तारा पराजुली
‘आमा यो झाडी हटाइदिऊँ ? पिपलले हामीलाई अक्सिजन दिन्छ। यो मानिसका लागि अति उपयोगी वनस्पति हो। बोटदेखि पातसम्म पिपलको महत्व कति छ कति भनेर अस्ति तपाईंले भन्नुभएको होइन? केही महिनाअघि बुबाले रोपेको पिपल देखाउँदै रविनले आमालाई सोध्यो।
‘केही झाडी यस्ता हुन्छन् जसले केही बोझ र थोरै धेरै सुरक्षा पनि दिइरहेका हुन्छन्। यो बनमारा झाडीको कथा पनि उस्तै हो छोरा!
मीनाले छोरा रविनको जिज्ञासा मेटाउने चेस्टा गरिन्।
–उसो भए कथाचाहिँ सुनौँ न पहिले। रविनले अनुरोध गर्यो।
– कथा पछि सुनाउला। अहिले झाडीको बारेमा थोरै भन्छु । शान्त भएर सुन । मीनाले थपिन् ।
–हेर छोरा! अहिले पिपल हुर्कंदै छ। वरिपरि बनमारा फैलिएको छ। झट्ट हेर्दा पिपललाई छोपेजस्तो देखे पनि यी बनमाराका बोटहरू दुःखका बारहरू पनि हुन्। जसले हावाहुरीबाट कुनै बेला बचाएका छन्। हेर! बनमारा फुलेपछि उसको जीवनचक्र ओरालो लाग्छ। यो बनमारा फुल्ने समय हो। अर्को कुरा पिपल र बनमाराको हाइट कहिल्यै मिल्दैन। अब केही महिनामा पिपल हलक्क बढेर ठूलो भएपछि बनमाराहरू आफै पिल्सिएर मर्नेछन्। जो मृत्युको यात्रामा छन् तिनलाई मार्न जरुरी छैन। केही महिनामै पिपलले आकाश छुनेछ। तर, उहीँ पिपलको सेपले बनमाराको अस्तित्व यही भुइँमै विलय हुनेछ।
मीनाको कुरा सुनेर रविनले मनमनै सोच्यो अनि माहिली औँलाले माथि आकाशतिर देखाउँदै टाउको उठाएर अग्लो झ्याम्म परेको हरियो पिपल बोट हेरयो र शीतलताको आभासमा रमाइरह्यो।
प्रकाशित: ३१ वैशाख २०७८ ०२:३९ शुक्रबार