१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

नारायणगोपाल मेरो अफिसमा आएर गीत मागेपछि...

मैले हजारौँ गीत लेखेँ होला, तर ती सबै गीत रेकर्ड भएनन्। म आफैँले धेरै ठाउँमा भन्ने गरेको छु कि मैलेजस्तो आफ्नो गीतको हत्या कसैले गरेको छैन होला। मेरा हजारौँ गीतमध्ये जम्माजम्मी तीन–चार सय मात्र रेकर्ड भए। गीत लेख्ने सोख मलाई बाल्यकालदेखि नै थियो। मलाई धेरैले संगीतकार पनि भन्ने गर्छन्, म संगीतकारचाहिँ होइन। बरु धरान बस्दा (बाल्यकाल बिताएको ठाउँ) आफ्नै संगीतमा आफैँ गीत गाएँ, रेकर्ड भने गरिनँ। त्यसैले म आफ्ना लागि मात्र संगीतकार हुँ।  

मलाई सानैबाट गीत गाउने उधुम्मै रहर थियो, गाउँथेँ पनि। धरान बस्दा ढाकर बोकेर आउनेहरू आँपको रूखमुनि खाना पकाउँदै गर्दा गाउने गीत सुनेर गुनगुनाउँथेँ। किनकि, त्योबेला नेपाली गीत सुन्ने कुनै माध्यम थिएन। ढाकर बोकेर आउने ढाक्रेलाई सुनेरै मैले गीत गाउन थालेँ र पछि आफैँले लेखेको गीतमा संगीत भरेर विद्यालयमा गीत गाउँथेँ। त्यहीँ आफूले बनाएका गीतमा मैले थुप्रै पुरस्कार पाएँ। त्यहाँबाट मलाई संगीत जगत्मा प्रवेश गर्न मन लाग्यो।

जहाँसम्म म सम्झन्छु, मैले लेखेको पहिलो गीत हो, ‘नरोऊ रातकी शशि, उषा ती पर्खंदै छिन् डाँडापारि’। यो गीत मैले धरानको गीति यात्रा (त्यतिबेला हुने प्रतिस्पर्धा) मा आफ्नै संगीतमा गाएँ र यसबाट मैले पुरस्कार पनि पाएँ। यो गीत मेरो पहिलो गीत हो भनेर धेरैलाई थाहा नहुन सक्छ, किनकि यो गीत कहिल्यै रेकर्ड भएन। त्यतिबेला पुरस्कार पाएपछि मलाई झन् गीत लेख्ने रहर बढ्दै गयो। मैले विभिन्न पत्रपत्रिकामा आफ्ना गीत पठाउन थालेँ। पत्रिकामा छापिएको पहिलो गीत हो, ‘सम्झनाको बाढीले वेदनाको मूल फुटायो।’ मेरो कविता लेख्ने सोख पनि निकै थियो। 

मलाई मेरी आमाले सुत्ने बेला कविता सुनाउनुहुन्थ्यो। त्यसकारण सानो छँदा गीत लेख्ने क्रममा कहिलेकाहीँ कविता पनि कोरिहाल्थेँ। कविता र गीत लेख्ने मलाई बिस्तारै यसैमा केही गरौँजस्तो भयो। त्यसपछि घरसल्लाह गरेर मैले काठमाडौं आउने निधो गरेँ। मेरो घरपरिवारका कोही पनि काठमाडौं आउनुभएको थिएन। मेरा हजुरबुबा र हजुरआमा काशीमै बस्नुहुन्थ्यो। काकाहरू सबैले बनारसमै पढ्नुभएको थियो। त्यसकारण पनि मलाई काठमाडौं आउन गाह्रो थियो। मैले निकै समय विद्रोह गरेपछि बल्लतल्ल काठमाडौं आउन अनुमति दिइयो। त्यो बेला काठमाडौं आउने कसैले सोच्दा पनि सोच्दैनथे। विशेषगरी, तराईका मान्छेलाई काठमाडौं जानु भनेको सपनाजस्तै थियो। त्यो बेला म गीतका कारणले काठमाडौं आएँ। काठमाडौं आएपछि त्रि–चन्द्र कलेजमा आइकम गर्न थालेँ। 

काठमाडौंमा मैले कविता, गीतका गोष्ठीहरू देखेँ। वियजबहादुर मल्ल, भूपि शेरचन, आदिहरूको कविता सुनेपछि म कविताप्रति बढी प्रभावित भएँ र कविता लेख्न थालेँ। मलाई काठमाडौंमा ती गोष्ठीमा कसले चिन्थे र बोलाउँथे ? धरान हुँदा सबैले चिन्थे र बोलाउँथे तर काठमाडौंमा कसैले चिन्थेनन्। त्यतिखेर ‘ज्योति’ भन्ने पत्रिका निस्कन्थ्यो, जसले कविता छाप्थ्यो। एकपटक त्यही पत्रिकाले अन्तरकलेज साहित्यिक प्रतियोगिता एउटा सूचना प्रकाशित गर्‍यो। त्यसमा इच्छुकले लेख, कविता, आलेख आदि दिनसक्ने उल्लेख थियो। मैले त्यहीँ कविता पठाएँ। मैले त्यो बेला गद्य कविता लेखेँ र त्यसको शीर्षक ‘मायाको प्रदेश’ भन्ने थियो। त्यो कविता जाँच्ने बालकृष्ण सम लगायतका दिग्गज हुनुहुन्थ्यो। मैले त्यही कविताका लागि २०१४ सालमा राजा महेन्द्रबाट पुरस्कार पाएँ। त्यसपछि मलाई काठमाडौंमै खोजी हुन थाल्यो। गोष्ठीहरूमा बोलाउन थालियो। मैले ती गोष्ठीमा मेरा कविता वाचन गर्न थालेँ। त्यसले गर्दा गीत लेख्ने धोको मेरो त्यत्तिकै रह्यो र कवितामै भिजेँ।  

२०१८ सालमा बिकम गरेपछि बनारस गएर एमए गरेँ। २०२१ सालमा एमए सकेपछि म धनकुटा डिग्री कलेजमा पढाउन थालेँ। वकालत पेसा गर्छु भनेर सोचेको थिएँ, तर पढाउन थालेँ। त्यहाँ मैले अर्थशास्त्र पढाउँथेँ, उमेरले म २२ वर्षको थिएँ। पछि त्यो कलेज छाडेर भूमिसुधारको अधिकारी पनि भएँ। २०३२ सालमा छोराहरू ठूला भएको देखेपछि यसरी घुमीघुमी जागिर गर्नुहुँदैन भन्ने सोच आयो र लोकसेवा लडेँ। लोकसेवामा नाउँ निस्केपछि मेरो सूचना विभागमा जागिर भयो। त्यसपछि पुनः मेरो गीतको यात्रा सुरु भयो। मलाई मेरा सबै गीत मनपर्छन्। आमाले आफ्नो हरेक सन्तानलाई उत्तिकै माया गर्छिन्, त्यस्तै म आफ्नो हरेक गीतलाई उत्तिकै माया गर्छु। तर, आफूले लेखेका तीन–चार सय गीतमध्ये केही घटना क्रमले नजिक भएका गीत हुन् यी, जसलाई म यहाँ स्मरण गर्दैछु।

नारायणगोपाल गीत माग्न आएपछि  

त्यो बेला म सूचना विभागमा डाइरेक्टर भइसकेको थिएँ। मेरो प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो, ‘म यहाँ विभागको डाइरेक्टरलाई भेट्न होइन, कालीप्रसाद रिजाल कविलाई भेट्न आएको हुँ।’ उहाँको कुरा सुनेपछि मैले उहाँलाई कुर्सीमा बसालेँ र चियाका लागि सोधेँ तर उहाँले चिया नपिउने बताउनुभयो। ‘कविलाई हजुर स्वयं आएर भेट्ने इच्छा कसरी गर्नुभयो दाइ ?’ मैले उहाँलाई सोधेँ। उहाँले भन्नुभयो, ‘तिम्रो कविता मैले पढेको छु। अब तिमीले मेरा लागि गीत लेख्नुपर्छ।’ उहाँको कुरा सुनेपछि मैले भनेँ, ‘दाइ, मैले गीत लेख्न छाडेको १२ वर्षभन्दा बढी भइसक्यो।’  

मेरो कुरा सुनेपछि उहाँले त्यो दिन गीत लेख्ने कुरा गर्नुभएन। पछि लगभग एक–दुई महिनाको अन्तरालमा उहाँ पुनः आउनुभयो र आफूले रेडियोमा रेकर्डको कुरा मिलाएको भन्दै गीत लेख्न भन्नुभयो। म डराएँ। नारायणगोपालदाइको आदेशलाई शिरोपर गर्दै मैले ढोका थुनेर दुईवटा गीत लेखेँ। लेखिसकेपछि मैले पाइन्टको खल्तीमा ती गीत नारायणदाइका लागि नै राखिरहेँ।  

एक दिन नारायणदाइ मेरो अफिसमा फेरि आएर गीत माग्नुभयो र मैले दुई गीत दिएँ– ‘आँखा छोपी नरोऊ’ र ‘झरेको पातझैँ भयो’। गीत दिएको एक हप्तासम्म नारायणदाइसँग मेरो भेट भएन। लगभग दश दिनपछि उहाँ फेरि मेरो अफिसमा नै आएर मलाई क्यासेट दिएर जानुभयो। उहाँको स्वर र संगीत रहेका यी गीत निस्केपछि मलाई जताततै मान्छेहरूले अझ बढी चिन्न थाले। मेरो खोज हुन थाल्यो।  

नारायणगोपालले गाएको र संगीत गरेको अर्को गीत छ मेरो– माया गर्नेको चोखो माया पनि देखियो..। यो गीत पछि लोचन भट्टराई, रामकृष्ण ढकाल र स्नेहा पन्तको स्वरमा पनि आयो। गीतकारले सबैको व्यथा, खुसी आदि आफ्नो बनाउन सक्नुपर्छ। त्यसो गर्न सक्यो भने त्यो स्रष्टा भनौँ या गीतकार सफ्mल हुन्छ। यो गीत मैले अरूको व्यथा र वेदनालाई सम्झेर लेखेको हुँ।

लय सुनेर लेखेथेँ– ‘वनै खायो डढेलोले’

पछिपछि गएर नारायणदाइले मलाई लय बनाएर दिनुहुन्थ्यो र यो लयमै गीत लेखेर दिनु भन्नुहुन्थ्यो। एक दिन त्यसैगरी नारायणदाइ मेरो अफिस आएर दुईवटा लय दिनुभयो। उहाँ दिनुभएको दुईवटा लयमध्ये मलाई एउटा लय साह्रै मनपर्‍यो। त्यो लय लोकभाकामा आधारित भएर मेरो मन छोयो र मैले त्यसैका लागि गीत लेखेँ। मैले नारायणदाइलाई भनेँ, ‘मलाई पहिलो लय निकै मनपर्‍यो। म यसैमा काम गर्छु। अर्को लय अरू कसैलाई दिनुस् भनेर अनुरोध गरेँ।’ पहिलो लयमा काम गरेको गीत थियो, ‘वनै खायो डढेलोले’। यो गीतको संगीत नारायणदाइले गर्नुभयो तर फत्तेमानजीले गाउनुभयो।

डेनमार्कमा क्यासेट किन्न खोज्दा

पछिल्लो समयमा आएर नारायणदाइसँग मेरो घनिष्ठता निकै भयो। उहाँको सोच नेपाली गीतलाई अन्तर्राष्ट्रियकरण गर्ने थियो। अन्तर्राष्ट्रियकरण त गर्ने तर नेपालीपन नछाड्ने कुरा गर्नुहुन्थ्यो। एकचोटि अफिसको कामले मलाई डेनमार्क जानुपर्‍यो। त्योबेला नारायणदाइले एउटा क्यासेट ल्याइदिन भन्नुभएको थियो। तर, त्यो क्यासेट खोज्न मेरो तालु नै ततायो। यस्तो क्लासिकल धुन भएको क्यासेट कि जताततै नपाइने। त्यो क्यासेट मैले ल्याएपछि नारायणदाइले सुन्नुभयो र यस्तै गीत गाउन चाहन्छु भनेर भन्नुभयो। त्यो क्यासेटबाटै प्रभावित भएर नारायणदाइले आफ्नो जीवनको दुई प्रमुख गीत गाउनुभयो। एउटा यही, ‘केही मीठो बात गर’ जुन मैले लेखेको थिएँ र अर्को चाहिँ हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’।  

भीरगाउँले बूढोको गीत

मेरो गीत लेख्ने तरिका अलि फरक छ। म केही घटना, दृश्य आदिबाट प्रभावित भएर लेख्ने गर्छु।  एकजना बूढो मान्छे मेरो घरनजिक बस्थे। उनको आफ्नो भन्ने कोही थिएन। तर उनी एकदमै मजाका मान्छे थिए। बारी खन्नुपर्‍यो भने उनले मद्दत गर्थे। घरका केही काम परे म लगायतका मेरो परिवारले उनैलाई बोलाउने गथ्र्यौं। एक दिन उनी रोड गएको बेला गाडीले धक्का दियो र उनी अपांग भए। त्योबेला म समाज कल्याण मन्त्रालयमा सहसचिव थिएँ। उनको घरमा कोही परिवार नभएपछि मैले नै उनलाई पशुपतिको वृद्धाश्रममा लगेर राखी दिएँ। त्यहाँ राखेपछि म कहिलेकाहीँ उनको याद आउँदा पुग्थेँ। उनी गाउँघरमा डुलेर बसेका मान्छे, त्यहाँ वृद्धाश्रममा बस्न के सक्थे ? र, एक दिन मैले खबर पाएँ, उनी वृद्धाश्रमबाट भागे भन्ने। तिनै बूढालाई सम्झेर मैले गीत लेखेँ, ‘कहाँ गयो होला त्यो भीरगाउँले बूढो।’ यो गीतको संगीत रामकृष्ण ढकालले नै गरेका हुन्, संगीतमा मैले पनि मद्दत गरेको छु।  

‘झर्‍यो जिन्दगी’ कालो गीत लाग्छ  

नारायणदाइको बिहे भयो, तर पेमाला भाउजूलाई नारायणदाइको परिवारले स्वीकार गरेनन्। किनकि, भाउजू लामा हुनुहुन्थ्यो। त्यसपछि नारायणदाइ भाउजूलाई लिएर नर्सिङ चोक, ठमेलमा बस्न थाल्नुभयो। एक दिन मलाई नारायणदाइले आफ्नो डेरामा बोलाएर लय दिनुभयो र त्यही लयमा गीत लेख्न भन्नुभयो। मलाई त्यो लय एकदमै मनपर्‍यो र मैले ‘झर्‍यो जिन्दगी, फुट्यो जिन्दगी छल्किएर आँखाबाट बग्यो जिन्दगी’ बोलको गीत लेखेँ।  

नारायणदाइले दिनुभएको लय नै त्यस्तै थियो कि मैले गीत पनि त्यही अनुसार लेखेँ। यो गीत लेखिसकेपछि म नारायणदाइकै घरमा पुगेँ। घर पुगेपछि नारायणदाइले ‘चिया बनाऊ’ भनेर पेमाला भाउजूलाई भन्नुभयो। तर मट्टीतेल सकिएका कारण चिया खान सकिएन। त्योबेला अर्को के पनि भयो भने, चिया खान नपाए पनि मैले गीत पढेर सुनाउँदा बत्ती गयो। जब नारायणदाइले संसार छाड्नुभयो, उहाँको शवयात्रामा बालेको बत्ती धेरैपटक निभ्यो। उहाँको शव यात्रामा त्यो देखेपछि मैले गीत सुनाउँदाको पल सम्झिएँ। मलाई यो गीत ‘कालो गीत’जस्तो पनि लाग्छ।

छोरालाई भेट्न जाँदा लेखेँ– हिमाल देख्न पाइयोस्

‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ बोलको गीत पनि मैले सम्झने गीतमध्ये पर्छ। यो गीत लेख्नेताका मेरो छोरा विदेश बस्थ्यो। म विदेश पुगिरहन्थेँ। सबै कुरा थियो, त्यो विदेशमा तर नेपालमा जस्ता हिमाल थिएनन्, नदी थिएनन्, पाखा आदि थिएनन्। र, त्यहाँ नेपाली थिएनन्, जोसँग म नेपालको कुरा गर्न सकौँ। त्यो कुरालाई नै सोचेर मैले यो गीत लेखेँ। यसमा आलोकश्रीको संगीत र रामकृष्ण ढकालको स्वर छ। मैले यो गीत छोरा भेट्न विदेश जाँदा नै लेखेको हुँ।  

नेपालीपनको गजल– मन पराउने हजार भेटिन्छन् 

रामकृष्ण ढकाल भाइले अनुरोध गरे, गजलजस्तो गीत चाहियो भनेर। मैले रामकृष्ण भाइलाई भनेको थिएँ– नेपालीपन आउने गजल लेख्छु। सोही अनुसार मैले लेखेँ– मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ। यसमा संगीत शम्भुजित बास्कोटाको रहेको छ। अन्त्यमा, मलाई कविताले साहित्यिक वृत्तमा पुर्‍यायो, तर मलाई नेपालीको घरघरमा पुर्‍याउने मेरा गीत नै हुन्। त्यसैले आफ्ना हरेक गीत उत्तिकै मन पर्छन्।

(निमेष पौडेलसँगको कुराकानीमा आधारित।)

प्रकाशित: ८ जेष्ठ २०७८ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App