८ वैशाख २०८१ शनिबार
कला

वास्तविकताको उडानमा 'यालमाया'

कथा वास्तविक हुनुपर्छ वा काल्पनिक ? यो विवाद आजको होइन। कतिपय कथालाई मनोरञ्जनको साधन ठान्छन् त कतिपय कथाले कुनै न कुनै सन्देश प्रवाह गर्नुपर्ने तर्क गर्छन्।  

मानवीय जीवनमा हरेकका आफ्नै महत्व छन्। वास्तविक घटनामा आधारित विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्न सके अहिलेलाई पर्याप्त हुने देखिन्छ। यही सेरोफेरोमा रहेर साहित्यकार पूर्ण ओलीले ‘यालमाया’ सार्वजनिक गरेका छन्।  

नाम अनुसार नै कथा संग्रहका अधिकांश कथा माया–प्रेममा आधारित छन्। प्रेम कसलाई पो मन नपर्ने हो र? केवल प्रेमको परिभाषा न फरक हुने हो। केटा र केटीबीच हुने प्रेम होस् वा बाबु, आमा र छोराछोरीबीच हुने प्रेम, यीबिना जिउन सक्ने सायदै होलान्। एकअर्काबीच प्रेम नहुँदो हो त मानवीय जीवन कति निरस हुँदो हो !  

लेखकले कथा संग्रहमा उल्लेख गरेका पात्रहरूबीचको प्रेम प्रसंग कोट्याउँदा थाहा हुन्छ कि ‘यालमाया’ प्रेमको वरिपरि केन्द्रित छ। ११ वटा शीर्षकमा बुनिएको कथा संग्रह अधिकांश महिला र पुरुषबीचको प्रेमप्रसंग वरिपरि घुमे पनि ओलीले पुस्तकलाई उत्ताउलो हुनबाट भने बचाएका छन्। हरेक पात्रले प्रेमभाव त प्रकट गर्छन्, तर निकै सालीन र सभ्य रूपमा।  

प्रेमको महत्व दर्शाउँदै समाजलाई सभ्य र सालीन रूपमा प्रस्तुत गर्नु नै कथाकारको सबभन्दा राम्रो क्षमता देखिएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमका स्थायी बासिन्दा ओलीले गाउँघरका विषयवस्तुलाई कथामा बुनेका छन्।  

लेखकले निजी अनुभवलाई समेत कलात्मक ढंगले प्रस्तुत गरेर पठनीय बनाएका छन्। कथा संग्रहमै निजी अनुभवलाई समेटेर उनले नयाँ अभ्यास गरेका छन्। कृति पठनीय बनेको छ, एक पाना पढ्न नभ्याउँदै पाठकलाई अर्को पाना पढ्न लोभ्याइरहेको हुन्छ। लेखकले ‘यालमाया’लाई पहिलो कथा संग्रहको रूपमा परिचय दिए पनि भाषाशैली, विषयवस्तु हेर्दा सिकारु जस्तो लाग्दैन। दर्जनौँ कथा लेखिसकेका अब्बल साहित्यकारजस्तै क्षमता देखाउन उनी सफल भएका छन्।  

कर्णाली प्रदेशका ग्रामीण बस्तीमा बोलिने स्थानीय शब्दको प्रयोगले कथा संग्रहलाई झनै नयाँपन दिएको छ। सहरी क्षेत्रमा बसोबास गर्नेहरूले बिर्सेका शब्दहरू (जस्तोः जुम्ला हात, प्याकप्याक्ती, निज्याइ–निज्याइ, फ्वाँसे आदि) प्रयोग गरेर शब्द भण्डारणका लागि पनि लेखकले योगदान पु¥याएका छन्।

ओलीले आफूले जीवनमा भोगेका संघर्ष पाठकका लागि सार्वजनिक गरेका छन्। ‘प्रेम प्रस्ताव’ शीर्षकको कथामा प्रणयकुमार पात्र खडा गरी एउटा आदर्श शिक्षकको नमुना प्रस्तुत गरिएको छ। शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकले कति मेहनत गर्नुपर्छ भन्ने कुरा देखाइएको छ। कथा पढ्दा एकातिर मनोरञ्जन त हुन्छ नै, अर्कोतर्फ जोकोही आफ्नो कर्मप्रति कति जिम्मेवार हुनुपर्छ भन्ने कुराको पनि सन्देश दिन सफल छ।

महामाया, जालीमाया, देखीमाया, निर्माया, यालमाया, योगमाया, ज्यानमाया उस्ताउस्तै लाग्ने शीर्षक हुँदाहुँदै पनि हरेकका कथा–व्यथा फरक छन्। हरेकमा नयाँपन छन्। हरेकले समाज सुधारका लागि सन्देश प्रवाह गरेका छन्। समाजमा न्याय स्थापना गर्न सबैले सक्दो प्रयास गरेका छन्। शब्द मिडिया प्रकाशक रहेको २२१ पृष्ठको कथा संग्रहको मूल्य ३५० रूपैयाँ छ।

प्रकाशित: २५ वैशाख २०७८ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App