सूर्यप्रसाद लाकोजू
समय सबैभन्दा बलवान् हुँदो रहेछ । समयभन्दा ठूलो शिक्षक मानिसका लागि सायद अरू हुँदैन होला । समयले मानिसलाई धेरै कुरा सिकाउँदै लगेको हुन्छ । निम्न माध्यमिक तहबाट माथि उक्लेर माध्यमिक तहमा पुगेपछि समय र परिस्थितिले मलाई धेरै कुरा सिकायो। केही साथीभाइको सङ्गतले शिक्षा दियो, केही स्वजनहरूको व्यवहारबाट सिकें।
कक्षा आठबाटै राम्रोसँग पढ्ने मेरो प्रयासले हार मानेन । पहिला पढ्दिन थें । सबै सजिलो लाग्थ्यो। जब पढ्न थालें महाभारत लाग्न थाल्यो । कताबाट सुरु गर्ने अलमलमा पर्थें । सायद जग कमजोर भएर होला.... । बूढापाकाहरूले घर बलियो हुनका लागि जग बलियो हुनुपर्छ भन्नुको अर्थ बल्ल बुझ्न थालेको थिएँ । विशेष गरेर पढ्न थालेपछि आफूले आफैलाई अंग्रेजीमा त सारै कमजोर पाएँ । कुवाको भ्यागुतो कुवामा बस्ने भएकाले उसले आफ्नो संसार कुवाभन्दा ठूलो छ भन्ने सोच्न सक्दैन। तर, समुन्द्रको भ्यागुताले संसार अनन्त देख्छ, ठूलो, विशाल देख्छ । आफू नपढ्ने विद्यार्थी रहँदा देखिएको ज्ञानको क्षेत्र र पछि देखेको पढाइ बीच देखेको फरक त्यस्तै लाग्यो।
कक्षा आठ पुगेपछि मेरो परिश्रमको पारो चढ्दै थियो । पहिला पढ्नका लागि मात्र पढ्थें । अहिले पढ्नुपर्छ भन्ने मनैदेखि लागेको थियो । त्यसैले समय तालिका बनाएर बढ्ने बानी बसालेको त्यही बेलादेखि हो मैले । तर जति मिहेनत गरे पनि अंग्रेजीमा भने सुधार गर्न मलाई हम्मेहम्मे परेको थियो । मेरो मात्र होइन प्राय विद्यार्थीहरूको व्यथा थियो त्यो।
कक्षा संचालन भएको केही समय भएको थियो । मलाई अंग्रेजीमा जसरी भए पनि राम्रो गर्नु थियो । त्यसको कारण पनि थियो । हाम्रो कक्षामा एक जना हामीभन्दा अंग्रेजी जान्ने विद्यार्थी थियो । उसको जस्तो रिडिङ हुनुपर्छ, कस्तो राम्रो पढ्छ त्यो । लेखाइ पनि एकदम राम्रो छ उसको।
अंग्रेजी शिक्षकले कक्षामा प्रायः सुनाउने वाक्याशं यस्तै हुन्थ्यो कक्षामा । कहिलेकाहीँ हामी सिक्न खोज्नेलाई भन्दा जान्नेलाई बढी प्रोत्साहन पो मिल्यो कि भन्ने भावनाले पनि मनमा घरजम गर्न खोज्थ्यो । यता हाम्रा साथी भने मभन्दा अंग्रेजी जान्ने कक्षामा कोही छैन भन्ने घमन्डले अन्धो हुँदै थियोे । अझ अंग्रजी नजान्ने हामी जस्तालाई होच्याउने उनको व्यवहार सहन कठिन हुन्थ्यो । उनीसँग मिल्ने केही साथीहरू पनि उनलाई उस्काउँथ्यो। घमन्डले धृतराष्ट्र बनेका साथीको सेखी झार्नुपर्छ भन्थे साथीहरू । तर उनको सेखी झार्न उनीभन्दा राम्रो बन्नु, राम्रो पढ्नुको विकल्प थिएन । उनको घमन्ड र दुव्र्यवहारका कारण पनि आजितै थिएँ । त्यसैले मैले पनि मनमनै प्रण गरें कि अंग्रेजीमा कक्षामा सबैभन्दा जान्ने भएर राम्रो अङ्क ल्याउँछु । ईख नभएको मानिस र विष नभएको सर्प काम लाग्दैन भन्छन्।
मेरो आफ्नो प्रण पूरा गर्नु मेरा लागि सामान्य कुरा थिएन । कक्षामा म सामान्य विद्यार्थी थिएँ । अंग्रेजमिा त कमजोर नै थिएँ । अब मैले सामान्य कुराबाट अंग्रेजी सिक्नुपर्छ भन्ने ठानें । सरलबाट जटिलतिर भन्ने शिक्षण सिकाइको सिद्धान्त अनुसार अगाडि बढें । सबैभन्दा पहिले बाह्रखरी किताव किनें । त्यही पुस्तिकाबाट सर्वप्रथम अंगे्रजीका आधारभूत कुराहरू सिकें। हिज्जे, बोलाइका थुप्रै आधारभूत कुरा त्यहीँबाट सिकें । यता स्कुलको अंग्रेजी विषयमा पनि ढिलो तर सुधार हुँदै गयो । पढ्नलाई लाज मान्नु हुन्न भन्ने कुरा ८ कक्षा पुगेपछि मैले सिकें । म त ८ कक्षा पुगेको मान्छे कहाँ बाह्रखरी पढेर बस्ने भन्ने सोचेको भए सायद मेरो अंग्रेजी सिक्ने चाहनामा थुप्रै अड्चनहरू आउँथे होलान् । तर मैले पढ्न छोडिन । सुरुमा त अंग्रेजी पुस्तकमा रहेका पाठहरू पढ्न पनि जान्दिन थें म । करिव तीनचार महिनाको समयमा ठिकैको रिडर बनें । पाठहरू बुझ्न पनि थालें । अंग्रेजीको विषय शिक्षकबाट पनि प्रशंसा र प्रोत्साहन पाउन थालें।
मान्छेको जीवनमा साथीको ठूलो महत्व हुने रहेछ । हामीले गरेको सङ्गत अनुसारको हाम्रो ज्ञान हुने रहेछ, व्यवहार हुने रहेछ अनि हामीले गर्ने स–साना कृयाकलाप, व्यवहारबाट हाम्रो बानीको विकास हुने रहेछ । त्यही बानीका आधारमा हाम्रो चरित्र निर्माण हुने रहेछ । सङ्गत गुनाको बुद्धि भनेर त्यसै भनिएको होइन । सङ्गतले मानिस चिनिन्छ भन्ने उखान त्यसै चलेको होइन । कक्षा आठमा पुगेपछि मलाई आमाले एकपल्ट गाली गर्दै, ‘तिम्रो सङ्गतै राम्रो छैन। खाली ड्याम्पमा गएर पौडी खेल्ने, कराँते खेल्ने । वनमा काफल खान जाने । पढ्नुचाहिँ छैन।’ भन्नुभएको थियो । आमाको त्यही वचनका कारण मैले मेरो दुईजना मिल्ने तर नपढ्ने साथीहरूको सङ्गत छोडें । छोडें भन्नुको अर्थ बोल्दै नबोल्ने होइन। पढाइ छोडेर उनीहरूसँग अनावश्यक खेल्न घुम्न जान छोडें । उनीहरूलाई पनि पढ्नुपर्छ भने । उनीहरू घुम्न जान, खेल्न बोलाउँथे म जान छोडेँ । त्यसपछि पढ्ने नयाँ साथी बनाएँ । मेरै टोलका अन्य स्कुलबाट म पढ्ने स्कुलमा आएकाहरू पनि साथी बने । तिनीहरूको स्कुलमा ७ कक्षासम्म मात्र पढाइ हुने भएकाले तिनीहरू यता आएका थिए।
म पूर्ण परिवर्तन भएको थिएँ । पहिलेभन्दा बढी गम्भीर थिएँ । बुभ्ने पनि भैसकेको थिएँ । मातापिताले जीवनयावनका लागि गरेको सङ्घर्ष, हामीप्रतिको उहाँहरूको स्नेह, अभावका बीच पनि हामीलाई पढाउने उहाँहरूको अभिलाषा झल्झली सम्झन्थें म । त्यसैले पनि मैले केही गर्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ भन्ने मलाई लागिरहन्थ्यो।
पढ्नका लागि मैले समयतालिका बनाएको थिएँ । एकपल्ट बेलुकाको खाना खाएर म पढ्न बसेको थिएँ । माइलो भाइ पनि सँगै पढ्न बस्यो । आमाबा सुतिसक्नुभएको थियो । सानो भाइ पनि ओछ्यानमा पल्टिरहेको थियो । कान्छो सुत्यो क्यारे भनरे हामी दुई भाइ कुरा गर्दै थियौं । कान्छो त जुरुक्क उठ्यो र भन्न थाल्यो, ‘एँ म मात्र सत्छु नि ? तिमीहरू चैं पढ्ने, मचाहिँ सुत्ने? भोलिपर्सि पढेर तिमीहरू दुई जना ठूलो मान्छे हुन्छौ । म भने गोरु भएर बस्ने? भारी बोकेर बस्ने? म पनि तिमीहरू सँगै पढ्छु । तिमीहरू जस्तै पढेर ठूलो मान्छे बन्छु।’
यति भनेर उसले पनि किताब निकाल्यो र पढ्न थाल्यो । कान्छाको कुरा सुनेर म केही छक्क तर धेरै खुशी भएँ । त्यस दिनदेखि सानो भाइलाई पनि आफूसँगै पढाउन थालें।
तिहार सकिएको थियो । त्यो बेला मंसिरमा विद्यालयको अन्तिम परीक्षा हुने गर्दथ्यो । अन्तिम परीक्षाको घडी नजिकिँदै थियो । त्यो अन्तिम परीक्षा भए पनि मेरा लागि आफूले परिश्रमपूर्वक पढेर दिएको पहिलो परीक्षा थियो । पुस १४ गते राजाको जन्मदिनका दिन परीक्षाफल प्रकाशित भयो । प्रथम हुन नसके पनि रिजल्ट राम्रो आयो । प्रथम हुने लक्ष्य पनि थिएन । तर, अंग्रेजीमा भने राम्रै सुधार भयो ।
तीनै जना छोराको परीक्षाफल राम्रो भएकाले बाआमाको अनुहारभरि खुशीको लाली पोतियो । रिजल्टको दिन मेरो पनि मनभरि गुराँस फुले । कक्षा नौदेखि अझ राम्रोसँग पढ्नुपर्छ । हामीले आमाबालाई सुख दिन नसके पनि दुःख दिने अधिकार हामीसँग छैन। नपढेर दुःख दिनुभन्दा पढेर खुशी दिनु ठूलो कुरा हो । आफ्नो अभिभावकलाई अझ बढी खुशी दिने प्रयत्न गर्नुपर्छ भन्ने कुरा मनमा खेलिरह्यो । मनमा राम्रै कुरा खेलेकाले होला त्यो रात आनन्दले निन्द्रादेवीको काखमा रमाएँ ।
प्रकाशित: २३ वैशाख २०७८ ०६:२३ बिहीबार