१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नागरिकको लापर्बाहीबाट कोरोना फैलिँदै छ

गङ्गा कर्माचार्य पौडेल

 

विसं २०११ साल भदौ २० गते दार्सिङ  दहथुम, स्याङ्जामा जन्मिएकी साहित्यकार गङ्गा कर्माचार्य पौडेल हाल बुढानीलकण्ठ  – १०, शिवपुरीचोक कपन, काठमाडौंमा बस्छिन्। उनका २०३३ सालमा  ‘गङ्गाका केही छालहरू’ कविता सङ्ग्रह प्रकाशित छन्। त्यसपछि २०६३ सालमा ‘आँधीखोलाको सम्झना’ कविता संग्रह प्रकाशन भएको पाइन्छ। अहिलेसम्म उनका दुई दर्जन बढी कृति प्रकाशित छन्। उनका बालकथा, चित्रकथा र बालकाव्य गरी १८ ओटा बालकृति प्रकाशित छन्।  नेपाली साहित्यमा अत्यन्तै सक्रिय पौडेल प्रौढ साहित्यमा पनि उत्तिकै कलम चलाउँछिन् । उनका २०७६ मा मौन प्रश्न लघुकथा सङ्ग्रह र २०७७ सालमा आधी घण्टा नामक संस्मरण सङ्ग्रह प्रकाशित छन्।

 ‘स्याङ्जाको नेपाली बालसाहित्यको इतिहास (२०७२)’ समेत प्रकाशित गरेको पौडेलले ‘पञ्चबलि’ बालउपन्यासका लागि नेबासास उत्कृष्ट  पुस्तक पुरस्कार र ‘सरस्वती’ किशोर उपन्यासका लागि गोठाले पाण्डुलिपि पुरस्कार पाएकी छिन्। यस्तै गरी उनी विभिन्न संघसंस्थाबाट सम्मानित एवं पुरस्कृत छिन्। उनको २०७५ मा ब्रेललिपिमा ‘को ठूलो’ नामक बालकथा कृति पनि प्रकाशित छन्। उनै साहित्यकार पौडेलसँग  कोरोनाको विषयमा केन्द्रित भई गरिएको कुराकानी 

१) कोरोना कालमा के गर्दै हुनुहुन्छ?

म नेपाली भाषा साहित्यकी विद्यार्थी, सिकारु लेखिका हुँ। लेखकको धर्म लेखन, अध्ययन, मनन चिन्तन हो भन्ने लाग्छ मलाई। तसर्थ आफ्नो नियमित लेखन अभ्यास गरिरहेकी छु र केही नयाँ पुस्तकहरू पनि  पढ्दै छु। कोरोना महामारीको वर्तमान अवस्था र लकडाउनका कारण स्थलगत साहित्यिक  हुन नसके पनि भर्चुअल माध्यमबाट कार्यक्रम  भएका छन्। सकेसम्म त्यस्ता  कार्यक्रम छुटाउँदिनँ र, सहभागी भएर कार्यक्रम  प्रस्तुति दिने गरेकी छु। समग्रमा भन्नु पर्दा कोरोना काल र त्यसभन्दा पहिलाको मेरो दिनचर्यामा खासै फरक छैन।

२) राज्यलाई कसरी सहयोग पुरयाउँदै हुनुहुन्छ?

कोरोना व्यवस्थापनको जिम्मा सरकारको मात्र होइन। हामी आमनागरिकको पनि हो। सरकारले त नीतिनियम बनाउने हो। पालन गर्ने कर्तव्य नागरिकको होइन र? मैले हाम्रै टोलमा देखिरा’छु हरेक विहान, दिउँसो, साँझ प्रहरीहरू आएर माइकिङ गर्दै भन्छन्, ‘कृपया घरबाट बाहिर ननिस्कनुहोला। निस्कनै परे मास्क लाउनुहोला।  भीडभाड नगर्नुहोला, तोकिएको समयबाहेक पसल नखोल्नुहोला।’ त्यसो भनेर प्रहरी भ्यान अलि पर पुग्या हुन्न घ्वार्रघुर्र सटर तानेर पसल खोल्छन्। एकछिनपछि प्रहरी त्यहीँ बाटो फर्कंदा परैबाट पुलिस भ्यान आएको देख्नासाथ सटर तानेर पसल बन्द गर्छन्। अलिपर पुगेको हुन्न फेरि खोल्छन्। अनि पसलमा भीडभाड गर्छन्। नागरिकको त्यस्ता लापर्बाहीबाट कोरोना फैलिँदै छ। त्यसपछि  अस्पतालमा बेड पाइएन, अक्सिजन छैन, यो सरकारको कमजोरी हो भनेर उनै कुर्लिन्छन्। त्यसरी अरूलाई दोष दिँदैमा समस्याको समाधान हुँदैन।

जहाँसम्म छ, राज्यलाई सहयोग पुर्याउने कुरा छ। मैले त अरू केही गर्न नसके पनि स्वास्थ्य सुरक्षाका नियमहरू पालना गरेर सघाइरहेको छु।

 ३) यो संकटमा कसरी बच्ने र बचाउने त?

कोरोना महामारीको यो संकटमा बच्न निश्चय नै अटेर गर्न भएन। सरकारले तोकेका स्वास्थ्य सावधानीका नियमहरू पालना गर्दैै मनोबल उच्च राख्ने बानीको विकास गर्नुपर्छ। सकारात्मक सोच राख्दै पत्रपत्रिकामा, फेसबुकमा कोरोनाबाट मृत्यु भएका मान्छेहरूको लासको थुप्रोबाट नडराई त्यसबाट गतिले पाठ सिकेर स्वअनुशासित बन्नुपर्छ। डाक्टरहरुले दिएका सल्लाह मान्दै खानपान, रहनसहनमा ख्याल पुर्याउनुपर्दछ। त्यसरी उच्च सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भयो भने डाक्टरको सल्लाहबमोजिम उपचार गर्नुपर्दछ। त्यसो गरेको खण्डमा यो संकटबाट बच्न सकिन्छ।

प्रकाशित: २१ जेष्ठ २०७८ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App