदेवीको योनि पतन भएको थियो। त्यहाँ योनि आकारको शिला छ। त्यस शिलामा गरिने पूजालाई शुद्ध र पवित्र मानिन्छ। यस कुरालाई अन्य संस्कृतिका मानिसले कसरी लिँदा हुन् भनेर सोँच्छु।

हिन्दू मन्दिरमा मात्र होइन, मध्य युगमा बनेका युरोपका केही पुराना चर्चमा योनिको आकृति देख्न पाइन्छ। अतिरञ्जित पाराले योनि देखाइएको महिलाका स–साना मूर्ति मैले केही चर्चमा देखेको छु। त्यति मात्र होइन, ग्रिक देवताका अर्धनग्नदेखि नग्न मूर्तिको अवलोकन गरेको छु। पूजा र प्रार्थना गरिने धार्मिक स्थलमा योनि प्रदर्शन गरिएका मूर्तिलाई सबैले सहज रूपमा लिएको देख्दा अनौठो मानेको छु।

युरोपको कुरा मनमा आउँदा मेरोअगाडि रहेकी बेलायती सुन्दरीतिर पुलुक्क हेर्छु। उनका आँखा मोबाइल फोनमा टाँसिएका थिए। म अनायसै इतिहासका पाना पल्टाउन थालेँ।

अति प्राचीन समयमा मेसोपोटामियामा प्रेम, यौन, सौन्दर्य, इच्छा र प्रजननकी देवी इनन्नाको पूजा गरिन्थ्यो। त्यस बेला योनिलाई जीवनपालना गर्ने र जीवनको सुरुवात गर्ने महत्वपूर्ण अंग भएको भनेर सम्मान गरिन्थ्यो। मेसोपोटामियाका मानिस योनि आकारका माटाका स–साना आकृति जन्तरको रूपमा लगाउँथे। त्यसले दुष्ट आत्माबाट बचाउन, बाँझोपन र नपुंसकता हटाउन लाभदायक हुने कुरामा विश्वास गर्दथे। अहिले योनि आकारको जन्तर लगाएर बाहिर निस्के के भनिन्छ होला ? आफैँलाई प्रश्न सोध्छु।  

उसो त कामुकतासम्बन्धी संस्कृत साहित्य र तान्त्रिक साहित्यमा योनिको प्रसंग प्रशस्त आउँछ। बेलायतमा एकपटक योग कक्षामा गएको थिएँ। मानसिक र शारीरिक स्वास्थ्यका लागि लाभदायक मानिएको प्राचीनकालदेखि चलिआएको योगको विभिन्न आशन र मुद्रामध्ये एउटा योनि मुद्रा पनि हुन्छ भन्ने कुरा त्यहीँ थाहा पाएँ। त्यस मुद्रामा दुवै हातलाई योनिको आकार दिएर ध्यानमा बसिन्छ। त्यसो गर्दा व्याकुलता कम हुने, नकारात्मक ऊर्जा समाप्त भएर सकारात्मक ऊर्जाको विकास हुने कुरामा विश्वास गरिँदो रहेछ।  

यस्तै कुरा मनमा चलिरहँदा वाटफोर्ड हाइस्ट्रिट स्टेसनबाट चढेको ट्रेनको अन्तिम स्टेसन युस्टोनमा पुगेर रोकियो। त्यहाँबाट फेरि अर्को ट्रेन चढेर क्याम्डेन टाउन पुग्दा सवा घन्टा बितिसकेको पत्तै भएन।  

क्याम्डेन टाउन लन्डनको एउटा बजार हो। उक्त बजारमा व्यापार व्यवसाय गर्ने र किनमेल गर्ने मानिसको ताँती हेर्दा कुनै बहुजातीय सहरजस्तो लाग्छ। विभिन्न शुभनियर पसल, व्यस्त र साँघुरा सडक हेर्दा त्यसले नेपालको ठमेलको झझल्को दिलाउँछ।  

हिँड्दै जाँदा क्याम्डेन मार्केटमा रहेको योनि संग्रहालयको साइनबोर्ड देखेर टक्क रोकिएँ। संग्रहालय अगाडि पाँच युवती लाइनमा थिए। म अलिक धकाउँदै उनीहरूको पछि सामाजिक दूरी कायम राखेर उभिएँ। मेरो पदचाप सुनेर ती सबैले पुलुक्क मतिर हेरे। मलाई अलिक लाज लागेजस्तो भयो। किनकि योनि संग्रहालयमा पुरुष म मात्र लाइनमा उभिएको थिएँ।

तिनीहरूले मलाई लाज पचेको भन्ने त होइनन् ? उक्त कुरा सम्झेर अलिक अप्ठेरो महसुस भयो। कोरोनाका कारण सार्वजनिक स्थलमा फेस मास्क अनिवार्य भएका कारण ती युवतीको मुखको प्रतिक्रिया पढ्न पाइएन। तिनले मेरो आँखा पढे। मैले उनीहरूको भाषा आँखामै बुझ्ने प्रयास गरेँ। प्रतिक्रियाविहीन आँखा मौन थिए।  

आफूलाई सहज बनाउन खल्तीबाट फोन झिकेर स्क्रिनमा आँखा लगाएँ। योनि संग्रहालय हेर्न महिलाको पछि उभिएको पाँच मिनेट बितिसकेको थियो। कुनै पुरुष मेरो पछाडि लाइनमा उभिदिए हुन्थ्यो भन्ने लाग्दै थियो। तर केही बेरपछि फेरि दुई युवती मेरो पछाडि लाइनमा उभिए। झन् असहज हुन थाल्यो।

एकछिनपछि संग्रहालय भित्रबाट चार युवती निस्केपछि मभन्दा अघिका युवती एकैसाथ भित्र प्रवेश गरे। बल्ल म ढोका अगाडि पुगेँ। ढोकाबाट टाउको तन्काएर भित्र चियाएँ। भित्र एक पुरुषले अवलोकन गरिरहेको देखेपछि अलि ढुक्क भएँ। अर्की एक महिला निस्केपछि भित्र प्रवेश गर्ने मेरो पालो आयो।

भित्र पुगेपछि चारैतिर मेरा जिज्ञासु आँखाले एक चक्कर लगायो। मैले त्यहाँ योनि आकृतिको कुनै संग्रह होला भन्ठानेको थिएँ। तर, त्यो मेरो सोचभन्दा ठीकविपरीत प्राचीन, मध्य र आधुनिक युगमा महिनावारी र योनिसम्बन्धी जानकारी दिने सूचनाको अथाह भण्डार रहेछ।  

एउटा सूचना पढेर अचम्म मान्छु। १७औँ शताब्दीको सुरुवातसम्म महिनावारीलाई बुझाउने अंग्रेजीको पिरियड वा मेन्स्ट्र्युएसन शब्द प्रचलनमा आएकै रहेनछ। त्यसबेला ‘कस्टम अफ वुमेन’, ‘मन्थ्ली सिक्नेस्’, ‘भिजिटर्स’, ‘फ्लावर्स’ आदि शब्दले महिनावारीलाई बुझाउँदो रहेछ। मलाई यी पुराना शब्द पनि राम्र्रै लागे।  

वास्तवमा अंग्रेजीको मेन्स्ट्र्युएसन अर्थात् महिनावारी बुझाउने ल्याटिन शब्द ‘मेनिस’बाट आएको हो, जसको अर्थ हुन्छ, महिना। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७ दिन लगाउँछ। त्यस्तै महिलाको महिनावारी चक्र पनि सरदर २८ दिनको हुन्छ।  

संग्रहालयभित्र प्रदर्शनीमा राखिएको जानकारी अनुसार प्राचीन कालमा ग्रिस, रोम र बेबिलोनमा चन्द्रमालाई देवीका रूपमा मानिन्थ्यो। तिनलाई प्रजनन र मातृत्वको प्रतीकका रूपमा विश्वास गरिन्थ्यो। त्यस बेलादेखि नै महिलाको मासिक चक्र र चन्द्रमाको चक्रसँग समान रहेको स्विकारिएको थियो।  

रोचक कुरा के छ भने अहिले पनि कंगो देशको एक जातिमा पहिलोपटक महिनावारी सुरु हुने युवतीलाई एउटा छाप्रोमा पठाइन्छ। तिनको वरपर साथी र आफन्त हुन्छन्। त्यहाँ महिनावारीका बारेमा उनलाई जानकारी दिइन्छ। उनीहरूको संस्कृतिमा रहेको कर्मकाण्ड पूरा गरेपछि मिठोमिठो खाना खाएर त्यसलाई उत्सवको रूपमा मनाउँछन्। र, चन्द्रमालाई धन्यवाद दिन्छन्। युवतीलाई महिनावारीका बारेमा अनुभवी महिलाबाट दिइने त्यो तरिका मलाई मनपर्‍यो।

अर्को सूचनामा भनिएको थियो, मध्ययुगमा सेनिटरी प्याडको आविष्कार भएकै थिएन। महिलालाई महिनावारीको रगतलाई कसरी व्यवस्थापन गर्ने जानकारी थिएन। त्यसबेला महिलाले घुँडाभन्दा मुनिसम्म आउने रातो रंगको पेटिकोट अथवा कुनै गाढा रंगको लुगा लगाउँथे। त्यसबेला महिनावारीको रगतलाई सहज रूपमा वहन दिन्थे। महिनावारीको रगत पेटिकोटमा लाग्थ्यो। पेटिकोटले गर्दा बाहिरी लुगामा रगत लाग्नबाट जोगिँदो रहेछ। महिलाले पेटिकोट लगाउने कारण बल्ल बुझेँ।  

त्यस संग्रहालयमा नेपाल पनि देखेर छक्क परेँ। सूचना पढिरेहका मेरा आँखा टक्क रोकिए। नेपालको छाउपडी प्रथाका बारेमा लेखिएको सूचना थियो। पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथा अनुसार महिनावारी भएका बेला गोठमा बस्नुपर्ने, त्यहाँ शुद्ध खानेपानी, सरसफाइ र सुरक्षा आदिको अभावका कारण महिलाको ज्यान जाने कुरा लेखिएको थियो। धन्न केही वर्षअघि त्यस कुप्रथालाई सरकारले गैरकानुनी घोषित गरेको कुरा त्यहाँ पढ्दा मन अलिक हलुका भयो। मभन्दा अघि त्यो सूचना पढिरहेका दुई युवतीले मसिनो स्वरमा ‘नेपाल’ भनेर कुरा गरेको सुन्दा झसंग भएँ। तर, म नेपाली हो भन्ने कुरा तिनलाई के थाहा ? थाहा पाएको भए मेरो अवस्था कस्तो हुन्थ्यो होला भनेर अनुमान गर्न सकिनँ।  

बेलायतमा महिनावारीका बेला प्रयोग गरिने सामग्रीमा राज्यको तर्फबाट लगाइने कर हटाउन र ती सामग्री स्कुलमा निःशुल्क उपलब्ध गराउन पटकपटक प्रदर्शन हुने गरेको समाचार टिभीमा हेरेको थिएँ। हालै बेलायतको एउटा राज्य स्कटल्यान्डमा ती सामग्री निःशुल्क उपलब्ध गराउन थालिएको समाचारलाई मैले अति प्रशंसनीय कार्यका रूपमा लिएको छु। यस्तो सुविधा नेपालमा अनिवार्य उपलब्ध गराउनुपर्छ।  

महिनावारीका बेला जाम्बियामा एक दिन, ताइवानमा तीन दिनसम्म र कोरियामा पनि महिनावारीका बेला बिदा लिन पाइने सूचना पढेर हर्षित हुन्छु। वास्तवमा त्यो अधिकार संसारभरका महिलाले पाउनुपर्छ।  

एउटा सूचना पाटीमा आँखाले खुब रमाइलो माने। महिनावारीका सम्बन्धमा अति शिक्षित तथा विकसित देशदेखि पिछडिएका देशमा प्रचलनमा रहेका अन्धविश्वास र मान्यता पढेर हैरान भएँ। ती अन्धविश्वास कतिपय हराएर गए। तर कतिपय ठाउँमा तिनका अवशेष अझै होलान्।

बोलिभियामा महिनावारी भएकी महिलाले बच्चा बोक्नु हुँदैन, बोकेमा बच्चा बिरामी हुन्छन् भन्ने विश्वास गर्दा रहेछन्। डोमिनिकन रिपब्लिकमा महिनावारी भएका महिलाले कपाल धुन र नङ पालिस लगाउन हुँदैन। जापानमा ‘सुसी’ नामक जापानी खाना बनाउनु हुँदैन भन्ने विश्वास रहेछ। त्यसबेला बनाएमा सुसीको स्वाद असन्तुलित हुन्छ रे।

मलेसियामा महिनावारी भएका बेला प्रयोग गरेको प्याड अथवा कपडा सीधै फाल्नु नहुने, धोएर मात्र फाल्नुपर्ने, नत्र अनिष्ट आउन सक्ने विश्वास रहेछ। त्यस्तै, मेक्सिकोमा महिनावारी भएका बेला नाच्न नहुने, नाचेमा गर्भाशय खराब हुन सक्ने विश्वास गरिँदो रहेछ। तिनमा कतिको सत्यता छ भन्ने उनीहरू नै जानून्।

फ्रान्समा महिनावारीका बेला ‘मेयोनेस सस’ बनाउनु हुँदैन, बनाए त्यो जम्छ भन्ने विश्वास गर्दा रहेछन्। बेलायतमा बाथ टबको तातोपानीमा डुबेर नुहाउनु नहुने मान्यता छ। पोल्यान्डको केही गाउँमा महिनावारीको समयमा सम्भोग गरे सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दा रहेछन्। अमेरिकामा भने महिनावारीका बेला क्याम्पिङ जानु हुँदैन, गए जंगली जनावरले रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्ने विश्वास गर्दा रहेछन्।

उपरोक्त मान्यता र अन्धविश्वासले एकछिन सोच्न बाध्य बनायो। महिनावारीका बारेमा विकसित देशमा त यस्ता कुरा छन् भने हाम्रो देशको के कुरा भयो र ?

अलिक पहिले र अहिले योनिका बारेमा मानिसका सोच फरक छन्। अहिले योनिलाई राजनीतीकरण र व्यापारीकरण गरिएको छ। त्यस योनि संग्रहालयलाई मैले शिक्षा र सांस्कृतिक केन्द्रका रूपमा लिएको छु। किनकि त्यहाँ परिवार र स्कुलका बच्चाको अनुकूलको कार्यक्रम आयोजना गरिन्छ। त्यसको उद्देश्य सानै उमेरदेखि महिला यौनांगका बारेमा कुरा गर्न सहज होस् र महिलाले आफूमा भएको योनिका बारेमा गर्व गरून् भन्ने रहेछ। संग्रहालयले स्वस्थ यौन सम्बन्ध र यौन शिक्षा आदिका बारेमा डाक्टरसँग मिलेर काम गर्दो रहेछ। योनि र महिलाको स्वास्थ्यका बारेमा खुलेर बहस गराउने तथा लाजशरम हटाउनका लागि उक्त संग्रहालय खोलिएको हो जस्तो लाग्यो।

कुनै पनि स्थान वा संग्रहालय लगायतका स्थल भ्रमण गरेपछि सम्झनास्वरूप त्यहाँको शुभनियर पसलबाट केही किन्ने बानी छ। त्यहाँ रहेको पसलमा केही लिनुपर्ला भनेर चक्कर लगाएँ। किरिङ, डायरी, कलम, पोस्टकार्ड आदि सामग्री थिए। तर तिनमा जताततै योनिका चित्र अंकित थिए। विभिन्न रंगका दुरुस्त योनि आकारका आकर्षक मैनबत्ती पनि बिक्रीका लागि राखिएका थिए। ती सामग्री मनपरे। तर घरमा लगेर कहाँ राख्ने ?  

संग्रहालयका ती सामग्री किन्नुको अर्थ त्यसलाई आर्थिक सहयोग गर्नु हो। सार्वजनिक रूपमा चन्दा उठाएर सञ्चालनमा ल्याइएको उक्त संग्रहालयको दान बाकसमा केही रकम खसाएर अलिकति भए पनि सहयोग गरेँ। मनले आनन्द मान्यो।

संग्रहालय सबै घुमिसकेको थिएँ। हेर्न बाँकी केही थिएन। निस्कनुअघि एउटा सूचनामा आँखा परे। त्यहाँ लेखिएको थियो, ‘तपाईंको महिनावारी भए पनि नभए पनि महिनावारीका बारेमा साथी र परिवारसँग कुरा गर्नुस्। महिनावारीको सामग्री प्रयोग गर्नबाट वञ्चित महिलाका लागि खोलिएको परोपकारी संस्थालाई दान दिनुस्। महिनावारी हुनु कुनै कलंक होइन, यो लाज मान्नुपर्ने विषय होइन। उठ्नुस्, खुलेर कुरा गर्नुस्।’

उक्त सूचना पढेपछि संग्रहालय अवलोकनको अनुभूति लेख्नु आफ्नो कर्तव्य ठानेँ। यति लेखिसकेपछि मनमा अपार सन्तुष्टि छायो।

प्रकाशित: २ श्रावण २०७८ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App