मिसु श्रेष्ठ
सदरमुकाम आउँदाजाँदाको यो टिनेपाटी। टाढाका बटुवाहरू आफ्नो सामल निकालेर ढिँडो र गुन्द्रुकसँगै तृप्तिको गाँस निलेर, राडीमाथि गहिरो निद्रा पुर्याउँथे रे!
अचेल गाडीबाट हेरेर आफ्ना अतीतको सानो स्मृति मात्र भेट्टाउँछन् यो पाटीमा।
अनगिन्ती स्मृतिहरू बोकेको यो पाटी आफैँमा भग्नावशेष हुँदै थियो।
धेरैपछि इभिनिङ वाक जाँदै थिएँ। खुट्टा टक्क रोकिए । पारि गाउँतिर देखिने घरजस्तै रातो माटोले चिटिक्क लिपपोत गरेको सजीव देखेँ टिनेपाटी । भित्र हेर्न मन लाग्यो । तल्लो तला सफा, खुला र खाली थियो । माथिल्लो तलाबाट अगेनाको आगोको बास्ना महसुस गरेँ।
सिँढी चढिसक्नेबित्तिकै ४२ वर्षकी देखिने एक महिलाले च्याहाँच्याहाँ रोइरहेको बच्चालाई सेक्द गरेको देखे। उनी आकर्षक देखिन्थिन्।
“को हो ?” आवाज आयो।
“के रहेछ भनेर हेरेको दिदी , यो पाटी हैन?”
“हो !” अलि सशंकित र सतर्क देखिइन्।
“तपाईं यहाँ बस्नुहुन्छ हो?”
“हो , बच्चा र म।
“बच्चाको बुबा ?”
“यसको बुबा छैन ।”
मेरो जिज्ञासामा बोल्दै थिइन् –“ म २९ वर्षको भएँ। १६ वर्षमा ३० वर्षको पुरुषबाट पहिलो बच्चा भएलगत्तै गाउँबाट निकालिएँ । गाउँगाउँ डुल्दै बनिबुतो गरे। हण्डर र गोता खाँदै दस वर्षमा चारवटा बच्चा भए। यो पाँचौ हो । यो भत्कन लागेको पाटीमा बसेको पनि दुई वर्ष जति भयो। अलि समय बस्न पाए हुन्थ्यो । पाइने हो कि होइन ?” अनुनय भावले मलाई हेरिन्।
“हैनहैन, तपाईंलाई रोक्न आएको होइन । अनि यी बच्चा सबै ...! अनि अरू खै त?”
म अनकनाएको देखेर तिनी मुसुक्क हाँस्दै भनिन् – “हैन ! अघिल्लो बच्चालाई गुलियो खाना र उज्यालो सपना लिएर आउँथे। अर्को बच्चा गर्भमा छाडेर अँध्यारो पारेर जान्थे। हरेक बच्चाको बाउ फरकफरक हुन्। दुईवटी छोरी बालमन्दिरमा छन्, दुईटी धारातिर गएका छन्। अब यसलाई हुर्काउन पाए.... ! छोरा हो।”
– बहिनी ! बाउ नभए पनि छोराछोरी हुँदा रहेछन् तर.....म त आमा ! खुइय्य सास फेरिन्।
प्रकाशित: २४ वैशाख २०७८ ०२:०७ शुक्रबार