पवित्रा सुनार
सत्ताको आँखा हुंदैन ?
या
आँखा बन्द छ
नागरिकको घाउ देख्दैन
सत्ता कान सुन्दैन
या
नसुनेझैं गर्छ
अस्पतालको शैय्यामा बिरामीहरू
जीवन मागेको चित्कार सुन्दैन
या
सत्ताको मन ढुंगाले बनेको हुन्छ ?
सत्ताको संवेदना पनि भेटिन
नागरिकहरूको पीडामा
सत्ता कहिल्यै रोएन
नागरिकको भोको कहिल्यै बुझेन
नागरिकहरू रोइरहेको बेला
सत्ताका स्यालहरू
कुर्सीको सौजावाजी गर्छन्
महामारीले दैनिक बस्ती रुँदा
सत्ताका स्यालहरू
आर्यघाटमा शव गनेर
नाटक मञ्चन गरिहेछन्
अस्पतालको शैय्याबाट
‘मलाई मात्र अक्सिजन देऊ
म बाँचे भने तिमीलाई धेरै कुरा दिन्छु
भोट दिन्छु
जुलुसमा सहभागी हुन्छु
तिम्रो जयजयकार मनाउँछु
र
साँझ सपनाहरू बुनेर घर फर्किन्छु
भोलि फेरि खुल्ला मञ्चहरूमा
माइतीघर मण्डेलाहरूमा
तिम्रो पेलेकार्ड बोकेर
उभिन्छु
मलाई अक्सिजन देऊ
मलाई जीवन देऊ
मलाई श्वास देऊ भन्दै
अस्पतालबाट निस्केका आवाजहरू
अक्सिजन नपाएपछि
अस्पताल पुगेको दुईचार घण्टामै
आवाज चुपचाप हुन्छ
सेनाको शव व्यवस्थापक आउँछ
र प्लास्टिकले बेरेर
आर्यघाटमा जलाउँछ
आवाज चुपचाप हुन्छ
अस्पतालको अर्को शैय्याबाट
‘मलाई श्वास देऊ ’
म बाँच्न चाहान्छु
मलाई केही वर्ष बांचेर
मेरो देशको
सुन्दर तालहरू
निर्मल झरनाहरू
नजिकैबाट नियाल्न मन छ
मलाई मेरो देशको पूरै भूगोल
एकपटक फन्को मार्न मन छ ’
बडबडाएको आवाज आउँछ
उता सम्मेलन केन्द्रमा
सत्ताका स्यालहरू
सांसदको टाउको गन्दै
कुर्सी रेसमा फनफनी घुमिरहेका छन्
यता वीर अस्पतालमा
श्वास माग्दै
एउटा युवाको आवाज बन्द हुन्छ
केही सुन्दैन सत्ता
केही देख्दैन सत्ता
म हरेक दिन सुनिरहेको हुन्छु
सरकार कि भात देऊ
कि लकडाउन खोल
म भोकै छु भनिरहेको बेला
उता नयाँ दरवारहरूमा
नयाँ राजा को हुने विषयमा
दिनहुँ नाटक मंञ्चन हुन्छ
हरेक दिन आइसियु नपाएर
नागरिकहरू अल्पायुमै सकिँदा
सबैसबै बारेमा सत्ता बेखबर छ
यता रानीपोखरीको नाचघरमा
मधुशालामा चलिरहेछ
सत्ताका स्यालहरू
गीत गाइरहेन्
लोकतन्त्र,गणतन्त्र मेरो हो
म सत्ताको आँखा हेरिरहेछु
म सत्ताको मन हेरिरहेछु
सत्ताको मन ढुंगाले बनेको रहेछ
सत्ताको आँखा फलामले बनेको रहेछ
र सत्ता
कुर्सीबाहेक केही देख्दैन
सत्ताको संवेदना कतै भेटिन ।
नागरिकहरू हो
अबदेखि नागरिकको सत्ता बनाउनु
तिमीलाई दुःख पर्दा देख्न सकोस्
तिमी रुँदा रुन सकोस्।
प्रकाशित: १ जेष्ठ २०७८ ०३:४१ शनिबार