पुष्पा नेपाल (सुवेदी )
भान्सामा काम गर्दागर्दै ऊ झ्यालको छेउमा पुग्छे। पल्लो घरको कोठामा बस्ने बहिनीले आफ्नी आमासँग भिडियो कलमा कुरा गरिरहेकी हुन्छे।
‘आमा लकडाउन भयो। पर्सि मातातीर्थ औंसी,म आउन पाउँदिन’ संघारमै मातातीर्थ औंसी आएको समेत याद रहेनछ उसलाई।
ऊ पनि आफ्नी आमालाई सम्झन पुग्छे। कति रमाइलो थियो जब आमा साथमा हुनुहुन्थ्यो। उसलाई कति माया गरेर फकाईफकाई स्कुल पठाउनुहुन्थ्यो। मनपर्ने खानेकुरा किनिदिनुहुन्थ्यो। यो त भयो बालापनको कुरा। जब ऊ ठूली भएर कलेज पढ्न शहर जान्थी। जाने अघिल्लो दिन आमाले उसलाई खूब सम्झाउनुहुन्थ्यो, तातोपानी खानु, खाना समयमा खानु आदिआदि। ऊ पुल्पुलिदै आमालाई म ठूली भैसके भन्थी। घरमा आएको बेला पनि तँ काम गर्न सक्दिनस् भनेर कामै गर्न दिनुहुन्थेन । तर, उहाँ आफै दमको रोगी हुनुहुन्थ्यो।
समयक्रमसँगै उसले पनि पराई घर जानुपर्यो। छुट्ने दिन आमाछोरी अँगालो मारेर खूबै रोएका थिए। ऊ माइतीमा आइरहन्थी। आउन नपाएको बेला फोनमा आमासँग सुखदुःख साटिरहन्थी।
एकदिन अचानकै आमा बिरामी परेर अस्पताल लगेको खबर सुनी। आत्तिदै ऊ आमालाई राखेको अस्पताल पुगी। आमालाई भेट्दा हालत एकदमै खराब भैसकेको थियो। आमा बेहोस् थिइन्। उसले अत्तालिएर ‘आमाआमा’ भन्दै बोलाई। करिब ७÷ ८ घन्टादेखि चिम्लिएका उसका आमाका आँखा बिस्तारै खुले। उनले सानो स्वरमा भनिन् ‘नानी, तँलाई टाउको दुख्छ। ख्याल राख्नु है।’
त्यसपछि आमाका आँखा सधैंका लागि बन्द भए।
‘मामु, मेरो अनलाइन कक्षा सुरु हुन लाग्यो। खाना पस्किदिनुस्’ सानो छोराले छेउमै आएर बोलाएपछि ऊ झसंग भई। उसका दुई आँखामा बाढी उर्लिरहेको थियो।
प्रकाशित: २६ वैशाख २०७८ ०२:०० आइतबार