अनुग्रह राना मगर (पुष्प)
हामी दाजुभाइ साइनोले । माथि पहाडबाट डुबुल्की मार्दै झरेका हौँ । गन्तव्य कहाँ सम्मको हो थाहा थिएन । हामी लखतरान हुँदा पनि एक झोकले हुत्याउँदै, पल्टाउँदै समथर भागमा ल्याएर किनारा लगाइदियो । जहाँ हामी जस्ता थुप्रै थिए । मुडुलै भएर बसेका । तृष्णा त्यो घरिघरि आउने पानीको छछल्को को गर्दै ।
मभन्दा अलिक ठूलो भएकाले दाइ नै भन्थे । उहाँ मभन्दा अलिक राम्रो, चिटिक्क र सर्लक्क परेको चिल्लो हुनुहुन्थ्यो । आउने दर्शकले ‘आहा कति राम्रो !’ भन्दै गाला मुसार्थे । फुलपातीसँगै फलफूल चढाउँथे । शुद्ध दुधले नुहाइदिन्थे । मचाहिँ टुलुटुलु हेरिरहनबाहेक केही थिएन तर जात त एउटै हो । मात्रै मेरो मेकप कम थियो । यस्तै सिलसिला चलिरहयो । ऊ राम्राराम्रा कुराले भरिदैँ गए।
एकदिन एकजना धनाढ्य आएर उसलाई आफ्नो घर लाने विचार गरे । हुँदैन भन्नु पनि मेरो सामर्थ्य थिएन । ठिकै छ लैजाऊ भने । तुरुन्तै लगे । अब एक्लै भएँ जोडी खोसिएको चराझैँ । बिलौना गरेर नि के फाइदा भन्दै मलाई चाहिँ नलगेकोमा गुनासो पोखेँ आखिर म पनि उहीँ जातको हुँ ।
ऊ पनि बोल्न सक्दैन , म पनि बोल्न सक्दिनँ । खास ऊ र ममा के फरक हो भनेर सोच्दै थिएँ । धनाढ्यको घर नजिकै भएकाले उताबाट पनि गुनासोको आवाज आयो । म लुटिएँ । बर्बाद भएँ। त्यहीँ भएको भए स्वतन्त्र हुन्थे । अझै अरूले चिन्थे । यहाँ ल्याएर अरूले देख्छ भनेर अँध्यारो कुनामा राखेर गर्न खोजेको के हँ । एक्लै मुरमुरिएको आवाज आइरहेको थियो उहीँ ढुङ्गे दाजुको पनि ।
प्रकाशित: २१ असार २०७८ ०९:०७ सोमबार