११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

पुरानो मन्दिर

लघुकथा

 हरिप्रसाद भण्डारी

 

   १) कुकुर तिहार

कुकुर तिहारको दिन थियो, शहर बजारका बाटा–घाटा र गल्लीहरूमा देखिने दृश्यहरू पनि अनौठा प्रकारका थिए । अचम्मको दिन ! कैयौं मान्छेहरू खानै नपाएर आकुल देखिए पनि बाटामा हिँड्ने भुस्याहा कुकुरहरूकोसम्म दिन फर्केको थियो । सबै कुकुरहरू फूल–मालाले सिँगारिएका थिए, टीका–टालाले रङ्गिएका थिए र प्रसादले अघाएका जस्ता देखिन्थे। 

एउटा भव्य महलको अगाडि बाटाका किनारमा एउटा कुुकुर, माथि भनिएजस्तै सिंगारिएर तृप्त अवस्थामा घाम तापेर लम्पसार परी सुतिरहेको थियो । नजिकै करीब सातआठ वर्षको माग्ने ठिटो बडो कारुणिक अनुहार लिएर आफ्नो अर्धनग्न शरीरमा पसेको चिसोलाई सूर्यको तातोले पन्छाउँदै उभिएको थियो । उसका खाली खुट्टा चरचरी फुटेका थिए, सारा शरीर धुलो र हिलोले ढाकिएको थियो। शरीर दुब्लो, पातलो र खिनौरो थियो । शरीरमा राष्ट्रियताको नाममा एउटा सानो टोपीसम्म पनि नहुनाले कपाल जिङ्ग्रिङ्ग परेको देखिन्थ्यो । चारैतिर तिहारको रमझम र खुशीयाली छाएको भए तापनि उसका मनमा कुनै खुसी थिएन, ऊ यस संसारमा एक्लै छ कि जस्तो प्रतित हुन्थ्यो।

केही समयपछि भव्य महलको ढोकाबाट एउटी सुकिली महिला साथमा केही पूजा सामग्री लिएर बाहिर निस्किन् र कुकुरका नजिक गएर पूजा गर्न लागिन् । फूल र अक्षताका स्पर्शले कुकुरको निद्रा भङ्ग भयो, उठ्यो र आङ तन्कायो । महिलाले पूजा सिध्याएर डराईडराई कुकुरलाई टीका लगाइदिइन्, माला पहिराइदिइन् र ढोग गरेर साथमा ल्याएको दाल, भात र तरकारी आदिको टपरी अगाडि राखिदिइन् । पहिलेदेखि नै अघाएको कुकुरले त्यस प्रसादका टपरीलाई एक पटक सुँघ्यो मात्र, खाएन र त्यहाँबाट तीन चार कदम पर गयो।

उता त्यस गरिब ठिटाले त्यो सबै दृश्य हेरिरहेको थियो। टपरीमा थोरै भए पनि राम्रो परिकार देखेर उसको भोको पेटभित्रका तन्तुहरू सलबलाउन लागेका थिए र मुखमा सर्र पानी रसाएको थियो । उसले प्रसादप्रति आशा जनायो । दयालु आँखाले ती महिलालाई हेरयो र मौन भाषामा हातको इसाराले आफ्नो दरिद्रताको भाव प्रकट गर्दै उनीसँग केही माग्यो । तर धन, दौलत र अहम्को तापले कठोर भएको पथ्थरको दिल दया र करुणाको सानो रापले पग्लनेवाला थिएन र पग्लेन पनि ।

उनी बसेकोबाट उठिन्, कतै शरीरमा धुलो लाग्यो कि जस्तो गरी धुलो झार्न र सारी मिलाउन लागिन् । त्यही मौका पारेर त्यस बालकले नजानिदो तरिकाले उक्त प्रसादको टपरी उठायो र खानका लागि तयार भयो । त्यो दृश्य देखेपछि ती महिलाले त्यस बालकलाई हप्काउँदै भनिन, “यो प्रसाद कुकुरका लागि भनेर राखेको तैँले उठाइस् फेरि ?, मर्न नसकेका कङ्गालहरू !” यति भन्दै बालकका हातबाट उसको प्राण पसिसकेको टपरी खोसेर पुनः कुकुरलाई दिन चाहिन् तर त्यति बेलासम्म पुच्छर हल्लाउँदै कुकुर पर पुगिसकेको थियो । त्यो बालक पनि अनुहार मलिन भए पनि मनभरि बालसुलभ घृणा र आँखाभरि तिरस्कार बोकेर अगाडि बढिरहेको थियो ।

(कात्तिक १२, २०४६, काठमाडौं)

  २)  घाम–पानी  

“सर नमस्कार !”

नमस्कारको प्रतिउत्तरमा उनले पिलिक्क आँखा तरेर मतिर हेरे।

“के चाहियो ?” उनको आवाज रोबदार थियो ।

“सर, फलानो जिल्लामा ठाउँ खाली रहेछ, सरुवा हुने इच्छा...।”

“किन चाहियो सरुवा ? के मैलै तिमीहरूको सरुवा गर्ने ठेक्का लिएको छु र ?”

“सर ! चारपाँच वर्ष भयो दुर्गममा बस्न लागेको, अब यसो सुगम या घरपायक पाउन पाए ....!”

“म केही जान्दिनँ । यहाँबाट गइहाल मलाई फुर्सद छैन । निक्ली हाल यहाँबाट ।”

‘पाँचसात दिन हिँडेर आएको पनि बेकार हुने भयो त’ यस्तै विचार गर्दै एकैछिन त्यहीँ उभिइरहेँ । म उभिएको देखेपछि उनले टरर्र घण्टी बजाए । तुरुन्तै एकजना पिउन भित्र पस्यो अनि धनुष्टङ्कार नमस्कार गर्दै आदेशको प्रतीक्षा गर्न थाल्यो ।

“उसलाई बाहिर निकाल !”

‘मलाई ...?, पिउनद्वारा ...?’ अचम्म मान्दै मनमनै गुनगुनाएँ अनि “म आपंmैं निक्ली हाल्छु सर, पिउनद्वारा निकाल्नु पर्दैन ।” यति भन्दै बाहिर निस्किएँ।

अर्को दिन त्यसै विभागको बाहिर पुगेको मात्र के थिएँ, एकजना मानिस मेरो नजिक आयो र “तपाईँलाई साहेबले बोलाइबक्स्याछ, हिँड्नोस् रे” भन्यो।

“मलाई बोलाउनुभएको ?” कोठाभित्र पसेपछि मैले घुम्ने कुर्सीमाथि विराजमान उनै ‘महापुरुषलाई’ सोधेँ ।

“हिजो आउनुभएको तपाईँ होइन ?”  

“मै हुँ ।”

“हिजो तपाईँले म उहाँको मान्छे हुँ भनेर भन्दै भन्नु भएन । मैले हिजो नचिन्नाले कुनै कठोर शब्द प्रयोग गरेँ हुँला, दुःख नमान्नोस् है ।” उनी मेरो अगाडि हात मल्दै थिए ।  

म केही बोलिनँ । उनलाई टेलिफोनका घण्टीले राम्रै असर गरेछ भन्ने अनुमान लगाएँ। 

“बस्नोस्, तपाईँले चाहे बमोजिम सरुवाका लागि मैले शाखा अधिकृतलाई अह्राइसकेको छु, एकैछिनमा पत्र तयार हुन्छ ।”  

त्यसपछि उनले घण्टी बजाए । हिजैकै पिउन भित्र पस्यो।  

“दुई कप चिया लिएर आ ।”

“हस् हजुर” यसो भन्दै पिउन बाहिर गयो । म सोफामा बसेर हाकिमको हिजो र आजको व्यवहार तुलना गर्न लागेँ।

          ३) खेल

 

टोलमा विभिन्न वर्ग र व्यवसायका मानिसहरु बस्थे।

दिनमा काम गर्नेहरू आआफ्नो काममा जान्थे । केटीहरू भने धेरैजसो समय खेलेरै बिताउँथे । उनीहरूका खेल प्रायः मुसोबिरालो, लुकामारी आदि हुन्थे।

यथास्थितिको विरुद्धमा संचालिन जनआन्दोलनको लहर शहरबजार हुँदै टोलटोलसम्म पनि पुगिसकेको थियो । सर्वसाधारण जनताका मनमा पनि परिवर्तनप्रतिको चाहना वृद्धि हुँदै गइरहेको थियो । कैयौँ पटक प्रदर्शनकारीहरुले टोलटोलमा पनि सरकारका विरुद्धमा जुलुस निकाल्थे र जोशिला नाराहरू घन्काउँथे । उनीहरूको कार्यक्रमको बारेमा जब प्रशासनलाई जानकारी हुन्थ्यो, थुप्रै प्रहरी त्यहाँ आउँथे र प्रदर्शनकारीहरूलाई तितरबितर गर्न उनीहरूमाथि अन्धाधुन्ध लाठी बर्साउँथे । कहिलेकाहीँ त प्रहरीले प्रदर्शनकारी जनतालाई चुट्न सफल हुन्थे तर कहिलेकाहीँ भने प्रदर्शनकारीहरूले प्रहरीकै लाठी खोसेर उल्टै उनीहरूलाई नै हिर्काउँथे । यसरी बेलामौकामा प्रदर्शनकारी र प्रहरीका बीच घम्साघम्सी चलिरहन्थ्यो । यो सबै दृश्य टोलका व्यक्तिहरू र केटाकेटीहरू समेत देख्थे । जुलुस, नारा, प्रहरी प्रवेश आदि घटनाहरूले केटाकेटीको मनमा एउटा नौलो प्रभाव पारिरहेको थियो।

केही समयपछि केटाकेटीहरूको मन पनि त्यस्तै खेल खेल्न पट्टी लोभियो। सबैले मिलेर सरसल्लाह गरे अनि को प्रहरी बन्ने, को आम जनता बन्ने भन्ने विषयमा बहस चल्न थाल्यो ।

त्यहाँ दुई वर्गका बालबच्चाहरु थिए। उच्च वर्गका बच्चाबच्चीहरू अरू बच्चाबच्चीहरूभन्दा मोटाघाटा, खाइलाग्दा र सुकिला कपडा लगाएका थिए । उनीहरू स्वभावले केही बाठा र जिद्दीवाल हुने हुँदा लाठी चलाउन पाउने जिद्दी दिए । उता तल्लो वर्गका केटीहरु दुब्ला, पातला र टिठलाग्दा थिए, आम जनता बन्न विवस भए।

खेल सुरु भयो । जनता पक्षका केटाकेटीहरू जसको समुह प्रहरीपक्षको भन्दा ठूलो थियो, एक छेउबाट हूल बाँध्दै अगाडि बढे र एकै स्वरमा नारा लगाउन लागे– ‘इन्कलाब जिन्दाबाद !..... मुर्दावाद !’

एकैछिनपछि अर्को पक्ष केटाकेटीहरू प्रहरी पक्षको भूमिका निर्वाह गर्दै हातमा एकएकवटा दाउरा समाएर अगाडि बढे अनि लाठीचार्ज र भिडन्त सुरु भयो। एकैछिन रमाइलो भयो। बीचमा केके भयो कुन्नि खेलको नक्कली भिडन्तले सक्कली रूप लियो। प्रहरीपक्षको पिटाइले मर्माहत भएका जनतापक्षका केही केटाकेटीहरूले प्रहरीका हातबाट लाठी खोसे र प्रहरीमाथि वास्तवमै जाइलागे। जनतापक्षका केटाकेटीहरूले त्यसलाई खेलै सम्झेर प्रहरीमाथि लाठी हिर्काइरहे तर खेलखेलमा मात्र सीमित नरहेर निकै अघि बढिसकेको थियो। प्रहरीपक्षका केटीहरूका टाउबाट रगतको खोलो बग्न सुरु भयो । कोलाहल मच्चियो र रुवाबासी सुरु भयो।

साँझ सबै अभिभावकहरू जम्मा भए । उच्चवर्गका केटीहरू पिटिएका हुँदा उनीहरूका बाबुआमाहरूले त्यस अवस्थालाई सहन सकेनन् र जनतापक्षका केटाकेटीहरूमाथि जाइलाग्न लागे । जनतापक्ष पनि कमजोर थिएन । विवाद चर्कियो, प्रतिकार सुरु भयो। उच्चवर्गका ठालुहरूले आफ्नो हैकम देखाउँदै तल्लो वर्गका जनतामाथि जाइलागे। उच्च वर्गको निरन्तरताको दबाबबाट पीडित भएका आमजनता चुप लागेर बस्नेवाला थिएनन् । बदलाको ताकमा थिए अनि त वर्गीय द्वन्द्व सुरु भयो अर्थात् दोस्रो चरणको खेल आरम्भ भयो ।

(चैत १२, २०४६, काठमाडौँ )

                ४) अन्तर

बृजमानका दुईटी छोरी थिए– शिलू र निरू ।

समयमै छोरीहरूको विवाह गरिदिएर बृजमान आफूमाथि परेको कन्यादानको भारबाट उम्किएका थिए।

वर्ष दिनको तीजमा बृजमानले छोरीहरूलाई डाकी पठाएका थिए, समय मिलाएर छोरीहरू आए पनि । शिलूको परिवार पहिलेको भन्दा सम्पन्नशाली बन्दै गइरहेको थियो, त्यसैले उनी किमती पोशाक र गरगहनाले सजिएर गर्वले छाती फुलाउँदै आएकी थिइन् । उता निरूको परिवार त्यत्ति सम्पन्नशाली थिएन। त्यसैले उनी साधारण पोशाकमै आएकी थिइन् तर पनि प्रसन्न मुद्रामा थिइन्।

ढोगभेट, सन्चो बिसन्चो र खुसीराजीका साथ समय बित्यो।

अर्को सालको तीजमा सन्जोगले बृजमानले छोरीहरूलाई डाक्न भ्याएनन्। दशैंमा छोरी जुवाइँ नै आउनु भनी पत्र पठाए ।

दशैंमा जुवाइँ हैन छोरी मात्रै आए । बृजमान अचम्म पर्नु स्वाभाविकै थियो र सोधे–

“जेल पर्नुभएको छ ।” दुवै दिदी – बहिनीहरूले एउटै उत्तर दिए ।  

“जेल ?” आत्तिँदै बृजमानले प्रश्न गरे, “कसरी ?”

“तस्करीको आरोपमा ।” रुँदै शिलूले भनिन् ।  

“अनि ?” बृजमानले आत्तिँदै अर्की छोरीतिर हेरेर कारण जान्न चाहे।

“असत्यको विरुद्धमा सत्य, अन्यायको विरुद्धमा न्याय र असमानताको विरुद्ध समानताका लागि संघर्ष गरेको आरोपमा ।” गर्वले छाती फुलाउँदै निरूले उत्तर दिइन् ।

(वैशाख २४, २०४६)

        ५) पुरानो मन्दिर

 

मन्दिर निकै पुरानो थियो । आफ्नो आस्था र विश्वास बोकेका देवता त्यसभित्र विराजमान छन् भन्ने कुरामा गाउँलेहरू आशावादी थिए।

कुरो बडो अचम्मको थियो । त्यत्रो आस्था र विश्वास जितेका देवताको दर्शन पाउनबाट गाउँलेहरू विमुख थिए । ठूलाबडाका भनाइअनुसार देवता निकै तेजिला थिए र कसैले प्रत्यक्ष हेर्नासाथ हेर्ने व्यक्ति भष्म हुन सक्थ्यो। त्यसैले देवतालाई माटाको घ्याम्पोभित्र बन्द गरी मुखमा बिर्को लगाएर राखिएको थियो । त्यसैले भक्तजनहरूले देवताको पूजा बाहिरबाटै गर्थे

आइतवारको दिन थियो। गाउँलेहरू पङ्क्तिबद्ध भएर देवताको पूजा गर्दै फर्कदै थिए । तिनैमध्ये कार्र्कीपाटे ठाइँली मुखेनी पनि थिइन् । उनी आफ्नो प्यारो नातिलाई साथमा लिएर त्यहाँ पुगेकी थिइन्।

चर्को गर्मीमा लामो समयसम्म लाइनमा बस्दा मुखेनीका निधारबाट तरतरी पसिना बगिरहेका थिए । उता नाति भोक र तिर्खाले आत्तिएर झगडा गरिरहेको थियो। देवतालाई चढाउन भनी लगेको सुन्तलो मागेर हैरान पारेको थियो।

निकै समयपछि मुख्खेनीको पालो आयो। उनले नातिलाई फकाउँदै पूजा गर्न लागिन् । तर परिवेश उनले चाहेजस्तो भएन। नातिले काखबाट तल झर्नै मानेन। निकै कोसिस गर्दा पनि नातिले नमानेपछि मुख्खेनी रिसाइन्। रिसको झोँकमा नातिलाई भुइँमा राखेर पूजाको जोरजाम गर्न थालिन्।

नाति सजिलो थिएन । बजैको त्यो चाला देखेपछि र आफूले मागेको सुन्तलो नदिएपछि उसको रिस पनि बढ्दै गयो । रिसको झोकमा उसले नजिकै रहेको शालिग्राम उठायो र आफ्नो अगाडि रहेको घ्याम्पोमा हिर्कायो । बस के थियो, वर्षौदेखि पूजा गर्दै आएको  माटाको घ्याम्पो घजमघाँजी भैहाल्यो।

घ्याम्पो फुटेको देखेपछि पहिले त सबै जना डराए तर तत्कालै उनीहरूको डर आश्चर्यमा परिणत भयो । जुन देवताले हेर्नासाथ भष्म पार्छन् भन्ने डर थियो ती देवता त्यहाँ थिएनन् । अर्थात् घ्याम्पो खाली थियो।

वर्षौंदेखि घ्याम्पोभित्र देवता छन् भन्ने विश्वास मान्दै र पूजा गर्दै आएका गाउँलेहरूले फुटेको घ्याम्पो देखेपछि आश्चर्य माने । आपसमा मुखामुख गरे र आजसम्म रित्तो घ्याम्पोको पूजा गर्दै आएकोमा आफैलाई धिक्कार दिँदै हातको फूलप्रसाद हातमै समाएर मनभरि घृणा र पश्चाताप बोकी सबैजना आआफ्नो घरतिर लागे ।

 (माघ ०३, २०४६, काठमाडौँ)

(नोट – २०४७ सालमा प्रकाशित ‘चिराग’सङ्ग्रहमा सङ्गृहीत यी लघुकथाहरू  लेखकले सामान्य  सम्पादन गरेका छन् ।)

प्रकाशित: ३ असार २०७८ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App