१ पुस २०८१ सोमबार
image/svg+xml
कला

गीतमा रचना र गायनमा आधुनिकता

नेपाल र नेपालीलाई गीत सुनाउने पहिलो काम काठमाडौंस्थित भोटाहिटीका सेतुराम श्रेष्ठले गरे। सेतुरामले वि. सं. १९६५ मा भारतको कलकत्तामा गएर गीत रेकर्डिङ गराएको नै हाम्रो अहिलेसम्म प्राप्य इतिहासको सुरक्षित दस्तावेज हो।  गायक सेतुरामले नेवार भाषाको ‘राजमति कुमति जिके व सा पिरती’ लगायत अन्य ६ गीत रेकर्ड गराएका थिए , साहु जनकबहादुर एन्ड सन्स्का निम्ति उनले मोतिराम भट्टको रचनाको ‘यता हे¥यो यतै नजरमा राम प्यारा छन्’ रेकर्ड गराएका हुन्।  

काठमाडौं कमिःलाछीको भजन मण्डलीको समूहमा गाउने सेतुरामले आफ्नो स्वभाव र शैलीमा लोकलयमा आधारित भएर नै ती गीत स्रोतव्य माध्यमका प्रमाण थिए।  

कलकत्ता इन्फ्लुयन्स  

भारतको कलकत्तामै गीत रेकर्ड गराउनुको प्रमुख कारण त्यतिबेला भारतको कलकत्तामा बाहेक अन्यत्र रेकर्डिङ कम्पनी थिएनन्, विश्वप्रसिद्ध रेकर्डिङ कम्पनी ग्रामोफोन सन् १९०० मा कलकत्तामा आएर स्थापित भएको थियो। ग्रामोफोन एन्ड टाइपराइटर लिमिटेडका पहिलो एजेन्ट जोन वाट्सन हावड ७ जुलाई सन् १९०१ मा भारत आएर सम्पूर्ण देश भ्रमण गरेर अन्ततः कलकत्ताको ६.१ चौरंगी लेनमा यसको कार्यालय स्थापित गरे। त्यसपछि उनले ‘भारत ठूलो देश रहेछ, यहाँ हामीले राम्रो बजार बनाउन सकिन्छ’ भन्ठानी लन्डनस्थित आफ्नो कार्यालयलाई पत्र लेखे। लन्डन अफिसले हावडलाई प्रतिउत्तर लेख्यो, ‘हामी त्यहाँ गेइसबर्गलाई फ्रेब्रुअरीको पहिलो सातासम्म पठाएर रेकर्डिङ सुरु गर्ने योजना बनाउँदै छौँ।  

अन्ततः गेइसबर्ग सेप्टेम्बर २८, १९०२ मा आइपुगे। फ्रेडरिक विलियम गेइसबर्ग आएर कलकत्तामा रेकर्डिङ स्टुडिओ सुरु गरेपछि उर्दू, हिन्दीमा गीत रेकर्ड गराए।  

सन् १९०२ को नोभेम्बरमा सिंगल साइडमा सात इन्चीको डिस्कमा फ्रेडरिक विलियम गेइसबर्गले पहिलोपटक भारतीय गायिका मिस गौहर जान ( पहिलो डान्सिङ गर्ल)को ‘डगर ना जानी जाबी कैसे तुने’ रेकर्ड गराए। यसपछि कलकत्तामा गीत रेकर्डको इतिहास सुरु भयो।  

गौहर जानको गीत रेकर्ड भएको ६ वर्षपछि सेतुराम कलकत्ता पुग्छन्। यसपछि नेपाली संगीतको रेकर्डिङ इतिहास सुरु हुन्छ। सेतुरामले गीत रेकर्ड गराएपछि नेपाली जनसमाजमा यसको गहिरो प्रभाव प¥यो भने गेइसबर्ग हिउँदमा आराम गर्न कलकत्ताको निकटवर्ती बस्ती दार्जिलिङमा गएर बस्न थालेपछि नेपालीमा गीत–संगीत सुन्ने आदत बस्यो, यो नै सुखद् संकेत भयो।  

गीतमा आधुनिकताको गणित  

गायनका हिसाबले सेतुरामपछि २० वर्षभित्र धेरै गायक–गायिका आए, तर रेकर्डिङका हिसाबले मित्रसेन थापा मगर, उस्ताद बद्री, उस्ताद साइँला, गायिका मेलवादेवीको नाम उच्चकोटिमा देखिन्छ।

मेलवादेवीले लोकलयमा ‘सवारी मेरो रेलैमा, आऊ बसौँ पियारी मिर्मिरे झ्यालैमा’ जस्ता गीत रेकर्ड गराइन्। मेलवादेवीले त्यतिबेलाका सामाजिक अभियन्ता शुक्रराज जोशीको रचनामा ‘न घरलाई घर कहिन्छ, नारी नै घरको द्वार हो’ गाएपछि रचनाकारिताका हिसाबले आधुनिक गीतको सामान्य परिचयसम्म देखियो। जोशीले आफ्नो नाटक ‘स्वर्गको द्वार’का निम्ति लेखेको यो गीत रचना पक्षका हिसाबले स्वच्छन्द रचना भए पनि यसको रेकर्डिङमा गायिकाले शास्त्रीयता र लोकशैली मिश्रित गरेर गाइन्, तर आधुनिक गीतको दर्जा यसले पाउन सकेन। यसअघि नै गायक मित्रसेनका गीतलाई भारतको प्रसार भारतीले झ्याउरे गीत भनेर प्रचारप्रसार गरिसकेको थियो। नेपाली गीतमा रेकर्डिङका हिसाबले आधुनिकता भिœयाउने कसरतमा नेपाली संगीतकर्मी दत्तचित्त भएर लागिरहे।  

आधुनिकताको अर्थ यतिबेलासम्म नेपाली जनस्थानमा सुसूचित वा समुचित रूपमा आइसकेको वा आउन सकेको थिएन। सन् १९०५ कै हाराहारीमा जब जर्मन लेखक तथा चिन्तक हरमन बारह्ले पश्चिममा आफ्नो विचार अभिव्यक्त गरे, उनले भन्न खोजेका थिए, आधुनिकता नै हाम्रो कर्तव्य हो, (द वन् ड्युटी इज टु बी मडर्न, हरमन बारह्, सन् १९०५, एक्सप्रेसिनिजम्)।  

हाम्रा कलाकर्मी वा सामाजिक चिन्तकले पनि यसलाई अंशतः बुझे र अपनाए होलान्।  

आधुनिकताको अर्थ स्विकार्नु र त्यसलाई पछ्याउनु मात्र नभई त्यसमा आंशिकताको आधारमा आफू (सर्जक स्वयं) वा सर्जकको समय सन्दर्भ गुथिएको हुनु अनिवार्य हो भन्ने बुझिन्थ्यो, यसलाई निबन्धकार मोन्टेनले आफ्नो निबन्धमा स्पष्ट भनेका छन्, ‘मेरो कृतिको विषय नै म हुँ, म अन्यथा आफ्नोबाहेक अरूको विषयमा अल्झिरहन चाहन्नँ, (मोन्टेन, सन् १५०८, मार्च १, सेलेक्सन फ्रम द एस्सेज्)। नेपाली गायन संगीतमा सुरुवातदेखि रचनामा प्रकृति र गायनमा लोकलय कायमै थियो। मास्टर रत्नदास प्रकाशले गाएको माधव घिमिरेको गीत छ– ‘झमझम पानी प¥यो असारको रात,  

बारीबाट बज्न थाल्यो मकैको पात।’

आधुनिक गीत भनिए पनि यो गीत महाकवि देवकोटाको सोह्र अक्षर शैलीबाट बाहिर जान सकेको थिएन। यसलाई लयमा आबद्ध गर्दा लोकलयको धार नै प्रमुख बन्न पुग्यो। मास्टर रत्नदास प्रकाश, मास्टर मित्रसेन र उनका पूर्ववर्ती गायक–गायिकाले बनाएको बाटो तोड्न हाम्रो आफ्नो संगीतलाई हम्मेहम्मे पर्दै थियो, यही समय भारतीय संगीतमा विशेषतः बांग्ला संगीतमा आएको परिवर्तनले जो तिनका निकट वा सान्निध्य तिनलाई घनघोर प्रभाव पा¥यो।  

बंगाली जातिका कवि रवीन्द्रनाथ ठाकुरको एक विशेष सांगीतिक योगदानले भारतको मूलधारको संगीतलाई बिस्तारै गति दिँदै गर्दा हिन्दी र अन्यभाषी संगीतमा पनि त्यसको प्रत्यक्ष प्रभाव प¥यो। र, बंगालीका नजिक भएर गीत–संगीतमा साधना गरिरहेका कलकत्ताका नेपाली संगीतकर्मीमा यसको स्पष्ट छाप त्यतिबेला प¥यो, जब कलकत्ता अलिपुर निवासी गोपाल श्रेष्ठले नेपाली गीतमा भव्य र चमत्कारपूर्ण तरिकाले आधुनिकता भिœयाए। संगीतकार गोपाल श्रेष्ठ कलकत्तामा नेपाली र अन्य मूलका संगीत अनुरागीलाई संगीतको विद्या दिन्थे, उनको ‘स्कुल अफ थट’ भनेकै गायकीका आधारमा शास्त्रीयताको गमक, रचनाकारितामा शब्दको छनोट र चयनमा पृथक् भाव सम्प्रेषण थियो। 

उनलाई त्यतिबेला उनकै समयवयी भाञ्जी उर्मिलाकुमारी श्रेष्ठको गायकीले अपार साथ दियो, जब उर्मिलाकुमारीले नवीन बर्देवाको शब्दमा ‘सन्ध्या तिम्रो रिमझिमतामा दुःखै दुःखले भरिएको छ’ गाइन्। यस गीतले नेपाल र नेपालबाहिर एक रसमा आधुनिकताको विहंगम झल्को दियो। यस अर्थमा नेपाली सुगम संगीतमा आधुनिकता भिœयाउने श्रेय नै गायिका उर्मिलाकुमारी श्रेष्ठ र संगीतकार गोपाल श्रेष्ठलाई जान्छ। यस गीतमा शब्द पुरानै शैलीको भए पनि संगीतकार गोपाल श्रेष्ठ र गायिका उर्मिलाकुमारीले दैलो पार गरेर अगि बढेका छन्। नृत्तत्वशास्त्री लेवी स्रोसले भनेको सही पनि हो, कला आफैँमा एउटा भाषा हो। उनले स्पष्ट भनेका छन्, ‘मिथक, संगीत, नृत्य आदि कलाहरू भाषाजस्तो सम्प्रेषणीय छैन, ध्वनिद्वारा एक संगीतकार जे कुरा भन्न चाहन्छ, त्यसको धेरै अर्थ सुन्नेवालाको व्याख्यामा निर्भर पर्छ, जब कि भाषाको पूरा अर्थ भन्नेवालामा निर्भर गर्दछ।’ लेबी स्रोस भाषालाई एक प्रकारले कविताको कच्चा माल मान्छन्।  

उनले भनेजस्तै गीतमा पनि त्यही कुरा लागू हुन्छ। कविता त्यस समय संगीत वा मिथकको अवस्थासित निकट हुन्छ, जब त्यो शब्दको उनको प्रचलित भाषा यी सन्दर्भबाट विचलित गरेर एक नयाँ कवितायी सन्दर्भ दिइरहेको हुन्छ, अर्थात् भाषाबाटै कला बन्न जान्छ। यसैलाई लेबी स्रोसले कविताको अलग भाषा (मेटा ल्यांग्वेज) भनेर स्विकारेका छन्। संगीतकार गोपाल श्रेष्ठले ल्याएको संगीतमयी आधुनिकतालाई गायिका उर्मिलाकुमारीको गायकीले भन्दा श्रोताले स्विकारेको स्वीकारोक्तिले त्यहाँ पु¥याएको छ, जहाँ नवीन बर्देवाले दिएको नवीनता रचना सन्दर्भ नभईकन प्रत्यक्ष संवादको स्वरूप बन्न पुगेको छ।  

शब्द र संगीतका बीचको सम्बन्धको चिन्ता पश्चिममा मलार्मे तथा अन्य प्रतीकवादीले पनि नउठाएका होइनन्। नेपाली कवितामा वि.सं. १९९८ मा गोपालप्रसाद रिमालले आधुनिकता भिœयाएर गद्य कविताको सहज मार्ग बनाइसकेका थिए, यही समय गोपाल श्रेष्ठले यस धाराको यो गीत ल्याए, जसलाई नेपाली संगीत समाजले उही बाजा, उही वाद्य संयोजनमा एक आधुनिक जोड देखे, यसलाई नै नेपाली संगीतको टर्निङ प्वाइन्ट मानिन्छ। हिसाबले हेर्दा मेलवादेवी, हिनादेवी, बेबी खुस्बु, चाइना पातली आदिले गाएका गीतमा नेपाली स्वाद त थियो, तर देखिने गरी आधुनिकता भन्ने कलेवर थिएन। मास्टर मित्रसेनको गीतलाई प्रसार भारतीले झाम्रे गीत भनेपछि त्यही गीतको शैली (१६ अक्षरीय अन्तरालमा) देवकोटा मुनामदनदेखि मास्टर रत्नदास प्रकाशका गायन चलिरहे।  

आधुुनिक गीतको परिनिर्माण  

कालखण्डका हिसाबले मास्टर मित्रसेन थापा मगर र मास्टर रत्नदास प्रकाशको समय नेपाली गीति गायनको एउटा मिलन बिन्दु मान्न सकिन्छ।  

मित्रसेन र प्रकाशको फ्लेबरमा जब धर्मराज थापा गायकका रूपमा आए, उनले मूलधारको संगीतलाई न्यायसंगत रूपमा लोक विम्बसँगै जोडे, उनको आफ्नो जन्मथलोको पहिचान अनि ज्ञानको सीमितता  

पनि होला।  

धर्मराज थापा र उनका समकालीन लोककवि अलि मियाँ, गोकुल जोशीका गीतमा पूरै पहाड र पहाडी जीवनको विम्ब नै हुन्थ्यो। धर्मराज थापाको गायन र रचना शैली पनि त्यसबाट पूर्णतर प्रभावित नै रह्यो। धर्मराज थापा, उस्ताद भैरवबहादुर थापा, उस्ताद गोविन्दलाल, उही गोविन्द लाल अनि नातिकाजीसम्मको युग आइपुग्दा पनि आधुनिकताको खोजीमा गीतमा भन्दा रचनामा मात्रै प्रयोग भइहेका थिए।  

रेडियो नेपालका प्रथम संगीतका नातिकाजी श्रेष्ठको पहिलो रेकर्डेड गीत ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’लाई लोक फ्लेबरले छ्याप्पै छोपेको थियो, विशेषतः उनको सांगीतिक फम्र्याट नै त्यही ढाँचाको थियो। पछि तिनै नातिकाजीले नेपाली संगीतमा आधुनिकता भिœयाउनमा कुशलतापूर्वका मेहनत गरे। नातिकाजी र उनका समकालीन अनि उनका अनुयायीले त्यस समय नेपाली संगीतमा बिस्तारै बाजाको प्रयोग अनि संयोजनको शैलीमा आधुनिकता भनिने विषयलाई साधारणीकरण गर्न खोजे, जुन यथासमय सम्भव थिएन।  

कलकत्ताका संगीतकार गोपाल श्रेष्ठको अर्को गीत ‘सहनाई बज्यो पहाडमा’ आएपछि स्वभावतः फेरि यसको बलियो पकड दार्जिलिङको हातमा गयो।  

दार्जिलिङमै बसेर त्यहाँको आर्ट एकेडेमीमा काम गरिरहेका अम्बर गुरुङले समला तालमा भीम पलासी रागमा तयार पारेको ‘नौ लाख तारा उदाए’पछि जुन ख्याति कमाए, त्यसपछि उनले नेपाली गीतमा अत्यधिक नयाँ प्रयोग ल्याए, जसमा उनको एउटा विशेष गीत हुन गयो। उनको आफ्नै रचना र संगीतमा आधुनिक गीत–  

म अम्बर हुँ तिमी धरती  

लाखौँ चाहे पनि हाम्रो मिलन  

कहिल्यै नहोला...।

आत्मकथात्मक यस गीतमा मोन्टेनले भनेजस्तै सर्जक आफैँ आफ्नो कथा भन्दै थिए, तर उनको भनाइ कथाजस्तो नभएर संवाद शैलीमा थियो। अम्बर गुरुङको यो गीतपछि बच्चुकैलाश, प्रेमध्वज प्रधान, माणिकरत्न, नारायणगोपाल, तारादेवी, कोइलीदेवीले बिस्तारै आधुनिकताको नयाँ झलक दिन थाले।  

रेडियो नेपालको स्थापनापछि नेपालभित्र र नेपालबाहिर भारतमा आकाशवाणी खर्साङले नेपाली गीतको श्रीवृद्धिमा जुन छलाङ लगायो, त्यसमा पौडी खेल्दै कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, अरूणा लामा, दिलमाया खाती देखिए।

आधुनिक गीतको परिभाषामा अल्झिरहेको नेपाली गीतलाई प्रेमध्वज प्रधानको स्वरमा बम्बईमा रेकर्ड गरिएका आठवटा गीतले नयाँ तरंग ल्यायो। बच्चु कैलाशको स्वरमा कलकत्तामा रेकर्ड गरिएको ‘एट ब्युटिफुल संग्स’ नेपाली गीतको स्वरूप बदल्नमा अहं भूमिका निर्वाह ग¥यो।  

अम्बर गुरुङको ईश्वरवल्लभ रचित ‘मलाई भाँचिदे’ होस् वा वैरागी काइँला रचित ‘खोजिरहेछु निस्तार’ले आधुनिकताको परिभाषालाई ठीक व्याख्या गर्न खोजे जस्तो गर्दैगर्दा बच्चु कैलाशको ‘आकाशबाट म उडी आएँ भने’ प्रेमध्वज प्रधानको पहिलो गीत ‘तिमी आयौ मेरो दिलमा’ यी गीतले आधुनिकताको केही नयाँ परिचायिक पक्ष दृश्यांकित भएको छ।  

प्रेमध्वज प्रधानले आफ्नै संगीतमा गाएको रवीन्द्र शाहको यो गीतमा नजानिँदो पाराले पश्चिमिया गायक बे्रन डेरेन र अर्केस्ट्राको कम सेप्टेम्बरको मधुर प्रभाव थियो, यो नै यसकौ पुँजी बन्न पुग्यो।

यसै बेला मेचीपारिका संगीतमा शरण प्रधानमा अंग्रेजी काउब्वाय फिल्मको छाप भेटियो, संगम समूहका शरण प्रधानको संगीतकारिताका बारेमा साहित्यकार पिटर जे कार्थकले भनेका छन्, ‘शरणको यहाँ फूल नखिलेछ डेड म्युजिकबाट प्रभावित थियो। डेड म्युजिक भनेको यहाँ मृत संगीत नभई संरचनाको आधारमा डी मेजर, ई मेजर, ए मेजर, र डी मेजर अर्थात् डिइएडी म्युजिक भन्ने बुझिन्छ। दार्जिलिङमा काउब्वाय शैलीको फिल्म ‘द म्याग्निसिफेन्ट सेभेन’ प्रदर्शन भएपछि रचिएको ‘हेर न हेर कान्छा’ बोलको गीतमा दार्जिलिङको बतासे डाँडाको पनि देन छ। यो युगल गीतमा भित्रिएको सहभागीतापूर्ण आधुनिकतालाई गोपाल योञ्जनले आधुनिकताको नयाँ धार भनेका छन्।’  

संगीतकार शरण प्रधान र उनका समवय रञ्जित गजमेर दुवै त्यो बेला संगम समूहमा आबद्ध थिए। शरण र रञ्जितका साथ गीतकार जितेन्द्र बर्देवा, गायिका अरूणा लामा, गायक मणिकमल क्षत्री, अजय गुरुङ सबै आबद्ध थिए भने हिमालयन कला मन्दिरमा गोपाल योञ्जन, कर्म योञ्जन, गायिका दिलमाया खाती, गीतकार नगेन्द्र थापा आदि आबद्ध थिए। यी सबै नेपाली गीतमा आधुनिकता खोजिरहेका थिए।  

आधुनिकताको प्रसंगमा संगीतकार शरण प्रधानले भनेका छन्, ‘हाम्रो दार्जिलिङे नेपाली संगीतमा यस्तो आधुनिकता ल्याउने र हामीलाई बाटो देखाउने श्रेय त अम्बर दाइलाई दिइनुपर्छ, तर यसरी आधुनिकीकरण गरेर पाश्चात्य संगीतको हार्मोनाइजेसन र काउन्टर अनि रिदमका सहयोगले हाम्रो गीतम मिठास भर्न पनि असाध्यै असल हुन जान्छ, जसरी मलाई माफ गरिदेऊ भन्ने गीतमा गोपाल योञ्जनज्यूले एउटा बल्दो उदाहरण थप्नुभएको छ।’ शरण प्रधानले गोपाल योञ्जनको उदाहरणीय भूमिकालाई स्विकारेका छन्। आधुनिकताको प्रसंगमा निबन्धकार शंकर लामिछानले भनेका छन्,  

‘एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतमा मुड सिर्जन गर्ने देन दार्जिलिङ तथा कालिम्पोङकै बढी छ। काठमाडौंमा नातिकाजी र अन्य झल्याक्झल्याक् देखापर्ने एक दुई व्यक्तिबाहेक हाम्रो संगीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे।’  

नेपालबाहिरको प्रवासी संगीतका बारेमा नेपालभित्रका संगीतकर्मी पनि भावपूर्ण रूपले परिचित थिए। यहाँ पुष्प नेपाली, बच्चुकैलाश, नातिकाजी, शिवशंकर, प्रेम माणिक सबैको योगदान सराहनीय छ। तर नेपालबाहिर अम्बर गुरुङको योगदान तत्कालीन शासक, श्रोता, शुभेच्छुक सबै परिचित थिए।

लामिछानेले विम्ब प्रतिविम्बमा लेखेका छन्, ‘मसँग चर्चा हुँदा काठमाडौंका संगीतप्रेमीहरू भन्छन्– ‘दार्जिलिङका गीतमा रवीन्द्र संगीतको प्रतिध्वनि आउँछ, खासगरी अम्बरका रचनामा। आंशिक रूपमा यो सत्य पनि हो, कारण वातावरण र शिक्षाको प्रभाव प¥यो होला, उसमा प्रारम्भिक कालमा। त्यो यदि भाव पक्रिने शैली तिखारिने एक साधन मात्र, एक खुड्किलो मात्र भएको छ भने त्यसले हाम्रो संगीतलाई एकै अर्को विश्वमा दृष्टिगोचर गर्ने गर्छ।’ अम्बर गुरुङले आफ्नो सांगीतिक यात्रामा नौ लाखे तारादेखि नेपालको तेस्रो राष्ट्रगानसम्म संगीत गर्ने मौका पाए। अम्बरले आफ्नो संगीतकर्मका बारेमा नेपालको राष्ट्रगान सयौँ थुँगा फूल गरेपछि एलेक्स मार्सलसित भनेका छन्, ‘एक दिन मलाई मेरो परिवारले एउटा रिसोर्टमा लिएर गए, म बिरामीजस्तै हुँदै थिएँ। मलाई हिमाल हेर्ने ठाउँमा हार्मोनियमसहित छाडेर गए। दुई दिनसम्म केही हुन सकेन, भएन पनि।’  

रिपब्लिक अर डेथ पुस्तकका लेखक ऐलेक्स मार्सलले उदांगो पारेको उनको सिर्जन कर्म संगीतमा मुड सिर्जनको चर्चा गरेका छन्। नेपाली संगीतमा आधुनिकता भिœयाउनेमा नारायणगोपाल, गोपाल योञ्जनको मितेरी संगीतको अतुलनीय योगदान छ। मितेरी संगीतको युग सुरु हुनुअगि नै नातिकाजी, शिवशंकर, कोइलीदेवी, तारादेवी, प्रेमध्वज प्रधान, माणिकरत्न, बच्चु कैलाश, पुष्प नेपालीको योगदान पनि स्मरणीय छ।  

आधुनिकतामा शब्दको खोजी  

नेपाली गीतमा आधुनिकता भिœयाउनमा गायक, संगीतकारको जस्तै गीतकारको पनि अमूल्य योगदान छ, त्यसमा गीतकार ईश्वरवल्लभ, किरण खरेल, डा. राममान तृषित, माधव खनाल भावुक, रत्नशमशेर थापा, रमेश धिताल, वैरागी काइँला, अगमसिंह गिरी आदिको अमूल्य योगदान छ। ईश्वरवल्लभका शब्दमा नातिकाजी, अम्बर गुरुङ, गोपाल योञ्जन, शान्ति ठटालले गहन काम गरेका छन्। किरण खरेलका शब्दमा नातिकाजी, शिवशंकर, प्रेम माणिकले खुब भावपूर्ण अवतरण गरेका छन्। गजल शैलीका गीत लेखेर आफ्नो खुबी देखाउन सफल भूमिका निर्वाह गर्ने गीतकार डा. राममान तृषितको शब्दमा तारादेवी, शिवशंकर, नातिकाजी, माणिकरत्नको अमूल्य देन स्विकार्न सकिन्छ। नेपाली संगीतमा आधुनिकता ल्याउन सक्ने क्रम अझै जारी छ।

प्रकाशित: १८ वैशाख २०७८ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App