७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

लोककला भर्सेस आधुनिक कला

लोककलाको लामो इतिहास छ। मानवले मानवको रूप धारण गरेदेखि कुनै न कुनै रूपमा अस्तित्वमा रहिरहेको यो लोककलाको पछि विकासका क्रममा अनेकौँ नाम र उपनामले व्याख्या विश्लेषण हुँदै आएको देखिन्छ। यसैको अर्को रूप उपयोगी कला, हस्तकला, परम्परागत, धार्मिक कला हुँदै आधुनिक र उत्तरआधुनिक कलाको विकास भएको हो।  

नाम र उपनाममा कलाका अनेक रूप देखापरेका छन्। तर कलाकारले आफ्नोपन खोजेरै पस्ने हुँदा लोककलाका अवयव आज जीवन्त अवस्थामा देखिन्छन्। आज आफ्नो अलग्ग पहिचान बनाउन अनेकौँ विम्बलाई समातेर लोककला हाम्रो पहिरन, रीतिरिवाज, चालचलन, व्यवहार, चाडपर्व र दैनिकीमा समेत समावेश हुँदै आएको छ। आज पनि कुनै न कुनै रूपमा लोककलाको खोजी गर्ने परम्परा हराएको देखिँदैन। सही ढंगले सही विज्ञ यसमा संलग्न भए÷भएनन्, गराए/गराएनन् यो अर्कै सन्दर्भ हो। तथापि नेपालमा लोककलामा चासो लिने क्रम आज बढेर गएको छ।  

कतै कुनै राष्ट्रमा लोककलाको गहन अध्ययन अनुसन्धान भएको छ। यही लोककलाको सिलसिलेवार विकासको पृष्ठभूमिमा आधुनिक कलाको स्वरूप देखापरेको छ। कतै भने आफ्नै लोककलालाई सर्लक्कै पन्छाएर आयातित आधुनिक कला सगौरव प्रस्तुत हुन गएको पनि देखिएको छ। धेरैजसो ठाउँमा कलाको शैलीगत प्रभावको मात्रै सन्दर्भ देखापरेका छन्।

कतै कुनै राष्ट्रमा लोककलाको गहन अध्ययन अनुसन्धान भएको छ। यही लोककलाको सिलसिलेवार विकासको पृष्ठभूमिमा आधुनिक कलाको स्वरूप देखापरेको छ। कतै भने आफ्नै लोककलालाई सर्लक्कै पन्छाएर आयातित आधुनिक कला सगौरव प्रस्तुत हुन गएको पनि देखिएको छ। धेरैजसो ठाउँमा कलाको शैलीगत प्रभावको मात्रै सन्दर्भ देखापरेका छन्। 

धेरै ठाउँमा लोककला र परम्परागत कलालाई अलग्गाइएको देखिएको छैन। कतै नक्कलमै पनि यस्ता कलाको विकास भएको छ। नक्कलमा विकास भएका कला झट्ट हेर्दा सुन्दर देखिएपछि यसैलाई कतै अति उत्कृष्ट ठानिएको पनि पाइन्छ। कतै यो हाम्रै कला हो कि होइन भन्ने चिन्ताको विषय नभएजस्तो देखिएको छ। कतै पश्चिमी शैली र प्रवृत्तिमा विकास भएको कलालाई नौलो युगको थालनी भएको सोच्ने परम्परा देखिन्छ। मूलतः यी सबै अलग–अलग प्रक्रियाले गर्दा आफ्नै ठाउँको लोककलाको आधारमा विकसित भएको आधुनिक कला दिगो भएर बाँचेको देखिन्छ। यसले निरन्तरता पाएको छ। आयातित कला छोटोकालमै मरेर गएको इतिहास पनि छ। यस आलेखमा यसैभित्र पसी हेर्ने सानो जमर्को गरिएको छ।  

लोकसंस्कृति र लोककला  

शब्दकोष र अमरकोषमा लोकको अर्थ जन वा जनता भनिएको छ, (लामिछाने नेपाली लोकगाथाको अध्ययन)। अत्यन्त प्राचीन ग्रन्थ मानिएको ऋग्वेदको पुरुषसूक्तमा लोक शब्दको प्रयोग आम जनताका लागि गरिएको छ। यसले लोक शब्दको अर्थ प्राचीनकालदेखि नै जनसमुदायका लागि प्रयुक्त हुँदै आएको देखाउँछ। संस्कृति शब्दले मानवद्वारा निर्मित मानवीय स्वभावको दिग्दर्शनको बोध गराउँछ। विस्तृत दृष्टिकोणले हेर्ने हो भने संस्कृतिले सम्पूर्ण मानवीय विशिष्ट क्रियाकलाप र मानिसको एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको दैनिक जीवन र विभिन्न क्षेत्रका उपलब्धिलाई जनाउँछ। विज्ञ भन्छन्– समाजमा संस्कृतिको कुनै पनि अंगमा लोककलाले जति कसैले विकास गरेका छैनन्। मूलतः लोककला आदर्शमा नियमबद्ध रहेर समुदायको भावनामा आधारित भएर संगठित रूपमा विकास भएको कला हो।  

युरोपतिर  

विश्व प्रसिद्ध कलाकार पाब्लो पिकासोले सन् १९०७ मा एउटा गजबको चित्र बनाए। यो क्युबिजम्को पहिलो चित्र मानिन्छ। नेपाली नामकरण गर्दा यसलाई ‘अविन्युकी कन्याहरू’ भन्ने प्रचलन छ। फ्रान्सेली भाषामा यसलाई ‘लेस डेमोइसेल्स डि–भिग्नन’ भन्ने गरिन्छ। अविन्यु ठाउँको नाम नभएर स्पेनको बार्सिलोना सहरको एउटा सडकको नाम हो। मूलतः यो रेड स्ट्रिट भएका कारण त्यसैवेला यो ठाउँ कलाकारका लागि विशेष केन्द्रका रूपमा रहने गथ्र्यो। कलाकारलाई ‘न्युड स्टडी’ गर्न ‘त्यस वेलाका वेश्या’ सजिलै उपलब्ध हुने ठाउँ भएकाले कलाकार यस ठाउँमा ज्यादा भेला हुने गर्थे। 

विशेषगरी यो रेड स्ट्रिटको सन्दर्भ भएकाले पहिला यो चित्रको नाम ‘अविन्युकी वेश्याहरू’ राखिएको थियो, तर यो शब्द नराम्रो भएपछि यसैलाई ‘अविन्युकी कन्याहरू’ भन्ने गरिन्छ। यो चित्र एउटा मर्मस्पर्शी कथाजस्तो छ। जहाँ सग्लो महिला जिओम्याट्रिक फर्ममा भाँचिँदै कुरूप अवस्थामा पुगेको दृश्यावलोकन गर्न सकिन्छ। पिकासोले यसअघि ब्लु र पिंक पिरिएड नाम गरेका अलग्ग प्रकारका चित्र बनाउँथे। भनिन्छ, झन्डै एक वर्ष उनी आफू बस्ने सहरबाट कतै हराए। उनी नयाँपनको खोजमा भौँतारिने क्रम थियो यो। एउटा निश्चित अलग्गै गन्तव्यको खोजीमा भौँतारिँदै अन्ततः उनले यो एउटा अलग्ग शैलीको कला निर्माण गरेका हुन्। यो कला फगत तत्काल कलाकारमा आएको मुडअनुसार क्षणिक आत्मसन्तुष्टिका लागि थियो भनेर कुनै पनि कलाविद्ले यसलाई हल्का रूपले चर्चा गरेको देखिँदैन।  

विश्व कला इतिहासमा परी वा अप्सराहरूलाई थोरै वस्त्रमा वा वस्त्रहीन पारी बनाइएका धेरै चित्र छन्। वस्त्रहीन देवीहरू यता पूर्वमै पनि बनाइएको देखिन्छ। शास्त्रीयतावाद, नवशास्त्रीयतावाद वा स्वच्छन्दवादका कलामा यस्ता चित्र यथेष्ट मात्रामा पाइएका छन्। तथापि यी कला चर्चाको विषय बनेन। वा, विरोधका आवाज यस्ता कलामा देखापरेन। पछि जब यथार्थवादको शुभारम्भ भयो, यसवेलादेखि आममान्छेलाई चित्रमा उतार्ने क्रम रह्यो। यस्तो अवस्थामा महिलालाई वस्त्रहीन रूपमा प्रस्तुत गरिन थालेपछि समाजबाट विरोधका स्वर आउन थालेको हो। यसअघि मानेले बनाएको महिलाको न्युड चित्रले हलचल गराएको थियो। 

मानेको विशेष रूपमा सन् १९६३ मा बनाएको कला ‘ले डेजुनर सुर लेहर्ब’मा वस्त्रहीन महिलालाई एक अलग्ग पाराले प्रयोग गर्दा कला इतिहासमा यो चर्चाको चुचुरोमा पुगेको थियो। यो चित्रमा दुई सवस्त्र पुरुष र दुई वस्त्रहीन महिलालाई चित्रित गरिएको छ। नेपालीमा यो चित्रलाई ‘तृण माथिको भोजन’ नाम दिइएको छ। यसपछि प्रभाववादी अनि उत्तर प्रभाववादी चित्रमा यस्ता वस्त्रहीन महिला धेरै देखिन्छन्। तर, कुनै चित्र नकारात्मक चर्चाको विषय बनेन। यही कालमा मातिस, गाउगिन र सेजानले पनि चित्रमा अलि बेढंगको वस्त्रहीन महिलाको प्रयोग गरेका छन्। यसमा पनि नकारात्मक विरोधाभास देखापरेको छैन। उदाहरणकै रूपमा लिँदा सन् १९०६ मा पाउल सेजानले बनाएको ‘द लार्ज बेथर्स’, जहाँ धेरै महिलालाई वस्त्रहीन देखाइएको छ। सन् १८९२ मा अर्को गाउगिनको चित्र ‘द स्प्रिट अफ द डेड किप वाच’ हो। जहाँ एउटा महिलालाई वस्त्रहीन अवस्थामा बेडमा सुताएको अवस्था देखाइएको छ। यी कुनै पनि चित्र विवादको विषय बनेन।

पिकासोको उपरोक्त चित्र महिलालाई वस्त्रहीन अवस्थामा देखाइएको छ भनेर चर्चामा आएको होइन। कलाको शैली, प्रवृत्ति, नयाँ ढंगको संयोजन, प्रस्तुति, महिलाको मार्मिक कथाले गर्दा उनको चित्रको फरक ढंगले चर्चा भएको थियो। पिकासोको चित्रलाई ‘लेस डेमोइसेल्स डि–भिग्नन’ नाम कला समीक्षक आन्ड्रे सालमोनले दिएका हुन्। पिकासोले भने यसको नाम ‘ले बोर्डल डि–भिग्नन’ राखेका थिए। उनले यो चित्र सन् १९०७ मा बनाए पनि पत्रपत्रिकामार्फत सन् १९१० मा र सार्वजनिक रूपमा प्रदर्शन भएको सन् १९१६ मा हो।  

यसअघि पिकासोले बनाउँदै गरेका अनेक कलाको रूपभन्दा सर्वथा अलग यो चित्रले कलाको इतिहासमा धेरै ठूलो परिवर्तन ल्यायो। जहाँबाट आधुनिक कला इतिहासले कोरिने अवसर पायो। यसले आधुनिक कलाको स्पष्ट दिशाबोध गरेको थियो। यसरी क्युबिजम्को उदयपछि आधुनिक कलाका अनेकौँ शैलीले अति द्रूत गतिमा आफ्नो यात्रा गरेको देखिन्छ। त्यस वेला कलाकारमा कलामा प्रयोग गर्ने सनक चढेको स्पष्ट अनुभूत गर्न सकिन्छ। कति कलाका शैली इतिहासमा आधिकारिक रूपमै अभिलेखन भए। कति चर्चाविना नै हराएर गएका पनि छन्।  

परम्परागत र आधुनिक कलाका सन्दर्भ यहाँ धेरैपटक जोडिएका छन् तर हेरिन बिर्सिएको घतलाग्लो सन्दर्भ भनेको आधुनिक कलाभित्र लुकेको लोककलाको तत्व हो। यस कोणबाट पिकासोको यस कलालाई हेर्दा अनेकौँ तथ्य बाहिर आएको देखिन्छ। यो चित्रको संयोजन (कम्पोजिसन) र दुरत्व (पसर्पेक्टिभ)ले परम्परागत कलाभन्दा अलग्ग धार समातेको देखिन्छ। यो चित्र जिओम्याट्रिक फर्ममा छ। परम्परागतभन्दा अलग्ग प्रकारले गरिएको संयोजनले गर्दा चित्रले नौलो आयाम खडा गरेको थियो। सेजानले प्रयोग गरिसकेको कोणीय फर्मबाट प्रभावित भई उनले यही पृष्ठभूमिमा अझ स्पष्ट रूपमा अगाडि बढेका हुन् भन्ने विद्वान् पनि छन्। यो चित्रमा पाँचजना महिला थोरै वस्त्रबाट चित्रण गरिएको छ। क्रमशः वस्त्र हटाइँदै अनि मुखाकृति विकृत बनाउँदै सम्भवतः एउटा कथाजस्तो पाराले चित्रित गर्नु पनि यसको अर्को विशेषता देखिन्छ। दोस्रो आयामिक समतलीय धरातलको प्रयोग यो चित्रको मुख्य विशेषता हो। यो चित्रमा ठूलो वस्तुबाट चोइटिएर एक अलग्ग अस्तित्व बनाएको सन्दर्भलाई विषेश जोड दिएर कलाविद्ले व्याख्या विश्लेषण गर्ने गर्छन्। 

पुरानो कलाको गुणलाई हराउन नदिई यसैमा एक अलग्गै पहिचान भएको भन्ने यसको अर्थ लाग्छ। जुन चित्रलाई निर्माण गर्नका लागि स्रोतको रूपमा लाइबिरिएन मूर्ति र मास्कको सहारा लिइएको थियो। यो चित्र पूरा गर्न उनलाई नौ महिना लागेको थियो। यसका लागि उनले स–साना सयौँ स्केच र चित्र बनाएका थिए। मूलतः अफ्रिकन मास्कको प्रतिविम्ब उनको कलामा देखिनु मात्र काकताली थिएन, उनी अफ्रिकी आद्यकला, लाइबेरियाको प्राचीन कलासँग पनि एक प्रकारबाट मोहित भएका थिए। र, यस्ता लोककला उनको कलाको केन्द्रबिन्दुु बनेको थियो। अर्कोतर्फ कोणीय संयोजन र समतलीय धरातलको प्रस्तुति पनि प्राचीन कलाकै एक रूप हो। यसरी पिकासोको यो शुभारम्भको आधुनिक कलामा लोककलाको प्रयोग र सहारा लिएको देख्छौँ। अर्को उनले प्रयोग गरेको न्युडको सन्दर्भ उनीअघिका कलाकार मातिस, गाउगिन र सम्भवतः सेजान आदिले धेरै ठाउँमा अलिकता आधुनिक पाराले प्रयोग गरिसकेका चित्रबाट प्रभावित भएको विद्वान्को आकलन छ। यसको निष्कर्ष के भने, विश्वमा आधुनिककला लोककलाको पृष्ठभूमिमा उभिएको स्पष्ट अनुभूत गर्न सकिन्छ।  

छिमेकी मुलुक  

अब हाम्रै छिमेकी मुलुकमा विकास भएको आधुनिक कलाको प्रसंग जोडौँ। मूलतः दक्षिण एसियामा कलाको विकासको मूलस्रोत सिन्धुघाँटीको कला र सभ्यतासँग जोडिएको छ। थोरबहुत यसले पूर्व–दक्षिण एसियामा पनि प्रभाव पारेको देखिन्छ। छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशको आधुनिक कलाको पृष्ठभूमिमा प्राचीन वा मध्यकालीन समग्र भारतको कला पनि जोड्ने गरिन्छ। तथापि जब यी राष्ट्र अलगअलग भए आ–आफ्नै एक अलग्ग आधुनिक कलाको धार स्थापित गरी अलगअलग कलाको पहिचानको विकास गरेको पाइएको छ। लोककलालाई कसरी आधुनिककलाको आधार बनाइयो र कुन कलाकार यसमा सक्रिय रह्यो– आदिको सन्दर्भ पनि गहिरो गरी उठाउने गर्छन्।  

भारतमा लोककलाको आधारमा विकसित भएको आधुनिक कलाको चर्चा धेरै भइसकेको छ। कलकत्तामा भएको स्वदेशी आन्दोलनको मूल आधारभूत तत्व लोककला नै थियो। पश्चिमी पद्धतिमा स्थापना भएको ‘गभर्नमेन्ट स्कुल अफ आर्ट’ कलकत्तामा २०औँ शताब्दीको शुभारम्भ कालमा विधिवत भारतीय लोककलालाई समावेश गरिएको थियो। मुगल आर्ट, अजन्ता कला आदि औपचारिक रूपमै पढाइन्थ्यो। पढाइने मात्र होइन, कला स्कुलको चारैतिरका भित्तामा यस्ता चित्र टाँगिएका हुन्थे। कलाकारकोे सिर्जनासँग लोककलाको मर्मलाई जोड्ने यो उपक्रम थियो सायद। आफ्नो संस्कार, संस्कृति अनि परम्परागत कलालाई सिर्जना गर्नुअघि कलाकारले परिकल्पना गर्दै गरेको बखतमा यसले प्रभाव पारोस् भन्ने पनि देखिन्छ। 

पछि यो बंगाल शैलीको नामले विश्वमै प्रख्यात भएको इतिहास छ। यस वेलाका अबनिन्द्रनाथदेखि नन्दलाल बोस, जेमिनी राय, गगनेन्द्रनाथ, अमृता सेरगिल हुँदै पछि आधुनिक कलाको शुभारम्भका प्रोग्रेसिभ आर्टिस्ट समूहका कलाकार हुसेन, रजा सुजाका कला नितान्त परम्परागत कला र लोककलाबाट निर्देशित देखिन्छन्। विश्व कवि रविन्द्रनाथ टेगोर बंगाली सान्थल लोककलालाई आधारका रूपमा अवलम्बन गरेर कलाको निर्माण गरेका छन्। ब्रिटिसले राज गरिरहेका बखतमा विदेशी ग्राहकलाई खुसी पारी कला बिकाउन उनीहरूलाई मनपरेका चित्र निर्माण गर्न पटना शैलीको विकास हुँदा पनि पश्चिमी कलाशैली र भारतीय लोककलाको समिश्रण भएको थियो। यही परम्परालाई कायम गर्दै आज पनि प्रमुख भारतीय लोककलाहरू तान्जोर, मधुवनी, वार्ली, राजस्थानी, गुलेर वा पहाडी शैलीका कला कहीँ न कहीँ आधुनिक कलासँग जोडिएको पाइन्छ।  

बंगलादेशमा जैनुल अबेदिनलाई आधुनिक बंगलादेशी कलाको जनकका रूपमा मान्छन्। बंगलादेशको ढाकाको कला संग्रहालयमा उनका सयौँ कामलाई प्रदर्शित गरेर राखिएको छ। उनले कलाको शिक्षा गभर्नमेन्ट स्कुल अफ आर्ट कलकत्ताबाटै हासिल गरेका हुन्। उनले त्यहाँ कलाको ज्ञान र सीप आर्जन गरेपछि केही वर्ष त्यही स्कुलमा प्राध्यापन गरेर बिताए। पछि उनी पूर्वी पाकिस्तान आए। सन् १९४८ मा ढाका आर्ट स्कुल खोल्नुमा उनको ठूलो हात रह्यो। यसैले पाकिस्तानको आधुनिक कलाको इतिहासको सन्दर्भमा पनि उनको नाम गौरवका साथ लिइने गरिन्छ। यस वेला उनैको अगुवाइमा कमरुल हसन, सफिउद्धिन अहमद, अनवरल हग, हबिबुर रहमान आदिले यो कला स्कुललाई अगाडि बढाउँदा बंगाल कला स्कुलिङको परम्परालाई अगाडि बढाएको देखिन्छ।

यसबखतको आधुनिक कलामा लोककलाको यथेष्ट मात्रामा प्रवेश भयो। मूलतः जैनुल अबेदिनले गर्भमेन्ट स्कुल अफ आर्ट कलकत्तामा गहन रूपमा पल्लवित भएको लोककलाको सुगन्धलाई आफूले मात्र ग्रहण गरेनन्, एउटा स्कुलिङको रूपमा कलाको स्कुलमा स्थापित गरे। यसरी कला र कला शिक्षा साथै लैजाने यिनको सोचले गर्दा आज बंगलादेशी कला अलग्ग रूपमा देखिन्छन्। यही परम्परालाई आजको दिनसम्म निरन्तरता दिएको देखिन्छ। यही स्कुलको नाम सन् १९६३ मा गभर्नमेन्ट डिग्री कलेज, पछि इस्टर्न पाकिस्तान कलेज अफ आर्ट र सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि ‘बंगलादेश कलेज अफ आर्ट एन्ड क्राफ्ट’ आदि रहन गयो। मूलतः पश्चिमी कलाका पद्धति सँगसँगै आफ्नै इन्डिजिनस लोककलाको परम्परालाई संलग्न गरेर अगाडि बढेको थियो। यसैले बंगलादेशको स्कुलका विशेषता ‘ओरिएन्टल आर्ट’लाई लोककलाका रूपमा पछ्याउने क्रममा आज पनि बंगलादेशी कलाकार दत्तचित्त भएर लागेका देखिन्छन्।  

पाकिस्तानमा भने यसको प्रक्रिया अलिकता अलग्ग छ। पाकिस्तान स्वतन्त्र हुनु अघिदेखि नै अब्दुर रहमान चुग्ताइलाई विशेष रूपमा उल्लेख गरिन्थ्यो। उनलाई पहिलो मुस्लिम आर्टिस्टका रूपमा मानिन्छ। उनले मुगल र स्लामिक एस्थेटिक्सलाई आफ्नो कलामा समावेश गरी परम्परालाई निरन्तरता दिएका थिए। बेलायती शासनकालमै लाहोरमा कला स्कुल खोलिसके पनि ‘मायो स्कुल अफ आर्ट’को विशेष रूपमा चर्चा गरिन्छ। पछि यसैको विकसित रूपमा सन् १९५८ मा ‘नेसनल कलेज अफ आर्ट’बाट आधुनिक कलाको विकास भएको चर्चा पाकिस्तानको कला इतिहासमा उल्लेख छ। साकिर अलीले यो कला स्कुललाई अगुवाइ गरेकाले उनको पनि नाम लिने गरिन्छ। तथापि जहाँसम्म आधुनिक कलाको सन्दर्भ छ, जुबैदा अघाको सन् १९४९ मा भएको एकल कला प्रदर्शनीबाट आधुनिक कलाले व्यापकता छाएको विश्वास गरिन्छ। उनलाई नै वास्तविक प्रथम आधुनिक कलाकार मान्ने प्रचलन पनि छ। जहाँबाट पाकिस्तानमा आधुनिक कलाको एक प्रकारको लहर चलेको विश्वास गरिन्छ।  

नेपालमा लोककला  

नेपालमा लोककलाको अलग्ग चर्चा हुने गरेको पाइँदैन। परम्परागत कलाको एक भागमा यसको उल्लेख गर्ने प्रचलन छ। नेपाली परम्परागत कला पौभा, थाङ्का वा प्राचीन मूर्ति पनि धर्मसँग नजिकबाट गाँसिदै धर्म पण्डितको कडा निर्देशनमा बन्दै आएकाले यी कलालाई धार्मिक कलाका रूपमा बढी उल्लेख गरिन्छ। धार्मिक कलाबाट लौकिक कलाको थालनी हुँदै पश्चिमी शैली र पद्धतिमा आधारित भएर अगाडि बढेपछि यसैलाई समसामयिक कलाको शुभारम्भ मान्ने प्रचलन छ। तर, लोकको दैनिकी र चाड पर्वसँग गाँसिएका कलाको खासै चर्चा नहुँदा लोककलाको पहिचान आज पनि स्पष्ट हुन सकेको छैन।

कलकत्ताबाट विधिवत शिक्षा हासिल गरेका चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकारले नै संस्थागत रूपमा नेपाली समसामयिक कलालाई अगाडि बढाएको मानिन्छ। यो प्रक्रिया सन् १९३० को उत्तरकालमा देखापर्‍यो। यी कलाकारले कलाको शिक्षा हासिल गरेर फर्केपछि नेपाली परम्परालाई गहिरोसँग आत्मसात गरी पश्चिमी कलाको शैली पद्धतिमा नेपाली संस्कार र संस्कृतिमा आधारित चित्र बनाएको देखिन्छ। जब नेपालमा सन् १९६० को उत्तराद्र्धमा आधुनिक कलाको विकास भयो, पश्चिमी शैली र पद्धतिले अलि बढी प्रभाव पार्दा यतिवेलाका कला एक अलग्गै पाराले विकास भएको देखिन्छ। तर, नेपाली परम्परागत कला र लोककलासँग प्रत्यक्ष गाँसिएको कम देखिन्छ। नेपाल कहिल्यै नटेकेका कलाकार लैनसिंह वाङ्देल त्यतिवेला युरोपमा स्थापित भइसकेको अमूर्त, अर्धअमूर्त कला, अभिव्यञ्जनावादी व्यक्ति–चित्रका साथ देखापरे। बढीजसो समय लखनउमै बिताएका र उतैबाट कलामा विधिवत शिक्षा हासिल गरेका उत्तम नेपाली पश्चिमी अमूर्त कला, घनवाद, भारतीय ओरिएन्टल आर्टबाट प्रभावित चित्रहरूमा देखापरे। 

लक्ष्मण श्रेष्ठ पूर्णतः पश्चिमी अमूर्त कलामा र उर्मिला उपाध्याय, विजय थापा वा ठाकुरप्रसाद मैनाली समेत पश्चिमी कलाका शैली र प्रवृत्तिमा ज्यादा रमाएको देखिन्छ। यसपछि देखापरेका रामानन्द जोशी, मनुजबाबु मिश्र शशिविक्रम शाह, वत्सगोपाल वैद्य आदि हिन्दू मिथसँग, तन्त्रसँग नजिकबाट गाँसिएकाले उनीहरूको कलामा पूर्वेली धर्म संस्कारका अवयव जोडिएको स्पष्ट अनुभूत देखिन्छ। तथापि नेपाली लोककलाका विम्ब, मोटिफहरू प्रत्यक्ष रूपमा समावेश भएको देखिन्न। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको गठन भएपछि लोकलालाई पनि विशेष ठाउँ दिन थालेको देखिन्छ। लोककलासँगै आज नेवारी लोककला, मैथिली, भोजपुरी, अवधि, थारु लगायत कलाको चर्चा चल्न थालेका छन्। आजका धेरै युवा कलाकारले मिथका विम्ब मात्र होइन, लोककलाका विम्बलाई पनि आफ्नो दरिलो पात्रका रूपमा उभ्याउन खोजेको देखिन्छ।  

नेपालमा कला शिक्षामा यस्ता लोककलाका अवयव औपचारिक रूपमा जान सकेको देखिँदैन। मूलतः सन् १९६० को सुरुका कालमा शक्तिशाली रूपमा उदय भएका र नेपाली आधुनिक कलालाई अगुवाइ गरिरहेका अधिकांश कलाकार कला शिक्षामा संलग्न भएको देखिँदैन। लैनसिंह वाङ्देल, उत्तम नेपाली, विजय थापा, उर्मिला उपाध्याय, लक्ष्मण श्रेष्ठ आदि कला क्याम्पस र कलेजमा संलग्न भएको देखिँदैन। तेजबहादुर चित्रकार कला शिक्षामा संलग्न भए पनि उनलाई अगुवाइ गर्न दिएको पाइँदैन। केशव दुवाडी, कालिदास श्रेष्ठ नै लामो कालसम्म कला शिक्षाको अगुवाइमा रहे। यी कलाकार कला सिर्जनामा कम संलग्न रहे। चन्द्रमानसिंह मास्के पनि कला क्याम्पस वा विद्यालयमा प्रत्यक्ष रूपमा संलग्न भएको देखिँदैन। पछि शशिविक्रम शाह, मनुजबाबु मिश्र र रामान्नद जोशी, कृष्ण मानन्धर लगायत कला शिक्षाका अगुवाइ हुन थालेपछि सिर्जना र शिक्षा साथसाथै अगाडि बढेको देखिन्छ। यस्तै वातावरणले गर्दा सम्भवतः नेपाली परम्परागत कला अझ विशेष गरेर लोककलाको स्वरूप, दर्शन, पद्धति आदिको खोजीमा औपचारिक रूपमा कोही पस्न सकेको देखिँदैन। आज पनि यसको अलग्ग आधिकारिक परिभाषासहित ऐतिहासिक आलेख बन्न सकेको छैन।  

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन्।) 

प्रकाशित: ८ जेष्ठ २०७८ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App