दलबहादुर गुरुङ
आजभोलि म सधैं फेसबुकमा पिङ खेलिरहन्छु । अस्ति पनि म सदाझैँ फेसबुकमा मस्त थिएँ। एक्कासि फेसबुकमा सरिताको तस्वीर देखेँ । म झसङ्ङ भएँ । उनीसँग कुम जोडेको मान्छे देखेपछि त आङ सिरिङ्ङ भो । त्यसपछि खुब नियालेँ मैले उनको तस्वीर । उनीसँग कुम जोडेको मान्छे कतै म नै हुँ कि भनेर कम्प्युटरको स्क्रीनमा मजाले आँखा तानेर हेरेँ । दुर्भाग्य ! म होइन रहेछु । आफैलाई धिक्कारेँ ।
साँच्चै, सरितासँग पन्ध्र वर्षपछि बल्ल फेसबुकमार्फत् भेट भयो । खुसी पनि लाग्यो, दुःख पनि । उनीसँग मेरो अनलाइनमा कुरा साटासाट भयो। उनले मलाई पर्सि हाटबजारमा भेट्न बोलाएकी छन् । उनलाई देखेपछि के भन्ने होला ? के सोध्ने होला ? साँच्चिकै म उनलाई हेरेको हे¥यै हुन्छु होला है । उनलाई भेटेर म के भन्छु होला ? कतै उनकै अगि म...?
सरिताको र मेरो परिचय क्याम्पस पढ्दा भएको थियो । उनी र म एउटै क्याम्पसमा पढ्थ्यौं । सँगै विद्यार्थी संगठनमा पनि काम गथ्र्यौैं। म साइन्सको विद्यार्थी थिएँ भने उनी आर्टसकी । म साइन्सको विद्यार्थी भए पनि साहित्य, सङ्गीत मेरो प्राणजस्तै थियो भने राजनीति मेरो रुचिको विषय थियो । क्याम्पसमा हुने कुनै पनि साहित्यिक कार्यक्रम छुटाउँदैन थेँ । अनि म संगठनको भेला, सम्मेलन, अधिवेशनमा पनि उत्तिकै खट्थेँ।
सरिताले पनि संगठनको काममा सक्दो सहयोग गर्थिन् । हामी दुई जनाले आफ्नो व्यक्तिगत कामलाई भन्दा संगठनको कामलाई ठूलो ठान्थ्यौँ। सरिताको लगनशीलता र कर्तव्यनिष्ठाप्रति म कृतज्ञ थिएँ। सरिता र मैले व्यक्तिगत कुरा गर्ने समय नै पाएनौँ भन्दा पनि हुन्छ । हुन त एक दिन सरिता र म गोलपार्कको एउटा चिसा पसलमा मनका कुरा गर्ने निहँुमा पसेका थियौं । न उनले केही कुरा बोलिन्, न मैले मुख खोलेँ। तातो चिया चिसो भयो। चुपचाप –चुपचाप सेलाएको चिया मुखमा हुलेर क्याम्पसतिर लागेका थियौँ।
मलाई त्यो दिन हिजैजस्तो लाग्छ । कहिलेकाहीँ क्यान्टिनमा हाम्रा आँखा जुध्ने गर्थे । उनले मलाई लुकेर हेरेको बेला हाम्रा आँखा चार हुने गर्थे । हो, सरिता र म नजानिँदो तरिकाले एक अर्काका साथी भइसकेका थियौँ । हाम्रा ओठले कहिल्यै एकले अर्कालाई सम्बोधन गरेनौँ तर मुटुको स्पन्दनले भने एक भएको अनुभूत गथ्र्यो । नजानिदो तरीकाले अगाध माया बसेको थियो हामी बिच।
सरिता अलि लजालु स्वभावकी थिइन् । आँखाले कुरा गर्थिन् तर मुखमा भने सधैँ माड लगाएर बसेकी हुन्थिन् ।
समय बित्दै गयो । क्याम्पसमा स्ववियुको चुनाव हुने भयो । म सचिवमा लड्ने भएँ। धुमधामका साथ चुनाव प्रचार ग¥यौँ । विरोधीहरूको जनबल थिएन, मुढेबल लगाए तर सफल हुन सकेनन् । चुनावमा हाम्रो संगठन भारी मतले विजयी भयो ।
मैले सचिव पदमा चुनाव जितेपछि मभन्दा पनि बढी खुसी सरिता भएकी थिइन् । सरिताले भनेकी थिइन– “अब तिम्ले आफ्नो भन्दा पनि विद्यार्थी साथीहरूको हकहितमा समय खर्चिनुपर्छ ।”
उनका ती शब्दहरू मलाई महावाणीजस्तो लागेको थियो ।
पढाइ पनि सिद्धियो । परीक्षापछि म रिजल्टको पर्खाइमा बसेँ । सरितासँग क्याम्पसको पढाइपछि भेट हुन सकेन । मैले उनलाई भेट्न क्याम्पसको गेटमा थुप्रै पटक कुरेँ तर भेट्न सकिनँ। मैले उनलाई मनमनै खुब मायालु भाषामा गाली गरेँ। कवितामा गाली गरेँ। कथाको पात्र बनाएँ तर उनीसँग भेट्न सकिनँ।
उनकी मिल्ने साथीलाई सोध्दा त उनी पहाड घर गएको कुरा थाहा पाएँ । आजजस्तो फोनको सहजता थिएन । मोवाइल, फेसबुक केही पनि थिएनन् । भएका भए फोन, मोबाइल, फेसबुक चलाइन्थ्यो होला । दुर्भाग्य, अविकसित समय र प्रविधिका कारणले गर्दा हामी पछि प¥यौँ ।
मलाई उनको घर, ठेगाना केही पनि थाहा थिएन । त्यतिचोटि भेट भएको बेला ठेगानासम्म त टिप्नुपर्ने । हुस्सू बानी । हुन त उनीसँग बोल्ने मसँग हिम्मत पो कहाँ थियो र ? कसरी माग्न सक्थेँ र म उनको ठेगाना ?
तिनाउ खोलामा थुप्रै पानी बग्यो । हाम्रो संगठनको माउ पार्टी सरकारमा चढ्यो र झ¥यो पनि । हामीले विश्वास गरेका नेताहरू मन्त्री, प्रधानमन्त्री बनेँ। कति नेताले इज्जत फाले । हामीले विश्वास गरेका नेताहरू लोभी भएको देख्दा र सुन्दा नरमाइलो लाग्न थाल्यो।
हामीले गरेको विद्यार्थी राजनीति आज खोई कहाँ पुग्यो आफैलाई थाहा भएन ? कतिपय हाम्रा आन्दोलन र हाम्रा मागहरू पूरा हुन सकेनन् । जसरी विद्यार्थीका मागहरू पूरा भएनन् त्यसरी नै हाम्रो साँचो मायाको माग पनि पूरा हुन सकेन ।
अनलाइनमार्फत बल्ल थाहा पाएँ, तिमी त तीन सन्तानकी आमा भइसकेकी रहिछ्यौ । मैले तिमीलाई उल्लिखित दिन र स्थानमा भेटेँ । तिमी कति खुसी देखिएकी थियौ । आँखामा तिम्रो क्या चमक थियो ! साच्चै सरिता ! पहिले र अहिले तिमीमा मैले कुनै फरक पाइनँ । पहिलेभन्दा पनि राम्री देखेँ तिमीलाई । बोली उस्तै मिठो । व्यवहार उस्तै जाती । सानी छोरी त तिम्रै फोटोकपी रैछिन है ? मैले तिमीलाई देखेपछि मन बुझाउन सकिनँ र अतित सम्झेर दुई थोपा आँसु चुहाएँ । त्यही आँसुमा मैले तिम्रो र मेरो पुरानो अमूर्त तथा अव्यक्त मायाप्रेम देखेँ । तिमी न हिजो मेरी हुन सक्यौ, न आज र न भोलि हुन सक्छ्यौ ।
तिमी मेरी होइनौ भन्ने जान्दाजान्दै पनि तिमीलाई पराई ठान्न सकिरहेको छैन । यही मेरो विवशता हो र यही कमजोरी ।
तिमीलाई मैले सोधेको थिएँ नि– ‘पन्ध्र वर्षसम्म एक पटक मेरो याद आएन ?’
त्यतिबेला तिमीले छोरीको कपाल सुम्सुमाउँदै आँखाबाट तप्प आँसु झारेकी थियौ । कसैले थाहा नपाउने गरी पुछ्यौ पनि। त्यो बेला मैले सोचेँ, सायद मलाई जस्तै विछोडको पीडा तिमीलाई पनि भएको रहेछ । त्यही बुझेँ मैले ।
“अब व्यावहारिक रूपमा तिमी म एक हुन त सक्दैनौँ तर भावनात्मक रूपमा हामी एक हुनुपर्छ ।” हिँड्ने बेला तिमीले यही भनेकी थियौ । मैले बाटोभरि यही कुराको अर्थ खोजेँ । तिम्रो कुराको भावभित्र म हराइरहेँ।
सरिता तिमी कति महान् छौ है ? साँचो माया कहिल्यै नमर्दो रहेछ है ? अमर प्रेमको जिउँदो कथा कति दिन लकाऊँ म सरिता ? अब तिम्रो र मेरो जिउने आधार फेसबुक र अनलाइन नै बनाऊँ । यही नै हाम्रो माया प्रेम आदान प्रदान गर्ने साधन बनोस् ।
हाम्रो माया प्रेम सफल नहुनुमा समय दोषी छ । त्योभन्दा पनि दोषी त प्रविधिको विकास र सहज उपलब्धता नहुनु नै हो कि ! त्यसैले आजको समय र प्रविधिको भरपुर प्रयोग गरौँ र हाम्रो पुरानो मायाप्रेमलाई जीवन्त बनाइराखौँ।
सरिता ? मेरो कुरो मन परेमा एउटा स्टाटस लेखी पठाऊ ल । म सधैँ तिम्रो प्रतीक्षामा रहने छु।
प्रकाशित: ४ असार २०७८ ०६:३३ शुक्रबार





