२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

प्रवृत्ति

लघुकथा

लता के सी  

 

‘नकनक ! घरमा को हुनुहुन्छ ? मध्यान्हको समयमा को आयो ? सीता झस्किइन् , यो कोरोनाको बेला , माथिबाटै कराइन् , ‘को हो ? ए छोरी ढोकामा हेर त !’  

 ‘खै आमा, मैले त चिनिन् ’ भन्दै ढोका खोलिन् ।  

सीता आत्तिएर कराइन् , ‘उसो भए ढोका नखोल’ भन्दै छोरीको हात समाउन आइपुगिन् ।  

‘के हो भाइ , किन ?’ अपरिचित एउटा युवक देखेर सोधखोज गरिन् ।

 उसले भन्यो , ‘डराउनु पर्दैन, आमा ! म सेल्सम्यान हुँ । धेरै दिनपछि लकडाउन खुकुलो भयो। पापी पेट पाल्न यी सामानहरू बेच्न घरघरै हिँडेको हुँ।’

खाउँलाझैँ गरेर उनले भनिन् , ‘भोभो तिमी गइहाल।  केही चाहिया छैन हाम्रा घरमा !  लल खुरुक्क बाटो तताऊ।’

ऊ अनुनयविनय गर्दै थियो । छोरीलाई भित्र जाऊ भनिन् र ड्याम्म ढोका लगाइन् ।  

आमाको गतिविधि देखेर छोरी छक्क परिन् । उनलाई नमजा लाग्यो  र भनिन् – आमा ,  त्यसको पनि विवशता थियो होला । ऊ पनि मान्छे हो। कुरो सुनेर राम्रो मुखले पठाएको भए हुन्थ्यो नि, बरु!  

–नकरा ,  जिरे खुर्सानी ! खुकुरीभन्दा कर्द लाग्ने? ममी च्याँठिइन् ।  

केही समयपछि फेरि ढोकामा नकनक भयो। यसपाला आमाले ढोका खोल्दै भनिन् , ‘ओहो  बैनी , के हो त्यो झोलामा  सकीनसकी  बोक्नुभयो । किनमेल गरेर आउनु भयो कि ?‘

–होइन दिदी,  बारीमा फलेको तरकारी तपाईलाई पुरयाउन आएँ।

झोला बाहिर राखेर फर्किन आँटेको देखेर उनले भनिन् –भित्रै आउनु न।

सशंकित हुँदै भनिन् ,  ‘होइन , भित्र नपसूँ के रे !

‘ह्या .... के भनेको यो बैनीले‘  भन्दै हात समाएर तान्दै बैठकमा बसाइन्।  

छोरीलाई चिसो पेय ल्याउन  अह्राइन् ।  अलि परैबाट गिलास राखेर छोरी अलमल्ल परेको देखेर आमाले सोधिन् , ‘आन्टीलाई चिनिनस् ? ’  

–चिनेँ  नि किन नचिन्नु ? तर ....!  

–के तर ?    

–कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो , आमा ?  अझ त्यो सेल्सम्यान दाइले त मास्क लगाको थियो अनि आन्टी त बिनामास्क नै भित्र  आउनुभयो  त !  

प्रकाशित: २४ असार २०७८ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App