२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कृष्णागण्डकी र शालिग्राम

गण्डकी प्रदेशको पृथक् मूल्यको पर्यटकीय आकर्षणमध्ये प्रमुख हिमालय मानिएको छ। दृश्यको आकर्षणमा यो पहिचान एकदम ठीक हो। तर दिगो पर्यटनको आधार दृश्यभन्दा धेरै आस्थामा केन्द्रित हुन्छ। त्यसैले हिमाललाई देवत्वकरणले पृथक् आधार बनाउँछ र दिगो पर्यटनको केन्द्रीय आकर्षण बन्न सक्छ। शालिग्राममा त्यो क्षमता छ। चिनियाँ भूमि, जनता र सरकारले पनि हिन्दूको आस्थालाई बलियो पर्यटकीय आधार बनाउन सकेको उदाहरण कैलाश मानसरोवर हो। बुद्धको जन्मभूमि लुम्बिनी, पुराणहरूमा वर्णन गरिएका पशुपति, मुक्तिनाथादि तीर्थस्थल त्यस्तै आस्थाका आकर्षण हुन्। आस्थाका केन्द्र प्रामाणिक हुन किंवदन्ती र शास्त्रवर्णित कथा मात्र पर्र्याप्त हँुदैन। शास्त्रका कथासँग मिल्दोजुल्दो पुरातात्विक प्रमाणले आस्थालाई बलियो बनाउने हो। एकभन्दा धेरै ठाउँले त्यस्तो आस्थाको केन्द्र दाबी गरेको हकमा पुरातात्विक भनी दाबी गरिएको प्रमाणउपर अनुसन्धान गरिन्छ।  

बुद्धको जन्मभूमि भारतमा पर्ने हल्ला चलाउन प्रयास पनि भएको सुनियो। तर पुरातात्विक प्रमाण लुम्बिनी क्षेत्रमा मात्र पाइएकाले त्यस्तो हल्लाले आम जनविश्वास आर्जन गर्न सकेन। दमौलीले व्यासको जन्मभूमि दाबी गर्दै आए पनि भारतको कालिन्दीले समेत दाबी गरेको र पुरातात्विक प्रमाण कमजोर रहेकाले दुवै स्थानको दाबी फितलो देखिएको छ।  

पुराणअनुसार, भागिरथी गंगाको शिर कैलाश पर्वत र मानसरोवरसँग जोडिन अनिवार्य हुन्छ। हाल हामीले मानिआएको भागिरथी गंगाको शिर पश्चिम तिब्बतस्थित कैलाशपर्वत र मानसरोवरसँग जोडिएको छैन। त्यहाँ कैलाशपर्वत र भागिरथी गंगामध्ये कुनै एक झुटो साबित हुन सक्ने भएकाले अर्काे कुनै हिमाललाई कैलाशको नाम दिइएको हुन सक्छ। वास्तविक कैलाश कुन हो भन्न चारवटा गंगाको उद्गम प्रमाणित हुनुपर्छ, (भागवत महापुराण ४ः६)। त्यसैले शास्त्रमा उल्लिखित भागिरथी गंगा हाम्रै कर्णाली पनि हुन सक्छ भनेर शास्त्रको मिहीन विश्लेषण गर्ने वर्ग पनि पर्यटक हुन्छन् र उनीहरूको प्रतिवेदनलाई पत्याउने ठूलो जमात सही मानेका पर्यटक बनेका हुन्छन् भन्ने भुल्नु हुँदैन। अहिलेसम्म राक्षसतालको निकास भनेर कर्णाली प्रस्रवणलाई पर्यटन मूलधारमा ल्याउन रोक्ने प्रतिस्पर्धीको बजार रणनीतिलाई शास्त्र वचनले नै परास्त गर्न सकिन्छ। हामीले त्यसतर्फ प्रयास गरेकै छैनौँ।

दिगो पर्यटनको गुरुयोजना बनाउँदा विरोधाभास तर्कलाई स्थान दिन सकिँदैन। भारतको हिन्दू जनमतलाई मध्यनजर राखेर गण्डकी प्रदेशले उपयोग गर्न सक्ने केन्द्रीय आकर्षणमा हिमालयबाहेक काली गण्डकी प्रस्रवणमा मात्र प्राप्त हुने भनिएको शालिग्राम शिला पनि हो। प्राकृतिक ऐतिहासिक संग्रहालय लन्डनमा जस्तै धेरै ठाउँमा प्यालाकोन्टो लजिकल सोसाइटीले प्रकाशन गरेका जर्नलका सूचना (टेलर पिडी, फासिल फोकलोर : एमोनाइटस्) सहित विश्वमा अन्य स्थानमा पाइने जीवाशेष प्रदर्शनी अवलोकन गरेका पर्यटकलाई शालिग्राम प्रकृतिका जीवाशेष सन्दर्भमा धेरथोर जानकारी हुन्छ। करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्रामशिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। समुद्रमा पाइने एमोनाइट जीवाशेष र कालीगण्डकी प्रस्रवणमा पाइने शालिग्रामको तुलना गर्न डिपोजिट म्यागाजिन अंक ४६, सन् २०१६ ले प्रकाशन गरेको सूचनाजस्तै विश्वमा प्रकाशन भएका सूचनाको जानकारी पनि राख्न सक्नुपर्छ।  

शालिग्रामले पुराणमा वर्णन गरिएका धेरै कथाको रहस्य उजागर गर्न सक्छ। शालिग्रामको उत्पत्ति सम्बन्धमा पुराणमा पाँचवटा मुख्यकथा भेटिन्छ– ज्योतिर्मय विष्णुको सान्निध्यमा जम्मा भएका देवता (वराहपुराण १४४ः२२५), जालन्धर र वृन्दाको कथा (स्कन्दपुराण, हिमवत खण्ड ४४ः६१), शंखचुड र तुलसीको कथा (ब्रह्मवैवर्तपुराण २ः२१), गजग्राहको कथा (भागवतपुराण ८ः२,३ र ४) र शालंकायन ऋषिको कथा (वराहपुराण १४४ः२५६)। पद्मपुराण (पातालखण्ड अध्याय १९, उत्तरखण्ड अध्याय २४, ८७, १२२ र १२६) तथा गरुडपुराणमा (अध्याय ४५ र ६६) शालिग्रामको विस्तारपूर्वक वर्णन गरिएको छ। उत्पत्तिकथा विवरण यिनै पाँचमध्ये नै पर्छ। कल्पभेद र सम्प्रदाय भेदका कारण उक्त कथा भिन्नभिन्न स्थानसँग सम्बन्धित हुन सक्छन्। महाराज विशेषणले आफ्नो पहिचान स्थापित गरेर सीमित समुदायमा रमाउन चाहने गुरुहरूले विस्तार गरेको सम्प्रदाय भेदलाई छिचोल्दै हामीले कल्पभेद र स्थानभेदको निराकरण गर्न सकेनौँ भने शालिग्रामको वास्तविक पहिचान गर्न सक्दैनौँ।

एमोनोइडिया सामुद्रिक जीव हो, (सेफर्ड आर (एनडी) डिसकभरिङ फोसिल, ३० जनवरी २०२०)। शालिग्राममा पाइने जीवाशेष डाइनोसरकालमै लोप हुन पुगेका तिनै जीवको हो भनेर सन् १९८८ मा डलहाउस विश्व विद्यालयले अनुसन्धान गरेर प्रतिवेदन (ग्राडस्टाइन एट अल, १९८९) सार्वजनिक गरिसकेको छ। पुराणमा बज्रकीट भनिएका उक्त जीव दुई–तीन करोड वर्षअगाडि नै लोप भएका थिए (सन् एट अल, २०१२)। तिनै जीवाशेषलाई आधार मानेर श्रुतिस्मृतिमा सीमित सर्वप्रथम लेखिएको ऋग्वेद त क्राइस्टभन्दा १५०० वर्षअगाडि मात्र लेखिएको कुरा इन्साइक्लोपेडिया ब्रिटानिकाले लेखेको छ। अन्य ग्रन्थ त्यसपछि मात्र रचना गरिएको इतिहासकार बताउँछन्। शालिग्रामलाई अर्चावतार मानेर पूजा गर्ने प्रचलन करिब २००० वर्ष अगाडिदेखि चलेको अनुमान डा. जगदीशचन्द्र रेग्मीले उल्लेख गरेका छन्, (रेग्मी (१९८५) शालिग्राम अभिलाषा, जगमान गुरुङ (२०६७) गण्डकी प्रस्रवण क्षेत्रको सांस्कृतिक सम्पदा)। तेथिस सागरमा डुबेको पृथ्वी टेक्टोनिक उठान (वराहनारायण प्रकरण)पश्चात् हिमालयमा परिणत भएकाले सामुद्रिक जीवाशेष हिमालयमा पुगेको वैज्ञानिक अन्वेषण पनि सार्वजनिक भएका छन्। यस मानेमा लिपिबद्ध वेदपुराणभन्दा हिमालय जेठो, हिमालयभन्दा कालीगण्डकी जेठो र कालीगण्डकी भन्दा शालीग्राम जेठो भनी प्रमाणित गर्न पर्र्याप्त आधार तयार भएका छन्।  

डा. जगदीशचन्द्र रेग्मीले नरसिंहपुराणलाई सन्दर्भग्रन्थ बनाई उल्लेख गरेको शालिग्राम शीर्षकको लेखमा सोमेश्वर पर्वतको फेदीमा गण्डकी नदीले बनाएको तलाउलाई चक्रतीर्थ भनिएको छ। यो पंक्तिकारले गीताप्रेसबाट प्रकाशित नरसिंहपुराणमा शालिग्रामको उल्लेख गरेको पाउन सकेन। त्यसैले रेग्मीले सन्दर्भग्रन्थ बनाएको नरसिंहपुराण कुन प्रकाशकको हो भनी यकिन गर्न सकिएन। कालीगण्डकीको शिर दामोदरकुण्ड मानिएको छ, तर त्यहाँ कुण्डबाट निस्केको कृष्णाभाले मूलनदीमा नपुग्दासम्म गण्डकीको नाम धारण गरिसकेको हुँदैन। उपल्लो मुस्ताङका हिमालको पानी एकीकृत गरेर निस्केको निकासमा दामोदरकुण्ड क्षेत्रको जलनिकास मिसिएको मात्र हो। अस्ति भर्खरसम्म मुस्ताङी राजाको अधीनमा रहेको त्यो क्षेत्र पुराण लेखनका बेला सायद अन्य कुनै राज्यमा थियो। जुम्ली राजाले पनि मुक्तिनाथसम्म मुस्किलले छुन सकेका थिए भने त्यतिबेला कालीगण्डकीले सम्पूर्ण गण्डकीको प्रतिनिधित्व हुने नाम नलिएको हुनुपर्छ। 

पुराण पनि कागबेनीबाट मुक्तिनाथतर्फ मोडिएका छन्, उपल्लो मुस्ताङ पस्ने प्रयास गरेका छैनन्। गण्डकीका सप्तस्रोतको नामाकरण त स्कन्दपुराणको हिमवतखण्डमा गरिएको हो, त्यो पनि गण्डकीभन्दा पृथक् नाममा। विष्णुपुराणमा उल्लिखित पुराणक्रम अनुसार वराहपुराणपछि लेखिएको स्कन्दपुराणलाई १३औँ पुराण भनिन्छ। यो पुराण हिमवतखण्डजस्तै विभिन्न तीर्थ वर्णन गरिएको संकलित पुराण हो। त्यसैले आकारमा सबैभन्दा ठूलो हुन पुगेको छ। स्कन्दपुराणमा रिडी क्षेत्र नहुनु तर वराहपुराणमा व्यापक मात्रामा उल्लिखित हुनुले स्कन्द पुराणकल्पमा गण्डकी रुद्रवेणी तथा रिडी क्षेत्रमा मोडिइसकेको थिएन। पछि गण्डकीले जमिन खोतल्दै जाँदा मात्र मिर्मीबाट पश्चिम बगेर रिडी क्षेत्र वराहपुराणमा समेटिएको हुनुपर्छ। यो संकेतले वराहपुराणलाई कान्छो मान्ने आधार हुन्छ, (चालिसे केआर (२०१६) स्कोप अफ् श्रीकृष्णगण्डकी बेसिन इन् कन्टेक्स्ट टु फिल्ड म्युजियम अफ् नेपलिज वाटर कल्चर)। मुकुन्द सेन राजाको पालामा काशीराम कस्यपले वराहपुराण र हिमवतखण्डको सूचना एकीकृत गरेर गण्डकी माहात्म्यको रचना गरेपछि मात्र कृष्णाभा कालीगण्डकी बनेको अनुमान गर्न सकिन्छ, (अधिकारी टिकाराम (२०५५) गण्डकी माहात्म्यम्, नेपाली भाषानुवाद)। स्पष्ट भाषामा भन्नुपर्दा सप्तस्रोत एकीकृत भएपछि मात्र सामूहिक नाम गण्डकी हुन्छ। भारतमा गण्डकीलाई गण्डक भनिन्छ। त्यसैले तत्कालीन गण्डक वा गण्डकीको मुहान देवह्रद वा दामोदरकुण्ड कुन थियो ? भनेर खोज अनुसन्धान हुन आवश्यक छ।  

६ वेदांग, चारै वेद, मीमांसा र न्याय त दर्शन हुन्। तिनलाई सरल दृष्टान्त र इतिहासको रूपमा बुभ्mनु हुँदैन। विज्ञान मिश्रित दर्शन भएकाले तिनीहरूको कुनै कुनै बुँदालाई महाभारत, रामायण तथा पुराणमा काल्पनिक इतिहास सहितको दृष्टान्तले संकेत गर्ने गरिएको छ। शालिग्राम शिलामा कल्पौकल्पको इतिहास संग्रहित भएकाले माथि उल्लेख गरिएका शालिग्रामको उत्पत्ति र नामाकरण सम्बन्धित पाँच प्रमुख दृष्टान्तलाई परोक्षवादात्मक दृष्टिले पनि विश्लेषण गर्न अनिवार्य छ। सूतजातीय रोमहर्षणका चेलामध्ये अकृतव्रण, सावर्णि र शांसपायनले तयार गरेका पुराणसंहिताका आधारमा सुमति, अग्निवर्चा र मित्रायुले पुराणहरू लेखेको तथ्य विष्णुपुराणमा लेखिएको छ, (देवीलाल लम्साल (१९७७) वेदपुराण एक अनुशिलन)। त्यसैले वैष्णव, शैव र शाक्त मतमा विभक्त पुराणमा रहस्यात्मक दृष्टान्तका चरित्रपात्र पनि पृथक् पृथक् छन्। सीधा र सामान्य अर्थमा त्यस्ता दृष्टान्त समाजको निमित्त अपाच्य हुन सक्छ। वृन्दा (शैवपुराण) र तुलसी (वैष्णवपुराण)को सतित्वहरण र जालन्धर र शंखचुडको वध कल्पभेदका दृष्टान्त नभई सम्प्रदाय भेदका उदाहरण हुन्। पात्रहरूको नाममा फरक देखिँदा पनि दृष्टान्तले दिन खोजेको विषय तिनमा एउटै छ, शालिग्राम र तुलसीको सामीप्यता। तुलसीलाई वृन्दा पनि भनिन्छ। त्यस्तै, जालन्धर र शंखचुड पनि पर्यायवाची शब्द हुन सक्छन्। गीताप्रेसबाट प्रकाशित ब्रह्मवैवर्तपुराणमा (९ः६) राधाको श्रापले गर्दा सुदामालाई शंखचुड बन्नुपरेको दृष्टान्त दिइएको छ भने लिंगपुराण (१ः९७ः२) मा जालन्धरलाई जलमण्डलबाट उत्पत्ति भएको भनिएको छ। तिनीहरूको सम्बन्ध क्षारसमुद्रसँग (शंख) छ भने शालिग्राम (चक्र)को सम्बन्ध क्षीरसमुद्र (हिमालय)सँग छ। क्षारसमुद्र र क्षीरसमुद्रको समन्वय बिन्दु तुलसी हुन् भन्ने मान्यता पुराणले लिएका छन्।  

शालिग्रामको सन्दर्भमा तपस्यारत श्रीहरिको तप्त शरीर श्रीमुक्तिनाथको ज्वाला र त्यस क्षेत्रमा पाइने शालिग्रामसँग सम्बन्धित हुनुपर्छ। तर गजेन्द्रमोक्ष प्रकरणमा बताइएको गजग्राह द्वन्द्व तथा वामननारायणको बली यज्ञ प्रसंगमा धसिएको प्रथम पाउको दर्शन गर्न स्वर्गबाट फरालेका वैष्णवी कृष्णा र शाम्भवी त्रिशुलीको जलले बनेको देवह्रदको रहस्य भने माडीको शालिग्रामसँग सम्बन्धित देखिन्छ। कान्छो जिल्ला नवलपुरको देवचुली र देवह्रदको अन्तर्सम्बन्ध देखाउने शास्त्रवचन भेटिएको छैन, तर माडी र नवलपुरमा सक्रिय थारु समुदायका गुह्रौहरूको चामत्कारिक किंवदन्तीले सम्बन्ध हुनुपर्ने संकेत गरेका छन्। देवचुलीको पर्वतबाट दक्षिणमा हेर्ने हो भने दाउन्ने र सोमेश्वर पर्वतमालालाई नारायणीले काटेर विभक्त गरेको देख्न सकिन्छ। उक्त पर्वत नकाटिन्जेल चितवन र नवलपुर एउटै तलाउको पिँध रहेको अनुमान गर्न सकिन्छ। त्यसैले गजग्राह द्वन्द्वलाई देवह्रद (गंगाको वाहन ग्राह) र सोमेश्वर पर्वत (पृथ्वीको वाहन गज)को रस्साकस्सी, पर्वत काटिनुलाई गजेन्द्रमोक्ष, माडीका शालिग्रामलाई चक्रप्रमाण र नारायणीले विभक्त गरेको चितवन तथा नवलपुर उपत्यकालाई चक्रतीर्थ भनेर वराहपुराण (१४५ः७५) मा उल्लेख गरिएको कथा प्रसंग मिल्न आउँछ। चक्रतीर्थ र शालिग्राम उत्पत्तिको निकट सम्बन्ध रहेको व्यहोरा गजग्राह प्रकरणले देखाउँछ। डा. जगदीशचन्द्र रेग्मीले उद्धृत गरेको नरसिंहपुराणको श्लोकले चक्रतीर्थ कहाँ थियो भनेर खोज अनुसन्धान गर्न प्रेरित गरेको छ।  

अहिले ठाउँठाउँमा शालिग्राम संग्रहालय बनाउने लहर चलेको छ। शालिग्रामलाई आधार सूचना बनाई हराएको तेथिस सागर र हिमालयको टेक्टोनिक उठान (वराहनारायण प्रकरण) सन्दर्भमा थाकखोला क्षेत्रमा धेरै नै अनुसन्धान भएर प्रतिवेदन स्तरीय जर्नलमा प्रकाशन भएको पाइन्छ। त्यस्ता प्रतिवेदन हिन्दू धर्मग्रन्थले व्याख्या गरेको भन्दा फरक हुन्छ। अन्धभक्तलाई आकर्षण गर्न लेखिएका शालिग्रामसम्बन्धी साबिकका विवरणले नयाँ पुस्तालाई सन्तुष्ट गर्न सक्दैनन्। शास्त्र तत्कालीन अवस्थाको समाजबाट भक्त उत्पादन गर्न मनोवैज्ञानिक उद्देश्यले लेखिएको हुन्छ। तिनीहरूमा शास्त्रवचनलाई मिल्ने गरेर स्थानीय परिवेशमा बुझिने कथा मिसाइएको हुन्छ। स्कन्दपुराण, केदारखण्ड, माघमाहात्म्यको आधारमा श्रीस्वस्थानी व्रतकथा यसको राम्रो उदाहरण हो। तर विज्ञानले लक्ष्य गरेका ग्राहक साधकभन्दा धेरै अन्वेषक प्रकृतिका हुन्छन्। तिनीहरूले संस्कृतिभित्र विज्ञानको छाया खोज्छन्। किंवदन्तीभित्र प्रामाणिक एकरूपता खोज्छन्। त्यसैले शालिग्राम संग्रहालय स्थापना गर्दा चक्र संख्या, रङ, आकृति र प्राप्त स्थानको आधारमा व्याख्या गरेर पुग्दैन। संग्रहालयमा सम्प्रदाय भेदको प्रवेश भयो र आश्रमको निमित्त स्रोत जगेर्ना गर्ने रणनीतिमा उपयोग गरियो भने पृथक्पृथक् संग्रहालयले प्रवाह गर्ने सूचनामा विविधता भएर शालिग्रामको महत्वमै ह्रास आउँछ।  

सृष्टिको रहस्य उजागर गर्न चाहने वैज्ञानिक जगत्का निमित्त शालिग्रामको नमुना र नमुनासँग सम्बन्धित सूचनाले अत्यन्त महत्व राख्छ। शालिग्राम प्रमाणकै आधारमा गण्डकी प्रस्रवणलाई देवभूमिको दर्जा दिएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ। यस्तो महत्वपूर्ण प्रमाण फोरेर क्युरियो पसलमा बेच्न राखेको टुलुटुलु हेर्नु हिन्दू भनेर गर्व गर्नेलाई लाजको विषय हो। यस्तो कार्यले शालिग्रामको साथसाथै शालिग्रामलाई अर्चावतार मूर्ति मानेर पुज्ने समाजको उपहास गरेको ठहर्छ। शालिग्राम संग्रहालयमा राखिने सूचना अपूर्ण भयो भने पनि महत्व स्थापित हुँदैन। शालिग्राम धन आर्जन गर्ने साधन होइन। त्यसैले हरकोहीले धनआर्जन गर्ने लोभमा शालिग्रामको बारेमा मनगढन्ते व्याख्या गर्नु हुँदैन। शालिग्राममा हरेक देवीदेवताको आकृति स्वयं विश्वकर्माले नै कुदिदिएका छन् भने शालिग्रामी प्रस्रवणमा सिमेन्टको सहारामा कलाकारले कुदेको सिमेन्टको मूर्ति वा ढलोट तथा प्रस्तरमूर्तिले अर्थ राख्दैन। त्यसैले यो प्रस्रवणका हरेक मन्दिरमा शालिग्रामको स्थान सम्मानजनक तरिकाले सजाइएको हुन आवश्यक छ।

कालीगण्डकी तिनाउ बहुउद्देश्य डाइभर्सन प्रकरणमा यतिवेला धेरै छलफल भइरहेको छ। समाजको तल्लो तहसम्म पुगेको यो विषयमा तल्लोतटीय पालिका सरकार र गण्डकी प्रदेश सरकारको पनि बलियो साथ रहेको छ। कृष्णागण्डकी प्रस्रवणका जनता यतिवेला डाइभर्सन गर्न हुन्छ कि हुँदैन भनेर बहस गर्न नै चाहँदैनन्। कुनै पनि हालतमा कालीगण्डकीको पन्थान्तरण हुनुहुँदैन भन्ने उनीहरूको मत छ। जनताको यो आस्था र विश्वासलाई गण्डकी प्रदेशको पर्यटकीय ब्रान्ड योजना तर्जुमा र ब्रान्ड बजारीकरण योजना तर्जुमा गर्न रणनीतिक उपयोग गर्न नितान्त आवश्यक देखिएको छ।

प्रकाशित: २ श्रावण २०७८ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App