विश्व विनोद
घरमाथि बारीमा, आयो झिल्के बाँदर,
धपाउँदा दिन्दिनै, हटिसक्यो जाँगर।
लखेट्नलाई भनेर, गुलेलीले ताकेको,
अग्लो रुखमा लुक्दियो, म त झनै थाकेको।
अग्लो–अग्लो रुखमा, बाँदरको डेरा भो,
आँप, लिची सिध्यायो, उस्लाई नै केरा भो।
कहाँ होला उस्को घर, कहाँ होला बस्ने ठाउँ,
किन होला आएर , अत्याउँछ हाम्रो गाउँ ।
फूलबारी भत्कायो, मुला पनि उप्कायो,
बाको टोपी लगाई , मलाई झनै झुक्यायो ।
हाम्रो घर बारीमा, नआइदेऊ बाँदर,
हाम्रो फलफूल खाइदिँदा, लाग्दो रैन्छ, जाँगर।
बस्तीबस्ती नआउनु, जंगलमा डुल्नु है,
मिठामिठा कन्दमूल, उतै खाई भुल्नु है ।
चोरी गर्न हुन्न नि, भोकै हामी पर्ने छौ,
खाने अन्न नहुँदा, बसाइ नै सर्ने छौं ।
प्रकाशित: २५ असार २०७८ ०९:२६ शुक्रबार