२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

वीर गोर्खालीका नातिहरू !

छोटोकथा

क्याप्शन

हरिप्रसाद भण्डारी

 

मानिस र गाडीको नियमितआवत–जावतले गर्दा बानेश्वरचोकमा प्रायः घुइँचो भई नै रहन्छ । त्यस्तो घुइँचोमा पनि उसले सकी–नसकी बाटो काट्यो र टक्–टक् बैसाखी बजाउँदै बायाँ किनारै–किनार उत्तरतिर लाग्यो । खुट्टाको अपाङ्ग भए पनि बैसाखीको सहाराले ऊ तीव्र गतिमा अगाडि बढिरहेको थियो । प्रतीत हुन्थ्यो— ऊ कुनै लक्ष्यप्राप्तिका लागि प्रतिस्पर्धा गरिरहेको छ ।

मङ्सिरको महिना, दिन छिप्पिसकेको थियो तापनि आकाशमा लागेको कालो बादल र वरिपरि छरिएको हुस्सु नहटिसकेको हुनाले वातावरण निरस, ठण्डा र विषाक्त प्रतीत हुन्थ्यो । बहुसङ्ख्यक मानिसहरू जाडाले कठ्याङ्ग्रिएर सिउसिउ गर्दै न्यानो र उज्यालोको खोजीमा पूर्वतिर ताकिरहेका देखिन्थे।

त्यो नौलो यात्री केही कदम मात्र अगाडि गएको थियो, त्यस्तैमा सानो गल्लीबाट चारपाँच जना युवा निस्किए र मूल बाटोमा मिसिए । युवाहरू कुनै नौलो चलचित्रबारे बहस गर्दै थिए।

हिँड्दाहिँड्दै उनीहरू त्यही अपाङ्ग यात्रीका नजिक आइपुगे । गफको तालमा उनीहरूको ध्यान अन्तै पुगेको थियो । त्यस्तैमा तिनीहरूमध्ये एकजना व्यक्ति एक्कासि अपाङ्गको बैसाखीमा अल्झियो र हुत्तिँदै जमिनमा पछारियो । अपाङ्ग यात्री उनीहरूबाट तर्किन त खोजेको थियो तैपनि युवकहरूको उत्ताउलो र बेसुरको हिँडाइको कारण ऊ तर्किन भ्याएन । झन्डै लड्नबाट जोगियो र प्रयत्न गरेर सम्हालियो ।

“तेरा आँखा  छैनन् ? साले बाटामा हिँड्नेलाई बैसाखीले अखल्टाएर लडाउने ?” लडेको युवकले उठ्दै भन्यो ।

ऊ केही बोल्नै भ्याएको थिएन अर्को युवकले थप्यो— “साला लङ्गडाको खुट्टा त छैन – छैन आँखा पनि रहेनछ ।”

उसको कुरा सुनेर अरू युवकहरू गलल्ल हाँसे।

तिनीहरूको बेसुरको हिँडाइ, आफूप्रतिको कटुवचन र व्यङ्ग्य हाँसोले उसको मुटु पीरो भयो। रिसले अनुहार रातो भयो अनि प्रतिकार गर्दै भन्यो, “आफै बाटो नहेरी हिँड्छौ अनि अर्कालाई दोष...!”

“बर्ता नबोल् है, नत्र खालास् झापु ।” तेस्रो युवकले हाँक दियो।

“के यहाँ तिमीहरूको मात्र राज छ र ? अन्यायमा पनि पर्नुपर्ने अनि झापड पनि खानुपर्ने ?” उसले यत्ति मात्र के भन्न भ्याएको थियो ‘ठोक सालेलाई बडो बर्ता पो हुँदोरहेछ ।’ भन्दै दोस्रो युवकले तेस्रो युवकलाई आँटदियो।

“के शान्तिसुरक्षा र मानवअधिकार समेतलाई तिमीहरूले दबाउन खोजेको ?” अपाङ्ग यात्रुले हिम्मत नहारी भन्यो ।

“शान्तिसुरक्षा ?” तेस्रो युवकले व्यङ्ग्यपूर्ण शब्द उच्चारण गर्दै र “ला तेरो शान्तिसुरक्षा” भन्दै एक लात दिएर अपाङ्गको एउटा बैसाखी पर हुत्याइदियो । आफ्ना साथीको बहादुरी देखेर पाँचै जना युवकहरू गलल्ल हाँसे । हाँस्ने क्रम रोकिएको थिएन । अर्को युवकले पनि “ला तेरो मानवअधिकार” भन्दै अर्को बैसाखी पनि लात्ताले हानेर झन् पर पु¥याइदियो । दुवै बैसाखी नहुँदा ऊ सम्हालिन सकेन र ढुनमनिदै सडकमा पछारियो।

ऊ पछारिएको देखेर पाँचजना तन्नेरीहरू शरीर मर्काउँदै निकै जोडले हाँसे । हाँस्दा–हाँस्दै तिनैमध्ये एउटाले भन्यो, “वीर गोर्खालीका नाति हौँ हामी । के हुतिहारा सम्झेकोे तैँले हामीलाई ?”  

उसको कुरा सुनेपछि हाँसो पुनः थपियो।  

यो सबै घटना क्षणभरमै भएको थियो । त्यहाँ थुप्रै दर्शक जम्मा भइसकेका थिए तर छिरलिएको शक्ति र दबिएको मानसिकताले गर्दा ती ‘वीरहरूको’ प्रतिकार गर्न कसैले सकेन। उता अग्लो डाँडामा बसेका स्वयम्भूका दुईटा आँखाले पनि न्याय–अन्याय छुट्याएनन्।

बिचरो अपाङ्ग यात्रु सकीनसकी उठ्यो र एउटा खुट्टाको सहाराले उभिँदै बिस्तारै भन्यो, “वीर गोर्खालीका नातिहरू !   तपाईं पाँच जना वीरहरू मिलेर म एकजना अपाङ्गलाई पछार्न सक्नुभएकोमा तपाईंहरूलाई धेरैधेरै धन्यवाद छ । म आफूले आफैंलाई धिक्कार दिन्छु किनकि जनआन्दोलनमा प्रहरीको गोलीद्वारा एउटा खुट्टा गुमाएर पनि मैले आफूलाई वीर बनेर उभ्याउन सकिनँ ।”  

उसका कुरा सुनेर त्यहाँ वरिपरि झुम्मिएका दर्शकहरूको मुटु चसक्क चस्कियो र शरीरमा जिङ्ग्रिङ्ग काँडा उठे । त्यत्ति बेलासम्म वीर गोर्खालीका नातिहरू पर पुगिसकेका थिए। 

(नोट – विसं २०५२ सालमा लेखिएको प्रस्तुत कथा ‘अविरल यात्रा’ लघुकथासङ्ग्रहबाट साभार गरिएको हो ।)

प्रकाशित: २३ असार २०७८ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App