१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

पर्दा बाहिर टीका

माओवादी नेता सागरलाई भाइटीका लगाइदिँदा होस् या माओवदीमै प्रवेश गर्दा। रेखा थापाको खुबै चर्चा भयो। तिनले संगीतकार एवं निर्देशक कमलकृष्णलाई भाइटीका लगाइदिँदा पनि मिडियाले छोडेनन्।सानै उमेरदेखि चलचित्र क्षेत्रमा लागेका सन्तु थरले तामाङ हुन्, पेसाले मेकअपम्यान। लोकप्रिय नायिका करिश्मा मानन्धर पनि सानै उमेरमा चलचित्रकर्ममा लागेकी हुन्। करिश्माको सन्तु तामाङसित कुनै रगतको नाता छैन। तर उनीहरूबीच भावनाको गहिरो नाता छ। त्यो नाता हो दिदीभाइको नाता। सन्तु तामाङले हरेक वर्ष भाइटीकाको दिन करिश्माको हातबाट टीका थाप्दै आएको धेरै वर्ष भयो। बीचमा करिश्मा अमेरिका गएपछि भने यो क्रम टुट्यो। अब फेरि निरन्तरता पाउने आशमा छन्, सन्तु।

नेपालका सिनेकर्मीहरूबीच भावनाको यस्तो गहिरो नाता सन्तु र करिश्माबीचमात्र होइन अन्य कलाकारबीच पनि छ। सन्तुले अर्की अभिनेत्री मिथिला शर्माबाट पनि भाइटीका थाप्दै आएका छन्।

ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले धेरै वर्षअगाडि मौसमी मल्ललाई दिदी बनाएका थिए। केही वर्ष तिहारको टीका पनि थापे। मौसमीको जीवनमा आएको वैवाहिक समस्याका कारण उनी चलचित्र क्षेत्रबाटै टाढिइन्। यसबीचमा राजीवले उनको हातबाट टीका थाप्न पाएनन् । अहिले मौसमी पुनः चलचित्र क्षेत्रमा फर्किसकेकी छिन्। राजीवले सेलिब्रिटी सिर्जना योञ्जनसित पनि दिदी–भाइको भावनात्मक नाता बनाएका छन्। जुन अहिलेसम्म चलरहेको छ।

लोकप्रिय गायक उदितनारायण झाकी धर्मपत्नी दीपाले धेरै वर्षअगाडि छायाँकार एवं निर्देशक चन्द्रप्रकाश घिमिरेलाई तिहारको टीका लगाएर भाइको नाता गाँसेकी थिइन्। भावनाको यस्तो सम्बन्ध चलचित्रकर्मीबीच मात्र नभई र गैरचलचित्रकर्मीबीच पनि प्रशस्तै देखिएका छन्।

नायिका मेलिना मानन्धरले पनि प्रेस व्यवसायी शिवकुमार शुक्लासँग चेली–माइतीको सम्बन्ध गाँसेकी छिन्। जनै पूर्णिमाको दिन राखी बाँध्न होस् या भाइटीकामा टीका लगाउन, दुवैले संस्कारलाई निरन्तरता दिइरहेकै छन्। 'सिलसिला' चलचित्रबाट निर्माताको छवि बनाएका हास्य अभिनेताले चलचित्र क्षेत्रका चर्चित हेयर डेर्सर रीतु रानालाई दिदी बनाएका छन्। उनै रीतुले सन्तुलाई दाइ मानेर टीका लाइदिने गरेकी छिन्। यो पंक्तिकारले पनि केही वर्षअगाडिसम्म रीतुबाट भाइटीका र दीपा झाबाट राखी बाँध्दै आएको थियो। उसो त दीपा ले पत्रकार पुष्करलाल श्रेष्ठलाई पनि भाइ मानेर राखी पठाउने गरेकी थिइन्। थिए तर अहिले त्यो क्रम टुटेको धेरै भइसकेको छ।

अभिनेत्री जल शाह र नायक दिलीप रायमाझीले केही चलचित्रमा चेली–माइतीको भूमिकामा काम गरेका छन्। तर उनीहरूले वास्तविक जीवनमै भाइटीका मनाए। एकपटक तिहारकै अवसरमा जल, किरण केसी र दिलीप एक सांस्कृतिक कार्यक्रममा कतार गएका थिए। त्यहाँको बसाइमा उनीहरू एक–आपसमा भावनात्मक रूपमा ज्यादै नजिकिए। जलले दिलीपलाई भाइटीका लगाइदिइन्। जलसँगै गएकी उनकी आमा प्रेमा शाहले पनि किरण केसीलाई भाइटीका लगाइदिइन्। अभिनेत्री विपना थापाले किरण केसीका पुत्र सुदनलाई टीका लगाएर भाइ बनाएकी थिइन् भने चर्चित फोटोग्राफर राजभाइ सुवाललाई दाजु बनाइन्।

विपनाको पहिलो फोटोसेसन राजभाइले गरेका थिए। यस क्रममा नजिकिएका उनीहरूको सम्बन्ध दाजुबहिनीमा रूपान्तरित बन्यो। राजभाइको आफ्ना दिदीबहिनी छैनन्। 'विपनासँगको नयाँ सम्बन्धले बहिनीको अभाव टारिदिएको थियो,' उनले भने। विपना विवाहपछि अहिले भारतमा छिन्।

राजभाइले नायिका मेलिना मानन्धरसित पनि एकपटक टीका लगाएका रहेछन्। 'दिदिबहिनी नभएर मात्र मैले बहिनी बनाएको होइन। आफूसँग फोटो खिचाउन आउने कलाकारलाई बहिनीकै रूपमा हेर्ने गरेको छु,' उनले सुनाए।

जलले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि दाजु बनाएकी थिइन्। अर्का अभिनेता रमेश उप्रेतीलाई पनि जलले हरेक वर्ष टीका लगाउने गर्थिन्। अहिले जल र रमेश दुवै अमेरिकामा छन्।

एक जमानाकी लोकप्रिय अभिनेत्री शर्मिला मल्लले अभिनेता एवं निर्माता अशोक शर्मालाई दाजु मानेर टीका लगाउने गर्थिन्। उता अशोक शर्माले वरिष्ठ चलचित्रकर्मी नीर शाहकी धर्मपत्नी उषा शाहलाई दिदी मानेर टीका थाप्दै आएका छन्।

अभिनेता दिलीप 'लहना' चलचित्रको छायांकन क्रममा सिक्किम पुगेका थिए। छायांकन नसकिएपछि लहना टोलीले तिहार उतै मनाएको थियो। निर्देशक तुलसी घिमिरेकी धर्मपत्नी भारतीले भाइटीकामा दिलीपलगायत अन्य चलचित्रकर्मीलाई टीका लगाइदिएकी थिइन्।

प्रकाशित: १६ कार्तिक २०७० ००:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App