रामेश्वर अधिकारी
भन्छन् – ब्रह्माजीले एकपल्ट आफ्नु एउटा चेलालाई अह्राए – “तेरो बुद्धिले भ्याएसम्मको सुन्दर नमूना बना त मान्छेको।”
वास्तवमा उनलाई एकै प्रकारका मान्छेहरू हेरिरहनु पर्दा दिक्क लागेको थियो।
चेलाले पनि गुरुको आशय बुझेर नर र नारीका सबै राम्रा–राम्रा गुणहरू टिपेर एउटा फेहरिस्त तयार गर्यो । अनि एक–एक गर्दै जड्दै गयो। एकैछिनमा एउटा अभूतपूर्व नमूना तयार पारेर यति सजिलै यति सुन्दर मोडेल बनाउन सकेकाले दंग पर्दै ब्रह्माजीको अगाडि लगेर पेश गर्यो। ब्रह्माजीले सरसर्ती निरीक्षण गर्दा नै आत्मविभोर भएर त्यसमा प्राण भरिदिए। चेलालाई गला लगाउँदै आज्ञा गरे – “वर माग।”
चेलाले गद्गद् भएर भन्यो – “गुरुजी, हजुरको सेवामा म धेरै बसें। सद्ज्ञानोपार्जन पनि गरें। अब म मेरो मोडेललाई कुनै सुन्दर स्थानमा अवस्थित गरी ईश्वरको आराधना गर्न जान पाउँ।”
ब्रह्माजीले लगत्तै प्रत्युत्तर दिए – “तथास्तु।” अनि अभूतपूर्व सृष्टिको सुन्दरताबाट अति प्रभावित हुँदै उसलाई सोधे – “तिम्रो केही भन्नु छ कि?”
आफ्नो सृष्टिकर्तातिर औंल्याउँदै ज्यादै नम्र भएर, ज्यादै निरीह स्वरमा मोडेलले भन्यो – “हजुर ! उहाँ त हिमालमा गएर तपस्या गर्न लाग्नु हुनेछ। म एक्लै के गरेर बस्ने? सन्तानोपादन गर्ने क्षमता पनि छैन।”
सुन्दरताको होडमा चेलाले नपुंसक मोडेल बनाएको कुरामा ब्रह्माजी अहिले पो झल्याँस्स भए। तर मोडेलको आग्रह टार्न नसकेकाले चेलालाई सम्बोधन गरे – “उसलाई ऊजस्तै अरू साथीहरूको बन्दोबस्त गरिदिएर मात्र तैंले फुर्सद लिनु।”
चेलाले त्यस्तै अनेकौ मोडेलहरू तयार गरेर, ब्रह्माजीको अनुग्रहले प्राण भराएर, सबैलाई हिमालको फेदीको एक सुन्दर स्थानमा अवस्थित गरी, हिमालमा तपस्या गर्न गए।
(२०३५ साल, असोज २ गते, धरान, सुनसरी)
प्रकाशित: २५ वैशाख २०७८ ०८:१४ शनिबार