विद्याप्रसाद घिमिरे
पूर्वीय सभ्यताले जन्माएको बुद्धवाद र पश्चिमले जन्माएको आइन्स्टिनवादको चर्चा बेलाबेलामा उठ्ने गरेको छ। वास्तवमा यी दुवै वाद हिंसा नामको सिक्काका दुई पाटा हुन्। बुद्ध र आइन्स्टिनको कुरा उठ्दा अनौठा प्रसङ्गहरू हामीसामु देखापर्छन्। बुद्धले पच्चीस सय वर्षअघि संसारमा हत्या, हिंसा हुनु हुँदैन, विश्वलाई शान्त राख्नुपर्छ भन्दै हिंसाविरोधी अभियान चलाए । यो दर्शन आएको हजारौं वर्षपछि यसैको ठिक उल्टो घटना विश्वमाझ देखा पर्यो। पश्चिममा अल्बर्ट आइन्स्टिन नामका वैज्ञानिकले हिंसालाई पराकाष्टासम्म पुर्याउने सिद्धान्त जन्माए र संसारलाई हिंसाको महाअग्निमा होम्ने सूत्र दिए । यिनै व्यक्तिलाई आज विश्वले विज्ञानका पिता मानेको छ । आइन्स्टिनले सम्पूर्ण जीवजन्तु र वनस्पतिलाई निमेषभरमा समाप्त गरी धर्तीलाई हजारौं वर्षसम्म पुनःप्रयोगमा आउन नसक्ने शक्तिशाली अणुबम सिद्धान्तको प्रतिपादन गरेर गए।
हिंसा भन्नासाथ हामी झस्कन्छौं । यस्ता शब्द सुन्दा मानिस गम्भीर बन्न पुग्छ, चित्त अशान्त हुन्छ । सामान्यतः हिंसा भन्नाले मारकाट, हत्या आदिलाई बुझाउँछ । यद्यपि क्रोध, रिस, ईर्श्या, कलह, गालीगलौज, झैझगडा र लडाइँ सबै हिंसाकै अङ्गप्रत्यङ्ग हुन् ।
हिंसा मानिसको प्रकृति हो, मानवसभ्यताको इतिहास हिंसाले भरिएको छ । हाम्रो जीवन आदर्श मानिने धार्मिक ग्रन्थहरूको हरेक पानामा हिंसाका घटना छन् । हिंसाबिनाको मानव इतिहास भेट्न मुस्किल छ । हिंसाको विवरण नहुने हो भने हाम्रा धर्मग्रन्थ रोचक हुने थिएनन् । देव–दानव होस् वा राम–रावण लडाइँ, पाण्डव–दुर्योधनको झगडा होस् वा शिव–दक्षको युद्ध । रामायण, महाभारत, भागवत पुराण वा स्वस्थानी व्रतकथा=जति पनि धर्मग्रन्थ छन्, ती सबै हिंसाकै कथाले भरिएका छन् । सायद, यिनै ग्रन्थले मानिसलाई हिंसाबाट बाहिर निस्कन दिएको छैन । बुद्धले बुद्धत्व प्राप्त गर्दाको समयमा हाम्रो भूमिमा भएका घटना र त्यही समयमा पश्चिममा भएका घटनाहरू सबै हिंसाकै वरिपरि घुमिरहेको इतिहास छ।
पक्ष र विपक्ष नभई झगडा हुँदैन । ईर्ष्या, स्वार्थ, द्वेष, अहम् आदि नभई द्वन्द्व चर्किंदैन । द्वन्द्वबिना हिंसा बढ्दैन । झट्ट हेर्दा गल्ती एक पक्षको देखिएला, तर गहिरिएर मनन गरियो भने झगडामा दुवै पक्षको बराबर दोष हुन्छ । क्रोध र अहम् झगडाको प्रमुख कारक हो । मानौं एक पक्षले जिस्किएको शैलीमा अर्को पक्षलाई केही भन्यो, दोस्रो पक्षको अहममा चोट पुग्यो । आफ्नो अहम् गिर्दै गएको महसुस हुनासाथ रिसको पारो चढ्यो । यही मोडबाट सुरु हुन्छ= झगडाको सिलसिला । अब दोस्रोले पहिलोलाई आक्रमक शैलीमा शब्दबाण प्रहार गर्न सक्छ वा एक तहमाथि उठेर शारीरिक बल नै प्रहार गर्न सक्छ । व्यक्तिले कुन तहको प्रतिक्रिया दिन्छ, त्यो व्यक्तिको अहम्मा लागेको चोटले निर्धारण गर्छ । हामीले झगडाको वास्तविक चुरो समात्न पुग्यौं भने यिनै दुई कारण भेटिन्छन्, पहिलो अहम् र दोस्रो क्रोध।
मानिसको हरेक क्रियाकलाप हिंसामुखी छ् । लाग्छ, ऊ हरेक बिहान हिंसा खोज्न बिउँझेको हो । बिहान उठ्नासाथ ऊ रेडियो र टेलिभिजनमा हिंसाजनक समाचार खोज्छ । पत्रिकाका हरेक पानामा हत्या र हिंसाको समाचार नियाल्छ । कुन देशमा कुन पक्षले कसको हत्या गर्यो ? मर्नेको सामाजिक प्रतिष्ठा कस्तो थियो ? मान्छे यस्तै समाचारहरू खोजिरहेको हुन्छ अखबारका पानाहरूमा । प्रतिष्ठाविहीन व्यक्तिको भन्दा हैसियत र प्रतिष्ठा बोकेको मानिसको हत्या खोजी हुन्छ समाचारमा। हत्या=हिंसा नभएको समाचार बेकार मानिन्छ अहिले । पत्रिका पढिरहेको मानिस भित्रभित्रै कुँढिएर एक्कासि निराशा पोख्दै यसरी बर्बराएको धेरै पटक मैले सुनेको छु, ‘खै के पढ्नु समाचार ? आजभोलि त केही खबर नै आउन छोड्यो।’ पत्रिकाको प्रतीक्षामा रहेको मान्छे पत्रिका हात पर्नासाथ हत्याको खबर भट्ने लालसामा आँखा दौडाउँछ शीर्ष खबरमा । यदि हिंसाको खबर पाएन भने पत्रिकासँग रिस पोख्दै भन्छ–के पत्रिका हेर्नू, कुनै खबर भए पो !’ यो हो मान्छेको प्रवृत्ति।
कतै जान हतारमा हिँडेको मान्छे बाटोमा दुई पक्षबीच झगडा भइरहेको देखेमा हजारौं काम थाती राखेर तमासा हेर्न थाल्छ । झगडा मच्चिएर घम्साघम्सीको अवस्थामा पुग्यो भने रमाइलो मान्दै ताली पिट्छ । मान्छेको भीड थपिँदै जान्छ । किनकि सबै मानिसभित्र एउटा कुनामा झगडा र लडाइँ हेर्ने लालसा लुकेको हुन्छ– जब झगडा देख्छ, ऊभित्र लुकेर रहेको उत्कण्ठा जाग्छ । आफूलाई नियन्त्रण गर्न सक्दैन र अडिएर रसस्वादन गर्न थाल्छ, झगडाको । दुवै पक्ष आपसमा अंकमाल गरेमा सोच विपरीत भएको र ठगिएको महसुस गर्छ । हात मिलाएको, अंकमाल गरेको वा नमस्कार गरेको हेर्ने बानी कहाँ छ र मान्छेलाई ? ऊ त सधैँ लडाइँ झगडामै रमाइरहन्छ । सधैँ यही नियति रहिआएको छ मान्छेको।
परापूर्वकालको मान्छे मनोरञ्जनका लागि कुखुरा, च्याखुरा, परेवा लडाउँथ्यो; न्याउरी र सर्प लडाएर आनन्द लिन्थ्यो । आज पनि स्पेनजस्ता कैयौं सभ्य मुलुकमा महिनौंदेखि प्रशस्त खुराक खुवाई पालेर राखेको उन्मत्त साँढेलाई खुला मैदानमा छोडिन्छ र साथमा सुइरोजस्तो हतियार लिएको मान्छेले रातो कपडा हल्लाउँदै साँढेलाई जिस्क्याउँदै लडाइँ गर्छ । यस्तो खेल निकै रोचक मानिन्छ त्यहाँ । यस किसिमको खेलमा साँढेले जितोस् वा मानिसले के अर्थ रहन्छ ? साँढे मानिसको दाँजोमा अजंगको प्राणी हो । ठूलो प्राणीले सामान्य मानिसलाई जितेमा त्यहाँ आश्चर्य मान्नुपर्ने के छ ? त्यस्तै मान्छेले जित्यो भने पनि आश्चर्य छैन । मानिस विश्वविजेता हो; कुटिलता, चलाखी, धुर्त्याइँ आदि अनेकौं हतकण्डाको प्रतिरूप हो मान्छे । साँढेमाथि मान्छेको विजयलाई अनौठो मान्नुको कुनै अर्थ छैन । विवेकशून्य प्राणीको पर्याय मानिने साँढे– अविवेकी र मूर्ख मानिसलाई भनिने उपमा हो । त्यस्तो अविवेकी पशुसँग लड्छ चन्द्रविजेता मान्छे, अनि शङ्खनाद गर्न थाल्छ विजयको । ठूलाठूला रंगशालामा प्रदर्शन हुने यस्तो खेल हेर्न हजारौ दर्शक अपार धनराशि खर्च गरेर आइरो लाग्छन् । अबोध पशुलाई रगतपच्छे बनाएर दुःख दिने र सताउने यस्तो खेल लोकप्रिय हुनुले मानिसभित्र लुकेको हिंसाभावलाई प्रस्ट पार्छ।
हिंसाले हिंसा नै जन्माउँछ । मानिसले स्वादको बसमा परेर भगवानलाई खुसी पार्ने बहानामा सयौं निर्दोष पशुको बलि चढाउँछ र पशुभन्दा आफू बलवान् भएको उदाहरण प्रस्तुत गर्छ । हत्या प्रायः अबोधको नै हुन्छ । अलिकति बलवान् र हिंस्रक जनावर रहेछ भने त्यसको हत्या गर्न हिच्किचाउँछ । निर्धोलाई बाँच्ने अधिकारबाट वञ्चित गराउँछ । यस प्रवृत्तिले समाजमा नकारात्मक सञ्चार फैलिँदै जान्छ, काटमार सामान्य बन्दै जान्छ।
हत्यालाई आगामी पुस्ताले सहज रूपमा स्विकार्दै जान्छ । ‘हत्या यसको होस् कि उसको; जोसुकैको भए पनि हत्या भनेको हत्या नै हो’ भन्ने भाव समाजमा बलियो हुँदै जान्छ । क्रूरताले मानिसको मनमस्तिष्कमा जरा गाड्दै गएपछि मान्छे हिंसासँग डराउँदैन । कसैले अहममा सामान्य चोट दियो कि तुरुन्तै हिंसाभाव जागृत भइहाल्छ । सामान्य विवादमा पनि हात नकमाई अर्काको हत्या गर्न उद्यत हुन्छ, मान्छे।
हिंसा आजको मान्छेमा मात्र निहित प्रवृत्ति होइन । परापूर्वकालदेखि नै मान्छेलाई नासोको रूपमा मान्छेबाटै पाएको उपहार हो । यो मानिसमा अन्तरनिहित स्वभाव हो । यद्यपि मानिसद्वारा प्रत्येक युगमा हिंसाविरोधी अभियान चलाइएको छ । प्रत्येक कालखण्डमा हिंसाप्रति विश्वास राख्ने मानिसहरुबाट स्वार्थ प्रेरित भई हिंसालाई बढावा दिने काम भएको छ, लडाइँ चर्काइएको छ । त्यस्तै प्रत्येक युगमा अहिंसाका पक्षधरहरूबाट हिंसाविरोधी अभियानहरू सञ्चालन गर्दै हिंसा नगर्ने आग्रहका साथ प्रचारप्रसार भएका पनि छन्।
हिजोको समाज आजभन्दा शान्त र सुरक्षित थियो । आजको जस्तो अराजक, हत्या, हिंसा, लुटपाट छँदै थिएन अर्थात् भए पनि सामान्य र छिटपुट हुने गर्थ्यो । यो अहिलेसम्म हामीले पाल्दै आएको मान्यता हो । तर, यस तर्कलाई बल दिने भरपर्दो आधार एउटै भेटिँदैन । हत्या, हिंसाको चपेटाबाट मान्छे कहिल्यै मुक्त छैन । सधैँ असुरक्षित रहँदै आएको छ मानव जीवन । हामीभन्दा पहिलेको समाज कस्तो दुर्दशामा बाँचेको थियो भन्ने हामीले न देख्यौँ, न त भोगेका नै छौ । रेकर्ड गरी त्यसलाई भविष्यसम्म सुरक्षित राख्ने प्रविधि नभएको हुँदा प्रमाण भेटिँदैन । नदेखिएको र नभोगिएको विषयमा विश्वास गर्न सकिन्न । लेखकको सोचमा के आयो त्यही लेखिदियो । त्यही पढेको भरमा हामी आँखा चिम्लेर हिजोको समाज सुरक्षित थियो भनी भ्रम पालिरहेका छौं। तर वास्तविकता फरक छ । हत्या र हिंसा नहुँदो हो त सिद्धार्थ गौतम नामका राजकुमार भगवान् बुद्ध बन्ने थिएनन् । उनलाई हिंसाले नै सिद्धार्थ गौतमबाट बुद्ध बनायो । हिंसाले बुद्ध बनायो भनेको सुन्दा नमीठो लाग्ला ! तर, वास्तविकता यही हो । सबैतिर शान्त भए बुद्ध दर्शनले यति धेरै महत्व पाउने थिएन। बुद्ध जहाँ गए ‘हिंसा नगर’ ‘झुटो नबोल’ भन्ने प्रचार गरे, हिंसाको विरुद्धमा वकालत गरे । यसबाट सहजै अनुमान लगाउन सक्छौं कि बुद्धको समयमा हत्याहिंसा अहिलेभन्दा व्याप्त थियो । संसार झुटैझुटको अड्डा थियो । अन्यथा हिंसाविरोधी उपदेश र सत्यवादी हुनुपर्ने सन्देशको के अर्थ ? बिउँझिएको मानिसलाई बिउँझ, उठ भन्नुमा अर्थ हुँदैन, तर निदाएको मानिसलाई उठ, बिउँझ भन्नुले छुट्टै अर्थ राख्छ । हिँडिरहेको मानिसलाई हिँड भनियो भने त्यसले कति अर्थ देला ! तर, बसिरहेको मानिसलाई हिँड भन्नुको बेग्लै महत्व हुन्छ । त्यस्तै हत्याहिंसा केही नभएको समाजमा ‘हिंसा नगर, हत्या नगर’ भन्दै उपदेश दिने बुद्धलाई त्यसबेलाको समाजले पक्कै स्विकार्ने थिएन । बुद्धलाई भगवानको कोटिमा राख्ने थिएन । त्यसबेलाको समाज हत्या र झुटले ग्रसित थियो । त्यसैले त बुद्ध दर्शनले महत्व पायो, बुद्ध दर्शनबाट सारा विश्व आन्दोलित हुन पुग्यो।
बुद्धको समयमा पनि अज्ञानी, पटमूर्ख, हत्यारा र लुटेराहरूको बिगबिगी थियो । यही भएर त अरूभन्दा पृथक, बोधिसत्व प्राप्त गरेका बुद्ध ज्ञानीको कोटिमा स्थापित भए । त्यसबेलाका सबै व्यक्ति बोधिसत्व प्राप्त महाज्ञानी थिए भने बुद्धको छुट्टै अस्तित्व हुने थिएन । तसर्थ ठोकुवासाथ भन्न सक्छौ कि, हिजोको संसार महाज्ञानीहरूले भरिएको, अहिलेभन्दा चरित्रवान र स्वर्णिम युग छँदै थिएन । र, आजको मानिस पनि त्यही अवस्थामा छ।
यो एक्काइसौं शताब्दी हो । विद्वानहरू यस युगलाई विज्ञान र प्रविधिको युग मान्छन्, यातायात र सञ्चारको युग मान्छन् । अणु र परमाणुको युग भन्छन् । आज हरेक क्षेत्रको विकास तीव्रगतिमा भइरहेको छ । आजको मानिसले हरेक क्षेत्रमा अत्यन्त प्रगति गरेको छ । मानिस चन्द्रमामा पुग्यो, आवाजको गतिभन्दा छिटो उड्न सक्ने विमान बनायो । सञ्चार प्रणालीमा क्रान्ति नै ल्यायो, तर हत्या र हिंसाको मामलामा हजारौं वर्षअघि जहाँ थियो अहिले पनि त्यहीँ छ । साँच्चै भन्ने हो भने ढुङ्गे युगमा फर्कने तयारीमा छ । आज यहाँ सामान्य र खुद्रे हत्या महत्वहीन बनेको छ । खुद्रे हत्या समाचार बन्न छोड्यो अब । यसलाई पनि समयको माग भन्नेहरूको दवदवा बढिरहेकै छ।
बीभत्स र सामूहिक हत्याको लहर चलेको छ, आजभोलि । आणविक शक्तिमार्फत् संसार ध्वस्त बनाउने त्रास फैलाई त्यही त्रासको बलमा विश्वलाई आफ्नो औंलामा नचाउन चाहनेहरूबीच होड छ । खुद्रेभन्दा सामूहिक हत्यामा विश्वास बढ्दै गएको छ। शक्ति प्रदर्शन गरी विश्वलाई तर्साउन चाहनेहरूका अघि बुद्धमार्गी तिल्मिलाएका छन् । संसारभरका बुद्धपन्थी विश्वशान्तिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सेमिनार र गोष्ठी आयोजना गरिरहेका छन् । आणविक हतियारमा प्रतिबन्ध लगाउनुपर्छ, हत्या रोकिनुपर्छ, मान्छेको बाँच्न पाउने अधिकारको सम्मान गरिनुपर्छ भन्ने नारासहित विश्वशान्तिको आह्वान जारी छ।
संसारलाई आणविक युद्धमा होम्ने अणुबमका सूत्रधार अल्बर्ट आइन्स्टिन बूढालाई सायद भोलिको मान्छे यतिसम्म निकृष्ट होला भन्ने थाहा थिएन । सोही सिद्धान्तलाई टेकेर उनकै जीवनकालमा मानवसभ्यता विनष्ट पार्ने शक्तिशाली अणुबम बन्यो । उनले नचाहँदानचाहँदै ती बम घना बस्तीमा विस्फोट गराई क्षणभरमै लाखौं मानिसको अस्तित्व मेटाइयो । यही भएर होला आइन्स्टिनले मर्नुअघि आत्मग्लानिमा छटपटाएर बिलौना गर्दै, ‘हे इश्वर ! यदि अर्को जन्म दियौ भने म जे पनि बन्न तयार छु। तर, मलाई आविष्कारक नबनाइदेऊ’ भनी बेसरी रोएका थिए रे !
तर आश्चर्य– आज आइन्स्टिनको सिद्धान्तलाई टेकेर हिंसा अँगाल्नेहरूको दिमाग दिग्भ्रमित भएको छ । उनीहरू आफ्ना पिता आइन्स्टिनले जस्तो आत्मालोचना गर्न सकिरहेका छैनन् ? हिंसामा मान्यता नराख्ने हामीजस्ता निरीहहरूचूपचाप हेरिरहेका छौं, मृत्युको ताण्डव । हामी बिचरा बन्दै मौनता साँध्नुलाई कल्याण ठानिरहेका छौं । अहिले विश्वमा हतियार कम गर्नुपर्ने, आणविक हातहतियारको उत्पादनमा रोक लगाउनुपर्ने मान्यता बलियो हुँदैछ । यसैका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा सम्झौताहरू भएका छन् । रातारात सन्धि र महासन्धिमा हस्ताक्षर हुँदैछ । यस अवस्थामा हामी विचरा बनेर टुलुटुलु हेर्दै पश्चिमी सभ्यताले जन्माएको घोर ‘युद्धवाद’को अन्त्य र पूर्वीय सभ्यताको उपज ‘बुद्धवाद’को पर्खाइमा छौं ।
प्रकाशित: २३ वैशाख २०७८ २३:०० बिहीबार