२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फूलको जस्तै प्रहार बनाउँछु

गजल

मिलन समीर

 

“ म एउटा यस्तो आकार बनाउँछु ”, उसले भन्यो,

“ सबैको सपना साकार बनाउँछु”, उसले भन्यो।

 

“ हेर्दै जाउ तिमी, खुकुरीको चोटलाई समेत,  

फूलको जस्तै प्रहार बनाउँछु” , उसले भन्यो।

 

“मलाई ढुङ्गाले हान्नेहरूसँग प्रतिकार गर्नुछ –

त्यसैले फूलैफूलको हतियार बनाउँछु ” , उसले भन्यो ।

 

“तिमीजस्तो बन्दुक बोकेर हिंड्ने कातर मान्छे हुँदै होइन,  

त्यसैले त, कलमलाई तरबार बनाउँछु ”, उसले भन्यो।

 

खै के देखेछ कुन्नि ? मलाई निकैबेर नियालेर हेरेपछि –  

“मैले पनि तिम्रोजस्तै अनुहार बनाउँछु ”, उसले भन्यो।

 

“जसले आज मलाई बीच बाटामै छोडेर गएको छ –  

उसकै लागि हरपल यादगार बनाउँछु” , उसले भन्यो।

 

“भन्न त प्रायः सबैले अमूल्य छ भन्छन् तर मेरो आफ्नै जीवन –  

तिमीलाई नै दिने अनमोल उपहार बनाउँछु”, उसले भन्यो।

 

“तिमीले आफ्नो सन्तानलाई डाक्टर , पाइलट , शिक्षक बनाउ,  

मैले त मेरा सबै सन्तानलाई गजलकार बनाउँछु”, उसले भन्यो।

प्रकाशित: २३ असार २०७८ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App