सूर्यप्रसाद लाकोजू
भोक लाग्दा खान दिन्छिन्
प्यास लाग्दा पानी
मेरी आमा कति जाती
ममताकी खानी।
भनिन्छ भगवान्को अर्को रूप आमा हो। आमा शब्द आफैमा अत्यन्त प्रिय छ, स्मरणीय र श्रद्धेय पनि। हाम्रो जीवनमा कुनै दुःख, कष्ट, पीडा हुँदा आमाको स्मरण गर्छौ । सानै ठेस लाग्दा पनि आमा पुकार्छौ । कुनै अप्रिय घटना घट्दा पनि आमा भन्ने शब्द मुखबाट प्रकट भैहाल्छ । मानिसको जीवनमा सानो बालक छँदादेखि वृद्ध हुँदासम्म आमाको ठूलो महत्व रहेकै हुन्छ । आमाको महिमा गान शब्दमा मात्र गाउन सकिन्न । आमाको माया अनुभूत गर्ने कुरा हो । आमाको जस्तो निःस्वार्थ, निश्छल, निष्कपट प्रेम संसारमा कसैको हुँदैन। आमाको हृदयमा ममताको खानी हुन्छ। आफ्ना सन्तानका लागि प्रेमको महासागर हुन्छ आमाको मनमा।
आफ्ना सन्तान सुमार्गमा लागोस्, जीवनका हरेक परीक्षामा सफलतापूर्वक उत्तीर्ण होस्, सफलताले कहिल्यै नछोडोस् भन्ने पवित्र चाहना आमाको मनमा हुन्छ। आफ्ना छोराछोरी कुबाटोमा लागोस् भन्ने भावना कहिल्यै आमाको मनमा आउँदैन। यस्ता थुप्रै सन्देशप्रद घट्ना घटेका हुन्छन् मान्छेको जीवनमा मेरोजस्तै।
एउटा बच्चा गिलो माटोजस्तै हुन्छ। जसरी गिलो माटोलाई जुनसुकै आकार दिन, मन लागेको सामान बनाउन सकिन्छ त्यसैगरी एउटा बालकलाई पनि के बनाउने, कस्तो बनाउने बनाउन सकिन्छ। त्यसका लागि मानिसको पहिलो पाठशालाको रूपमा रहेको घर अनि विद्यालयको भूमिका रहन्छ । त्यसमा पनि अझ बढी भूमिका आमाको रहन्छ नै । तिनै मेरा प्रात स्मरणीय आमाका बारेमा थोरै शब्द खर्च गर्दैछु।
म सानो छँदा चकचके थिएँ । साथीहरूसँग खेल्ने, रमाइलो गर्ने गथ्र्यौं हामी। त्यसबेला अहिलेको जस्तो विभिन्न थरीका चकलेटहरू थिएनन् । डवलीमा एउटा ठूलो पसल थियो । त्यहाँ नाङ्गा चकलेट पाइन्थ्यो। चकलेटको स्वाद मीठो थियो । दुईचार पटक मैले पनि चाखेको छु त्यो चकलेट। कहिलेकाहीँ बुबाले किनिदिनुभएको याद छ। एकपल्ट साथीहरूसँग खेल्दै थिएँ। एक जना उमेरमा मभन्दा अलिक ठूलो र अर्को मेरै उमेरको साथी हामीसँगै खेल्न आए। उनीहरू दुवैले नाङ्गा चकलेट खाँदै आएका थिए। खेल्दाखेल्दै मुखको चकलेट सकाएर अर्को चकलेट खल्तीबाट मुखमा हाले। हामी दुई जना भने हेरेर मात्र बस्यौँ। हामीलाई उनीहरूले तिमीहरू पनि खाओ भनेर दिएनन्, सोध्दा नि सोधेनन्। हामीसँग चकलेट खान पैसा पनि थिएन। ‘हामी त हरेक दिन यस्तो चकलेट खान्छौं । मेरो बाले जहिले पनि चकलेट खान पैसा दिनुहुन्छ ।’ तिनीहरूमध्ये एकले बोल्यो । चकलेट खाएर धाक देखाउन आएका मनले मनसँग भन्यो।
मलाई पनि चकलेट खाने रहर जाग्यो। केही समयपछि घर गएर बुबासँग पैसा मागें। त्यो बेला त्यो चकलेटको पन्ध्र पैसा पथ्र्यो। पन्ध्र पैसा पनि छैन भनेर बुबाले दिनुभएन। आमा घरमा हुनुहुन्नथ्यो। बुबा पनि बाहिर जानुभयो। हामी बाल्यकालमा पाइजामा लगाउँथ्यौं। दुईतिर ठूला–ठूला खल्ती हुन्थ्यो । घरमा लुगाहरू राख्नका लागि तिनताका सन्दुक प्रयोग हुथ्यो। मैले सन्दुकमा पाइजामा खोज्दा एक–एक सुकाका चार सिक्का देखें। ती चारओटा सुकामध्ये एक सुका अर्थात् पच्चीस पैसा त्यहाँबाट निकालें र पसल गई नाङ्गा चकलेट किनेर ल्याएँ । बाँकी दश पैसाले पिपलामेट दुईटा किने। टोलमा साथीहरू खेलिरहेका थिए । उनीहरूको अगाडि नाङ्गा चकलेट खाएँ। पिपलामेट भने आफूले एउटा खाएर साथीलाई एउटा दिएँ । ‘मेरा बाले मलाई पनि पैसा दिएका छन्। मैले पनि आज चकलेट किनेर खाएँ ।’ साथीहरूलाई शान देखाउँदै भने।
तर त्यो शान धेरै बेर टिकेन । घरमा जानेबित्तिक्कै आमाले सन्दुकको पैसा कस्ले झिकेको भनेर गाली गर्नुभयो । मैले झिकेको होइन भनें। भाइहरू साना छन्, तिमीले नझिके कस्ले झिक्यो त? भन्दै एक थप्पड लगाउनुभयो आमाले। मैले सबै बेलिविस्तार लगाएँ । साथीहरूले चकलेट खाएको घटनादेखि सबै कुरा सुनाएपछि आमाले आइन्दा नसोधी पैसा नझिक्नु । त्यसरी झिक्नु हुन्न भन्दैे अर्को सुका हातमा थमाउँदै ‘ल भोलि स्कुल नि जानु, चकलेट नि खानु ।’ भन्नुभयो । त्यसबेलादेखि मैले कहिल्यै त्यसरी पैसा झिकिनँ।
आमासँग सम्बन्धित अर्को पनि एउटा अविस्मरणीय घटना छ । एकपटक म पसल गएको थिएँ। आमाले मलाई दश रूपियाँ दिएर पठाउनुभएको थियो। पसलमा किनमेल गर्दा नौ रूपियाँ भएछ । मैले दशको नोट दिएँ। पसलमा अलिक भीड थियो । हुलमुलका कारण पसले झुक्किएर मलाई एक रुपैयाँ फिर्ता गर्नुपर्ने ठाउँमा एघार रुपैयाँ फिर्ता ग¥यो । म हत्तपत्त त्यहाँबाट हिँडें। घरमा आएर खुशी हुँदै आमालाई भने । ल्याएको एघार रुपैयाँ पनि आमालाई दिएँ । सामान पनि ल्याएँ, पैसा पनि लगेकोभन्दा बढी ल्याएकोमा आमा पनि खुशी भएर मलाई स्याबासी दिनुहोला भनेको त उल्टो पो भयो । उहाँले मलाई सम्झाउँदै भन्नुभयो, ‘बाबु,अर्काको पैसा त्यसै खानु हुन्न । उनीहरूले पसिना बगाएर कमाएको पैसा त्यसै खानु हुन्न। अर्काको पसिना पच्दैन छोरा। हामीले कमाएको पैसा अरूले खाँदा तिमीलाई कस्तो हुन्छ? तिमी असल मान्छे बन्नुपर्छ । जाऊ बाबू, पैसा लगेर फिर्ता गर ।’ तपाइँ पनि सँगै आउनु न आमा मैले भने । आमा पनि सँगै आइदिनुभएपछि म ढुक्क भएँ । पसल पुगेर मैले पसले साहुलाई ‘काका तपाईले मलाई पैसा बढी दिनुभएछ। लिनुस् फिर्ता ।’ भनेर पैसा फर्काएँ । आमाले पनि दशको नोट दिएर पठाएको थिएँ, छोराले एघार रुपैयाँ पो फिर्ता लगेछ भन्नुभयो । पसले काका निकै खुशी हुनुभयो । उहाँले तपाइँको छोरो असल रहेछ भाउजू भन्नुभयो अनि पाँचओटा नाङ्गा चकलेट कागजमा पोको पारेर मलाई दिनुभयो । चकलेट पाएपछि मेरो मन पनि रमायो।
आमा नै मेरो जिन्दगीको पहिलो गुरु हुनुहुन्छ । उहाँले सिकाउनुभएका यस्ता अनगिन्ती जीवन उपयोगी शिक्षाबाट हामी आज पनि लाभान्वित छौं।
प्रकाशित: २८ वैशाख २०७८ ०९:१३ मंगलबार





