करुणा ढकाल
टिरिंग टिरिंग घन्टी बजिरहेको थियो। आमाले झ्याप फोन उठाउदै भन्नुभयो, “हलो बाबु सन्चै छ्यौ।”
मन्द स्वरमा जवाफ दिँदै भने, “हजुर आमा म सन्चै छु अनि बालाई कस्तो छ नि।”
“बा पनि राम्रै हुनुहुन्छ।”
आमा छोरीका फोनमा अनेकौं गन्थनपछि आमाले नमिठो मान्दै भन्नुभयो, “हेर न बाबु, कति छिट्टै औंसी पनि आएछ।”
“तिमी भएको भए बिहानै सानो कचौरा लिएर ऐंसुलु टिप्न जान्थ्यौं र खुसी हुँदै मलाई खुवाउँथ्यौ।”
आमा ३० रुपैयाँ दिनु न भनेर सानोसानो नरिवल र मिस्रीको टुक्रा अनि सानो बट्टामा मलाई मन पर्ने टिका लिएर आउँथ्यौ।
झलझली आखाँमा तिमी आउँछ्यौ बाबु भन्दै आमा घुँक्कघुँक्क गर्न थाल्नुभयो। साँच्चै नै मन अमिलो भयो। कुन सन्तानले आफ्नी जननी रोएको सहन सक्थे र? म न आमाको अघि रुन सक्थे न बोल्न नै। मनलाई बलियो बनाउँदै भने– आमा बेला नै यस्तै छ। अर्को साल त म आउँछु नि। त्यस्तो नभन्नुस् न।
–तर पनि बाबु सबैका छोरी आउँदा तिमी मात्र छैनौं। घरआँगन अनि मन नै शून्य छ बाबु।
“फोन गर्दै गर है छोरी” भन्दै आमाले फोन राख्न खोज्दै हुनुहुन्थ्यो ।
– हुम् बुढीमाउ गर्छु नि नआत्तिनु न।
आमाले हस् बाबु, आफ्नो ख्याल गर। राम्रोसँग बस्। कोरोनाको कहर छ । म बाँचे भने अर्को साल भेटम्ला छोरी। आफ्नो ख्याल राखे बा भनेर फोन काटनुभयो। मेरो मन भने दुखिरह्यो।
प्रकाशित: २७ वैशाख २०७८ ०८:३६ सोमबार